कविता

देशलाई आशीर्वाद

समस्याको अँध्यारोले ढाकेको छ देशको गगन
नेतृत्वमा देखिन्छ केवल स्वार्थको हवन
त्यसैले हटोस् खराब राजनीतिको बादल
बजोस् मात्र जननीतिको माधुर्य मादल ।

पारदर्शिता होस् प्रशासनमा, भ्रस्टाचारलाई लागोस् रोक
सबै क्षेत्रका समस्या सुनी, समाधानको होस् खोज ।
अवसर होस् सबैका लागि, न्यायको होस् आधार
सपना साकार गरौं, जीवनको होस् सुधार ।

आवास होस् सुरक्षित, सबको होस् घरबार,
कोही बेघर नहोस्, होस् आश्रयको अधिकार ।
स्वच्छ,सफा होस् सहरगाउँ, नहोस् वातावरणमा असर
सबै जुटौ देशका लागि नछोडी कुनै कसर ।

बालबालिकाले खेलुन् हाँसी कुदी, शिक्षामा होस् ध्यान
नारी हुन् सबै सशक्त, पाऊन् साराले सम्मान ।
रोजगार होस् सबका लागि, होस् अवसरको धारा
कसैको पेट खाली नहोस्, होस् परिश्रमको सहारा ।

शिक्षा होस् सबैका लागि, ज्ञानको ज्योति छरियोस्
स्वास्थ्य सेवामा सबैले उत्तम सुविधा पाइयोस् ।
युवा सबै देशमा बसून् ,समालुन राष्ट बसेर सरकारमा ।
पर्यटन क्षेत्र बलियो होस् ,लागून् सबै पर्यटन स्थलको प्रचारमा ।

खेलकुदमा विशेष ध्यान होस् , हुनेछ विश्वमा नाम
सधै शिर उच्च होस् ,नघटोस् नेपालीको अभिमान।
हरेक पुर्वाधारको विस्तार होस् , नहोस् केही कमी
यसो गरे कसो नहोलान् सारा नेपाली उद्यमी ।

जननीति बनोस् जनता काे शक्ति
त्यसैमा छ देशको सच्चा प्रगति।
हटोस् सारा समस्याको कालो बादल
बनोस् सुन्दर शान्त,समृद्ध नेपाल ।

  • प्रकाशित मिति :- शनिबार, असार २, २०८१
  • सुबोध कार्की

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |