Category: फ्रन्ट पेज

फ्रन्ट पेज

  • १० महिनामा एक लाख ७७ हजार पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

    १० महिनामा एक लाख ७७ हजार पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

    पोखरा ।  पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।

    उक्त अवधिमा दक्षिण एसियाली मुलुकका ७९ हजार दुई सय ३२ र अन्य मुलुकका ९७ हजार नौ सय ५० पर्यटकले सो क्षेत्र घुमेका आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिनुभयो । यो भेगमा असोज–कात्तिक र चैत–वैशाख पदयात्राका लागि उत्तम मानिन्छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सतहमार्ग प्रयोग गरेपनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका उनले बताए ।

    “मुख्य पर्यटकीय याममा अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ”, प्रमुख डा कडरियाले भने, “यस क्षेत्रको पर्यटन कोभिड–१९ अघिकै अवस्थामा फर्किदैँछ, पछिल्लो समय तेस्रो मुलुकका पर्यटक बढी आइरहेका छन् ।” एक्यापले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र अभिलेख राख्ने गरेको छ । सतहमार्ग भएर मुस्ताङ र मुस्ताङलगायत अन्य स्थानबाट आउने आन्तरिक पर्यटकको सङ्ख्या यकिन नै गर्न नसकिने उनले बताए ।

    अन्नपूर्ण चक्रीय पदमार्ग धेरै देशका पर्यटकको रोजाइमा पर्दै आएको छ । उहाँका अनुसार सन् २०२३ मा एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । यो हालसम्मकै बढी हो । सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले यो क्षेत्रको भ्रमण थिए ।
    अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत पर्यटकीय गन्तव्यमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

    हिमशृङ्खलासहितका आकर्षकस्थल, पर्यटनमैत्री पूर्वाधार, अनुकूल हावापानी, स्थानीयवासीको अतिथि सत्कार र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग विश्वका उत्कृष्ट गन्तव्यमध्येको एक भएको प्रमुख कडरियढा बताउनुहुन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो पदयात्रा गर्न सकिने ‘एक्याप’ले जनाएको छ ।

    सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, विविध संस्कृतिले भरिपूर्ण भएकाले आन्तरिक तथा बाह्यक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

  • उच्चले दियो बलात्कार मुद्दामा सन्दीपलाई सफाई

    उच्चले दियो बलात्कार मुद्दामा सन्दीपलाई सफाई

    काठमाडौँ । उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई सफाई दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई सफाई दिएको हो । न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासमा मंगलबारलेखि सुनुवाई सुरु भएको थियो । तर दुई पक्षका वकिलहरुको बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो । र बुधबार सोही इजलासमा सुनुवाईलाई निरन्तरता दिँदै फैसला सुनाइएको हो ।

    यसअघि जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिर राज ढकालको इजलासले २०८० पुष १३ गते सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । न्यायाधीश ढकालको इजलासले राति एउटै कोठामा बसेको अवस्था देखिएको, सो समयमा गौशला २६ ले करणी भएको भनेको र गौशाला २६ को तथा प्रतिवादी सन्दीप लामिछानको घटना हुँदाको दिनको क्रियाकलापको घटनाक्रम समेतलाई विचार गर्दा प्रतिवादी तथा गौशाला २६ को बीचमा करणी भएको देखिएको भन्दै सन्दीपलाई दोषी ठहर गरेको थियो ।

    त्यस्तै जिल्ला अदालतले गौशला २६ को उमेर वारदात हुँदा १८ वर्ष पुगिसकेको फैसला गरेको थियो । १८ वर्ष पुगिसकेकी गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फइदा उठाई करणी भएको देखिँदा सहमतिको करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले दोषी ठहर गरेको थियो ।

    त्यसपछि २०८० पुष २५ गते जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको थियो भने उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि भएको थियो ।

