Category: फ्रन्ट पेज

फ्रन्ट पेज

  • धौलीगंगाको बाँध पुनः खोल्दै भारत, महाकालीमा बाढीको सम्भावना

    धौलीगंगाको बाँध पुनः खोल्दै भारत, महाकालीमा बाढीको सम्भावना

    काठमाडौं । भारतले उत्तराखण्डस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध पुनः खोल्ने भएको छ । सिल्ट सफाइ कार्यका निम्ति बाँध खोल्न लागिएको जनाइएको छ ।

    शनिबार (भोलि) दिउँसो १२ बजेदेखि आइतबार (पर्सि)सम्म बाँधका ढोका खोलिने भारतीय पक्षले नेपाली प्रशासनलाई जानकारी गराएको छ ।

    बाँध खोलिँदा महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना छ । महाकाली नदीतटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

    “…मिति २०८१।०५।१५ गते दिउँसो १२ः०० बजेदेखि मिति २०८१।०५।१६ गतेसम्म र तत्पश्चात् समेत महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्वसतर्कता अपनाउनु हुन जानकारी गराइन्छ,” दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जारी गरेको सूचनामा उल्लेख छ ।

  • अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने पुरुषको तस्बिर सार्वजनिक

    अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने पुरुषको तस्बिर सार्वजनिक

    काठमाडौँ । नेपाली युवती मुना पाण्डेमाथि अमेरिकामा गोली चलाउने पुरुषको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ ।  ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो।

    स्थानीय सञ्चार माध्यमका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन । घटना र अभियुक्तबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । अभियुक्त पहिचानका लागि समुदायको सहयोग मागेको छ। चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न भनिएको छ।

    ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीय मुना पाण्डे गत सोमबार साँझ गोली हानी हत्या गरिएको थियो। मुना नेपालको भोजपुरकी स्थायी बासिन्दा हुन् ।

  • आज श्रीकृष्ण जन्माष्टमी, किन गरिन्छ श्रीकृष्णको पूजा

    आज श्रीकृष्ण जन्माष्टमी, किन गरिन्छ श्रीकृष्णको पूजा

    काठमाडौं । आज २०८१ साल भदौ १० गते सोमबार तदनुसार सन् २०२४ अगष्ट २६ तारिख। भद्र कृष्ण पक्षको सप्तमी तिथि। श्रीकृष्ण जन्माष्टमी व्रत।

    प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ। संसारभरका हिन्दु धर्मावलम्बी अनि श्री कृष्णका भक्तले प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन्।

    श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनेले बिहान सबेरै नुहाइधुवाइ गरेर व्रत बस्छन्। दिनभर जल वा फलफूल मात्र खाएर पूर्ण रूपमा सात्विक बस्छन्। मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई पञ्चामृतले स्नान गराइदिन्छन्।

    हातमा मुरली, शिरमा मयूरको प्वाँख, शीतल बगैंचामुनी, जीवजन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधुर धुन यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्रीकृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ।

    कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाँही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ।

    पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन्।

    किन गरिन्छ त श्रीकृष्णको पूजा ?
    आजको दिनमा श्रीकृष्णको पूजा आराधना गर्नाले सन्तान प्राप्ति हुने, लामो आयु प्राप्त हुने र समृद्धि प्राप्ति हुने विश्वास गरिन्छ। यस पर्व मनाउनुले हरेकको मनोकामना पूरा हुने आस्था राखिन्छ। धर्म ग्रन्थअनुसार जुन व्यक्तिको चन्द्रमा कमजोर छ, उसले श्रीकृष्णको पूजा गरेमा उसलाई अधिका लाभ मिल्छ।

    आजका दिनमा प्रेम र दाम्पत्य सुखका लागि राधा–कृष्णको, सन्तान प्राप्तिका लागि बालक कृष्णको र अन्य मनोकामना पूरा गर्नका लागि बंशीवाला कृष्णको मूर्ति बनाई पूजा गर्ने गर्ने गरिन्छ।

    श्रीकृष्णको पूजामा कालो रङ बर्जित छ। मन्दिरमा जान समेत कालो रंगको प्रयोग नगर्नु उचित देखिन्छ। श्रीकृष्णको पूजा आराधनाका लागि शृंगारमा फूल र गोपी चन्दनको प्रयोग उचित मानिन्छ।

  • रामेछाप पहिरो : ६ जनाको शव भेटियो, ४ जना अझै बेपत्ता

    रामेछाप पहिरो : ६ जनाको शव भेटियो, ४ जना अझै बेपत्ता

    रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

    अविरलको वर्षापछि गएराति गएको पहिरोले चारवटा घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्। उनले अझै ४ जना बेपत्ता रहेको बताइन् ।

    एकजना बालिका अञ्जना श्रेष्ठको घाइते अवस्थामा उद्धार गरिएको छ । उनकाे कम्मरभन्दा मुनिको भाग चलेको छैन । उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

    मृत्यु हुनेमा दोरम्बा शैलुङ–३  की ३२ वर्षीय चण्डिका श्रेष्ठ, उनका १८ महिनाका बालक आमुष रहेका छन् । यस्तै, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय बालक सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    पहिरोमा परी ९० वर्षकी पुड्की पहरी, करिब ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र २० वर्षकी विनीता पहरी बेपत्ता छन् ।

    पहिरोले घर बगाउँदा केही पशुचौपाया पनि बेपत्ता छन् । पहिरोका कारण पुरै बस्ती जोखिममा रहेको बताइएको छ ।

    दोरम्बा शैलुङको वडा नम्बर २ र ३ को सीमा क्षेत्रमा पर्ने अधेरी खोलाको पक्की पुल समेत बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत क्षतिग्रस्त भएकाले उद्धारमा समस्या भएको बताइएको छ ।

    रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहसहित ११ जनाको टोली, नेपाली सेता, सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधिको सहयोगमा खोजी र उद्धारको काम जारी रहेको छ ।

  • मारे पाप पाले पुण्य भनी छोरी नअन्माउनु 

    मारे पाप पाले पुण्य भनी छोरी नअन्माउनु 

    अनिता रेग्मी । एउटै कोखबाट जन्मिएका छोराछोरी, आफ्नै दिदिबहिनी, दाजुभाइको विचार त मिल्दैन। फरक फरक सोच्ने तरिका हुन्छ, बानी बेहोरा फरक हुन्छ। त्यसैले बिहे भनेको भनेको त दुई जना फरक कोखबाट जन्मिएका, फरक सोच, फरक बानी बेहोरा र फरक विचार भएका मान्छेहरूबीच हुने कुरा हो। बिहे पछि अनेक समस्याहरू आउन सक्छन्, सोच नमिल्न सक्छ, बिचार नमिल्न सक्छ, मन मुटाब पनि हुन सक्छ। समस्याको समाधान पनि हुन्छ, आफैले सक्ने बेला सम्म सम्झौतासँग सम्बन्ध बचाउने प्रयास गरिन्छ। तर यदि सम्झौतामा जीवन चल्दैन भन्ने पक्का भएपछि कानूनी सहयोगमा सम्बन्ध बिच्छेद गरेर आफ्नो खुशीको बाटोमा जान सकिन्छ र गर्नु नै यही हो।

    एउटा आमा-बाबाले आफ्नो छोरीलाई कसैको रिस वा यातना सहन र अन्त्यमा मारेर फाल्न बिहे गरेर दिएको होइन। मन मिल्न सक्छ भने मिलेर बस्न सकिन्छ, तर कसैले पनि छोरीलाई मारेर फाल्ने अधिकार छैन। एउटा छोरीलाई जन्माएर बिहे गरेर पठाउँदा कुनै आमा-बाबाले सोचेका हुँदैनन् कि मेरो छोरीलाई यस्तो दिन देख्न पर्ला। कहिले दाइजो भएन, कहिले सम्पत्ति ल्याएन, कहिले आफ्नो खुशी गर्न पाएन भन्ने बहाना बनाइन्छ। कसैले फुल जसरी हुर्काएर बिहे गरेर पठाएको छोरीलाई मारेर फाल्न कुन नैतिकताले अनुमति दिन्छ? सानो हुँदा छोराछोरीले घरमा चकचक गर्दा त्यस्तो नगर भनेर सिकाउने आमा-बाबाले, आफ्नो छोराले बहिनीसँग यातना, कुटपिट गर्दा र अन्त्यमा मार्दा एक शब्द पनि बोल्न सक्दैनन्। कतिपय ठाउँमा त छोरा मार्नेमा सघाउने उसको बाबु-आमा नै हुन्छन्। यदि तिमीलाई मारे भने के होला? एउटा सानो कुकुरको बच्चालाई मायाले पालेर हुर्काउने हो भने मान्छेको छोरीलाई मार्दा हातखुट्टा काम्दैन? कति निच र निर्दयी? सुख-दुखमा साथ दिने भनेर बिहे गरेर लिएको मान्छे चित्त बुझेन भने, आफूलाई बाच्न र उसलाई बाच्न दिने कुरा सोच्न सकिँदैन? आफूले चाहेको जस्तो भएन भने, उसले आफ्नो विचारमा सहमति दिएन भने उसलाई बाच्ने अधिकार नै छैन? यस्ता अमानवीय व्यक्तिहरूबाट आफ्नो छोरीलाई जोगाउने तरिका के हो? केही हदसम्म छोरीका बाबु-आमाले पनि बुझ्नुपर्छ। बिहे गरेर पठाएपछि जिम्मेवारी सकियो भन्ने सोच आउने हो भने, तिम्रो छोरीले ममता जस्ता कैयौं अरूको जस्तै ज्यान गुमाउनु पर्नेछ। मारे पाप पाले, पुन्य भनेर नअन्माउनु छोरीलाई। मैले मान्छे लाई छोरी दिएको हुँ, पशु निस्किए भने पशुजस्तो व्यवहार गर्न हामीलाई पनि आउँछ भनेर पठाउनु। छोरीलाई बिहे पछि केहि परे आमा-बाबाले सम्झनुहोस्, यो घर सम्झनुहोस्। बिहे पछि छोरीको घर बिग्रेर इज्जत जाने होइन, त्यो भन्दा दुःख त त्यतिबेला लाग्छ। आफ्नै छोरीले मायतिको इज्जत जाला भनेर ज्वाई र उसको परिवारको दिनरातको यातना सहन्छे र एकदिन घरकाले मिलेर मारेको भन्ने खबर सुन्नु पर्छ! मरेको छोरिको लास हेर्नु जानु भन्दा घर बिग्रेर जीवित छोरीलाई ल्याउनु जाति हो।

    अझै कति ममता मर्नु? अझै कति ममताका आमा-बाबाले चोट सहनु? अनि अझै कति ममताका छोराछोरी टुहुरा हुनु? सबैको जीवनमा बिहे राम्रोसँग नचले, नचले भने आफ्नो बाटो लाग। तर कसैले फुल जसरी सम्हालेर राखेको छोरीलाई मारेर फाल्ने अधिकार कुनै नलायक पुरुषलाई छैन। यस्ता नलायक पुरुष र उनीहरूलाई सघाउने उनका आफन्त परिवार समाजका कलंक मात्र हुन्। र यस्ता पशु जस्तो सोच भएका व्यक्तिहरूलाई कहिल्यै नर्कमा पनि बास नहोस्।

    “ममता, तिमीलाई चिनेका छैनौं, तर तिमीले सहेका सबै यातना र दुःखहरू कसैले देख्न सकेन। तिमीले जीवन रक्षाका लागि गरेको संघर्षहरू व्यर्थ गए। तर तिमीलाई जीवनभर नर्क देखाउने पशुहरूले सजाय पाउने आशा छ। तिम्रो आत्माले शान्ति पाओस्। जीवनमा नपाएको शान्ति मृत्यु पछि मिलोस्। बैकुण्ठ बास होस् तिम्रो।”

  • अलबिदा ममता !

    अलबिदा ममता !

    ईरा अर्याल । धनले भरिपूर्ण थियो, बाहिर बसोबास गर्थ्यौ। “भोलि मेरो छोरीलाई पनि लगेर गयौ भने, उसको भाग्य बन्थ्यो होला है?”

    तिमीले उसको व्यवहारभन्दा पनि उसको बसाइँ र हातमा भएको पैसा हेरेउ। आज देख्यौ, तिम्रो छोरी घर न बेघर भएको।
    “छुट्टै बसौँ,” भनेको भए, म पनि मान्थेँ होला नि, होइन? मैले के गल्ती गरेँ जसको सजाय तिमीले यसरी दियौ ? कानुनी रूपमा गयौँ भने सबै ठीकै त हुन्थ्यो होला नि ? किन तिमीले मलाई मार्ने निर्णय गरेउ अहिले ?

    खै, भरोसा कसको गर्ने होला? सँगै मर्ने, बाँच्ने को त हालत यस्तो हुन थालेको छ। मैले तिमीलाई आफ्नो सम्झेर तिम्रो लागि सबै छोडेर आएकी थिएँ। तर उपहार भने तिमीले राम्रो दियौं, अहिले।
    तिमी कति निर्दयी भएका हौ! तिम्रो हात कापेन आफ्नै श्रीमतीलाई मार्दा? के दोष थियो त्यो बच्चाको? “आमा मेरी यिनी हुन्,” भन्न नपाउँदै तिमीले छोरीबाट आमालाई किन खोस्यौ? उसलाई टुहुरी बनाई छाड्यौ है?

    तिम्रो पनि त नासो नै थियो त्यो, होइन र? किन यति निर्दयी भएका हौ तिमी? आफ्नै छोरीको पहिलो जन्मदिनमा यति राम्रो उपहार दिने सायद तिमी पहिलो बाउ हौ। आमाले दुनियाँ छोड्नुपर्ने, अनि बाउ जेल जानुपर्ने, कस्तो भाग्य लिएर आयौ है, छोरी तिमीले? न त आमाको काखमा बसेर मज्जाले खेल्न पायौ न त धित मर्ने गरी आमाको दूध खान पायौ। भाग्य नै के लेखेर आएको होला, कुन्नि? माफ गर है, छोरी, राम्रो शिक्षा दिन सकिनँ, जीवनभरि साथ दिन सकिनँ तिम्रो आमाले।

    बारम्बार मेरो मनको कुरा सुनाउने प्रयास गरेँ, तर समाजको इज्जतले गर्दा म बारम्बार लाटो हुन बाध्य भएँ। आखिर, कहिलेसम्म यसरी नै जीवन काट्नुपर्ने हो हामी छोरी मान्छेले? न स्वतन्त्र भएर हिँड्न पाइने, न त रोजेको तरिकाले जिउन पाइने। जुन घरमा बिहे गरी भित्रियो, त्यसकै लागि सबै त्याग गरियो, अन्त्यमा हामीले यसरी नै मृत्युनै भोग्नुपर्ने किन हो?

    कहाँ जाँदैछ हाम्रो समाज? अनि के गर्दैछ हाम्रो कानुन?
    घर-परिवारसँग खुसी छैन म, कसलाई गएर भनुँ? माइतिलाई सुनाउँ भने, ‘अलिअलि त जसको घरमा पनि हुन्छ, सहन सक्नुपर्छ’ भनी सम्झाउँछन्। अलिअलि मात्र होइन, धेरै नै भयो। सम्बन्ध छुट्ट्याउनु पर्छ भन्दा, समाजले के भन्छ? ‘पहिलो घरबार भनेको पहिलो हो’ यसो गर्नुहुन्न है, भनी गाली र यातना मात्र आउँछ। त्यसै घर, समाज अनि संस्कारको बन्धनले गर्दा पराईको मुलुकमा ज्यान गुमाउन बाध्य हुनुपर्छ।

    कति दुख्यो होला, कति छटपटी भयो होला, कसैले कल्पना पनि गर्न सक्दैन।
    बुबाआमा, भाग्यले बन्छन् भने, “हे भगवान, तिमीले यति राम्री छोरी किन यस्ताको हातमा पठायौ, जसको मनमा दया-माया भन्ने केही छैन।”

    साँचै, तिम्रो हात कापेन है एउटी आमालाई मार्दा! साँचै, तिम्रो मन डराएन है? आफैले पञ्चेबाजा बजाएर, डोली सजाएर तिम्रो अर्धाङ्गिनी भएकी नारीलाई मार्दा, साँचै, तिम्रो मनमा केही विचार आएन? एउटा जन्म दिने बुबाआमाबाट उनको सन्तान खोस्दा पनि?

    कति कठोर रहेछ तिम्रो मन! मलाई जिउँदै जलायौ। बारम्बार प्रहरीले प्रश्न गर्दा पनि किन तिमी त्यति चुप लागिरह्यौ?

    बिन्ती गर्छु सबैलाई।
    धेरै हतार नगरौ छोरीको बिदाइ गर्न। सबै बाहिर झल्किने कुरा राम्रो हुन्छन् भन्ने हुँदैन। ठूला-ठूला देशमा गएको र सम्पन्न छ भन्दैमा, आफ्नो छोरीलाई आँखा बन्द गरी नदेऊ।

    आज एउटाले ज्यान गुमाएको समाचार मात्र बाहिर आएको छ, तर कति चेली-बेटीहरूले यस्तै मानसिक पीडा र घरेलु हिंसा सहेर बसेका छन्। धन-सम्पत्तिभन्दा पनि मानिसको व्यवहार बुझ्ने प्रयास गरौँ। यदि छोरी विवाहमा खुसी छैन भने, परिवारले आफ्नो जिम्मेवारी भने नबिर्स। समाजको डर, इज्जत, संस्कारको कुरा गर्दै आफ्नो वंशलाई मोर्न बाध्य नगर।

