Category: फ्रन्ट पेज

फ्रन्ट पेज

  • राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ्ग

    राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ्ग

    देवदह । राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङ्गले बताएका छन । उनले संविधान संशोधनको कुरा प्रतिपक्षले अनावश्यक प्रचार गरेको दावी गरे ।

    देवदह व्यापार संघको आयोजनामा रुपन्देहीको देवदहमा शुरु भएको ९ औं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८१ को उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन । नेपाल सरकारका प्रवक्ता समेत रहेका गुरुङ्गले संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशीता परिवर्तन नहुने भन्दै राजनीतिक स्थिरताको लागि संविधान संशोधन गर्न खोजेको बताए । गुरुङ्गले शुसासन कायम नगर्दा सम्म देशको विकास हुन नसक्ने हुदा कानुनी शासन कायम नहुदा समस्या बढेको बताए । उनले मुलुक र नागरिककोे लागि शुसासन कायम गर्न १३ वटा पुराना कानुनलाई अध्यादेश मार्फत शंसोधन गर्न खोजेको बताए ।

    मन्त्री गुरुङ्गले राजनीतिक स्थिरता, संविधान रक्षाको लागि काग्रेस र एमाले मिलेर बर्तमान सरकार बनेको बताए । उनले नागरिकले देखिने गरी सरकारले काम गर्न नसकेपनि तहसनहस भएको देशको अर्थतन्त्र सुधार गर्न बर्तमान सरकार लागिरहेको बताए ।

    सोही अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले देवदहवासीको भूमि सम्वन्धी समस्या समाधान गर्न सरकारको ध्यान जान आवश्यक रहेको औल्याए । उनले देवदह क्षेत्रमा रहेका पुरातात्विक एवं ऐतिहासिक स्थलहरुको उत्खनन गरी प्रचार प्रसार गर्नु पर्नेमा जोड दिए । पुर्वमन्त्री समेत रहेका सांसद विश्वकर्माले नागरिकलाई अफठ्यारो परेका कुराहरुको सुधार गर्न सरकार तयार हुनु पर्नेमा जोड दिए ।

    देवदह व्यापार संघका अध्यक्ष कोेषबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य निर्मलादेवी चौधरी, देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेल, व्यापार संघ लुम्विनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल, देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरि भण्डारी लगायतले आ–आफना भनाई राखेका थिए। कार्यत्रममा प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष गुरुङ्गले महोेत्सवले देशको अर्थतन्त्र चलायमान गर्न टेवा पुर्‍याउने बताए  । उनले औद्योगिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए । उनले ६ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र करिव १० करोड बरावरको आर्थिक कारोवार गर्ने आयोजकले लक्ष्य लिएको जानकारी दिए ।

    देवदह नगरपालिका–७, शितलनगरबाट शुरु भएको विभिन्न झाकी सहितको र्‍याली देवदह मण्डपमा पुगेर सभामा परिणत भएको थियो । संघका बरिष्ठ उपाध्यक्ष माधव ढकालको स्वागत र महासचिव हरिलाल भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

  • सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्ध रुपन्देहीमा आजदेखि थुनछेक बहस

    सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्ध रुपन्देहीमा आजदेखि थुनछेक बहस

    बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग रुपन्देही जिल्ला अदालतमा आजदेखि थुनछेक बहस हुने भएको छ । बुधवार सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अदालतमा उपस्थित भएका लामिछानेलाई बयानपछि आज १० बजे अदालत उपस्थित  गराउने गरी कानुन व्यवसायी र परिवारको जिम्मा लाएको थियो ।

    न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा आज थुनछेक बहस हुने  श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए । थुनछेक बहसमा जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सहायक न्यायधिवक्ताहरु गोकर्णराज घिमिरे, वसन्त पोख्रेल, लगायतले बहस गर्ने छन् ।  यस्तै जाहेरवालाको तर्फबाट दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारीले पनि बहस गर्ने तयारी गरेका छन् ।

