Category: फ्रन्ट पेज

फ्रन्ट पेज

  • प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास

    प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् ।

    प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत पर्‍यो भने एक मत तटस्थ रह्यो ।

    संसदमा आइतबार २६३ जना उपस्थित थिए ।

    प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।

    नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टीका एकमात्र सांसद प्रेम सुवाल तटस्थ रहे ।

  • तिम्रो नामको मेहिन्दी

    तिम्रो नामको मेहिन्दी

    मलाई चाहि साना साना कुराहरुले खुसी पनि दिन्छ
    अझ भनौँ म चाँडै खुशी हुन्छु अनि फेरी साना कुराले
    मन पनि दुख्छ, चित्त दुख्छ !

    जब जब श्रावण महिना सुरु हुन्थ्यो
    अनि अर्कै उमंग छाए जस्तै, चाडबाड सुरु भए झैँ महसुस हुन लाग्थ्यो मलाई !
    अझ भनौँ
    श्रावणमा हरियो, पहेँलो रातो, सिन्दुर पोते, चुरा
    र हातैभरी मेहेन्दीमा सजिएर हिँडेका आमा दिदिहरुलाई देख्थेँ अनि मन फुरुङ्ग हुन्थ्यो !

    साथीहरु अझ भनौँ कोहि चिन्दै नचिनेकाहरु बाटोमा हरियो पहेँलो चुरा, हातभरी मेहेन्दीमा सजिएर हिँडेको देख्थेँ,
    अनि वाह कस्तो राम्रो भने झैँ लाग्थ्यो !
    अझ त्यसमा मौलिक पहिरन कुर्था अनि सारीले झन सुन्दरता थपेको हुन्थ्यो ।
    अझ सुन्दर देखिन्थे !

    यस्तो सोच्दै गर्दा, कहिलेकाही आफ्नोपनि यस्तै खुसीहरु
    साट्ने मान्छे होस ,
    हरियो पहेँलोमा सजिएर हातभरि चुरा लागाई,
    हातको मेहेन्दी देखाएर
    “कस्तो छ भन्नुस न ?”
    भन्ने मान्छे भइदिए नि हुने भनेर धेरैपटक सोचेको छु मैले ।

    म मेरो त्यो सोचमा धेरैपटक तिमीलाई नै सम्झेको छु तिमीलाई नै कल्पना गरेको छु !

    आज जब त्यही कल्पना गरेको मान्छेले आएर
    यो जीवन रङ्गाइदिन्छ नि अनि महसुस हुन्छ असली खुसी, साँच्चैको सुख,
    हिजो कल्पनामा हराउनेले आज त्यो सबै कुराहरु
    त्यही मान्छेमा देख्न पाउनु, आफ्नै मान्छेबाट त्यो खुसी त्यो सुख अनुभुति गर्न पाउने भाग्य सबैको कहाँ हुन्छ र हजुर !

    थाहा छैन तिम्रो र मेरो आस्थाले के कुरा पुरा गर्छ , के गराउँछ हाम्रो भविष्य ,
    तर, त्यो आस्थाले हाम्रो प्रेमको आयू भन्ने पक्कै बढाउने छ !
    हामीमा अझ बिश्वास बढाउने पक्कै छ !

    तिम्रो हातमा सजिएका हरिया, पहेंला चुरा, सिउँदोमा सजिएको सिंदुर,
    हातमा गाढिएका मेहेन्दीको रङ्गले मेरो जिन्दगीमा रङ्ग भरेका छन् !
    – अनिता रेग्मी

  • बेपत्ताको खोजीका लागि भारतबाट उपकरणसहित १० जनाको टोली आउँदै

    बेपत्ताको खोजीका लागि भारतबाट उपकरणसहित १० जनाको टोली आउँदै

    काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा र यात्रुको खोजी आज पनि जारी रहेको छ ।

    आज भारतबाट विशेष उपकरणसहित १० जनाको टोली बस र यात्रुको खोजीका लागि दुर्घटना क्षेत्र सिमलताल आउने भएको छ ।

    गत असार २८ गते शुक्रबार बिहान सिमलतालमा पहिरोसँगै खसेका दुई बसमा ६५ यात्रु रहेकोमा तीनजनाले पौडिएर ज्यान जोगाएका थिए ।

    ६२ यात्रु बेपत्ता भएकोमा हालसम्म २३ जनाको शव फेला परेको छ । मृतकमध्ये १५ जनाको सनाखत भएको छ । आठ पुरुष र एक महिला गरी नौ शवको सनाखत हुन सकेको छैन ।

    शवहरु चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा, त्रिवेणी व्यारेज क्षेत्रलगायत घटनास्थलबाट तटीय क्षेत्रमा फेला परेका हुन् ।

    वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

  • पहिरोले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति

    पहिरोले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति

    ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ । गए राति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो ।

    अविरल वर्षासँगै राति २ बजे गएको पहिराले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति भएको फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले जानकारी दिए। गाउँपालिका कार्यालयसँगैको सुवास लिम्बूको घर तथा होटल पूर्ण रूपमा क्षति भएको छ । पार्किङ गरिएका गाउँपालिकाका गाडी र मोटरसाइकल पुरिएका गाउँपालिका अध्यक्ष लिम्बूले बताए ।

    अध्यक्ष लिम्बूले भने, “सामान्य पहिरो राति १२ बजेदेखि सुरु भए पनि ठूलो पहिरो राति २ बजे गएको थियो । पालिका केन्द्र आवासीय क्षेत्रका बासिन्दा समयमै सुरक्षित क्षेत्रमा जान सफल भएकाले मानवीय क्षतिबाट बच्न सकियो ।”

    बाढीले बिजुलीको पोल बगाएको, पशुचौपाया पहिरामा परेका तथा क्षतिको विवरण सङ्कलन हुन बाँकी रहेको तापेथोक प्रहरी चौकी प्रमुख सुरेश सिंजालीले बताए । उनले भने, “हाम्रो चौकी उच्च जोखिममा छ । पहिरो खस्न थाल्यो, नजिकबाट बग्ने तमोरमा पानीको तह बढ्दै गएकाले बाढी र पहिराको जोखिम तापेथोक छ ।”

  • केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

    केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

    उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका थिए ।

    दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म छ । त्यसपछि राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । शपथ भने सोमबारका लागि तय भएको छ ।

    यसपटक ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् । उनले संविधानको धारा ७६ (२) अनुसार गठन हुने सरकारको नेतृत्व गर्दैछन् ।

  • बिहारमा चट्याङ लगेर २१ जनाको मृत्यु

    बिहारमा चट्याङ लगेर २१ जनाको मृत्यु

    बिहार । भारतको बिहारका धेरै जिल्लामा भारी वर्षा भइरहेको छ । चट्याङका कारण पछिल्लो २४ घण्टामा राज्यका १२ जिल्लामा २१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।

    राज्यका धेरै खोला तथा नदीमा बाढी आएको छ । भागलपुरको गंगा र कोशीबाट कटान भइरहेको छ। धेरै घर डुबानमा परेका छन् । कतिपय मानिस घर छाड्न बाध्य भएका छन् ।

    उता, उत्तर प्रदेशमा भने नेपालसँग सीमा जोडिएका जिल्लामा बाढीको अवस्था छ । पिलिभीत, लखिमपुर खेरी, बहराइच, श्रावस्ती, बलरामपुर, सिद्धार्थनगर, महाराजगन्जका करिब ८०० गाउँ लगातार तेस्रो दिन पनि बाढीको चपेटामा परेका छन् ।

    शाहजहांपुरमा दिल्ली-लखनउ राजमार्ग लगातार दोस्रो दिन पनि बन्द छ। बलरामपुरको प्राथमिक विद्यालयमा ३ फिटसम्म पानी भरिएको छ ।यूपी–बिहार बाहेक देशभर भारी वर्षा भइरहेको छ । मौसम विभागले मध्य प्रदेश, उत्तर प्रदेश, छत्तीसगढ, पञ्जाब, हरियाणा, जम्मू, उत्तराखण्ड र हिमाचल प्रदेशमा भारी वर्षाको चेतावनी जारी गरेको छ ।

    विभागले मुम्बईमा वर्षाको चेतावनी जारी गरेको छ। जसका कारण सडक, रेल र हवाई यातायात सेवा प्रभावित हुन सक्नेछ । शुक्रबार राति र शनिबार बिहान दिल्लीका केही क्षेत्रमा भारी वर्षा भएको थियो। आज पनि यहाँ पानी पर्ने सम्भावना छ ।

  • आदिकवि भानुभक्तको सालिकमा माल्यार्पण

    आदिकवि भानुभक्तको सालिकमा माल्यार्पण

    काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा दरबार हाईस्कुलमा रहेको उनको सालिकमा माल्यार्पण गरिएको छ । नेपाल शिक्षा परिषद्को आयोजनामा आज बिहान आयोजित कार्यक्रममा नेपाल प्रज्ञा  प्रतिष्ठानका पूर्वउपकुलपति एवं वरिष्ठ साहित्यकार गङ्गाप्रसाद  उप्रेतीले आचार्यको सालिकमा माल्यार्पण गरे ।

    भानुभक्तको सालिकमा माल्यार्पण गर्दै पूर्वउपकुलपति उप्रेतीले नेपाली भाषाको विकास गरी नेपालीलाई एकताबद्ध गर्न आदिकविको ठूलो योगदान रहेको बताए । उनले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारण र कालजयी रहेको उल्लेख गरे ।

    नेपाल शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले आदिकवि आचार्यलाई सम्पूर्ण नेपालीले सदैव स्मरण गर्नुपर्ने बताए । वि.सं २०१६ मा नेपाल शिक्षा परिषद्ले दरबार हाईस्कुल अगाडि निर्माण गरेको भानुभक्तको सालिकको प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले अनावरण गरेका थिए ।

    विसं २०१६ देखि यहाँ भानु जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरिँदै आएको परिषद्का सदस्य सचिव लक्ष्मण थापाले जानकारी दिए ।

  • नसोध्नु मेरो खबर

    नसोध्नु मेरो खबर

     

    न सोध्नु मेरो हाल खबर वचनले छुरा लागेको छ
    सत्य शब्द बोल्दा बोल्दै ईमान्दारीता टाढा भागेको छ ।

    बेहाल छु म सक्दिन झुट कहिल्यै पनि स्वीकार्न
    सत्य बोल्दा थाकिसके पर्छ आखिर असत्यलाई पुकार्न

    गलत साबित गरियो मलाई सत्य बोल्न खोज्दा खोज्दै
    भक्कानिएर रुन्छ मन एक्लो भए अरुको बारेमा सोच्दा सोच्दै

    दुखाउन सम्म दुखाए मुटु दाग बनी सधै रहेयो
    सोचेजस्तो भएन मेरो जिबन औलाईएको झार भयो

    टुट्यो मेरो सारा सपना दाउरा सरि भयो खरानी
    हृदयमा चोट बोकि रुदै लिई हिडे एकमुठी परानी

    गरौं गुहार को सङ्ग छैनन् यहाँ कोहि निस्वार्थिहरु
    इस्ट मित्र साथी भाइ भए सबै स्वार्थिहरु

    जता गयो ठक्कर नै ठक्कर भेटिएन कतै बाटो
    अशान्तिले बाचिराछु छैन शान्ति खुसिको साटो

    नमेटिने दाग बन्यो मुटुमा छुरा गोपियो
    दुखेको घाउ सेलाउदै थियो त्यसैमा चर्को नुनले छोपियो ।

