Category: संस्कृती

संस्कृती

  • आज गणेश चतुर्थी पर्व मनाइँदै

    आज गणेश चतुर्थी पर्व मनाइँदै

    काठमाडौं । भगवान श्री गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ ।

    सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता अनुसार यो पर्व मनाउने गरिएको हो ।

    गणेश चतुर्थीका अवसरमा आज काठमाडौं उपत्यकाका सूर्यविनायक, कमलविनायक, अशोकविनायक, चन्द्रविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विहानैदेखि भक्तजनको भीड लागेको छ ।

    शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ ।

    यस दिन हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।

    भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

    बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजाआराधना गरी अर्घ्य दिनुपर्ने विधि रहेको छ ।

    नेवार समुदायले यो पर्वलाई चथाः नामले मनाउने गर्दछन् ।

  • आज श्रीकृष्ण जन्माष्टमी, किन गरिन्छ श्रीकृष्णको पूजा

    आज श्रीकृष्ण जन्माष्टमी, किन गरिन्छ श्रीकृष्णको पूजा

    काठमाडौं । आज २०८१ साल भदौ १० गते सोमबार तदनुसार सन् २०२४ अगष्ट २६ तारिख। भद्र कृष्ण पक्षको सप्तमी तिथि। श्रीकृष्ण जन्माष्टमी व्रत।

    प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ। संसारभरका हिन्दु धर्मावलम्बी अनि श्री कृष्णका भक्तले प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन्।

    श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनेले बिहान सबेरै नुहाइधुवाइ गरेर व्रत बस्छन्। दिनभर जल वा फलफूल मात्र खाएर पूर्ण रूपमा सात्विक बस्छन्। मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई पञ्चामृतले स्नान गराइदिन्छन्।

    हातमा मुरली, शिरमा मयूरको प्वाँख, शीतल बगैंचामुनी, जीवजन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधुर धुन यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्रीकृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ।

    कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाँही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ।

    पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन्।

    किन गरिन्छ त श्रीकृष्णको पूजा ?
    आजको दिनमा श्रीकृष्णको पूजा आराधना गर्नाले सन्तान प्राप्ति हुने, लामो आयु प्राप्त हुने र समृद्धि प्राप्ति हुने विश्वास गरिन्छ। यस पर्व मनाउनुले हरेकको मनोकामना पूरा हुने आस्था राखिन्छ। धर्म ग्रन्थअनुसार जुन व्यक्तिको चन्द्रमा कमजोर छ, उसले श्रीकृष्णको पूजा गरेमा उसलाई अधिका लाभ मिल्छ।

    आजका दिनमा प्रेम र दाम्पत्य सुखका लागि राधा–कृष्णको, सन्तान प्राप्तिका लागि बालक कृष्णको र अन्य मनोकामना पूरा गर्नका लागि बंशीवाला कृष्णको मूर्ति बनाई पूजा गर्ने गर्ने गरिन्छ।

    श्रीकृष्णको पूजामा कालो रङ बर्जित छ। मन्दिरमा जान समेत कालो रंगको प्रयोग नगर्नु उचित देखिन्छ। श्रीकृष्णको पूजा आराधनाका लागि शृंगारमा फूल र गोपी चन्दनको प्रयोग उचित मानिन्छ।

  • आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

    आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

    काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।

    रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

    मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

    नेपाल पञ्चाङ्ग निर्यायक विकास समितिका अनुसार मुलुकका विशिष्ट व्यक्तिले मात्र भद्रा कटाइ दिनको १ः३१ बजेपछि रक्षाबन्धनको कर्म गर्नु मुनासिव हुनेछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलिसमेत बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए । सोही पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा निरन्तर छ ।

    यसैदिन ब्राहृमण, क्षेत्री र वैश्यगरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ ।

    यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पणगरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।

    अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ ।

    रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठमन्दिरमा भक्तजनको भीड लागेको छ ।

    क्वाँटी खाने दिन

    जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

    नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

    काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ । जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

  • आज नागपञ्चमी पर्व मनाइँदै

    आज नागपञ्चमी पर्व मनाइँदै

    काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ ।

    नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ ।

    नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।

    आजको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

    नागको पूजा गर्नेहरुको घुइँचो

    आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा पूजा गर्नेहरुको घुइँचो छ । नागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने र खाने गरिन्छ ।

    वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने भएकाले ऋषिमुनिहरुले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ । नागपञ्चमीसँगै चाडबाडको याम सुरु हुन्छ ।