    प्रतिवादी लामिछानेका तर्फबाट नारायणदत्त कँडेल र सुशील पन्तको नेतृत्वका बहस हुनेछ । उनीहरूसँगै  काठमाडौँ र पोखरा बहस  गरेका धेरै कानुन व्यवसायीहरूले बहस गर्ने  राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष सालिक राज घिमिरेले रातोपाटीलाई बताए ।

    माघ ६ गते जिल्ला अदालत रुपन्देहीमा लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा दर्ता भएको थियो । सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा सुरुमा ४२ जना विरुद्ध मुद्दा परेको थियो । त्यसमध्ये पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने, पूर्व डिआइजी छविलाल जोशी,सहकारीका संरक्षक गितेन्द्रबाबु (जिवी) राई सहितका २२ जना विरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा गत आइतबार पूरक मुद्दा दर्ता भएको हो । ती २२ जनाबाट समुहिक रूपमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो दाबी गरिएको छ ।

  • देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

    देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

    देवदह । रुपन्देहीको देवदहमा नगर स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ शुरु भएको छ । देवदह नगरपालिकाको आयोजना र केरवानी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिताको बिहिवार एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गरे ।

    माघ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देवदह क्षेत्रका २७ वटा विद्यालयका आठ सय ४३ खेलाडीहरुले ४२ ईभेन्टमा प्रतिस्पर्धा गर्ने केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले जानकारी दिए ।

    प्रतियोगिता अन्तर्गत एथ्लेक्टिस तर्फ २६ ईभेन्ट, भलिवल र कवड्डी तर्फ तर्फ २ वटा ईभेन्ट, र कराँते तर्फ १२ वटा ईभेन्ट हुने ढुंगानाले जनाए । उद्घाटनसँगै गत बर्षको विजेता देवदह माध्यमिक विद्यालयले केरवानी माध्यमिक विद्यालयलाई रनिङ्ग शिल्ड हस्तान्तरण ग¥यो ।
    प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य विश्वकर्माले खेलको माध्यमबाट राष्ट्रको पहिचान बनाउन सकिनेमा जोड दिए । पुर्वमन्त्री समेत रहेका सांसद विश्वकर्माले खेलाडीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउदै राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिताले सहयोग गर्ने बताए ।

    ‘खेलकुदको विकासका लागि खेलाडीलाई वातावरण संगै तालिमको आयोजना गर्न आवश्यक छ । पछिल्लो समय खेलकुदको महत्व बढ्दै गएको र नेपाली खेलाडीहरु अन्र्तराष्ट्रिय प्रतियोगितामा समेत सहभागि भई पदक जित्न सफल भएका छन् ।’ उनले भने, ‘खेलाडीहरु राष्ट्रिय गहना भएकोले विद्यालय स्तरबाट उत्पादीत खेलाडीको उचित संरक्षण गर्न स्थानीय तहले भूमिका खेल्नुपर्छ ।’
    यसैगरी नगर प्रमुख धु्रवप्रसाद खरेलले खेलकुदको विकासको लागि देवदह नगरपालिकाले विभिन्न योजना अगाडि सारेको दावी गरे । उनले खेलकुदको विकासको लागि भौतिक पुर्वाधार निर्माणको लागि नगरपालिका लागिरहेको बताउँदै राष्ट्रिपति रनिङ्ग शिल्डले खेलाडी उत्पादनमा विशेष योगदान दिने बताए ।
    देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र केरवानी माध्यमिक विद्यालयका शिक्षक यज्ञप्रसाद न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरुले मार्चपास समेत गरेका थिए ।

    प्रतियोगिता अन्र्तगत पहिलो दिन विभिन्न खेलहरु सम्पन्न भएका छन् । छात्रा तर्फ भएको लङ्गजम्पमा जनता माविका आशा दगौरिया प्रथम, सगरमाथा आवासीय माविका रोशनी थापा द्धितिय, जनप्रिय माविका पूर्णिमा थारु तृतिय भएका छन् । सोही खेलको छात्र तर्फ प्रगति माविका पवन पासी प्रथम, कोलिय ईङलिस बोडिङ्गका प्रविन रञ्जितकार द्धितिय, र ग्रीन प्लान्ट आवासीय माविका अविरल सुनारले तृतिय स्थान हासिल गरे ।

    यसैगरी छात्र सटफुट तर्फ भएको खेलमाा सगरमाथा आवासीय माविका अञ्जना विक प्रथम, देवदह बुद्ध पव्लिकका अनिस झेडी द्धितिय, जनप्रिय माविका रिम्स गौतम तृतिय भएका छन् । सोही खेलको छात्रा तर्फ भविष्य निर्माण माविका विना श्रीष प्रथम, सगरमाथा आवासीय माविका कृष्टि पौडेल द्धितिय र जनप्रिय माविका खिमा खत्रीले तृतिय स्थान हासिल गरे ।
    त्यसैगरी १५ सय छात्रतर्फको दौडमा बुद्ध पव्लिक आवासीय माविका आशिष अग्रहरी प्रथम, मदर टङ्गस एकेडेमीका अरुणा विके द्धितिय र नारायणयी पव्लिकका सन्तराम पासीले तृतिय स्थान हासिल गरे । छात्रतर्फ भएको सोही खेलमा युगज्योति माविका आयुष्मा खत्री प्रथम, देवदह बुद्ध पव्लिकका सिम्रन पाण्डे द्धितिय र देवदह बोडिङ्ग स्कुलका संगीता थापा तृतिय भएका छन् ।
    यस्तै भलिवल प्रतियोगिताको विभिन्न खेलहरु पनि बिहिवार सम्पन्न भएका छन् । छात्र तर्फ भएको भलिवल खेलमा एशियनलाईट बोडिङ्ग र देवदह बुद्ध पव्लिक दोश्रो चरणमा प्रवेश गरेका छन् । खेलमा देवदह बुद्ध पव्लिकले युगज्योति माविलाई सोझो सेटमा हराउदै दोश्रो चरणमा प्रवेश ग¥यो ।
    त्यस्तै एशिनलाई बोडिङ्ग स्कुलले देवदह मदरटङ्गस एकेडेमीलाई २–१, को सेटमा हराउदै दोश्रो चरणमा प्रवेश गरेको हो । छात्रा तर्फ भएको भलिवल प्रतियोगितामा सगरमाथा आवासीय मावि, कोलिय ईङलिस बोडिङ्ग स्कुल र सिता मावि दोश्रो चरणमा प्रवेश गरेको खेल संयोजक खेमानन्द ज्ञवालीले जानकारी दिए ।

  • चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, नेपालमा धक्का

    चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, नेपालमा धक्का

    काठमाडौं । नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतमा रहेको पुष्टि भएको छ । अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७ दशमलव १ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ ।

    उसका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु खुम्बु क्षेत्रमा अवस्थित लोबुचे भन्दा उत्तर पूर्वमा रहेको जनाइएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेट आसपास उक्त भुकम्पको झट्का महसुस गरिएको थियो ।

    भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ । काठमाडौंसहित पूर्वी पहाडी जिल्लमा धक्का महसुस गरिएको थियो । नागरिकहरु घर बाहिर तथा सडकमा निस्किएका छन् ।

    सोलुखुम्बुका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण गिरीले ठूलो धक्का महसुस भएको बताए । उनकाअनुसार क्षति भए-नभएको बारेमा बुझ्ने काम भइरहेको छ ।

     

  • पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’

    पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’

    भेरीगङ्गा – ‘सुर्खेतमा बुलबुले ताल, चौतारीमा भेट भयो यो साल’अर्जुन नेपाली र सङ्गीता प्रधानको बन्धकी फिल्मको यो गीत सुन्ने बित्तिकै बुलबुलेको झल्को आउँछ । यो ताल नघुमेका व्यक्तिलाई घुमौंघुमौं लाग्छ । चारैतिर पहाडले घेरिएको वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र बुलबुल गरेर जमिनमुनिबाट निस्किएको पानीले बनेको तालको नाम हो– बुलबुले । यो ताल पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ भने वीरेन्द्रनगर नगरपालिकाको आन्तरिक आम्दानीको स्रोत पनि बनेको छ।