    सत्यको परिचय देउ म कसरी सत्री बोले बैमान भैन्छ
    झुट बोल्न आउदैन मलाई सत्यको त जमाना रैन्छ

    गरौं गुनासोको सङ्ग यहाँ कोहि छैन सुनिदिने
    दुस्ख कष्ट धैरै भोगे गरिदिन्छ्न निर्दोषलाई थुनिदिने

    अभिनय गर्दै हिड्छ्न भक्छक लुटिदैछ इमानदारी
    रक्छक भक्छ्क भाको देख्दा हुन्छ मेरो मन भारी

    लडौ अब कुन आधारमा शान्ति यहाँ छैन कतै
    हत्यारालाई बचाईन्छ यहाँ अशान्ति छ जताततै

    धर्म स्वर्ग, पाप नर्क सिमित रहेयो शब्दै मात्र
    बिन्ती बिसाउ को सङ्ग यहाँ देखिराछु जात्रैजात्रा

    अपराध गर्ने गरिराछ्न लगाको छ्न धनको राश
    रक्छ्न नै राक्षस भाछ्न बाचेका छौ त्रास नै त्रास

    आशा पनि मरि सक्यो, न्याय हामी पाउछौ कहिले
    विकल्प नै भेटिदैन आत्महत्या हुन्छन् जहिले

    नसोध्नु मेरो हाल खबर वचनले छुरा लागेको छ
    नसोध्नु मेरि नयाँ खबर हृदयमा वाण लागेको छ ।

    सुसिला पराजुली

  • प्रधानमन्त्री प्रचण्ड पदमुक्त

    प्रधानमन्त्री प्रचण्ड पदमुक्त

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् ।

    प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।

    २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्‍यो । उनको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ । आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो ।

    १० पुस २०७९ मा प्रधानमन्त्री भएका प्रचण्डले पहिलो पटक २६ पुसमा विश्वासको मत लिँदा अभूतपूर्व समर्थन पाएका थिए । उनको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत मात्र परेको थियो ।

    दोस्रो पटक ६ चैत २०७९ मा १७२ मत पाए । तेस्रो पटक ३० फागुन २०८० र चौथो पटक ७ जेठमा विश्वासको मत लिँदा समान १५७ मत पाएका थिए ।

    तर यो पटक कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरेसँगै उनी अल्पमतमा परे । साना दलहरूले समेत साथ दिएनन् । उनलाई आफ्नै दल माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिएको छ ।

  • ओम्नी र गिरिबन्धुहरूको कलङ्क नबोकी सरकार चलाउन सकेँ : प्रचण्ड

    ओम्नी र गिरिबन्धुहरूको कलङ्क नबोकी सरकार चलाउन सकेँ : प्रचण्ड

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताएका छन् । उनले आफूले कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको कलङ्क नबोकी सरकार चलाउन सकेको बताए ।

    प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने– ‘सरकारले विश्वविद्यालयमा मेरिटोक्रेसीको प्रयास गर्‍यो । सरकारले जनतालाई सुशासनको ठोस अनुभूति दिने प्रयास गर्‍यो । देशको एउटा विशेष वर्ग कानूूनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास गर्‍यो । कुनै यति, कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको बोझ र कलङ्क नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण पेश गर्‍यो ।’

    उनले अगाडि भने, ‘‘मैले संकल्प गरेको थिएँ, जनताको हामीप्रति एक ढंगको असन्तोष छ भन्ने तथ्य लुकाएर होइन, त्यसलाई स्वीकार गरेर त्यो अवस्था बदल्न म कृतसंकल्पित छु । सरकारले राज्यबाट जनतालाई प्रदान गरिने सेवाप्रवाहको सरलीकरणको प्रयास गर्‍यो ।  प्रधानमन्त्रीका रूपमा आफूले सुशासनको सङ्कल्प गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले जनताले आफ्नो देखाउने समय आएको बताए ।