Tag: अनिता रेग्मी

  • बुहारी हौ, सहन सिक

    बुहारी हौ, सहन सिक

    भर्खरै बिहे भएको, सबै नयाँ-नयाँ थियो।आमालाई तिलहरी, बालाई औंठी दिँदै ढोगे।
    सबै दाइजो हेरिरहेका थिए,
    म मनमनै कति ऋण लाग्यो भनेर जोड्दै थिएँ ।

    कहिल्यै नटेकेको घरलाई आफ्नो घर,
    र आफू जन्मेर फूलबारी सजाएको घरलाई माइती भन्नुपर्ने।

    न जन्माएको, न हुर्काएको, न पढाएको, न त्याग-तपस्या गरेको तर सहजै आमा-बाबा स्वीकार गर्नुपर्ने।

    आफ्नै मुटुको टुक्रालाई पराइसँग सुम्पिदिँदा संस्कारको परिभाषा घोटाउनु पर्ने।
    कहिल्यै नचिनेको अनजान व्यक्तिलाई भगवान मानी पाउ पूज्नुपर्ने।

    जीवनका सारा अतीतलाई तिलाञ्जली दिँदै नयाँ संसार सजाउनुपर्ने।

    बेस्सरी हाँस्नु भएन, धेरै बेर सुत्नु भएन, छिटो-छिटो बोल्नु भएन, हतार-हतार हिँड्नु भएन।

    रिस कहिल्यै अनुहारमा आउनु भएन, थाक्नु कहिल्यै भएन, रुनु कहिल्यै भएन।

    छोटो लुगा लगाउन भएन, बुढासँग धेरै मिल्न भएन, छोरी मात्र पाएर भएन।

    सबैको खुट्टा ढोग्नुपर्‍यो, आफू तल परेर अरू माथि राख्नुपर्‍यो।सिन्दूर, पोते, चुराले ढाकिनुपर्‍यो। सँगै जागिर खाएर बुढा सोफामा, अनि बुढी चुलोमा पस्नुपर्‍यो। सबै आफन्तजनको आँखाको नानी बन्नुपर्‍यो।

    आमा-बुबालाई भेट्न अनुमति माग्नुपर्‍यो। कति सहजै भन्छौ है— “तिमी बुहारी हौ, कसैको चित्त नदुखाऊ” तर बुहारीको पनि मन छ, चित्त दुख्छ, कहिँ कसैले सोध्यो?

    बुहारी हुँदै गर्दा मैले त्यागेका मेरा खुशीको मूल्य कसैले सोध्यो? कति सहजै भन्छौ— “बुहारी हौ, कसैको चित्त नदुखाऊ।”

    – अनिता रेग्मी

  • मारे पाप पाले पुण्य भनी छोरी नअन्माउनु 

    मारे पाप पाले पुण्य भनी छोरी नअन्माउनु 

    अनिता रेग्मी । एउटै कोखबाट जन्मिएका छोराछोरी, आफ्नै दिदिबहिनी, दाजुभाइको विचार त मिल्दैन। फरक फरक सोच्ने तरिका हुन्छ, बानी बेहोरा फरक हुन्छ। त्यसैले बिहे भनेको भनेको त दुई जना फरक कोखबाट जन्मिएका, फरक सोच, फरक बानी बेहोरा र फरक विचार भएका मान्छेहरूबीच हुने कुरा हो। बिहे पछि अनेक समस्याहरू आउन सक्छन्, सोच नमिल्न सक्छ, बिचार नमिल्न सक्छ, मन मुटाब पनि हुन सक्छ। समस्याको समाधान पनि हुन्छ, आफैले सक्ने बेला सम्म सम्झौतासँग सम्बन्ध बचाउने प्रयास गरिन्छ। तर यदि सम्झौतामा जीवन चल्दैन भन्ने पक्का भएपछि कानूनी सहयोगमा सम्बन्ध बिच्छेद गरेर आफ्नो खुशीको बाटोमा जान सकिन्छ र गर्नु नै यही हो।

    एउटा आमा-बाबाले आफ्नो छोरीलाई कसैको रिस वा यातना सहन र अन्त्यमा मारेर फाल्न बिहे गरेर दिएको होइन। मन मिल्न सक्छ भने मिलेर बस्न सकिन्छ, तर कसैले पनि छोरीलाई मारेर फाल्ने अधिकार छैन। एउटा छोरीलाई जन्माएर बिहे गरेर पठाउँदा कुनै आमा-बाबाले सोचेका हुँदैनन् कि मेरो छोरीलाई यस्तो दिन देख्न पर्ला। कहिले दाइजो भएन, कहिले सम्पत्ति ल्याएन, कहिले आफ्नो खुशी गर्न पाएन भन्ने बहाना बनाइन्छ। कसैले फुल जसरी हुर्काएर बिहे गरेर पठाएको छोरीलाई मारेर फाल्न कुन नैतिकताले अनुमति दिन्छ? सानो हुँदा छोराछोरीले घरमा चकचक गर्दा त्यस्तो नगर भनेर सिकाउने आमा-बाबाले, आफ्नो छोराले बहिनीसँग यातना, कुटपिट गर्दा र अन्त्यमा मार्दा एक शब्द पनि बोल्न सक्दैनन्। कतिपय ठाउँमा त छोरा मार्नेमा सघाउने उसको बाबु-आमा नै हुन्छन्। यदि तिमीलाई मारे भने के होला? एउटा सानो कुकुरको बच्चालाई मायाले पालेर हुर्काउने हो भने मान्छेको छोरीलाई मार्दा हातखुट्टा काम्दैन? कति निच र निर्दयी? सुख-दुखमा साथ दिने भनेर बिहे गरेर लिएको मान्छे चित्त बुझेन भने, आफूलाई बाच्न र उसलाई बाच्न दिने कुरा सोच्न सकिँदैन? आफूले चाहेको जस्तो भएन भने, उसले आफ्नो विचारमा सहमति दिएन भने उसलाई बाच्ने अधिकार नै छैन? यस्ता अमानवीय व्यक्तिहरूबाट आफ्नो छोरीलाई जोगाउने तरिका के हो? केही हदसम्म छोरीका बाबु-आमाले पनि बुझ्नुपर्छ। बिहे गरेर पठाएपछि जिम्मेवारी सकियो भन्ने सोच आउने हो भने, तिम्रो छोरीले ममता जस्ता कैयौं अरूको जस्तै ज्यान गुमाउनु पर्नेछ। मारे पाप पाले, पुन्य भनेर नअन्माउनु छोरीलाई। मैले मान्छे लाई छोरी दिएको हुँ, पशु निस्किए भने पशुजस्तो व्यवहार गर्न हामीलाई पनि आउँछ भनेर पठाउनु। छोरीलाई बिहे पछि केहि परे आमा-बाबाले सम्झनुहोस्, यो घर सम्झनुहोस्। बिहे पछि छोरीको घर बिग्रेर इज्जत जाने होइन, त्यो भन्दा दुःख त त्यतिबेला लाग्छ। आफ्नै छोरीले मायतिको इज्जत जाला भनेर ज्वाई र उसको परिवारको दिनरातको यातना सहन्छे र एकदिन घरकाले मिलेर मारेको भन्ने खबर सुन्नु पर्छ! मरेको छोरिको लास हेर्नु जानु भन्दा घर बिग्रेर जीवित छोरीलाई ल्याउनु जाति हो।

    अझै कति ममता मर्नु? अझै कति ममताका आमा-बाबाले चोट सहनु? अनि अझै कति ममताका छोराछोरी टुहुरा हुनु? सबैको जीवनमा बिहे राम्रोसँग नचले, नचले भने आफ्नो बाटो लाग। तर कसैले फुल जसरी सम्हालेर राखेको छोरीलाई मारेर फाल्ने अधिकार कुनै नलायक पुरुषलाई छैन। यस्ता नलायक पुरुष र उनीहरूलाई सघाउने उनका आफन्त परिवार समाजका कलंक मात्र हुन्। र यस्ता पशु जस्तो सोच भएका व्यक्तिहरूलाई कहिल्यै नर्कमा पनि बास नहोस्।

    “ममता, तिमीलाई चिनेका छैनौं, तर तिमीले सहेका सबै यातना र दुःखहरू कसैले देख्न सकेन। तिमीले जीवन रक्षाका लागि गरेको संघर्षहरू व्यर्थ गए। तर तिमीलाई जीवनभर नर्क देखाउने पशुहरूले सजाय पाउने आशा छ। तिम्रो आत्माले शान्ति पाओस्। जीवनमा नपाएको शान्ति मृत्यु पछि मिलोस्। बैकुण्ठ बास होस् तिम्रो।”

  • खुशी खोज्दा भुलिएका चाहनाहरु

    खुशी खोज्दा भुलिएका चाहनाहरु

    हरेक पटक छोरी घरबाट माइती फर्किएर आँगन मुनी, घरभन्दा अलि पर आइपुग्दा जुन खुशी देख्नुहुन्छ नि, छोरी घरमा पनि त्यति नै खुशी छिन् कि छैनन् भनेर कहिल्यै बुझ्नु भएको छ आमा ?

    अरू खबर सोध्नु भन्दा अघि “ज्वाइँ, बुबाआमा सबै आराम कुशल हुनुहुन्छ ? घरतिर सबै ठीक छ नि ?” भनेर सोध्दै गर्दा कहिल्यै “छोरी कस्तो छ तिमीलाई? सबै ठीक छ नि ?” भनेर मनदेखिको कुरा खोतल्ने, सोध्ने गर्नु भएको छ बुबा ?

    बिहे गरेर गएपछि दिदीबाट झन् धेरै आशा राख्ने भाइले “दिदी आज के ल्याइदिस?” भनेर सोध्दै गर्दा “तँलाई सबै कुराको खुशी छ नि है, दिदी ?” भनेर सोध्ने गरेको छौ कहिल्यै?