    पहिलो पटक कर्णालीको राजधानी समेत रहेको वीरेन्द्रनगरमा आउने जोकोही पनि बुलबुले ताल हेर्न जाने गर्छन् । एकपटक गएपछि फेरि पनि घुम्न मन लाग्ने बुलबुले उद्यान क्षेत्र पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाइ बनेको छ । समुद्री सतहबाट करिब छ सय ५७ मिटरको उचाइमा अवस्थित बुलबुले तालमा मोटरेबल समेत सञ्चालनमा आएपछि झनै पर्यटकको रोजाइ बनेको हो । सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइएको छ भने चारैतिर घुम्न र हेर्नलायक बन्दै छ । तालमा अहिले मोटरबोट शयर गर्न समेत सकिन्छ ।

    १२ हजार वर्गमिटर क्षेत्रफलमा रहेको उक्त तालको क्षेत्र बढाएर २८ हजार पाँच सय वर्गमिटर बनाइएको छ । अहिले यही तालमा दुईवटा मोटरबोट सञ्चालनमा ल्याइएपछि आन्तरिक पर्यटक बढ्न थालेका हुन् । साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । कर्णाली आउने हरेक पर्यटकको रोजाइमा बुलबुले पनि पर्छ । बुलबुलेमा बिदाका दिनमा बढी पर्यटक आउने गर्छन् । दैनिक पाँच सयभन्दा बढी पर्यटकले बुलबुलेको अवलोकन गर्ने बताइएको छ । विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो ।

    नजिकै रहेको काँक्रेबिहारले पनि रमाइलो थपिदिन्छ । यहाँ वनभोजस्थलदेखि घुमघाम गर्न जानेहरूको घुइँचो बढ्न थालेको छ । विशेषगरी बिदाको दिन बुलबुले घुम्न जाने पर्यटकको संख्या बढ्ने गरेको छ । अहिले बिदाको दिन पाँच हजारभन्दा बढी व्यक्ति बुलबुले घुम्न आउने गरेको वीरेन्द्रनगर नगर विकास समितिअन्तर्गत टिकट काउन्टरमा कार्यरत माली निर्मला बास्तोला बताउँछिन् । ‘अहिले दैनिक औषतमा पाँच सयभन्दा धेरै व्यक्ति बुलबुले अवलोकन गर्न आउने गर्नु हुन्छ, दैनिक टिकट बिक्रीबाट रु १५ हजार आम्दानी हुने गरेको छ’, उनले भनिन् । बिदाका दिनमा रु ३५ हजारसम्मको आम्दानी हुने गरेको निर्मला बताउँछिन् ।

    अझै व्यवस्थित गर्न सुझाव

    बुलबुले घुम्न आएका आन्तरिक पर्यटकले भने नगरपालिकाले अझै उद्यान क्षेत्र व्यवस्थित गर्न आवश्यक रहेको औंल्याएका छन् । वनभोजका लागि आएका शिव मावि धुलियाबिटका प्रधानाध्यापक पूर्णप्रसाद पौडेलले उद्यानसँगै सार्वजनिक शौचालयलगायतका संरचना बनाएर व्यवस्थित गर्नुपर्ने सुझाव दिए । ‘अहिलेको समय भनेको हरेक नागरिकका लागि रमाइलो चाहिएको छ, त्यसका लागि उपयुक्त ठाउँ बुलबुले बनिरहेको छ, तर यसको व्यवस्थापन अझै गर्न आवश्यक देखिन्छ’, उनले भने । प्रधानाध्यापक पौडेलले सार्वजनिक शौचालयदेखि रातिको समयमा घुम्न मिल्ने वातावरण बनाउनुपर्ने सुझाव दिए । बत्ती, पानीसहित चार्चिङ स्टेशनलगायत संरचना बनाएर अझै प्रचारप्रसार गर्न सके वीरेन्द्रनगरको आन्तरिक आम्दानीको ठूलो स्रोत बुलबुले बन्न सक्ने उनको भनाइ छ ।

    बुलबुले घुम्न आएका टङ्कप्रसाद पोख्रेलले पनि बुलबुले आफैंमा महत्वपूर्ण र घुम्नलायक ठाउँ रहेको भन्दै आन्तरिक पर्यटकसँगै बाह्य पर्यटक भित्र्याउने गरी सरकारले काम गर्नुपर्ने सुझाव दिए । ‘अझै आकर्षक र हेर्नलायक बनाउन सक्नुपर्छ, यही प्रदेश सरकार पनि भएको हुँदा स्थानीय र प्रदेश सरकारले विशेष योजना ल्याउनु पर्छ’, उनी भन्छन् ।

    बाहिरबाट सुर्खेत आएपछि बुलबुले घुम्न जाने गरेको उल्लेख गर्दै शिक्षक कमला खतिवडाले पनि अझै सबैको रोजाइ हुनेगरी बुलबुले उद्यान निर्माण गरिनुपर्नेमा जोड दिए । व्यवसायी ओमप्रकाश तिवारीले बुलबुले, काँक्रेबिहारलगायत पर्यटकीय क्षेत्रलाई पर्यटकको रोजाइ बन्नेगरी योजना बनाउनु पर्ने भन्दै यसले अर्थतन्त्रलाई टेवा पुग्न सक्ने सुझाव दिए । पर्यटकको आकर्षक बनाउन सके कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा व्यवसाय पनि बढ्थ्यो, रोजगारी सिर्जना हुन्थ्यो भने अर्कातर्फ विदेशिनु पर्ने बाध्यता कम हुने थियो ।

    अर्का व्यवसायी रमेश खड्काको मत पनि त्यस्तै छ । बुलबुलेको पहिचानलाई जोगाउँदै देश तथा विदेशका पर्यटक भित्र्याउने गरी योजना बनाउनुपर्ने उनले बताए । प्रदेश राजधानीमा रहेको बुलबुले, काँक्रेबिहार र देउती बज्यै जस्ता पर्यटकीय क्षेत्रलाई व्यवस्थित तथा प्रचारप्रसार गरी आन्तरिक आम्दानी बढाउन सकिने सरोकारवालाको सुझाव छ । कर्णाली प्रदेश सरकारले पर्यटकीय क्षेत्रको पहिचानसँगै कर्णाली घुम्न आउने वातावरण बनाउने गरी योजना बनाइएको भन्दै सबै पक्षलाई कार्यान्वयन गर्न सहयोग गर्न आग्रह गरेको छ ।

  • सन् २०२४ का हवाई दुर्घटनाले विश्वलाई झस्कायो

    सन् २०२४ का हवाई दुर्घटनाले विश्वलाई झस्कायो

    काठमाडौं । अंग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो ।

    सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि अर्थात् डिसेम्बर २९ तारिखका दिन दक्षिण कोरियाको मुआनमा १८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १७९ जनाले ज्यान गुमाए । दुईजनालाई सुरक्षाकर्मीले भग्नावशेषबाट जीवितै उद्धार गरेका थिए ।

    बैंककबाट फर्कँदै गरेको उक्त विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना सवार थिए । सियोलबाट करिब २८८ किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिण जियोला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर सिमेन्टको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो ।

    यसअघि डिसेम्बर २५ मा अजरबैजान एयरलाइन्सको एम्ब्रेयर इआरजे १९० एआर विमान कजाकिस्तानको अक्ताउ विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो । वर्षको उत्तरार्धमा भएका दुई ठूला विमान दुर्घटनामा २१७ जनाले ज्यान गुमाए ।

    विमान दुर्घटनामा सन् २०२४ मा इरानी राष्ट्रपति इब्राहिम रइसी र अफ्रिकी देश मालीका उपराष्ट्रपति साउलोस क्लाउस चिलिम जस्ता विशिष्ठ व्यक्तिको मृत्यु भयो । मे २० तारिख (जेठ ७ गते) इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । यस्तै जुन ११ (जेठ २९ गते) मालीका उपराष्ट्रपति चिलिमिको सैन्य विमान दुर्घटनामा मृत्यु भएको थियो ।

    नयाँवर्ष २०२५ को सुरुआत हुँदै गर्दा सन् २०२४ एयरलाइन्सका लागि दुःखद् सावित भयो । यस वर्षभित्र ठूला ठूलासहित धेरै संख्यामा विमानहरु दुर्घटनामा परेका थिए । डिसेम्बर महिनामा मात्रै ६ वटा ठूला विमान दुर्घटना भएका छन् । ती दुर्घटनामा २३४ जनाको मृत्यु भएको छ । लगातारको विमान दुर्घटनाले हवाई क्षेत्रमा सुरक्षा प्रोटोकल र प्राविधिक समस्यामाथि प्रश्न उठ्न थालेको छ ।

