Category: फ्रन्ट पेज

फ्रन्ट पेज

  • देवदहको खयरडाडामा उत्खनन शुरु

    देवदहको खयरडाडामा उत्खनन शुरु

    लुम्बिनी। बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा स्थानीय सरकारको साझेदारीमा उत्खनन बुधबारदेखि सुरु गरिएको छ । देवदह नगरपालिकाको आर्थिक तथा लुम्बिनी विकास कोष र पुरातत्व विभागको प्राविधिक सहयोगमा देवदह नगरपालिका– ९ स्थित खयरडाँडामा क्षेत्रमा उत्खनन शुरु गरिएको हो ।

    देवदह नगरपालिका नगरप्रमुख धुव्र खरेल र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले संयुक्त रुपमा कुटोले भुईँ खनेर शभारम्भ गरेका हुन् । बजेट अभावका कारण पुरातात्विक स्थलहरुको उत्खनन, अन्वेषणमा हुन नसकिरहेको बेला देवदह नगरपालिकाले १० लाख बजेट छुट्याएर उत्खनन थालिएको छ । स्थानिय पालिकाले साझेदारीमा उत्खनन गरेको यो पहिलो रहेको बताइएको छ ।

    उत्खनन शुभारम्भमा बोल्दै नगरप्रमुख खरेलले पुरातात्विक क्षेत्रको उत्खननमा देवदह नगरपालिकाले प्राथमिकताका साथ काम गर्ने बताए । उनले उत्खननका लागि आगामि बर्षमा पनि बजेट छुट्याएर काम गर्ने बताए । नगरप्रमुख खरेलले स्थानीयसँगै देवदह क्षेत्रका पुरातात्विक स्थलहरुको उत्खनन र अन्वेषणका लागि प्रदेश सरकारले समेत बजेट छुट्याउनुपर्ने बताउँदै त्यसका लागि आफुहरुले पहल गर्ने प्रतिबद्धता जनाए ।

    यस्तै कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले पुरातात्विक स्थलको उत्खननमा साझेदारी गरेर देवदह नगरपालिका पहिलो स्थानीय तह बनेको बताए । उनले देवदहको भग्नावशेष क्षेत्रहरुमा उत्खनन हुँदा यसले पुरातात्विक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने बताए ।

    भट्टराईले देवदहको खोजीका लागि रुपन्देही र नवलपरासीका क्षेत्रहरूको पुरातात्विक उत्खनन गर्नुपर्ने बताउँदै त्यसैका लागि कोषले गत वर्षदेखि उत्खननलाई प्राथमिकतामा राखेको बताए । गत वर्ष जेठ १७ गतेदेखि गरेको उत्खननमा प्राचिन पर्खाल र प्राचीनतम इनारका संरचना फेला परेका थिए । लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख बरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा ५ जनाको टोली उत्खननमा खटिएको छ । पुरातत्व विभागका पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन । उत्खनन आगामी आगामि एक महिनासम्म चल्नेछ ।

  • हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्रीको आह्वान

    हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्रीको आह्वान

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् ।

    उनले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याए ।

    ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारको ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ अभियानलाई सघाउन आग्रह गरे ।

    विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथालगायतका हिमालहरू यसको असरको चपेटामा पर्दै गएका उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनका असरलाई घटाउने तथा हिमालका फोहोर व्यवस्थापनलगायत चुनौती थपिएको बताए ।

    उनले पछिल्लो समय विश्वव्यापी रूपमा देखापरेका वातावरणीय सङ्कट खासगरी जलवायु परिवर्तन, तापमान वृद्धिका कारण उत्पन्न चुनौती गम्भीर भएको उल्लेख गरे ।

    सगरमाथा दिवसले नेपालको पर्यटक आगमनमा वृद्धि गर्न, हिमालको संरक्षण गर्न, हिमाली क्षेत्रमा भइरहेको फोहोरको न्यूनीकरण एवं उचित व्यवस्थापन गर्न एवं हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेका प्रभावहरू न्यूनीकरण एवं अनुकूलनका लागि काम गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    विश्व इतिहास र रङ्गमञ्चमा नेपाली पहिचान र विशेषता बहुआयामिक रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सगरमाथा र लुम्बिनी जस्ता प्राकृतिक, ऐतिहासिक एवं सांस्कृतिक सम्पदा संसारभरिका मानिसका निम्ति गौरवको विषयका रूपमा रहेका बताए ।

    सगरमाथाबाट आरम्भ भएको हिमाल आरोहणको यात्रा नेपाललगायत विश्वका विभिन्न हिमशिखरहरूको आरोहण हुँदै विश्वव्यापी बनेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालका आठ हजार मिटरभन्दा अग्ला हिमालका साथै अन्य हिमालहरूको आरोहणमा आकर्षण बढिरहेको बताए ।

    सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरूको आत्मसम्मानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू तर्जुमा गरिरहेको प्रधानमन्त्रीले जानकारी दिए ।

  • महिलामाथिको हिंसा निराकरण गर्न राज्यका सम्पूर्ण संयन्त्रले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

    महिलामाथिको हिंसा निराकरण गर्न राज्यका सम्पूर्ण संयन्त्रले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको राजनीतिक, सामाजिक, न्यायिक पहुँचलगायतका क्षेत्रमा समान, अर्थपूर्ण र सम्मानजनक सहभागिताको प्रत्याभूति गराउनुपर्ने बताएका छन् ।

    राष्ट्रपति पौडेलद्वारा छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आज जारी शुभकामना सन्देशमा महिलाको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिताका लागि सबैको सामूहिक प्रयास हुनु जरूरी रहेको उल्लेख गरेका छन् ।

    ‘सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त सभ्य समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु’, सन्देशमा भनिएको छ ।

    ‘हाम्रो अभियानः आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ मनाउन लागिएको छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै उनले उक्त शुभकामना दिएका हुन् । राष्ट्रपति पौडेलले यस अवसरमा महिलाको हक, अधिकार सुनिश्चित गर्न योगदान गर्नुहुने सम्पूर्ण अग्रजहरुलाई स्मरण गर्दै धन्यवादसमेत दिएका छन् ।

    ‘विभिन्न नीतिगत र कार्यगत प्रयासहरू हुँदाहुँदै पनि महिलाहरू सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक एवं आर्थिकरूपमा पछाडि परेका छन्’, सन्देशमा भनिएको छ, ‘कार्यस्थल, शैक्षिक संस्थान, सार्वजनिक स्थान तथा घर समाजमा नै महिला पूर्णरूपमा सुरक्षित नभई महिला तथा बालबालिकामाथि हुने हिंसाजन्य घटनाहरू हुनु आफैँमा अत्यन्त दुःखद् कुरा हो, यस्ता क्रियाकलापको निराकरणको निम्ति राज्यका सम्पूर्ण संयन्त्रले यस विषयलाई मुख्य प्राथमिकताका साथ लिनुपर्दछ भन्ने लाग्दछ ।’

  • गणतन्त्र दिवस मनाइँदै

    गणतन्त्र दिवस मनाइँदै

    काठमाडौं । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा मङ्गलवार राष्ट्रिय दिवस मनाइँदैछ ।

    तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसद्वादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनः स्थापना गरेका थिए । भने त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।

    सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्य रूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा यही जेठ १ गते सिंहदरबारमा बसेको बैठकले उनको अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ गठन गरेको थियो ।

    समितिको सदस्यमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, ललितपुर महानगरका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत रहेका छन् ।

    देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ । यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गर्ने निर्णय भएको छ ।

  • स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न सक्ने

    स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न सक्ने

    काठमाडौँ । स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न सक्ने भएको छ ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको निर्देशिकामा स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न सक्ने व्यवस्था गरेको हो । निर्देशिकामा ‘दुवै विद्यालय एउटै स्थानीय तहभित्रका भएमा र तह, विषयसमेत यकिन गरी पाँच दिनभित्र शिक्षक व्यवस्थापनसम्बन्धी कार्य स्थानीय तह आफैँले गर्न सक्ने’ उल्लेख गरिएको छ ।

