Tag: बाबा

  • बाबा ! तिम्रो बारे केही कोर्न सक्दिन

    बाबा ! तिम्रो बारे केही कोर्न सक्दिन

    म शब्दलाई भावनामा परिणत गर्ने मान्छे
    म कल्पनामा डुबेर चुर्लुम्म हुने मान्छे
    म कोर्दा आकाशलाई पाताल, पाताललाई आकाश
    अग्लो लाई होचो, होचोलाई अग्लो,
    गहिरोलाई सम्म, सम्मलाई गहिरो दिनलाई रात रातलाई दिन सोच्न सक्छु
    म कल्पनामा संसारको अवतार बदल्न सक्छु, गति बदल्न सक्छु
    म कोर्दा आफुलाई सक्षम, असक्षम, सज्जन, खराब, शिथिल, दृढ,
    बुढो, बाल, प्रफुल्लीत, उत्पिडित, परदेशी, घरदेशी प्रत्यक चरित्रमा उतार्न सक्छु।

    म कल्पनामा‌ संसारको आकार बदल्न सक्छु तर बाबा
    जब तिम्रो कुरा आउछ म छोरी भाएर
    आफ्नो भावना कोर्न सक्दिन

    म तिमीलाई बिट मार्ने गरि शब्द छाड्न सक्दिन
    सत्य अनि छर्लङ्ग , तिम्रो त्याग कोर्न सक्दिन
    अब भयो भनि तिम्रो बारे शब्द छोड्न सक्दिन
    म सबैको भावना कल्पनामग्न भएर कोर्न सक्छु
    तर छोरी भएर तिम्रो बारे कोर्न सक्दिन
    म तिम्रो त्यागको बिट मार्ने सक्दिन

    पढ्छु तिम्रा मौनता भित्र लुकि बसेका चिन्ताहरु
    मलाई लिएर त्यो मनमा फक्रिएका जन्जिरताहरू –
    तिम्रा विलुप्त सपनाहरू र अभ्यन्तरमा रहेको प्रेम त छदै छ
    तिमीले लुकाउन खोजेका निस्तब्ध उद्धिग्न त छदै छ
    चूर्णविचूर्ण भएका तिम्रा चाहाना त छदै छ
    अनि त्यो भित्री मनका अव्यक्ति भावना त छदै छ !

    तिम्रो शरिरबाट छुटेका रगत र पसिना,
    परिस्रम क्लान्तपरेको मन
    त्यो शरिरमा बसका डोब
    अनि तिम्रो उद्रिएको कोट
    तिमीले सहेका घामको ताप साथै पानीका बाछिटा
    हाल्न सक्दिन म कुनै शब्दको बिटमा
    तिमी भगवान‌ होइनौ,
    भगवान भएको भाए त्यति चोट र चिन्ता सहनु पर्थेन सायद
    तर सामान्य पनि छैनौ,
    न म साहित्यकार बनेर तिम्रो निम्ति रहेको सम्मान र माया कुनै शब्दमा छोड्न सक्छु,
    न त छोरी भाएर आफ्नै भावनाको बिट मार्न सक्छु
    बाबा! तिम्रो बारे केही कोर्न सक्दिन।