Tag: लुम्बिनी प्रदेश

  • लुम्बिनी सरकारबाट बाहिरियो एमाले, समर्थन फिर्ता

    लुम्बिनी सरकारबाट बाहिरियो एमाले, समर्थन फिर्ता

    काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । बिहिबार लुम्बिनी प्रदेश सरकारमा एमालेका पाँच मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् । 

    एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ताको जानकारी प्रदेशसभाका सभामुख तुलाराम घर्तीलाई बुझाइएको र मन्त्रीको राजीनामा मुख्यमन्त्री जोखबहादुर महराको सरकारी निवासमै पुगेर बुझाएका हुन् ।

    लुम्बिनी प्रदेशमा गत चैत २३ गते एमालेसहितका ५ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ४८ जनाको समर्थनमा माओवादी केन्द्रका महरा मुख्यमन्त्री बनेका थिए । लुम्बिनीमा एमालेबाट आर्थिक मामिलामा आचार्यसहित आन्तरिक मामिला तथा कानुनमन्त्रीमा दिनेश पन्थी, सहरी विकास तथा खानेपानीमन्त्रीमा भूमिश्वर ढकाल, सामाजिक विकासमन्त्रीमा रत्न खत्री र वन तथा वातावरण मन्त्रीमा अर्जुनकुमार केसी रहेका थिए ।

    गत चैत २३ गते माओवादी केन्द्रका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमालेका २९, माओवादीका १०, जसपाका ३, नागरिक उन्मुक्तिका ४, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र गरी ४८ जनाको समर्थन थियो । जसपा टुक्रिएपछि जसपा नेपालतर्फ लागेकी अम्बिका काफ्लेले असार ९ गते नै समर्थन फिर्ता लिएकी छन् । एमालेका २९ जनाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका छन् ।

    केन्द्रमा कांग्रेससँग भएको सहमति अनुसार अब लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने भएको छ ।

  • लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

    लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

    काठमाण्डाै – लुम्बिनी प्रदेशको आउँदाे आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको आजको बैठकले आउँदाे आर्थिक वर्षको बजेट पारित गरेको हो ।

    प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । याे प्रस्ताव बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गर्नुभयो ।

    प्रदेश सभामा यही असार १ गते आर्थिक मामिलामन्त्री आचार्यले आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट पेस गर्नुभएको थियो ।

     

  • लुम्बिनी प्रदेशको सुविधासम्पन्न भवन निर्णाण तीव्र गतिमा

    लुम्बिनी प्रदेशको सुविधासम्पन्न भवन निर्णाण तीव्र गतिमा

    दाङ । लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको राप्ती उपत्यकाको देउखुरीमा प्रदेश सरकारको सुविधासम्पन्न प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ ।

    सात प्रदेशमध्ये लुम्बिनी प्रदेशले आफैँ प्रशासनिक भवन निर्माण गरेको हो । अन्य ६ प्रदेश सरकार संघ सरकारका भवनमा रहेर प्रशासनिक कार्य गर्दै आएका छन् ।

    लुम्बिनी प्रदेश सरकारको भने देउखुरीको मध्य भागमा ६ तले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र पूर्वी–उत्तरतर्फ ९ वटा मन्त्रालयका पाँच तले प्रशासनिक भवन एकै ठाउँमा धमाधम निर्माण भइरहेका छन् ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० मन्त्रालयका भवन मध्ये पहिलो चरणमा ९ वटाको काम भइरहेको छ भने ३ वटाको सुरु हुने क्रममा छ ।

    अहिले प्रदेशसभा सचिवालय र प्रदेशसभा भवन निर्माण भएका छन् । भ्याटसहित ४७ करोड १७ लाख २६ हजार रुपैयाँ लागतमा ०८९ जेठ १५ गतेभित्र सम्पन्न हुने गरी एक तलाका ६ वटा संसदीय दलका कार्यालय, ३ तले विषयगत समितिका भवन, एउटा पुस्तकालय र एक चमेना गृह निर्माणको काम सम्झौता पश्चात सुरु भएको छ ।

    लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिभिल इन्जिनियर शंकर सुवेदीले पहिलो चरणमा पाँच अर्बको लागतमा ९ वटा मन्त्रालय निर्माणको काम धमाधम भइरहेको बताए ।

    ‘करिब ३ अर्बको लागतमा ९ वटा मन्त्रालयको भवन निर्माणको काम जारी छ’ सुवेदीले भने, ‘अन्य दलको कार्यालयसँगै प्रदेश सभाको क्यान्टिन र लाइब्रेरीको लागि थप २ अर्ब गरी पाँच अर्ब यी संरचना तयार गर्न लागत लाग्नेछ ।’

    सुवेदीका अनुसार प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत समग्रमा राजधानी विकासका लागि भने पाँच–पाँच वर्षको चारवटा प्याकेजमा काम हुनेछ । पहिलो चरणमा प्रदेश सरकारका प्रशासनिक भवन निर्माण हुनेछन् भने त्यसपछि राजधानीलाई ब्यूटिफिकेशन गर्ने, लगायतका काम हुनेछन् । त्यसका लागि पीपीपी मोडलमा काम गर्ने तयारी रहेको छ । यी सबै कामका लागि करिब १ खर्ब रुपैयाँ बजेट लाग्ने अनुमान रहेको सिभिल इन्जिनियर सुवेदीले बताए ।

    प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रदेश राजधानी निर्माणका लागि आवश्यक संरचना र त्यसको समग्र विकासका लागि गुरुयोजना तयार गरी सोही अनुसार अहिले काम भइरहेको सुवेदीले जानकारी दिए ।

    सुवेदीका अनुसार प्रदेश सरकारको प्रशासनिक भवन निर्माणको काम अहिलेसम्म ६० प्रतिशत भौतिक र साढे १८ प्रतिशत वित्तीय प्रगति भएको बताए ।

    सबै मन्त्रालय एउटै मोडलमा निर्माण भइरहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ९६ कोठासहित ६ तले हुनेछ । दुईवटा लिफ्ट रहने छन् ।

    ९ वटा मन्त्रालयका भवन सबैमा ५४ कोठा हुनेछन् । त्यसमा एउटा बैठक कक्ष, मल्टिपर्पोज मिटिङ हल हुनेछ । मुख्यमन्त्रीसहित १० वटा मन्त्रालयका भवनको अन्डरग्राउण्ड पार्किङको व्यवस्था रहेको छ । मन्त्रालयमा लिफ्टको व्यवस्था हुनेछ । भुइँतला अपांगमैत्री र अरु तलामा लिफ्टसहित एचभीएसी सुविधा सम्पन्न कोठा हुनेछन् । सबै मन्त्रालय वरपर रूख र फूलबारी बनाइने छ । निर्माणका लागि शर्मा सुगन भेवी कम्पनीले भ्याट बाहेक ३ अर्ब ९ करोड रुपैयाँको लगानीमा काम गरिरहेको छ ।

    २०७९ मंसिर २८ गते सम्झौता भइ पुस १८ गतेबाट काम सुरु गरेको कम्पनीले ०८२ पुस १७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ । राजधानीका प्रशासनिक संरचनाभित्र ११ सय मिटर बाटोसहित आन्तरिक सडक सञ्जाल हुनेछ । यसले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सबै मन्त्रालयमा सहज सेवाको लागि संरचना र सडक सञ्जालले जोड्ने खोजिएको सुवेदीले बताए । सडकको चौडाइ नाली र फुटपाथसहित १० मिटरको हुनेछ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सेतो रङ्गको हुनेछ । अरु मन्त्रालय छानासहित नेपाली रातो र सेतो कलरमा रंगाइनेछ ।
    सबै मन्त्रालय आउजाउ गर्न पैदल यात्रा, भुइँतला अपांग मैत्री र अरू तलामा लिफ्टको व्यवस्था रहने उनले बताए ।

    मुख्यमन्त्रीसहित १० वटा मन्त्रालयको प्रशासनिक भवन सहरी विकास मन्त्रालयको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाइले बनाउने जिम्मामा रहेको छ ।त्यसैगरी प्रदेश राजधानी रहेको दाङको देउखुरी राजधानी रहेको क्षेत्रको विकासका लागि जनताको सहभागितामा शहर बनाउने योजनासहित विश्वमा अपनाइएको शहर बसाल्ने विधि अनुरूप जग्गा एकीकरण विधि मार्फत काम अघि बढाइएको छ ।

