Tag: राष्ट्रपति पौडेल

  • महिलामाथिको हिंसा निराकरण गर्न राज्यका सम्पूर्ण संयन्त्रले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

    महिलामाथिको हिंसा निराकरण गर्न राज्यका सम्पूर्ण संयन्त्रले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको राजनीतिक, सामाजिक, न्यायिक पहुँचलगायतका क्षेत्रमा समान, अर्थपूर्ण र सम्मानजनक सहभागिताको प्रत्याभूति गराउनुपर्ने बताएका छन् ।

    राष्ट्रपति पौडेलद्वारा छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आज जारी शुभकामना सन्देशमा महिलाको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिताका लागि सबैको सामूहिक प्रयास हुनु जरूरी रहेको उल्लेख गरेका छन् ।

    ‘सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त सभ्य समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु’, सन्देशमा भनिएको छ ।

    ‘हाम्रो अभियानः आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ मनाउन लागिएको छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै उनले उक्त शुभकामना दिएका हुन् । राष्ट्रपति पौडेलले यस अवसरमा महिलाको हक, अधिकार सुनिश्चित गर्न योगदान गर्नुहुने सम्पूर्ण अग्रजहरुलाई स्मरण गर्दै धन्यवादसमेत दिएका छन् ।

    ‘विभिन्न नीतिगत र कार्यगत प्रयासहरू हुँदाहुँदै पनि महिलाहरू सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक एवं आर्थिकरूपमा पछाडि परेका छन्’, सन्देशमा भनिएको छ, ‘कार्यस्थल, शैक्षिक संस्थान, सार्वजनिक स्थान तथा घर समाजमा नै महिला पूर्णरूपमा सुरक्षित नभई महिला तथा बालबालिकामाथि हुने हिंसाजन्य घटनाहरू हुनु आफैँमा अत्यन्त दुःखद् कुरा हो, यस्ता क्रियाकलापको निराकरणको निम्ति राज्यका सम्पूर्ण संयन्त्रले यस विषयलाई मुख्य प्राथमिकताका साथ लिनुपर्दछ भन्ने लाग्दछ ।’

  • मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल

    मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताएका छन् । विश्व मजदुर दिवस, २०२४ को शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भरउन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत हुनुपर्ने बताए ।

    शुभकामना सन्देशमा उनले भनेका छन् “मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ । उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ ।”

    विश्व मजदुर दिवसले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन प्रेरणा मिल्ने विश्वास पनि उनले व्यक्त गरे ।

    श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ । यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ एक सय ३५ औँ विश्व मजदुर दिवस मनाइँदैछ । यस दिवसले श्रमिकको हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे ।

    नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई  प्रत्याभूत गरेको छ ।

    त्यस्तै, समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने व्यवस्था समानताको हकमा छ । राष्ट्रपति पौडेलद्वरा जारी शुभकामना सन्देशमा मुलकमा लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने उल्लेख छ ।