Tag: वन डढेलो

  • डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप

    डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप

    म्याग्दी । डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ । ४५ दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

    फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ ओटै स्थानीय तहका एक सय ११ वनमा डढेलो लागेको छ । डढेलोले जिल्लाको छ सय ९३ हेक्टर वन क्षेत्र सखाप भएको छ । गण्डकी प्रदेश वन निर्देशनालयले पनि प्रदेशका ११ जिल्लामध्ये डढेलोका कारण म्याग्दीको वन क्षेत्र बढी नष्ट भएको जनाएको छ ।

    डढेलोबाट आफूहरू त्रसित भएको वन क्षेत्र आसपासका स्थानीयले बताएका छन् । डढेलोका कारण वन क्षेत्र कालो देखिएको छ भने पशुपक्षी मरेका मालिका गाउँपालिका–६ का टेकबहादुर पुनले बताए । जिल्लाको बेनी नगरपालिकालगायत मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वनमा दिनहुँ आगलागी भइरहेको डिभिजन वन कार्यालयका प्रमुख विष्णु अधिकारीले बताए ।

    कतिपय वनमा आगो निभाइएको छ भने केही वनमा अझै धुवाँको मुस्लो  देखिएको उनी बताउँछन् । दैनिक रूपमा आगोलागीका घटना हुन थालेपछि स्थानीय र सुरक्षाकर्मीलाई अग्नि नियन्त्रण उपकरण वितरण गरेर आगो निभाउन अनुरोध गरिएको उनले जानकारी दिए ।

    वन्यजन्तु गाउँमा

    डढेलोबाट जोगिन जङ्गली जनावर गाउँ पसेर स्थानीयलाई दुःख दिइरहेका छन् । जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न स्थानमा डढेलो लागेपछि वन्यजन्तु वासस्थान र आहाराको खोजिमा गाउँ पसेका पीडित स्थानीयले बताएका छन् ।

    ‘खेतबारीमा लगाएको बाली र वँदेल र बाँदरले नष्ट गरे । वन्यजन्तु अब त घर भित्र नै पसेर हैरान पार्न थालेका छन्,’ मङ्गला गाउँपालिका– ५ का किसान टिकानाथ कडेँलले भने । बँदेल, दुम्सी र बाँदर घर भित्र नै छिर्न थालेका उनले बताए । मालिका गाउँपालिकाको वडा नं ६ उपल्लो दुखु, वडा नं १ निस्कोट र वडा नं २ रुममा पनि वन्यजन्तुका कारण गाउँले पीडित भएका छन् ।

    मालिका गाउँपालिका वडा नं ६ उपल्लो दुखुकी डिलकुमारी रोका खेतबारीको बालीले नपुगेर बाँदर भकारी तथा भान्छामा पुगेका बताइन् । खेतबारीमा बँदेलले दुःख दिएको उनले गुनासो गरिन् ।

    यसैबीच, तम्घासबाट प्राप्त समाचारअनुसार खरबारीमा लगइएको आगोले रुरुक्षेत्र गाउँपालिका–५ धोबिघाटस्थित सरोज सारुको दुईतले कच्ची घर जलेको छ । आगोले घरमा भएको अन्न, लत्ताकपडा,  भाँडाकुडा नष्ट भएको छ ।

    यसैगरी, भोजपुर नगरपालिका वडा नम्वर ८, पोखरेका भरत कार्कीको १० कोठाको घरमा मङ्गलबार आगलागी हुँदा ४२ लाख बराबरको धनमाल जलेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिए । आगलागीबाट नगद चार लाख ५० हजार, १३ तोल सुन, १० तोला चाँदी, एलइडी टीभी दुई थान, मोबाइल फोन, फर्निचरलगायत घरका सबै सामग्री जलेका उनले बताए ।

    यसैगरी, तनहुँमा चालु आर्थिक वर्षमा एक सय १७ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । डिभिजन वन कार्यालयका अनुसार वैशाख पहिलो सातासम्म २३ वटा सामुदायिक वनमा डढेलो लागेको हो । डढेलो नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि डढेलोको क्रम नरोकिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।

    जिल्लाको ८२ हजार ५ सय ४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका दश वटा स्थानीय तहमा छ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन, ६ धार्मिक वन  छन् । व्यास नगरपालिकास्थित साउनेपानी, बन्दीपुरस्थित पुरानकोट, ऋषिङस्थित जलुके कदमपानी, शुक्लागण्डकीस्थित सिमलचौर, देवघाटस्थित सोलीघोप्टे, साँढेबगर, म्याग्देस्थित मडुवा, व्यासस्थित सुन्दर, ठूलो, म्याग्देस्थित सिद्धबतासन सामुदायिक वनमा डढेलो लागेको थियो ।

    म्याग्देस्थित बाङ्गेसाल, जुरेथुम्की, व्यासस्थित सिद्धबराह, द्रुपता, भण्डारीपाखा, मुरलीभञ्ज्याङ, घिरिङस्थित जनकल्याण, भिमादस्थित शिवशक्ति, ऋषिङस्थित गुम्लेक, ज्वालादेवी र बन्दीपुरस्थित पुरानोकोट सामुदायिक वनमा पनि आगलागी भएको थियो ।

    वन ऐन, २०७६ को दफा ५० को उपदफा ४ बमोजिम दफा ४९ को खण्ड (घ) अन्तर्गत राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल उपर गरी तीनवर्ष कैद वा ६० हजारसम्म जरिवाना हुने वा दुवै सजाय हुने प्रावधान छ ।

  • लुम्बिनीको साढे ११ हजार हेक्टर वनमा डढेलो

    लुम्बिनीको साढे ११ हजार हेक्टर वनमा डढेलो

    रुपन्देही । केही दिनयता लुम्बिनी प्रदेशमा ३ सयभन्दा बढी ठाउँमा लागेको आगलागीले करोडौंको क्षति भएको छ । सयौं घरगोठ जलेर नष्ट भएको छ । प्रदेशमा रहेको चुरे, महाभारत र तराईका साझेदारी वन क्षेत्रमा लागेको डढेलो हावाहुरीले बस्तीमा पुगेपछि क्षति बढेको हो ।

    लुम्बिनीको वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयका अनुसार आइतबार साँझसम्म प्रदेशको ११ हजार ४ सय ४८ हेक्टर वनमा डढेलो लागेको छ । मन्त्रालयका वन अधिकृत एवम् सूचना अधिकारी डिलाराम पौडेलले प्रदेशका विभिन्न ३ सय स्थानमा डढेलो लागेको र सबै जिल्लामा लागिरहेकोले क्षतिको विवरण सबे आउन नसकेको बताए । प्रदेशको पूर्वी रुकुममा २३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ भने कपिलवस्तुको २१ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।

    उता, दाङमा २५ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ भने बर्दिया जिल्लामा ८० स्थानमा डढेलो लागेको छ। अर्घाखाँची जिल्लामा लागेको डढेलोबाट ३५ घर गोठ जलेको वन कार्यालयले जनाएको छ । यस्तै यहाँ २१ वटा चौपायासमेत मरेका छन् । अर्घाखाँचीमा लागेको डढेलो साँझ नियन्त्रणमा आएको छ । पाल्पामा ५५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।

    यस्तै गुल्मीमा लागेको डढेलो पनि नियन्त्रणमा आएको छ । गुल्मीमा डढेलोबाट सबैभन्दा बढी क्षति भएको वन कार्यालयले जनाएको छ । गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट ४१ वटा घर जलेका छन् भने ४८ वटा गोठ जलेका छन् । आगलागीमा ८३ वटा पशु चौपाया जलेका छन् ।

    यसअघि वैशाख ३ गते डढेलोकै कारण गुल्मीमा एक जनाको मृत्यु भएको थियो । मुसिकोट नगरपालिका–१ तल्लो पौनीस्थित सर्वोदय माविको जग्गाको सल्लाघारीमा लागेको डढेलो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरले बताए ।

    गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडौंको क्षति भएको छ । सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घर गोठ जलेका छन् । दर्जनौँ चौपाया गोठमै जलेर मरेका छन् ।

    शनिबार चलेको हावाहुरीका कारण डढेलो निभाउन नसक्दा आगो बस्तीमा प्रवेश गरी घर जलेका थिए । बस्तीमा आगो प्रवेश गरेपछि इस्मा सर्वसाधारणले बारीका पाटामा बसेर ज्यान जोगाएका थिए । स्थानीयवासीलाई आगो निभाउने भन्दा कसरी ज्यान जोगाउने भन्ने त्रासदीपूर्ण अवस्था सिर्जना भएको थियो ।

    इस्मा गाउँपालिकामा आगलागीबाट शनिबार मात्र ६७ वटा घरगोठ जलेर नष्ट भएका छन् । इस्मा गाउँपालिका– २ सिदुङखाको रानी सामुदायिक वनमा लागेको डढेलो अचानक बस्ती पसेपछि हस्तीचौरको सिदुङखामा १३ घर र २६ बङ्गला जलेर नष्ट भएका छन ।

    त्यसैगरी इस्मा गाउँपालिका-४ को तिम्लेखर्कमा सात घर र १६ वटा बङ्गला र गोठसहित एउटा मन्दिर जलेको छ । सोही वडाको भड्किनामा एक घर र चारवटा बङ्गाला र एउटा खोर जलेको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिङ खड्काले जानकारी दिए । आगलागीका कारण ४० भन्दा बढी चौपाया जलेर मरेका छन् ।

    इस्मा गाउँपालिका–१ मा लागेको डढेलोका कारण ट्र्याक्टर चालक स्थानीयवासी १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका-७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन् । उनीहरुको हात खुट्टा र अनुहार जलेको प्रहरीले जनाएको छ । घाइतेको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । उनीहरु खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

    आगलागीले विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।

    आगलागी क्षेत्रमा, स्थानीय पालिका, जिल्ला प्रशासन, सुरक्षा निकाय, डिभिजन वन कार्यालय लगायतको टोली परिचालन गरिएको छ । इस्माको हुल र कोटकोटेरी दुई स्थानमा डढेलो लागेको छ । हुलमा लागेको डढेलो बस्ती पसेपछि टोकली बस्नेतको बङ्गालो, सूर्य र गुञ्जबहादुर बस्नेतको गोठ जलेर नष्ट भएका छन् । एक भैंसी र ९ वटा बाख्रा मरेका छन् ।

    इस्मा गाउँपालिका–४ कै कोटकोटेरीमा जङ्गलको डढेलो बस्ती पसेपछि स्थानीयवासी ऋषिराम खनाल, बलबहादुर दर्जी, सरिता अधिकारी, ज्ञानु अधिकारी, बिमला अधिकारी, सुरेन्द्रलाल विक, रामबहादुर अधिकारी, गोरखनाथ विकको घर र खगेश्वर विकको बङ्गाला जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गाउँमा पाइप जलेपछि खानेपानीको अभाव भएको छ ।

    शुक्रबार र शनिबार गरी इस्मा, रेसुङ्गा, गुल्मीदरबार र रुरु लगायतका क्षेत्रमा डढेलो लागेको थियो । मदाने र मालिकामा पर्ने गुराँसे वनमा दुईदिनदेखि लागेको डढेलो अझै निभेको छैन । अर्घाखाँचीका विभिन्न स्थानमा शनिबार भएको आगलागीका कारण ४३ घर गोठ जलेर नष्ट भएका छन् । आगलागीका कारण २० वटा घर, २३ गोठ, ११ बाख्रा र छ भैंसी चलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिए । भूमिकास्थान नगरपालिका वडा नम्बर ३ र ४ धारापानीमा हिजो भएको आगलागीमा २३ घरगोठ जलेका थिए । नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जी लगायतका गाउँको आगलागीले १३ घर र १० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए ।

    उनका अनुसार बस्तीमा लागेको आगो नियन्त्रणमा आए पनि वनमा लागेको आगो भने अझै नियन्त्रणमा आएको छैन । आगलागीबाट पाणिनी गाउँपालिकामा दुई वटा घर र पाँच वटा गोठ जलेका छन् । शितगङ्गा नगरपालिका वडा नम्बर ६ र १२ भेडामारे, डोहोटे, गल्डुङ्गलगायतका स्थानमा डढेलोले पाँच घर र आठ गोठ जलेर नष्ट भएका छन् ।

    लामो समयदेखि वर्षा नहुँदा र अहिले बाढीले यहाँको जनजीवन प्रभावित भएको छ । पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ ।

    रुपन्देहीको रोहिणी गाउँपालिका–६ बाट शनिबार अपराह्न नौवटा गाउँमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए । गहुँको नलबाट सुरु भएको आगो बतासका कारण फैलिँदा बिष्णुपुरा, पर्सा, बुची, बरवा, तर्कुलहा, कोटहवा, चम्कीपुर हुँदै प्रिप्रहवामा क्षति भएको छ ।

    आगोले मानवीय क्षति नभए पनि ४० वटा घर जलेका तथा ३९ वटा बाख्रा मरेका उनले बताए । प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, देवदह नगरपालिकाको दमकल र स्थानीयको प्रयासले साँझ आगो निभाइएको थियो ।

    गैडहवा गाउँपालिकामा पनि आगलागीमा लाखौँको क्षति भएको छ । वडा नं ७ सिसैं बस्ने बाले मिन्द्र लोधको फुसले छाएको गोठमा विद्युत् चुहिँदा आगलागी भएको थियो । उक्त गोठमा रहेका नौ बाख्रासहित तीन लाख बढीको क्षति भएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका-९ पिपरामा खेतमा गहुँका ठुटा जलाउने क्रममा लागेको आगो होटल पवन प्यालेस परिसरमा पुगेको थियो । यसबाट प्लाइउड, लत्ताकपडा, भाडावर्तन, खाद्यान्नलगायत रु सात लाख बराबरको क्षति भएको प्रवक्ता भट्टले बताए । रुपन्देहीको बुटवलस्थित शिवनगर सामुदायिक वन र चारपालामा पनि डढेलो लागेको प्रदेश वन कार्यालयले जनाएको छ ।

    नवलपरासी, प्यूठान, दाङ, बाँके, बर्दियाका विभिन्न क्षेत्रमा आगलागी भइरहेको सूचना त्यहाँस्थित प्रहरी तथा वन कार्यालायले दिएपनि सबै क्षतिको विवरण आइसकेको छैन । बर्दिया राष्ट्रिय निकुन्ज छेउबाट लागेको आगोले त्यहाँ पनि धेरै क्षति भएको स्थानीयले जनाएका छन् । सबैतिरको वन क्षेत्रमा एकैपटक आगलागी हुँदा वन्यजन्त र चराचुरुङ्गीलाई थप क्षति हुने चिन्ता विज्ञहरुको छ ।