Tag: आगलागी

  • भारतको गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु

    भारतको गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु

    गुजरात । भारत गुजरातको राजकोट शहरस्थित बालबालिका खेल्ने एक गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५ जनालाई सुरक्षित बाहिर निकालिएको छ ।

    शनिबार अपराह् साढे ४ बजेतिर राजकोटको कालावड रोडस्थित टीआरपी गेम जोनमा लागेको आगो ३ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार शवहरु डढेकाले मृतक पहिचान गर्न सकिने खालका छैनन् । ती शव पहिचानका लागि डीएनए टेस्ट गराउने तयारी छ ।
    प्रत्यक्षदर्शीका अनुसार गर्मी बिदा र सप्ताहान्तका कारण मनोरञ्जनका लागि थुप्रै बालबालिका र उनीहरुका अभिभावक थिए । त्यहाँ केही स्थानमा मर्मत र स्तरोन्नतीको काम भइरहेको थियो । त्यसैले प्लाई र काठका टुक्रा यत्रतत्र छरिएका थिए । त्यही बेला एक्कासी आगो देखिएको थियो । यद्यपि आगलागीको कारण खुलेको छैन ।

    गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले घटनाको जाँच गर्न विशेष अनुसन्धान टोली गठन गरिएको जनाएका छन् । टीआरपी गेमजोनका म्यानेजरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।भारतीय सञ्चार माध्यमहरुका अनुसार त्यहाँ आगो निभाउने उपकरण पनि नराखिएकाले ठूलो क्षति भएको हो । यो घटनापछि गुजरात सरकारले आगो निभाउने उपकरण नराखेका राज्यभरका सबै गेमजोन बन्द गर्न निर्देशन दिएको छ ।

    घटनापछि राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल लगायतले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

  • महोत्तरीको मटिहानी आगलागी: न खाने अन्न रह्यो, न फेर्ने लुगा

    महोत्तरीको मटिहानी आगलागी: न खाने अन्न रह्यो, न फेर्ने लुगा

    महोत्तरी ।  बुधबार दिउँसोको आगलागीबाट घरबारविहीन भएकी महोत्तरीको मटिहानी–६ जरलहवागाछीकी मैमुन खातुनका आँखा अझै ओभाएका छैनन् ।

    बनीबुतो गरेर सञ्चय गरिएको अन्नपात, लुगाफाटा र भाँडाकुडासहित घरजलेर खरानी भएपछि अब जहान परिवार कहाँ लिएर कसरी पालिने भन्ने चिन्ताले मैमुनलाई पिरोलेको छ । बनीबुतो र  खेत बढैया (अधिया) गर्दै जोहो गरिएका अन्नपात र क्षणभरमै खरानी भएपछि मैमुनका पति शेष फर्मुदका आँसु पनि थामिएका छैनन् । फर्मुद सुस्केरा हाल्दै  भन्छन्, ‘आब केना जिबै ! या अल्लाह (अब कसरी बाँच्ने हे ईश्वर) !’

    मैमुन परिवारमा मात्रै होइन घरबारविहीन सो बस्तीका एक सय ६० भन्दा बढी आगलागी पीडित परिवारको व्यथा उस्तै छ । ति परिवारसँग न खाने अन्न छ, न त फेर्ने लुगा । ‘कुछो बच नइसकल, सब जैरगेल (घरका केही सामान बचेनन्, सबै जले),’ बस्तीकी आगलागी पीडित लखनदेवी पासवान भन्छिन्, ‘आब परिवारके कोना गुजारा चलत(अब परिवारको गुजारा कसरी चल्ला !’

    बुधबार लखनदेवी उपचारका लागि भारतको सीतामढी गएकी थिइन् । घर फर्किँदा घरको ठाउँमा खरानीको थुप्रो मात्रै देखेपछि बेहोस भएकी उनलाई नगरप्रमुख हरिप्रसाद मण्डलसहितका प्रतिनिधिले ढाडस दिएपछि सम्हालिए पनि वर्षौंको थातथलो देखेर अझै बेचैन छिन् ।

    अधिकांश मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोबास रहेको जरलहवागाछी विपन्न बस्ती हो । त्यही बस्तीमा बुधबार मध्याह्न मैमुन खातुनको परालको कुन्यूबाट सल्केको आगोले भीषण रूप लिँदै एक सय १० घर पूर्ण रूपमा जलेर खरानी बनायो ।

    आगोको लप्काले बस्तीका ५० जति अन्य घरमा क्षति पुगेको छ । सो घटनामा पाँचवटा पशुचौपाया मर्नुका साथै १५ करोडभन्दा बढीको धनमाल क्षति भएका नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन् । मध्याह्नतिर लागेको आयो हावाको बहाबसँगै तीव्र गतिमा बस्ती पसेको थियो ।

    आगो निभाउन मटिहानी, जलेश्वर, रामगोपालपुर र प्रदेश प्रहरी कार्यालयका दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले छ घण्टासम्म संघर्ष गर्नुपरेको थियो । आगो निभाए लगत्तै मटिहानी नगरपालिकाले तत्कालै पीडित परिवारलाई चिउरा, सख्खरसहितका तयारी खानेकुरा, ओतका लागि त्रिपाल र नेपाल रेडक्रस सोसाइटी महोत्तरीले बाल्टिन र जग उपलब्ध गराएको थियो ।

    यसैगरी प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अग्निपीडितको सहयोगार्थ जुट्न सम्बद्ध सामाजिक संघसंस्था, मनकारी व्यक्तिहरू र विभिन्न निकायसँग अपिल गरिएको बताए । रासस