    त्यसपछि २०८० फागुन १० गते सन्दीपले जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदातल पाटनमा पुनरावेदन निवेदन दिएका थिए ।

  • आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै मह सिकार

    आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै मह सिकार

    म्याग्दी । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ ।

    धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको बताए ।

    “अक्करे भिरमा जोखिम मोलेर गरिने महसिकार वसन्तयाममा धवलागिरि चक्रीय, गुर्जा र ढोरपाटन क्षेत्रको भ्रमणमा आउने पर्यटकका लागि आकर्षण बनेको छ”, उनले भने, “अत्यधिक माग हुने भिरमह बिक्री गरेर सिकारीहरूले केही रकम आर्जन पनि गरेका छन् ।”

    केही दिनअघि मङ्गला गाउँपालिका–१ थाइवाङको भिरमा तीन सय लिटर मह निकालेका धवलागिरि गाउँपालिका–२ खोरियाका मोतिप्रसाद पाइजाको १० जनाको टोलीले मङ्गलबार खोरियाको महभिरमा ३० लिटर मह उत्खनन गरेको छ ।

    स्वाँतमा लोकबहादुर पाइजाको टोलीले ७० लिटर मह निकालेको जनाएको छ । स्वाँतको भिरमा आज पनि महसिकारलाई निरन्तरता दिइने भएको छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले महसिकार गरेर गाउँका बेरोजगारलाई रोजगारी र आयआर्जनको अवसर मिलेको बताए ।

    एउटा महसिकार टोलीमा कम्तीमा १० जना सहभागी हुन्छन् । म्याग्दीका महसिकारीलाई कास्की, बागलुङबाट पनि ज्याला दिएर बोलाउने गरेका छन् । भिरमा मौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ)मा झुण्डिएर मह निकालिने खोरियाको मह सिकारी टोलीका सदस्य सबहादुर चोचाङ्गी पुनले बताए ।

    वसन्त र शरद् ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरद्मा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । म्याग्दीमा प्रतिलिटर रु दुई हजार पाँच सयदेखि रु तीन हजार पाँच सयका दरले भिरमह बिक्री हुने गर्छ ।

    स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिप्रवर्द्धक हुनुका साथै धार्मिक कार्यका लागि प्रयोग हुने मह भिरबाट ननिकाल्दै अग्रिम पैसा दिएर ग्राहकले खरिद गर्ने गरेका अन्नपूर्ण–५ स्वाँतका महसिकारी लोकबहादुर पाइजाले बताए।

    “गाउँका बासिन्दा, बजार र विदेशबाट मह किन्न ग्राहक जङ्गलमै आउँछन्”, उनले भने, “भिरमहलाई बजारको समस्या छैन ।” स्थानीय सामुदायिक वन समूहलाई कर तिरेर निकालिने भिरमह निकासी गर्न डिभिजन वन कार्यालयबाट छोडपुर्जी लिनुपर्छ ।

    मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी झुण्ड्याउँछ भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछ । त्यतिबेला मह निकाल्ने विशेष ध्यान पुर्याउनुपर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छ, माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रुख र ओढारमा लुक्छन् ।

    माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरु बाहिर आउँछ अनि मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिएको धवलागिरि गाउँपालिका–२ खोरियाको महसिकारी मनबहादुर चोचाङ्गीले बताए ।
    रासस

  • दुई करोड पचास लाखमा निर्मित ‘स्केटिङ पार्क’ सञ्चालनमा

    दुई करोड पचास लाखमा निर्मित ‘स्केटिङ पार्क’ सञ्चालनमा

    नवलपरासी  । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पहिलोपटक स्केटिङ पार्क सञ्चालनमा आएको छ  । करिब  रु दुई करोड ५० लाखको लागतमा पार्क निर्माण गरिएको रामग्राम स्केटिङ पार्कका  सञ्चालक  किरण खनालले बताए ।

    रामग्राम नगरपालिका वडा नं. १ परासीमा  आठ हजार पाँच सय वर्गफिट क्षेत्रफलमा बनेको स्केटिङ पार्क लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो भएको बताइएको छ ।

    रामग्राम स्केटिङ पार्कमा सुरुमा स्केटिङ सञ्चालन गर्ने  तथा केही समयपछि मेसिनबाट मसाज सेवा, स्नुकर, गन गेमलगायत  सुविधा गरिने छभने स्केटिङमा सहभागी हुने सबैको स्वास्थ्य बिमा गरिने सञ्चालक खनालले जानकारी दिए ।

    परासी तथा आसपासका क्षेत्रका लागि नयाँ खेलको रुपमा स्केटिङ पार्कको निर्माण भएपछि यस क्षेत्रका युवा खेलप्रति आकर्षित भएका छन् । पार्कमा  सुविधासम्पन्न पूर्वाधारमा खेल सञ्चालन  हुने  सञ्चालक खनालले बताए ।

    पचास वर्ष  अघि अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भएको स्केटिङ संसारभर फैलिएको बताइन्छ । यो नेपालमा पनि युवावर्गमा लोकप्रिय बन्दै गएको छ । देशका प्रमुख सहर काठमाडौँ , पोखरा, बुटवलका साथै चितवन र नवलपरासीको बर्दघाटमा पनि यो खेल सञ्चालन हुँदै आएको छ ।

  • सातै प्रदेशमा गाईभैंसी पालन स्रोत केन्द्र खाेलिने

    सातै प्रदेशमा गाईभैंसी पालन स्रोत केन्द्र खाेलिने

    काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा १/१ हजार गाईभैंसी पालनका लागि पूर्वाधारसहितको स्रोत केन्द्र खोल्ने भएको छ । स्थानीय, प्रदेश र केन्द्र सरकारको सहकार्यमा केन्द्रहरु खोलिने भएको हो ।

    मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताए ।

    त्यस्तै, स्थानीय तहमा पशु अस्पताल स्थापना गरिने तथा २ वर्षभित्र पशुमा लाग्ने खोरत रोग नियन्त्रण गरिने पनि राष्ट्रपति पोडेलले उल्लेख गरे ।

    बजेटभन्दा पहिले संयुक्त सदनमा राष्ट्रपतिले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

  • सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

    सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

    सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

    सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न संसद् सचिवालयले आग्रह गरेको छ ।

    यद्यपि नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी घोटाला प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै सदन अवरोध गरिरहेको छ । समिति गठन नभएसम्म सरकारलाई नीति तथा कार्यक्रम ल्याउन नदिने उसको अडानले आजको कार्यक्रम प्रभावित हुन सक्ने देखिएको छ ।

  • विषादी प्रयोगबारे सचेत बन्दै कैलालीका किसान

    विषादी प्रयोगबारे सचेत बन्दै कैलालीका किसान

    कैलाली । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् । कैलालीका किसानले रोग कीरा नियन्त्रण गर्न रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न थालेका हुन् ।

    विगतमा तरकारीमा कीरा लागेमा रासायनिक विषादी प्रयो गर्ने किसान आजभोलि स्वास्थ्य, वातावरण र माटो सुरक्षाका लागि सचेत बन्न थालेका छन् ।

    तरकारी तथा अन्नबालीमा रोग कीरा लाग्यो की बजारबाट रासायनिक विषादी ल्याएर प्रयोग गर्ने गोदावरी नगरपालिका–४ बास्कोटाकी दुर्गा मल्ल आजभोलि घरमै जैविक विषादी बनाएर प्रयोग गर्ने गरेको बताउँछन् ।

    ‘बाली बिरुवामा विनाशकारी कीरा, सुलसुले, जुका, चिप्लेकीरा, शङ्केकीरा, मुसा, चरा, अवान्छित झार तथा रोग सार्ने सूक्ष्म जीवाणु ढुसी, ब्याक्टेरिया, भाइरसलगायतको समस्या रहन्छ’, उनी भन्छन्, ‘विगतमा यी प्राणीलाई नाश गर्न रासायनिक विषादी प्रयोग गर्ने गरिन्थ्यो, आजभोलि घरमै बनाएर जैविक विषादी प्रयोग गर्ने गरेका छौँ ।’

    गोदावरी–४ खैरानाकी रेश्मीदेवी चौधरीले रोग कीरा लाग्यो की आफ्नै घरमा बनाएको जैविक विषादी प्रयोग गर्छिन् । ‘रासायनिक विषादीले गर्ने असरबारे जानकार थिइनँ, त्यसैले जथाभावी प्रयोग गरिरहेकी थिएँँ’, रेश्मीदेवीले भनिन्, ‘आजभोलि विषादी प्रयोगबारे सचेत भएकी छु । विषादी प्रयोगमा सावधानी नअपनाएमा वा उचित रुपमा उपयोग नगरिएमा यसले उपयोगकर्ता, मानिस, घरपालुवा पशु, वन्यजन्तु र लाभकारी कीरालाई समेत हानी पु¥याउँछ भनेर घरमै बनाएको विषादी प्रयोग गर्न थालेकी हुँ ।’

    किसानले जैविक विषादीका साथै मोहनी पासोसमेत थापेर कीरा नियन्त्रण गर्ने अभ्यास गरिरहेका छन् । यसले पनि बारीमा लगाएको बाली बचाउन सकिने उनीहरु बताउँछन् ।

    ‘जैविक विषादी तथा विभिन्न किसिमका पासोहरु थापेर कीरा नियन्त्रण गर्न सकिएन भने मात्र अलिकति रासायनीक विषादी प्रयोग गर्छौं, नभए गर्दैनौँ’, चुरे गाउँपालिका–३ काफल गैराका तेजबहादुर बोहराले भने, ‘जैविक विषादी प्रयोग गर्नु मानव स्वास्थ्यका लागि राम्रो हो । लामो र स्वस्थ जीवनका लागि जैविक विषादीको प्रयोग गर्नुपर्छ ।’

    जैविक विषादी खर्चका हिसाबले पनि राम्रो, मानव स्वास्थ्यलाई पनि हानी नगर्ने हुँदा जैविक विषादी प्रयोग गर्ने गरेको काफल गैराकै किसान मीनबहादुर शाहीको भनाइ छ । ‘मोहनी पासो र फेरोमन ट्रयापलगायतका प्रविधि कीरा नियन्त्रणमा प्रयोग गरिरहेको छु’, उनले भने, ‘तरकारीमा किसानले नजानेर धेरै विषादी प्रयोग गर्ने रहेछन्, यसबाट मानव स्वास्थ्य सङ्कटमा पर्छ ।’

    सहजपुरका किसान डबलबहादुर खडायत पनि २०५८ सालदेखि तरकारी तथा फलफूल खेती गरिरहेका छन् । उनले पहिले तरकारी तथा फलफूल खेतीमा रोग, कीरा लागेमा रासायनिक विषादी किनेर प्रयोग गर्थे । तर अहिले उनले जैविक विषादीबाहेक आफ्नो बारीमा अरु विषादी प्रयोग गर्दैनन् ।

    ‘घर वरिपरि पाइने झारपातको प्रयोग गरेर विषादी बनाउँछु’, उनी भन्छन्, ‘गाउँघरमा अहिले किसानले रासायनिक विषादी प्रयोग गर्न थाले यो नराम्रो हो भनेर सिकाउन समेत थालेको छु । रासायनिक विषादी प्रयोगले फाइदाको साटो बेफाइदा गरिरहेको छ ।’