  • स्वयम्भूमा आजदेखि एक महिने मेला सुरु

    स्वयम्भूमा आजदेखि एक महिने मेला सुरु

    काठमाडौँ । काठमाडौँको स्वयम्भूमा आजदेखि एक महिनासम्म लाग्ने मेला सुरु भएको छ ।

    गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने चाडका अवसरमा आयोजित मेला अवधिभर हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन परिक्रमा, शोभाभगवतीसँगै विजेश्वरी र सेतो मत्स्येन्द्रनाथको परिक्रमा तथा करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।

    स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका निम्ति आउने भक्तजनको संख्या बढ्ने अपेक्षा गरेको छ ।

    प्राचीन सम्पदास्थलका चैत्य र विभिन्न भाग मर्मत एवं जीर्णोद्धार सम्पन्न गरिएकाले मेलामा आउनेको संख्या बढ्ने अपेक्षा गरिएको हो

    महासमितिका महासचिव अशोक बुद्धाचार्यले मन्दिर आसपासमा अस्थायी पसल हटाइएको र सहयोगापेक्षीलाई बस्न नदिने व्यवस्था गरिएको बताए ।

    थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पाँच लाख मानिस आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ ।

    काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले महासमितिसँग समन्वय गरी मेला व्यवस्थापनको प्रबन्ध भएको जानकारी दिए । स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्तले सडक जामलाई व्यवस्थापन गर्ने जनाएको छ ।

  • आज साउन १५, खिर खाएर मनाइँदै

    आज साउन १५, खिर खाएर मनाइँदै

    काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।

    साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

    संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन् ।

    साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।

    साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउछन् । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।

    ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् ।

    चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिर समेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

    नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ ।

    नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।

    दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

    नेपालको खाद्य नियमावली अनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, चार दशमलव सात प्रतिशत ल्याक्टोज र तीन दशमलव पाँच  प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।

  • आज साउनको पहिलो सोमबारः पशुपतिनाथमा दर्शनार्थीको भिड

    आज साउनको पहिलो सोमबारः पशुपतिनाथमा दर्शनार्थीको भिड

    काठमाडौँ । सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत आजबाट सुरु भएको छ ।

    साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन् ।

    साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

    नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहेका धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा  भक्तजनको भीड लाग्छ । पशुपति क्षेत्रमा साउने सोमबारका लागि सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

    साउनको सोमबार पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लामको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको जानकारी पनि उनले दिए । पशुपतिनाका चारै ढोका सोमबार बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिएको छ ।

    साउनको सोमबार पशुपति क्षेत्रमा ११ संस्थाका स्वयंसेवक खटाइएको छ । विभिन्न संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, खोजखबरको कक्ष पनि सञ्चालन गर्न लागेका छन् । साउनको सोमबार पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।

    साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ । बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजन पनि साउनमा लाखौँ हुने गरेका छन् ।

    साउन महिनाको सोमबारका दिनमा पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाका साथै देशभरका शिवालयमा आशुतोष भगवान शिवको पूजा, आराधना गर्न भक्तजनको भीड लाग्ने गर्छ । साउनको पहिलो सोमबारदेखि अन्तिम सोमबारसम्म व्रत गरेका भक्तजनले अन्तिम दिनमा गोदान एवं पूर्णपात्रदान गरी व्रत समापन गर्ने विधि छ ।
     

  • आज असार १५ : राष्ट्रिय धान दिवस मनाइँदै

    आज असार १५ : राष्ट्रिय धान दिवस मनाइँदै

    काठमाडौं । आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै छ। असार १५ दही चिउरा खने दिनको रुपमा किसानमाझमा लोकप्रिय प्रसिद्ध पर्व हो।

    वि.सं. २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।

    कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। त्यसैले धान दिवस आज खेतमा काम गर्दै दही चिउरा खाएर मनाइँदै छ।

    किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ

    ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।

    मध्य गर्मीको यो समयमा युवा (लाठे) र युवती (रोपाहार)ले खेतमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलतासँगै शक्ति सञ्चय हुने विश्वास गरिन्छ।

    दही चिउराको महत्त्व
    असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउँछन्। पछिल्लो समय दही, चिउरासँगै आँपको सिजन भएकाले आँपका साथमा मासुसमेत खाने प्रचलन बढ्दै गएको छ।

    नेपाली संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ।

    यस्ता शुभकामना निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ।

    दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भन्ने भनाइ छ।

    आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ। भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ।

    पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ। यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रूप लिएको छ।