    पालिकामा उल्लेख भए बमोजिम गरिएको शिक्षक व्यवस्थापनसम्बन्धी कार्यको विवरण सम्बन्धित एकाइमा लेखी पठाउनुपर्नेछ र एकाइले नियमावली बमोजिम आफूले गर्नुपर्ने निर्णय गरी अभिलेखीकरण गर्नुपर्नेछ ।

    आवश्यक कागजात प्राप्त भइसकेपछि सरुवा भई जाने, आउने विद्यालय फर–फरक स्थानीय तहको भएमा अथवा जिल्लान्तर भएमा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइले शिक्षक सरुवा गर्नेछ ।

    निर्देशिकामा भनिएको छ ‘पेस भएका कागजात रुजु गरी तीन दिनभित्र अन्तर स्थानीय तह वा जिल्लान्तर रूपमा शिक्षकको सरुवासम्बन्धी निर्णय गरी सम्बन्धित शिक्षक, विद्यालय, स्थानीय तह र एकाइलाई जानकारी दिनुपर्नेछ ।’

    त्यसको लागि स्थानीय तहले प्राप्त कागजात यकिन गरी नियमावलीको अनुसूची १७ बमोजिम आफ्नो सहमतिसहित तीन दिनभित्र प्राप्त कागजात शिक्षक सरुवाका लागि सम्बन्धित एकाइमा पठाउनुपर्नेछ ।

    त्यस्तैगरी रिक्त भएको पद र पूर्ति भएको पदसम्बन्धी विवरण सम्बन्धित स्थानीय तहले तत्‌तत् विद्यालयको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा तत्काल अद्यावधिक गराउनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

    शिक्षक सरुवासम्बन्धी व्यवस्थालाई प्रभावकारी तथा व्यवस्थित बनाउन केन्द्रमा एकीकृत पोर्टलको विकास गर्न सकिने र शिक्षक सरुवासम्बन्धी सबै विवरण तथा कार्य विकसित पोर्टलमार्फत गर्न सकिने भनिएको छ ।

  • पदयात्राको गन्तव्य बन्दै देवचुली डाँडा

    पदयात्राको गन्तव्य बन्दै देवचुली डाँडा

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा रहेको महाभारत पर्वत शृङ्खलाको देवचुली डाँडा धार्मिक पर्यटनसँगै पदयात्राको गन्तव्य बन्दै गएको छ ।

    तीन कन्या माईको पूजा गर्न जानेहरू मात्र नभएर पछिल्लो समय दृश्यावलोकन र पदयात्राका लागि जानेहरू नियमितजसो भेटिन थालेका छन् ।

    बुलिङटार गाउँपालिका र देवचुली नगरपालिकासँग प्रत्यक्ष सम्बन्ध राख्ने यो क्षेत्र धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदाका दृष्टिले पनि पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ ।

    वचुली डाँडा तथा आसपास क्षेत्रको प्राकृतिक स्रोत, सम्पदा, सांस्कृतिक, पुरातत्व तथा धार्मिक मान्यताको संरक्षण र सम्वद्र्धन गर्न थालेपछि यहाँ आउने बढ्न थालेको देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिका अध्यक्ष विद्रोही गिरीले बताए ।

    देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिले पैदलमार्ग क्षेत्रमा सिँढी निर्माण तथा रेलिङको काम थालेको छ । करिब दुई किलोमिटर क्षेत्रमा सिँढी बनाउने काम पूरा गरेपछि यहाँ आउने पर्यटकलाई थप सुविधा हुने अध्यक्ष गिरीले बताए ।

    यस क्षेत्रमा बिदाको समयमा आउनेको सङ्ख्या बढ्दो छ । बोझा पोखरी होमस्टेमा बास बसेर बिहान पदयात्रा जानेहरूको गर्मी मौसममा लर्को नै लाग्ने गरेको देवचुली बोझा पोखरी मगर होमस्टेका सचिव हेमलाल बरालले बताए ।

    उनले भने, ‘मगर समुदायको कौरा, झ्याउरे, सोरठी, कृष्णचरित्र र रामायणमा आधारित मारुनी नाच यहाँको प्रमुख लोक संस्कृति हुन् ।’

    देवचुली क्षेत्र जैविक विविधताले समेत धनी क्षेत्र रहेको छ । यो क्षेत्रमा साल, चिलाउने, चाप, लालीगुराँस, काउलो, तेजपत्ताआदि वनस्पति छन् ।

    यसका अतिरिक्त पाखनवेत, पाँच औले, भूतकेस, तिते, सिकारी लहरा, गुजरगानो, कुरिलो, पिपला, अमारो, अमला, हर्रो, कटुस, चिउरी, रिठ्ठा, जालपुरेनी आदि जडीबुटीका कारण यो क्षेत्रले विशेष महत्व राख्ने बरालले बताए ।

    पूर्व पश्चिम राजमार्गको दलदले बजारदेखि २० किलोमिटर उत्तरमा देवचुली पर्छ भने कालीगण्डकी कोरिडोरको कोखेबाट १३ किलोमिटर दूरीमा यहाँ पुग्न सकिन्छ ।

    परापूर्वकालदेखि चलिआएको तीनकन्यामाई पूजाको प्रचलनले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण स्थान लिएको छ ।

    एक हजार नौ सय ३६ मिटर अग्लो चुलीबाट उत्तरतर्फ मनै लोभ्याउने हिमाली दृश्य तथा दक्षिणतर्फका फाँट, नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको पर्यटन समितिका अध्यक्ष गिरीले बताए ।

    ‘चुलीको एक हजार आठ सय मिटर उचाइमा गुफा रहेको छ । द्वापर युगमा पाँच पाण्डव द्रौपदीसहित केही समय बास बसेको किंवदन्तीका कारण यस गुफाको छुट्टै महत्व छ’, उनले भने, ‘गुफाभित्र मानिस र जनवारका देखिने आकृति र सारङ्गीको धुन निस्कने ढुङ्गाका कारण यो गुफा विशेष आकर्षणको केन्द्रविन्दु बनेको छ ।’

    यहाँबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विभिन्न भूभागसहित तनहुँ, पाल्पा, कास्की, चितवनका भू–भाग अवलोकन गर्न सकिन्छ ।

    देवचुली डाँडाको चुचुरोबाट उत्तरतर्फ देखिने मनमोहक हिम शृङ्खलाको दृश्यले यहाँ पुग्ने जो कसैलाई आनन्दित बनाउँछ ।

    साथै दक्षिणतर्फ नारायणी नदी, पूर्व पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भू(भाग डाँडाबाट सहजै अवलोकन गर्न सकिन्छ ।

  • सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज

    सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज

    म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिकाको पिप्ले र भगवती जोड्ने सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । 

    रघुगङ्गा–३ पिप्लेको रघुगंगा माविबाट वडा नं २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र र ढलान भएपछि यात्राअवधि छोटिएको, भाडादर घटेको, धुलो र हिलोबाट उनीहरूलाई मुक्ति मिलेको हो । 

    ‘साँघुरो र ग्रेड नमिलेको कच्ची सडकमा यात्रा गर्दा हिउँदमा धुलो र बर्खामा हिलोले सास्ती भएको थियो’, भगवती मैदानका बासिन्दा रिम मल्लले भने, ‘सफा सडकमा सहज र सुरक्षित यात्रा गर्न पाउँदा खुसी भएका छौँ ।’ विसं २०६६ मा निर्माण भएको राहुघाटबाट पिप्ले हुँदै भगवती जोड्ने सडक १५ वर्षपछि स्तरोन्नति भएपछि  कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको यातायात व्यवसायी रमेश भण्डारीले बताए ।

    ‘पिप्लेबाट भगवती पुग्न पहिले ४५ मिनेटदेखि एक घण्टा लाग्थ्यो’, उनले भने, ‘यात्राअवधि १० मिनेटमा छोटिएको छ । यसअघि बेनीदेखि भगवती पुग्न प्रतियात्रु रु तीन सय भाडा रहेकामा हाल दुई सय ५० कायम गरिएको छ । 

    गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ मार्फत २०७६ सालमा सुरु भएको गलेश्वर-पिप्ले-भगवती-बेग सडक आयोजना सम्झौता भएको पाँच वर्षपछि सम्पन्न हुने चरणमा पुगेको छ । यस सडकबाट पिप्ले, भगवती र बेगखोलाका तीन वडाका तीन हजारभन्दा बढी परिवार प्रत्यक्ष लाभान्वित भएका म्याग्दी-१ ९१० बाट निर्वाचित पूर्वप्रदेशसभा सदस्य विनोद केसीले बताए । प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक-एक वडा सडक आयोजना सञ्चालन गरेको छ ।

    जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले पिप्ले-भगवती खण्डमा पाँच किलोमिटर डिबीएसडी प्रविधिको कालोपत्र र पाँच सय मिटर ढलान सकिएको जानकारी दिए । पिप्लेको फूलबारी क्षेत्रमा थप पाँच सय मिटर सडक ग्राभेल भइरहेको छ । खड्का-कृष्ण जेभीले १८ करोड ४९ लाख आठ सय ३८ मा ठेक्का लिएको यो सडक २०७८ जेठ २४ गते सम्पन्न गर्ने लक्ष्य थियो । कोरोना महामारी, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव, सामाजिक समस्यालगायत कारणले ढिलाइ भएको हो ।

    पहिरो प्रभावित राहुघाटबाट रघुगङ्गा माविको भवन अगाडिसम्मको दुई किलोमिटर पाँच सय मिटर सडक आयोजनाबाट हटाइएको छ । गलेश्वरबाट बगैँचासम्मको सडक पहिराको जोखिम र बगैँचाबाट रघुगङ्गा माविसम्मको सडक राहुघाट जलविद्युत् आयोजना प्रभावित क्षेत्रअन्तर्गत पर्ने भएकाले आयोजनाबाट हटाइएको हो ।

    भगवतीका पूर्ववडाध्यक्ष रिम कटुवालले भगवतीबाट बेगखोलातर्फ स्तरोन्नति गर्न आयोजनालाई निरन्तरता दिनुपर्ने बताए । जलविद्युत् आयोजना प्रभावित क्षेत्रको सडक जलविद्युत् आयोजनामार्फत नै स्तरोन्नति गर्न पहल गर्नुपर्ने उनले बताए ।

  • देशमै भविष्य खोज्नेहरुलाई बाटो देखाईरहेका गुरागाईं

    देशमै भविष्य खोज्नेहरुलाई बाटो देखाईरहेका गुरागाईं

    समयले कुनै बेला प्रश्न गर्यो, के गर्न सक्छस् ? मैले समयलाई एक सलाम ठोकेँ र भनेँ, जिन्दगीको सबै परीक्षा दिन तयार छु । फेरि हाँस्दै सोध्यो, हारिस् भने…..?

    बढो दम्बका साथ भनेँ, भुइँबाट उठेको मान्छे हुँ, त्यसैले मेरा लागि हार र जितले खासै प्रवाह राख्दैन । जे आइलाग्छ, त्यही स्वीकार्य छ ।

    यो संवाद प्रदीप गुरागाइँले आफ्नै जिन्दगीसँग गरेको संवाद हो । आफूले बाँचेको समयसँग गरेको संवाद हो । सर्लाहीको माटोमा जन्मिएर यही देशको सेवामा लागेका गुरागाईंले अहिले जिन्दगीका ४० शिशिरहरु बिताइसकेका छन् ।

    मान्छे समयको साधक हो । समय मान्छेको निर्देशक हो । मान्छेले आफूलाई समयानुकूलित बनाउन सक्यो भने मात्र सफलताको सिँढी चढ्न सक्छ । गुरागाईंको जीवनको आरोह अवरोध पनि सामान्य छैन । उनी के बन्न चाहे, के बने । अहिले व्याख्या गर्न सक्दैनन् । मधेशको माटोमा जन्मिएर स्वदेशको सेवामा आफूलाई सुम्पेका उनले आफूलाई जहिल्यै सङ्घर्षको बाटोमा हिँडाइरहे ।

    सहज थिएन, तराईमा जन्मिएर हुर्कनका लागि नेपालमा । त्यसमाथि अहिलेको मधेश प्रदेश । पारिवारिक हिसाबले पनि उनले सानै उमेरमा जागिर खानुपर्ने बाध्यता थियो । उनले जागिर खानकै लागि नेपाली सेनामा भर्ती भए । माओवादीको सशस्त्र युद्ध चलिरहेकै थियो त्यतिबेला । त्यस्तो बेलामा सैन्य जिन्दगी बिताउनु भनेको मृत्युलाई हत्केलामा बोकेर हिँड्नु हो । उनले मृत्युको पर्वाह गरेनन् र सेनामा आफूलाई सुम्पिए ।

    नेपाली सेनामा रहेर काम गरेका गुरागाईँले साँढे १९ वर्षसम्म आफूलाई देशको सेवामा समर्पण गरे ।

    उनले जागिर खानकै लागी १८ वर्षको कलिलो उमेरमै सिपाही भएर नेपाली सेनामा भर्ती भए। आफ्नो जिन्दगीको करिब दुई दशक देशको सेवामा सुम्पिसक्दा पनि उनि थाकेका छैनन् ‌ । अहिले एस एस एकेडेमी बाट गुरागाईंले देशमै युवा टिकाउने अनवरत संघर्ष गर्दै छन् ।

    के हो एस एस एकेडेमी ?

    कलिला युवा जनशक्ति जो देशका मानव संसाधन हुन् । उनिहरुले नै देशमा भविष्य देख्न छोडेपछि देश प्रगति हुने त कुरै भएन। यसै सन्दर्भमा एस एस एकेडेमीको स्थापना भयो।

    एस एस एकेडेमीले भविष्य खोज्दाखोज्दै रूमलिरहेका युवाहरुलाई बाटो देखाउने मार्ग दर्शक बनेर काम गरिरहेको छ‌।

    विदेशिने लर्कोलाई केहि हद भए पनि देशमै थेग्न सके अब सक्षम देश बनाउने निती निर्माता तय गर्न सकिन्छ।

    त्यसको लागी एस एस एकेडेमीमा सैन्य क्षेत्रका सम्पुर्ण तयारी कक्षाहरु सञ्चालन गरिन्छ। अधिकृत क्याडेट, प्राविधिक अधिकृत, लेखा उप सेनानी, लेखा जमदार, अमल्दार कर्मचारी, प्रा.अ.म मेडिकल पदिक तथा बिल्लादार लगायतका सैन्य जवानको ढोका सम्म पुग्ने सारथी हो एस एस एकेडेमी।

    विदेशी सपना देख्नेहरुको भिडम हुने त्यहि बागबजारमा अहिले देशमै केहि गर्छु भन्नेहरुको भिड देखिने ठाउँ बनेको छ।

    यहाँको पारिवारिक वातावरणले गर्दा पनि १२ कक्षा पार गरेपछि नै अपिस क्याडेट बन्ने सपना बोकेर आएका पारखीहरु सफल हुने गरेका छन् ।

    करिव ९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस एकेडेमीले विद्यार्थीहरुको मात्रै होइन उनिहरुका परिवारको समेत अनुहार उज्यालो बनाउन सफल भएको छ।

    हाल यस एकेडेमीमा सैन्य क्षेत्रका सम्पूर्ण विषयहरु जस्तै, नेपाली सेनातर्फ अधिकृत क्याडेटको साथै, लेखा उपसेनानी, प्राविधिक उपसेनानी, जमदार कर्मचारी, अमल्दार कर्मचारी र सैन्य त्यसैगरी नेपाल प्रहरी तर्फ इन्स्पेक्टर, एएसआई, प्रहरी जवान एवं राष्ट्रिय अनुसन्धान तर्फ अनुसन्धान अधिकृत र अनुसन्धान सूचकका लागि तयारी कक्षाहरु संग सँगै दैनिक फिजिकल एक्सरर्साइज र Mock Test हरु पनि गराइन्छ ।

    यसरी आफ्नो जन्मभूमि लाई काधमा लिएर हिडिरहेको छ एस एस एकेडेमी।

  • मलाइ अप्सनल म्याथ पढ्न दिनुहोस्

    मलाइ अप्सनल म्याथ पढ्न दिनुहोस्

    मेरो औपचारीक बिद्यालय शिक्षा साविक करहिया गाउँ पञ्चायतमा र हाल तिलोत्तमा नगपालिका वडा नम्बर ८ मा रहेको श्री शिबपुर मावि , रुपन्देहीबाट सुरु भएको हो। कक्षा १ मा उक्त बिद्यालयमा अध्ययन गरेपछि कक्षा २ र ३ अर्को नजिकको विद्यालय श्री ज्योति प्रावि र त्यसपछि शान्ति नमुना माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरेँ। एकपटक ३ कक्षामा फेल पनि भएँ र सोहि कक्षामा स्कुल प्रथम पनि भएँ। समग्रमा बुझ्दा म मध्यम सिकाइ क्षमताको बिद्यार्थी थिएँ।कक्षा ८ सम्म सबै बिषयहरु अनिवार्य थिए। तर कक्षा ९ मा पुगेपछि केही बिषयहरु रोज्नुपर्ने थियो।मैले ऐ. गणित, भुगोल र शिक्षा पढ्नुपर्ला भन्ने मनस्थिति बनाएको थिएँ।

    नयाँ शैक्षिक सत्रका कक्षाहरु सुरु भए। अनिवार्य बिषयहरु त सबै बिद्यार्थी हरुले संगै पढिन्थ्यो। अब ऐच्छिक विषय पढ्नेहरु छुट्टिएर अर्को कक्षामा जानुपर्ने थियो। म बढो उत्सुकताका साथ ऐच्छिक गणित पढाइ हुने कक्षा तर्फ बढेँ। म सहित त्यहा २२ जना भयौ। पढाउने सर कक्षा भित्र आउनुभो । सबैजनालाइ पालैपालो हेर्नुभो अनि भन्नुभो – तिमीहरुले अप्सनल पढ्न सक्छौ ? हामी सबैले सक्छौ भन्ने जवाफमा टाउको हल्लायौ। तर सरलाइ त्यति जवाफले पुगेन ।मलाइ उठाउनु भो र फेरि भन्नुभो – अम्बिका नानु तिमीलेअप्सनल पढ्न सक्दिनौ। अप्ठ्यारो हुन्छ। जबर्जस्ति नगरी भोलिदेखि अर्थशास्त्र पढ्न जाउ है? ” सक्छु सर। मेहनत गर्छु त भनेकै हुँ। सायद गुरुलाइ पनि मेरो अक्षमताको अवगत थियो ।गणितमा त त्यति उत्कृष्ट थिईन। मेरो नाम अर्थशास्त्रको समुहमा नै लेखाइयो। मन दुख्यो ,पिडा भयो, घर गएर खुव धेरै रोएँ। घरमा सबैले सम्झाउनुभो – “जे पढेपनि हुन्छ। यहि बिषयमा राम्रो गर भैहाल्छ नि।” ९ र १० कक्षा सकियो। माध्यमिक तह परिक्षामा पनि सन्तोजनक अंक आएन।

    उबेला ९/,१० मा जुनसुकै विषय पढे पनि आइ ए, आइएडमा फेरि बिषय छान्न पाइन्थ्यो।मेरो भाइ बुटवल बहुमुखी क्याम्पसमा भर्ना बारे बुझ्न गएछ। घरमा आएर भन्यो-” दिदि तैले गणित पढ्न खोजेकि थिइस् नि?अब पढ्न पाउछेस्। जा गएर भर्ना गर।” म अत्यन्तै हर्षित भएँ। भर्ना भएँ र नियमित क्याम्पस जान थालेँ। तर सोचेजस्तो कहाँ हुन्थ्यो र ! सर कक्षामा आउनुभो र त्रिकोणमिति पढाउन थाल्नुभो। त्यसका ट्रम्सहरु, सिम्बोलहरु र सुत्रहरुले मलाइ बिचलित बनायो । कहिल्यै नपढेका प्रयोग नगरेका गणितिय अभ्यासहरु साह्रै कठिन लाग्यो। मलाइ ९ कक्षामा पढन दिएको भए अहिले सहज हुने रहेछ नि भन्ने सोचमा एकोहरिएँ। गणित जानिन। पढ्न सकुला जस्तो लागेन।धेरै साथीहरु ऎछिक अङ्ग्रेजी पढ्ने थिए। अब मैले पनि अंग्रेजी नै पढ्नुपर्यो भनेर अंग्रेजी बिषयकै नोट बनाएँ र पढ्न थालेँ। महिना बित्दै गयो । परीक्षा फारम भर्ने मिति खुल्यो। मैले पनि परीक्षा फारम भरेँ। फारम मा आफुले पढेका बिषयहरु भरेँ। अनि बुझाउने लाइनमा बसेँ। मेरो पालो आएपछि झ्यालबाट मेरो भरेको फारम लेखाका कर्मचारीलाइ बुझाएँ। मेरो फारम फिर्ता भयो र भनियो -” तिमीले गलत बिषय भरेछौ।अर्को फारम भरेर ल्याउ। तिम्रो बिषय गणित हो अंग्रेजी होइन। मै अंग्रेजी बिषयको परीक्षा दिन नपाउने यकिन भयो। विषय परिवर्तन का लागि क्याम्पस कर्मचारी र क्याम्पस प्रमुखसंग धेरै अनुरोध गरेँ। तर पाइन। मैले गणितकै परीक्षा दिनुपर्ने भयो। तर मसंग १० पुर्णांकको हिसाब गर्ने क्षमता पनि थिएन। अब डेढ महिनामा कसरी गणित तयार गर्न सक्थेँ र! पढ्ने अभ्यास गर्ने समय थिएन। त्यो बर्ष त्यसै वरबाद भयो। पहिलो बर्ष फेल भएँ ।अर्को बर्ष सुनिल सर संग अतिरिक्त कक्षा लिएर पढेँ । परीक्षा दिएँ,पास भएँ / कटाएँ। राम्रो अंक नल्याएपनि म खुशि थिएँ कि म पास भएँ। जे हुन्छ राम्रोको लागि हुन्छ भन्ने कुरा चरितार्थ भयो। एउटा पथ्थर आभुषणमा बदलिनको लागि सयौँ चोट खानुपर्छ।

    अहिलेको नयाँ शैक्षिक सत्रमा मेरा बिद्यार्थीलाई पनि त्यस्तै परेको छ। धेरैले अप्सनल म्याथ पढ्ने रहर गरेका छन् । जो गणितमा अलि कमजोर थिएँ तिनिहरुलाइ अर्थशास्त्र पढने सल्लाह दिइयो र अर्थशात्रको कक्षामा पठाइयो तर उनीहरुले अर्थशास्त्र विषयप्रति चासो देखाएनन। भोलिपल्ट अभिभावकहरु पनि विद्यालय आउनुभयो र आफ्नो बच्चालाइ एकपटक मौका दिनुपर्ने कुरा राख्नुभो। मैले झल्यास्स मेरो विगत सम्झेँ। यदि रहर नै हो भने त बञ्चित गर्नु हुदैन भन्ने लाग्यो। केहि विद्यार्थीले “सबै एकाइ परीक्षामा उत्कृष्ट अंक ल्याउने गरि अभ्यास गर्नेछु” भन्ने बाचा गरेका छन् ।”मलाइ एकपटक मौका दिनुहोस् भन्ने लिखित निबेदन पेश गरेका छन।” अब तिनिहरुलाइ अप्सनल म्याथ पढ्न रोक्ने हो भने उनीहरुमाथी ठुलो अन्याय हुनेछ।

    * यदि मन भित्रैबाट कुनै संकल्प गरिन्छ भने त्यसका लागि दिलोज्यानले सघर्ष गरिन्छ र अवस्य सफल पनि भइन्छ।