    राजधानी क्षेत्रमा समेटिएका विभिन्न १४ वडा वडालाई समेटेर जग्गा एकीकरण मार्फत शहरको विकास गर्ने काममा प्राधिकरण लागेको सुवेदीको भनाइ छ । जस अनुसार केही स्थानमा जग्गा एकीकरण गर्ने काम भई काम पनि शुरु भइरहेको छ ।

    अबको पाँच वर्षमा लुम्बिनी प्रदेशको राजधानीलाई ग्रीन सिटीका रुपमा विकास गर्ने उद्देश्यका साथ घरभित्र रूख हैन, रूखभित्र घर खोज्ने अवधारणासहित ग्रीन, स्मार्ट सेभर सिटीका रुपमा देउखुरीलाई विकास गर्ने परिकल्पना गरिएको छ ।

    चर वर्षअघि २०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले दाङको देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो ।

    राजधानी घोषणा भएको दुई वर्षसम्म पनि आस्थायी मुकाम बुटवलबाट कामकाज भइरहेको थियो । २८ मंसिर २०७९ गते बुटवलबाट प्रदेशको राजधानी देउखुरी सारिएको थियो ।

  • लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोड

    लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोड

    बुटवल । लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री चेतनारायण शर्माले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

    उनले कूल विनियोजनमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छ । यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

    आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत आन्तरिक राजश्वमार्फत ७ अर्ब ५१ करोड र सङ्घबाट प्राप्त हुने राजश्वमार्फत १२ अर्ब १ करोड र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोड हुने अनुमान अर्थमन्त्री आचार्यको छ ।

  • लुम्बिनीका ४ जिल्लामा हावाहुरीले जंगलको डढेलो गाउँमा

    लुम्बिनीका ४ जिल्लामा हावाहुरीले जंगलको डढेलो गाउँमा

    रुपन्देही । लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन क्षेत्रमा लागेको डढेलो शनिबार लागेको हावाहुरीले गाउँघरमा प्रवेश गर्दा ७० भन्दा धेरै घरगोठ जलेर क्षति भएका छन् ।

    पहिलेदेखि वनजंगलमा लागेको डढेको शनिबारको हावाहुरीले गाउँमा सल्केको हो । अर्घाखांचीको भूमिकास्थान नगरपालिकाको धारापानीको रातामाटा, बाँझाखर्क, जामुनडाँडा र फलामखिल्जीको गाउँमा आगलागी हुँदा २० वटा घरगोठ जलेका छन् ।

    भूमिकास्थान नगरपालिकाको वडा ३ र ४ मा अत्याधिक हावाहुरीका कारण जंगलमा लागेको आगो बस्तीमा फैलिँदा १८ ओटा घरगोठ जलेका छन् । भुमिकास्थान ३ र ४ मा भिषण आगलागी हालसम्म १८ घरगोठमध्ये शोभाखर बन्जाडेको गोठ, रेशम परियारको घररगोठ, वसन्त मल्ल ठकुरीको घररगोठ,

    यस्तै विष्णु जि एमको दोकान, गंग बहादुरको थारे घर, दुर्गा विकको थारे घर, पुर्ण प्रसाद भुसालको गोठ र बाईक, भुपलाल भसालको गोठरभैसी, झविलाल भुसालको घर, खिम प्रसाद भुसालको घर, तिलक भुसालको घर, ईश्वरी भुसालको घर, काँशिराम भुसालको घर, गंगा भुसालको गोठ, रामजी भुसालको घररथारो, कृष्ण ओलीको घररथारोरभैंसी, दोल प्रसाद भुसालको थारो, पिताम्वर भुसालको थारो डढेको स्थानीय हरि भुसालले जनाएका छन् ।

    साँझ अबेरसम्म आगलागी नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए ।

    उता गुल्मीको इस्मा गाउँपालिका २ मा आगलागी हुँदा १३ घर जलेका छन् । स्थानीय सामुदायिक वनमा लागेको आगो बस्तीमा पनि फैलिँदा १३ घर जलेका वडाध्यक्ष लोकनाथ आर्चायले बताए । घरसँगै २५ वटा गोठ र ४० भन्दा बढी भैंसी तथा बाख्रा पनि जलेका छन् । अहिले आगलागी भएका अधिकांश ठाउँमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासहितको टोली पुगेको छ । आगलागीबाट क्षति भएका घरपरिवारलाई गाउँकै सुरक्षित स्थानमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

    इस्मा गाउँपालिकाबाहेक अन्यत्र पनि आगलागी भएको छ । आगलागीबाट जिल्लाका विभिन्न स्थानमा भएको क्षति संकलन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

    आगलागीबाट इस्मा गाउँपालिका १ उजुङका १९ बर्षीय हिमाल राना र मुसिकोट नगरपालिका ७ का २१ बर्षीय प्रेम राना घाइते भएका छन् । घाइते भएका इस्माका राना ट्याक्टर चालक हुने भने मुसिकोटका राना एक्साभेटर चालक हुन् । उनीहरुलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक डीएसपी शंकर पोखरेलले बताए ।

    आगलागी भएका ठाउँमा आगो निभाउन सुरक्षाकर्मी, स्थानीयवासी र वन कार्यालयका कर्मचारी खटिएका छन् । एकपटक निभाइसकेको ठाउँमा पनि पुनः आगलागी हुने गरेको प्रहरीले जनाएको छ ।

    गुल्मीकै रुरु क्षेत्र गाउँपालिका–१ भटकुवामा शनिबार सामुदायिक वन क्षेत्रमा लागेको डढेलो बस्तीमा पस्दा दुई घर र एक गोठ जलेको छ । रुरु क्षेत्र गाउँपालिका–१, रिडीका वडाध्यक्ष नवराज विकका अनुसार भरत पन्थीको घर र गोठ साथै झविन्द्र ज्ञवालीको घरमा आगलागी भएको हो । बस्तीका १० बढी घर डढेलोको जोखिममा रहेकाले स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा जोगाइएको छ ।

    जंगलमा लागेको डढेलो हावाहुरीका कारण नियन्त्रणमा आउन सकेको छैन । पछिल्लो एक सातामा लुम्बिनी प्रदेशका १२ जिल्लामा ४ सय बढी स्थानमा डढेलो लागेको छ । प्रदेश सरकारले हरेक वर्ष ६० लाख बढी खर्चिएर गरिादै आएको डढेलो सचेतना कार्यक्रम असफल देखिएको छ ।

    यसैगरी पाल्पाका दर्जनभन्दा बढी सामुदायिक वन क्षेत्रमा शनिबार भीषण डढेलो लागेको छ । डिभिजन वन कार्यालय नजिक वनदेवी क्षेत्रका सामुदायिक वनमा दिनभर डढेलो लागेको हो । जंगलमा लागेको डढेलोले तानसेन नगरपालिका–५, बतासे क्षेत्रमा विद्युत् ट्रान्सफर्मरसहित बस्ती जोखिममा परेको स्थानीयले बताए ।

    वनदेवी सामुदायिक वन क्षेत्रको जंगलका तीन चार स्थानमा डढेलो लागेको छ । ल्याण्डफिल साइट क्षेत्रका साथै नजिकका अन्य जंगलमासमेत डढेलो लागेको छ । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बस्तीमा डढेलो पस्नबाट रोकिएको छ ।

    मिलीजुली पालेको सामुदायिक वन बतासेमा लागेको डढेलोले बस्ती जोखिममा परेको हो । तानसेन नगरपालिका–१४, अर्गलीको विभिन्न स्थानमा लागेको डढेलोले पनि बस्ती जोखिममा परेपछि दमकल लगिएको छ । पाल्पाकै अर्गली, मुझुङ, माथागढीको झडेवा, तिनाउको दोभान, बगनासकालीको यम्घा लगायतका स्थानमा भीषण डढेलो लागेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।