    मृतक आत्माले शान्ति पाओस्। त्यो नानीको भविष्यको चिन्ता सबैलाई भएको छ। हे देव, तिमी निर्दयी भई आमा त खोसेऊ, अब त्यो भन्दा बढी केही नगर उसलाई।

  • तनहुँ बस दुर्घटना : मृतकको शव परीक्षण चितवनमा

    तनहुँ बस दुर्घटना : मृतकको शव परीक्षण चितवनमा

    तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा सुरु गरिएको छ । आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो ।

    चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले परीक्षणपश्चात् सबै शव भैरहवा हुँदै भारत पठाइने जानकारी दिए ।

    पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । जसमा २६ जनाको घटनास्थलमै र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन पठाइएको प्रहरी नायब उपरीक्षक (प्रनाउ) दीपक रायले जानकारी दिए ।

    दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो । उनीहरूको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको प्रनाउ रायले बताए ।

    मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक शिव थापाको नेतृत्वमा दश जना र जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीको नेतृत्वमा ५१ जना, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन गण कुरिनटारबाट प्रहरी नायब उपरीक्षक विजय हमालको नेतृत्वमा ३५, नेपाली सेनाको कालीभञ्जन गण (इ) बाट सेनाको टोली उद्धारमा जुटेको थियो ।

  • सहकारी ठगी प्रकरण : रवि र छविसहित गोरखा मिडियाका सञ्चालकसँग बयान

    सहकारी ठगी प्रकरण : रवि र छविसहित गोरखा मिडियाका सञ्चालकसँग बयान

    काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपुछ गरेको छ ।

    समितिको आज बसेको बैठकमा समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नका रुपमा आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग सोधपुछ गरिएको समिति सभापति सूर्य थापाले जानकारी दिए ।

    समिति सचिव बबिता मिश्रकाअनुसार आजै गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक छविलाल जोशीसँग पनि सोधपुछ गरिएको थियो ।

    समितिले विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा सङ्लग्नको रुपमा आरोपित व्यक्तिहरूसँग सोधपुछ तथा बयान लिइरहेको छ । विभिन्न सहकारी संस्थाका सदस्य (शेयरधनी) एवम् बचतकर्ताको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन भएको विषयमा अध्ययन गर्ने कार्यादेश समितिले पाएको छ ।

    विभिन्न सहकारी संस्थाहरुबाट प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानुनी रुपमा प्रवाह भए वा नभएको र त्यस्तो गैरकानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिलाई कानून बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने कार्यादेश समितिले पाएको छ ।

    छानबिन समितिले समस्याग्रस्त घोषणा भएका र सामाजिक रुपमा प्रश्न उठेका सहकारी संस्थाहरूको अध्ययन गरिरहेको छ ।

    समस्याग्रस्त घोषणा भएका बाहेक स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, सूर्य दर्शन बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, आइडियल यमुना बहुउद्देश्यीय संस्थाको रकम हिनामिना भएको विषयमा समितिले अध्ययन गरिरहेको छ ।

  • बारामा भारी वर्षा, दिउँसो यी स्थानका नदी/खोलामा बाढीको जोखिम

    बारामा भारी वर्षा, दिउँसो यी स्थानका नदी/खोलामा बाढीको जोखिम

    काठमाडौं । बारामा भारी वर्षा भएको छ । दुधौरा खोला गढीमाई जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ ।

    सिमरा, परवानीपुर, कलैया र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ ।

    दुधौरा, पसाह, बकैयालगायत सो क्षेत्र भएर बहने अन्य साना खोलाहरूमा जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले उच्च सतर्कता अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    आज बारा, पर्सा, मकवानपुर र आसपास भएर बहने अधिकांश स–साना नदी तथा खोलामा आकस्मिक बहावको मध्यम जोखिमको पूर्वानुमान रहेको विभागले बताएको छ ।

    आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूका साथै कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने विभागले जनाएको छ ।

  • प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

    आजको बैठकमा सभामुखले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने छन् ।

    यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

    संसद डा. तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने’ भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको ध्यानाकर्षण गराउने छिन् ।

    आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्नेछन् ।

    यस्तै, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिनेछ ।