Tag: पृथ्वी राजमार्ग

  • पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, सिमलटारका ४० घर डुबानमा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, सिमलटारका ४० घर डुबानमा

    दमौली । तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण आज बिहान विभिन्न ठाउँमा  पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।  तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा, व्यास नगरपालिका–१२ घाँसीकुवा, म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

    याम्यामा बिहान ४ बजे गएको पहिरो हटाइए पनि  रुख ढलेर पुनः राजमार्ग अवरुद्ध भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को निर्माण कम्पनीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    यस्तै बन्दीपुर गाउँपालिका–५ नयाँपुल नजिकसमेत पहिरोले सडक अवरुद्ध भएको छ । पहिरोका कारण व्यास –१२ कमलबारी नजिकसमेत बाटो अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । यस्तै व्यास–१२ घाँसीकुवामा पहिरो खस्दा यो खण्डसमेत अवरुद्ध भएको छ । पहिरोका कारण सडक छेउ रहेका मेसिन समेत केही पुरिएको छ । डोजरलगायतका मेसिन पुरिएर बाहिर निकाल्न नपाउँदा अन्यत्र पहिरो पन्छाउन जान सकिएको छैन । यस्तै म्याग्दे –६ मौरीओडारमा समेत पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको छ ।

    त्यस्तै वर्षाका कारण बुल्दीखोला बस्तीमा पस्दा तनहुँको व्यास–४ तल्लो सिमलटारका ४० घर डुबानमा परेका छन् । बुल्दीखोलामा आएको बाढीले खोला बस्तीमा पस्दा तल्लो सिमलटारका करिब ४० घर डुबानमा परेका हुन् ।

    बुल्दीखोलाको बाढीले यहाँका घरका तल्लो कोठा र सटरमा रहेका सामग्री बगाएको स्थानीय श्रीराम कार्कीले जानकारी दिए । रातिको समयमा आएको बाढीका कारण मानवीय क्षति नभए पनि आर्थिक नोक्सानी भएको उनको भनाइ छ ।

    उनले भने, “खोला पसेर घरको तल्लो कोठा र सटरमा रहेका सरसामान, फर्निचरलगायतमा ठूलो क्षति पुगेको छ । मानवीय जोखिम रहँदा हारगुहार गरी ज्यान बचाउन सफल भइएको छ । बस्ती जोखिममा रहेकाले सुरक्षित गर्न तुरुन्तै उच्च तारबार बलियो बनाउनुपर्ने अवस्था आएको छ ।”

    कृष्णपुरको कजवे भत्काएर बेलिब्रिजको व्यवस्थापन गर्न र बस्ती सुरक्षित गर्न आवश्यक रहेको उनले बताए ।  स्थानीय सोमबहादुर आलेले बाढीका कारण घरको तल्लो तल्लामा क्षति पुगेको जानकारी दिए । उनले भने, “बिहान अचानक बाढी आउँदा सबै भागाभाग भयो, अधिकांश घरमा बाढी पसेर क्षति पुगेको छ ।” जिल्ला प्रहरी कार्यालय तनहुँले क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ ।

  • पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप

    पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप

    तनहुँ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप गरिएको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई काम गर्ने समय थप गरिएको हो ।

    कोभिड–१९ को सङ्क्रमणले मजदुर परिचालनमा समस्या भएको, रुख कटान र विद्युत् पोल सार्ने आदेश ढिलो भएको लगायतका कारणले सडक विस्तार समयमा नै सम्पन्न गर्न नसकिएको मुग्लिन सडक पूर्वीखण्डका प्रमुख इन्जिनियर श्यामकुमार यादवले जानकारी दिए ।

    म्याद सकिए पनि निर्माण कम्पनीले सडक विस्तार कार्य नरोकेपछि गत वैशाखदेखि लागू हुने गरी म्याद थप गरिएको उनले बताए । थप गरिएको समयावधि २०८१ भदौ मसान्तमा सकिने छ ।

    “सम्झौता सकिए पनि सडक विस्तार कार्य गरिरहेको पायौँ”, प्रमुख इन्जिनियर यादवले भने, “त्यसैले पाँच महिनाको समय थप गरेका हौँ ।” जामुनेदेखि आँबुखैरेनीसम्मको करिब ४२ किलोमिटरको पूर्वी खण्ड विस्तार गर्न विभिन्न स्थानमा करिब सात सय मजदुर खटाएर विस्तार कार्य तीव्र पारिएको निर्माणमा संलग्न कम्पनीले जनाएको छ । पूर्वी खण्डमा हालसम्म ५९ प्रतिशत कार्य प्रगति भएको आयोजनाले जनाएको छ ।

    विसं २०७७ माघमा सम्झौता गरेर ठेकेदार कम्पनीले २०७८ वैशाखदेखि काम थालेको थियो । सो खण्ड विस्तार गर्न निर्माण कम्पनीले मादि नदीको पुलबाहेक रु ६ अर्ब २१ करोडमा ठेक्का पाएको हो । मादी नदीमा तीन सय १५ मिटर लम्बाइको पुल निर्माण गर्न रु एक अर्ब २१ करोड लागतमा छुट्टै ठेक्का लगाइएको छ । यस खण्डमा भत्काउनुपर्ने पाँच सय पाँच घरमध्ये अधिकांश भत्काइ सकिएको आयोजनाले जनाएको छ ।

    पश्चिम खण्डअन्तर्गत पोखरा र दुलेगौँडासहित मुख्य बजार क्षेत्रमा करिब २० किलोमिटर खण्डमा ६ लेन रहने गरी ४६ मिटर फराकिलो, जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडकखण्ड २३ मिटर फराकिलो कायम रहने गरी कालोपत्र गरिने पश्चिम खण्डका आयोजना प्रमुख राजेश पौडेलले जानकारी दिए । रु सात अर्ब ४० करोड ४६ लाखको लागतमा निर्माण गर्न २०७८ जेठमा पश्चिम खण्डको ठेक्का सम्झौता चिनियाँ ठेकेदार कम्पनी एनहुइ केयुनन हाइवे एण्ड ब्रिजसँग भएको हो ।

    एसियाली विकास बैंक (एडिबी) को सहुलियत ब्याज ऋण सहयोगमा मुग्लिन पोखरा सडक विस्तार गरिएको हो । अधिकांश क्षेत्रमा सडक दुईतर्फी २५ मिटरको हुनेछ ।

    बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ भने तनहुँको दमौली र डुम्रे बजार क्षेत्रमा ४१ मिटर फराकिलो हुनेछ । अति जनघनत्व रहेका क्षेत्र दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ ।