Tag: ईरा अर्याल कविता

  • आज पनि कुरा अधुरो रह्यो

    आज पनि कुरा अधुरो रह्यो

    मलाई फरक हुनु मन छ, एउटै होइन।
    मलाई म भनी चिन्नु मन छ, उ होइन।
    काँडै काँडाको बगैचामा मलाई सुन्दर फूल हुनु मन छ।
    जन्म त बाआमाले दिए पनि मलाई आफ्नो छुट्टै पहिचान बनाउनुछ ।

    थाहा छ, निकै गाह्रो छ लाखौँ सङ्ख्याको दृष्टिले हेर्ने समाजबाट अघि बढ्न, तर मलाई प्रयास गर्नु मन छ ।
    मलाई यो रात मेरै हो भनी हिँड्नु मन छ, दिनमा खुल्ला पन्छी जस्तै उड्न मन छ ।
    मलाई पनि दैलोको सिमाना नाघी जीवन जिउनु मन छ ।
    सपना त अनगिन्ती छन्, पूरा होलान् नहोलान्, तर मलाई आफ्नै एउटा सानो महल बनाउनु मन छ।
    गोजीमा सुको छैन तर संसार घुम्ने रहर छ।
    उकाली चढ्दा सास फुल्छ, तर पनि मलाई हिमाल चढ्ने रहर छ ।

    धेरै त सकूँला नसकूँला, तर आमाको उद्रेक चोली अनि बाबाको सिरको मैलो टोपी फेर्ने ठूलो मन छ।
    मलाई म बनि चिन्नु मन छ।

    आकाशका तारा हेर्दै गुनगुनाउँदै थिएँ, कतिबेला आँसु खस्यो पत्तै भएन।
    मन सम्हालेर ओच्छ्यान चेप्दै थिए, आशुले सिरानी भिजेको पत्तै भएन।
    यस्सो घडी हेरेंको, समयले नेटो काटेको थाहै भएन, हस्यङ् र फस्यङ् गर्दै तल झर्दा लडेर झन्डै मरेँ।
    के गर्नु, आज पनि कुराहरू अधुरै रहे, यो गर्छु भन्ने कुरा कल्पनामै रहे।
    मनले प्रश्न गर्यो, “खै त गरेको?” मुस्कुराउँदै भनेँ,
    “मरेका इच्छाहरू जगाऊँ कसरी, थाकिसकेको सपना बिउँझाऊँ कसरी?”
    पिँजडामा बन्द भएको चरी उडूँ कसरी?

    लेखक- ईरा आर्याल