    कैलालीको चुरे गाउँपालिकाले पनि रासायनिक विषादीको साटो जैविक विषादी प्रयोगमा किसानलाई प्रोत्साहन गरिरहेको छ । जैविक विषादीबारे पालिकाका सबै किसान जानकार भएमा सहज हुने चुरे गाउँपालिका कृषि शाखा प्रमुख दीपक पाण्डे बताउँछन् । रासायनिक विषादीका असर धेरै रहेकाले किसानलाई सचेत गराउन थालिएको उनी बताउँछन् ।

    ‘पालिकाले रासायनीक विषादीको साटो जैविक विषादीमा जोड दिइरहेको छ । जैविक विषादीको फाइदा धेरै भएकाले यसको प्रयोग बढाउन किसानलाई सुझाव छ’, प्रमुख पाण्डे भन्छन्, ‘जैविक विषादी शत्रुजीवलाई मार्न प्रयोग गरिने जैविक वस्तु हुन् । जैविक वस्तुमा विभिन्न उपयोगी जीव, मित्रजीव एवं सूक्ष्म जीवहरू पर्नुका साथै विभिन्न जीव तथा वनस्पतिको तत्व, उत्पादन वा सक्रिय तत्वहरू मिसाएर बनाइन्छ ।’

    प्रमुख पाण्डेका अनुसार जैविक विषादी वातावरण मैत्री र वातावरणीय पक्षबाट स्वस्थ हुने गर्दछ र एकीकृत शत्रुजीव व्यवस्थापनको महत्वपूर्ण अंश मानिन्छन् ।

    कृषि बाली उत्पादन गर्दा र भण्डारणमा देखिने रोग कीरा नियन्त्रण गर्न सम्भव भएसम्म रासायनिक विषादीको विकल्प खोज्नुका साथै विषादीबाट स्वास्थ्यमा हुने अल्पकालीन र दीर्घकालीन असर न्यून गर्न सचेत हुनुपर्छ । -रासस

  • म्यानपावरको धन्दा : भिजिट भिसा

    म्यानपावरको धन्दा : भिजिट भिसा

    काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारका लागि भिजिट भिसामा जाने प्रवृत्ति रोक्न कडाइ गरेको  बताए पनि व्यवहारमा सरकारी प्रयास असफल देखिएको छ । केही महिनाअघि नक्कली कागजातसमेत बनाएर नेपाली युवायुवतीलाई पठाएको अभियोगमा प्रहरीले नेपाल वायुसेवा निगमका अधिकृतसहित काठमाडौंबाट ६ वटा ट्राभल्स एजेन्सीका सञ्चालकलाई पक्राउ गरेपछि केही सुस्त बनेको भिजिट भिसाको ठगी धन्दा पुनः संगठित बनेको देखिएको छ ।

    भिजिट भिसा प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएई पु¥याइएका युवाहरु दुबई विमानस्थलमा अवतरण भएपछि मानव तस्करीमा संलग्न गिरोहले त्यसलाई सफल वैदेशिक यात्रा भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमार्फत व्यापकरुपमा प्रचारप्रसार गरिरहेका छन् । उनीहरुले केही महिना यूएईमा बसेपछि युरोपेली मुलुकमा सहजरुपमा जान पाउने ‘ग्यारेन्टी’ नै गर्ने गरेका छन् ।

    भिजिट भिसाको सेटिङमा पठाउँदा पूर्ववत् रुपमा गिरोहले ४४ देखि ५५ हजारसम्म लिने गरेको समाचार स्रोत बताउँछ । नेपालबाट संस्थागत अर्थात म्यानपावर कम्पनीबाट गएका कतिपय कामदारले भनेअनुसार तलब तथा सेवा सुविधा नपाएको भनि गुनासो आइरहेको छ । तर भिजिट भिसा दुरुपयोग गरी युवायुवतीलाई यूएईमा लगेको समूहले एक हजारदेखि १५ सय यूएईको मुद्रा एइडी सजिलै पाउने भएकाले कुनै समस्या वा कठिनाइ नरहेको दाबी पनि सामाजिक सञ्चालन रहेका ती भिडियोमा गर्ने गरिएको छ ।