    कमै खबर सोध्ने तर माइतीबाट सबैभन्दा बढी बहिनीको चासो राख्ने, नभनी खबर राख्ने दाइले कहिल्यै बहिनीलाई “बहिनी, ठीक त छस् नि तँ, भित्रबाटै ?” भनेर सोध्ने गर्नु भएको छ कि छैन?

    छोरी, दिदी, बहिनी माइती आउँदा मात्र खुशी हुन्छिन् कि घरमा पनि त्यस्तै हुन, खुशी मिलेको छ कि छैन भनेर बुझ्ने कोसिस गर्नु भएको छ कि छैन ?

    सोध्ने गर्नु भएको छ, बुझ्ने गर्नु भएको छ भने त एकदमै राम्रो। छैन भने पनि बुझिदिने कोसिस गर्नुहोस्, उसले नभने पनि।

    उसले त जति नै दुःख पाएको भए पनि, जति नै भित्र मरेर बाँचेकी भए पनि माइत आउँदा सारा खुशी भुलिदिन्छे र लुकाइदिन सक्छे पहाड भन्दा ठूला पीडाहरू पनि !

    कहिलेकाहीँ भन्दै नभने पनि बुझिदिने कोसिस गरिदिनुहोस्, उसले लुकाएका पीडाका धर्साहरू !

    थाहा छ बुबाआमा, दाजुभाइ, दिदीबहिनीले खुशी नै खोज्नुहुन्छ आफ्नो छोरीको लागि। तर कहिलेकाहीँ त्यही खुशी खोज्ने क्रममा हामी छोरीको इच्छा, छोरीको चाहना भुलिदिन्छौं, र गलत हातमा सुम्पिदिन्छौं उसको हात !

    सबैको त भन्दिन तर अचेल धेरैजसो, छोरी आफ्नो घरमा खुशी छैन भने इज्जत, मान प्रतिष्ठालाई बचाउने चक्करमा छोरीलाई घरमा जे भए पनि सहन र जे पनि स्वीकार्न बाध्य बनाउँछौं र धकेलिदिन्छौं अन्धकारमा उसको जिन्दगी।

    कतै सुनेको थिएँ “Divorced daughter is better than a dead daughter!”

    – अनिता रेग्मी

  • फर्केर आमालाई सम्झदा

    फर्केर आमालाई सम्झदा

    सानो कुरामा पनि बिचलित हुँदा होस
    जिन्दगी देखि हारेको महसुस गर्दा होस
    कहिलेकहीँ, म मेरी आमालाई सम्झन्छु
    जस्तो परिस्थितिमा पनि, जस्तो समयमा पनि
    संघर्ष गरेर अघि बढेको देख्छु
    अनि आमाको अघि मैले देखेको, भोगेको साना कहिलेकहीँको पीडा त केही पनि रहेनछ भन्ने लाग्छ ।

    आमाले मलाई दुखमा हुर्काएकी हुन
    तर मलाई दुखमा कहिल्यै राखिनन्
    मेरी आमा आफू दुखमा हुर्किएकी हुन
    तर मलाई सुखको कमी कहिल्यै हुन दिइनन्

    जन्मिएकी हुन मेरी आमा अभावमा
    हुर्किएकी हुन मेरी आमा अभावमा
    देखेकी छिन मेरी आमाले अभावै अभावको पहाड
    तर मलाई अभाव हुन दिइनन् केही कुराको पनि।

    यो ठुलो संसारलाई कमै देखेकी छिन
    एउटै कुनामा मात्र सिमित भैन धेरै समय
    तर मलाई सारा संसार देखेको डुलेको हेर्न चहान्छिन ।
    आमा तिम्रो छत्र छाँया भन्दा परको संसार
    तिमीले सुने जस्तो छैन रहेछ नि
    अहिले तिमीबाट सात समुन्द्र पारी रहँदा महसुस गरेको छु ।

    समय परिस्थिति त्यही अनुसार नभैदिँदा खासै पढलेख गर्न त पाइनन मेरी आमाले
    त्यसैले पनि उनी चहान्थिन आफ्नो सन्तानलाई पढाउन आफूले नदेखेको कुरा मलाई देखाउन
    आफूले नजानेको कुरा मलाई जान्ने बनाउन

    खै आमाको यो प्रयासबाट कति पढें कति बुझेँ कति जाने त थाहा छैन तर यति चाहि बुझ्ने भएको छु आमालाई खुशी देख्दा मात्र मेरो मन खुशी हुने रहेछ मन म खुशी हुने रहेछु ।

    अबको जिन्दगी मैले आमाको लागि केही गर्नको लगि आमाका सिमीत रहरहरुमा रंग भर्नको लागि संघर्षले थाकेकी छिन मेरी आमा आमालाई आराम दिएर आफू संघर्ष गर्नको लागि । आमाको खुशीको लागि ।
    – अनिता रेग्मी