  • १४२० वर्ष पुरानो पनौती जात्रा मनाइँदै

    १४२० वर्ष पुरानो पनौती जात्रा मनाइँदै

    काभ्रे । काभ्रेपलाञ्चोकको ऐतिहासिक पनौती नगरमा एक हजार चार सय २० वर्षदेखि मनाइँदै आएको हिले जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य रहेको छ ।

    त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल मनाइने हिलेजात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन हो ।

    जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्‍याउनेले  कहिल्यै सुख पाउँदैन भन्ने स्थानीय बूढापाकाको भनाइ छ ।

    त्रयोदशीको तीन दिनअघि आज पनौतीको ऐतिहासिक क्षेत्रमा अवस्थित भैरवनाथ, भद्रकाली, इन्द्रेश्वर र ब्रह्मायणी मातालाई मन्दिरको आसनबाट केही तल सारेपछि औपचारिक रुपमा जात्रा सुरु भएको मानिन्छ । विशेष रुपमा यस वर्ष असार ६ गते अर्थात् बिहीबारदेखि शुक्रबारसम्म धुमधामका साथ मनाइन्छ ।

    स्थानीयले भैरवनाथ र भद्रकालीको रथ बनाउँछन् भने मन्दिरहरूमा तोरण र झल्लरीसहित बत्ती तथा रङ्गाउने राख्ने काम भइरहेको छ ।

    जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिएको पाइन्छ । जात्रा सकिएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुन्छ । यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि बर्षा हुनैपर्छ । प्रत्येक वर्ष यस्तै हुँदै आएको यहाँका स्थानीयसँग अनुभव पनि छ ।

    किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टीका ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्गमतीबाट वासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिँदै आइएको स्थानीय समाजसेवी तुयुकाजी ताम्राकार बताउँछन् । उनका अनुसार करिव पचास मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रुपमा दुईवटा बाँस तेर्स्याइने र देवगण एक घण्टा लगाएर तर्ने गर्छन् ।

    तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो जात्राका रुपमा लिने गरिएको छ ।

    जात्रा मनाउने क्रममा त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठ मन्दिरमा धुमधामहित पूजाअर्चना गरिने स्थानीय वृद्ध विकुनारायण ताम्राकारले बताए ।

    उनका अनुसार इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित गणेशको मूर्तिलाई खटमा राखी अबीरजात्रा गरी नगर परिक्रमा गराइन्छ ।

    जात्राको तेस्रो अर्थात् पूर्णिमाको दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने गरिन्छ । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रुपमा लिँदै युवायुवतीको सहभागिता उत्साहजनक रहने गर्दछ ।

    स्थानीय वृद्धवृद्धाको भनाइमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुप धारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफाली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुप धारण गरी भद्रकालीलाई भगाउँछन् ।

    भाग्ने र पिछा गर्ने कार्यका रुपमा रथ जुधाइने गरिएको मानिन्छ । रथ जुधाइसँगै अबीरजात्रा पनि हुन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्द्रेश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रह्मायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् ।

    धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनिक सम्बन्ध प्रस्तुतिका रुपमा लिइएको हो । रथ जुधाउँदा जोश झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तँछाडमछाड गर्छन् अनि, थाक्दैनन् पनि ।

    इन्द्रेश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको थियो । विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो तर, पछिल्ला केही वर्षदेखि देवतारुपी रथलाई ठूलो सहभागितामा दिउँसो जुधाउने गरिएको छ । स्थानीय मुख्य पर्व जनाउँदै जात्राको अन्तिम दिन नगरपालिकाले सार्वजनिक बिदासमेत दिने गरेको छ ।

    जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य (आचाजू)हरु सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ । कर्माचार्य खोलापारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास गरिन्छ ।

    कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ठ हुने, खडेरीले दुःख दिने जस्ता आध्यात्मिक विश्वास मनमा पाल्ने भएकाले जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ ।

    अर्को रोचक प्रसङ्ग जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ । यसपछि यी सामग्रीको बिक्री सुरु हुने पनि जनविश्वास छ । जात्रामा चिउली चपाएर जिब्रो पड्काउँदै युवायुवती हौसिएका देखिन्छन् । स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाइ स्वागत सत्कारका साथ भोज गर्छन् । भोजका लागि प्रत्येक घरमा बलि दिने प्रथा अझै कायम रहेको छ ।

    किंवदन्तीअनुसार राजा प्रताप मल्लले विसं १२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ ।

    तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता (लिलावती) र रोशी खोला (रुद्रावती)बाहेक पद्यमावती नदी गुप्तरुपमा ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बगिरहेको मान्यता रहेको छ ।