    नेपाल सरकारले घरेलु कामदारको रुपमा जान कुवेत, ओमान, यूएई, साउदी अरेबिया, कतार र इराकलगायतका देशमा पनि रोजगारीको अवसर रहेको भन्दै सम्पर्क गर्न ह्वाट्सएप, ईमोलगायतका सामाजिक संजालको माध्यमबाट प्रचारप्रसार गर्ने गरिएको छ ।

    आकर्षक रोजगारीका लागि ठगी गर्नेहरुले यूएईलाई सुरक्षित कार्यस्थल बनाएर बसेको धेरैको अनुमान छ । विगतमा इन्टरपोल प्रहरीले ठगीका केही आरोपीलाई पक्राउ गरेपछि ठगीका अन्य अभियुक्तहरु पनि पक्राउ पर्न सक्ने आशा बढाएको थियो । तर सामाजिक सञ्जालमा देखिएका प्रचारप्रसार सामग्रीले सेटिङवालाहरु निस्फिक्री धन्दा चलाउन सक्रिय रहेको देखिएको छ ।

  • बलात्कार मुद्दामा गायक रवि ओड प्रहरी नियन्त्रणमा

    बलात्कार मुद्दामा गायक रवि ओड प्रहरी नियन्त्रणमा

    काठमाडौं । नेपाल आइडल विजेता गायक रवि ओड प्रहरी नियन्त्रणमा रहेका छन्। वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा पक्राउ पूर्जी जारी भएका ओडले बिहीबार प्रहरी समक्ष आत्मसर्मपण गरेका हुन्।

    यही चैत २० गते रविकी श्रीमतीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिएकी थिइन्। कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओड बिहीबार प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयले कञ्चनपुरका प्रवक्ता, डिएसपी उमेश जोशीले जानकारी दिएका छन्।

    डिएसपी जोशीका अनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। ‘ बिहीबार रवि आफैं इप्रका झलारीमा हाजिर हुनुभएको हो। त्यहाँ पाँच दिनको म्याद थपेर हिरासतमा राखेर अनुसन्धान हुन्छ। अनुसन्धानपछि अदालतमा पेश गर्छौं,’डिएसपी जोशीले देशसञ्चारसँग भने।

    सांगीतिक कार्यक्रमको सिलसिलामा देश बाहिर रहेका ओडले नेपाल आएपछि प्रहरी समक्ष आत्मसर्मपण गरेका हुन्। उनको नाममा चैत २० गते श्रीमतीले उजुरी दिएसँगै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

    रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवारका प्रतिनिधिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमति सञ्चालनको माग राख्दै ध्यानाकर्षण गराएका छन् ।

    शुक्रबार नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) मा एक कार्यक्रममा आएको प्रधानमन्त्री दाहाललाई सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

    “भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका नाममा साप्ताहिक रुपमा एकतर्फी मात्र उडान भैरहेकोमा अब यो उडानलाई कम्तीमा दैनिक दुईतर्फी रुपमा उडान सञ्चालन हुने व्यवस्थासहित ध्यानाकर्षण गराएका हौँ ।” सङ्घका अध्यक्ष श्रेष्ठले भने, “हामीलाई विश्वास छ गत वर्ष जेठ महिनामा एकतर्फी उडान सुरुआत भएजस्तै यस वर्षको जेठ महिनाभित्रै दैनिक दुईतर्फ हवाई उडान सुरु हुनेछ ।”

    तत्कालीन समयमा प्रधानमन्त्रीको पहलमा नेपाल एयरलाइन्सले मलेसियाबाट भैरहवा साताको एक उडान गर्दै आएको छ ।

    विमानस्थलवाट नियमित उडान नहुँदा यस क्षेत्रका पर्यटन बजारहरू चलायमान हुन नसकेको र निजी क्षेत्रको अर्बौंको लगानी जोखिममा परेको सङ्घका अध्यक्ष श्रेष्ठले बताए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा अन्तर्राष्ट्रिय उडानहरू सुरुवात गर्न सके केही आशाका किरणहरू देखिने उनको भनाइ छ ।

    सङ्घले ध्यानाकर्षण पत्रमा वैदेशिक रोजगारमा जानेका लागि श्रमसँगै रपन्देहीमै स्वास्थ्य परिक्षणको व्यवस्था गराउन माग गरेको छ । “श्रमको कार्य भैरहवाबाटै हुने भए पनि स्वास्थ्य परीक्षणका लागि काठमाण्डौमा नै जानु पर्ने व्यवस्था रहेको छ ।” अध्यक्ष श्रेष्ठले भने “नेपाल सरकारले वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य जाँच परीक्षण भैरहवा बुटवलकै अस्पताल वा प्रयोगशालाबाट गर्न मिल्ने व्यवस्था छिटोभन्दा छिटो मिलाओस ।”

    यस्तै दुबई, कतार लगायतका देशका भिसा सेन्टरको स्थापना भैरहवामा गर्न, आइएलएस (इन्स्टमेन्ट ल्याण्डिङ सिस्टम) उपकरण विमानस्थलमा जडान रहेको तर हालसम्म पनि प्रयोगमा आउन नसकेकाले यो उपकरण सञ्चालनमा ल्याउन पनि सङ्घले माग गरेको छ ।

    भैरहवाबाट उडान गर्ने विमान सेवा कम्पनीलाई कम्तिमा यहाँको उडानको आधारमा कर छुट सहुलियत साथै कम्तीमा पाँच वर्षको लागि ग्राउन्ड ह्य्यान्ड्लिङ आफैँ गर्न सक्ने व्यवस्था गरी आकर्षित गर्न प्रधानमन्त्रीलाई सङ्घले माग गरेको छ ।

    भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानलाई हवाई इन्धनको मूल्य काठमाडौंमा भन्दा सस्तो गर्न पनि आग्रह गरेको छ । अहिले तराईतिरै बाट काठमाण्डु पुग्ने हवाई इन्धनको मूल्य काठमाडौ र तराईमा एकै रहेको छ । स्थानअनुसार इन्धन मूल्य कायम गरे विमानसेवा कम्पनीको उडान खर्च कम हुने र उनीहरुलाई आकर्षित गर्न सकिने श्रेष्ठले बताए।

    चीन, थाइल्यान्ड, जापान, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, कम्बोडिया म्यान्मार जस्ता बढी वृद्ध धर्म मान्ने देश हरुबाट लुम्बिनी भ्रमणमा बढी आउने गरेका छन । ती देशहरूसँग कूटनीतिक पहल गरी कम्तीमा हप्ताको एक उडानका लागि अनुरोध गर्न आग्रह गरिएको श्रेष्ठले बताए ।

    यस्तै नेपाल एयरलाईनसँगै नेपालको अर्को निजी कम्पनी हिमालय एयरलाइन्सलाई पनि साताको एउटा मात्र भए पनि उडान गराइदिने व्यस्था गर्न संघले आग्रह गरेको छ । भैरहवाबाट दिल्ली, लखनउ लगायत भारतका सहरमा उडानका लागि आफ्ना भारतीय समकक्षी समक्ष पहल गरिदिने आग्रह पनि गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

    विमानस्थल नियमित सञ्चालनका लागि यहाँका निजी क्षेत्रले के कार्य गर्नुपर्ने हो त्यसका लागी नेतृत्व लिनुपरे सिद्धार्थ उद्योग वाणिज्य सङ्घ तयार रहेको उनले बताए । यस विषयमा प्रधानमन्त्रीले पनि सकारात्मक चासो दिएको श्रेष्ठको भनाइ छ । सङ्घले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्रीले यसको लागि पहल जारी रहेको बताएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।