    गत डिसेम्बर २२ मा दक्षिणी ब्राजिलको ग्रामाडो सहरमा निजी विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको थियो । उक्त विमानमा सवार ब्राजिलका व्यापारी लुइज क्लाउडियो गालेज्जीको श्रीमती, तीन छोरी र अन्य आफन्तसहितको दुर्घटनामा मृत्यु भएको हो ।

    डिसेम्बर २४ मा एयर क्यानाडाको विमान अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको थियो । उक्त विमानमा आगो लागेको थियो ।

    गत डिसेम्बर २२ मा पपुवा न्यू गिनीमा विमान दुर्घटनाग्रस्त हुदाँ विमानमा सबार सबै पाँच जनाको मुत्यु भएको थियो । उत्तरी तटीय उड्डयनद्वारा सञ्चालित एक आइल्याण्डर २२ डिसेम्बरमा पपुवा न्यू गिनीमा दुर्घटनाग्रस्त भएको थियो ।

    अर्जेन्टिनामा बम्बार्डियर च्यालेन्जर ३०० अर्जेन्टिनाको सान फर्नान्डो एयरपोर्ट नजिक दुर्घटनाग्रस्त हुँदा दुवै पाइलटको मृत्यु भएको थियो । अमेरिकन विमान कामाका एयर एलएलसीद्वारा सञ्चालित कामाका एयर होनोलुलुको ड्यानियलअन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा दुवै पाइलटको मृत्यु भएको हो ।

    अगस्ट ९ मा ब्राजिलको भिनहेडोको भिनहेडोमा विमान दुर्घटनाग्रस्त हुदा विमानमा सवार सबै ६२ जनाको मृत्यु भएको थियो ।

    सन् २०२४ मा नेपाल पनि विमान दुर्घटनाबाट टाढा रहन सकेन । जुलाई २४ तारिख (साउन ९ गते) गते सौर्य एयरलाइन्सको विमान दुर्घटनाग्रस्त हुदाँ १८ जनाको मृत्यु भएको थियो ।

    यस्तै अगस्ट ७ (साउन २३ गते) काठमाडौंको शिवपुरी क्षेत्रमा एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना हुदा पाँचजनाको मृत्यु भएको थियो ।

    सन् २०२३ मा यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार ७२ जनाकै निधन भएको थियो । यो दुर्घटना आन्तरिक उडानमा हालसम्मकै ठूलो हो ।

    बुद्ध एयरका अप्रेसनल डाइरेक्टर क्याप्टेन आरके शर्मा समग्रमा वर्ष २०२४ विश्वव्यापीरुपमा हवाई दुर्घटनाका हिसावले दुःखद् रहे पनि नेपालमा भने केही सुधार भएको बताउँछन् ।

    “नेपालका लागि वर्ष २०२४ सुखद नै मान्नुपर्छ । तर, विश्वव्यापी रुपमा हेर्दा वर्षको समाप्ती हुनैलाग्दा निरन्तर ठूला घटना हुनुले समग्र वर्षलाई हवाई दुर्घटनाका हिसावले दुखःद् मानिन्छ”, उनले भने । नेपालको हकमा हवाई सुरक्षा अभिवृद्धि भएको मान्न सकिने उहाँको धारणा छ ।

    यद्यपि, सौर्य एयर र एयरडाइनेस्टी हेलिकोप्टर दुर्घटनाले पुनः एकपटक झस्काएको छ । यसबाट एभिएसन सेफ्टी र सेक्युरिटीका साथै व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्नेतर्फ एयरलाइन्सहरुको ध्यान जान जरुरी रहेको क्याप्टेन शर्माको भनाइ छ ।

    सन् २०२४ मा विश्वव्यापी रुपमा हवाई यात्रुको संख्या सकारात्मक बढोत्तरी भइरहेको छ । निरन्तर बढेको हवाई यात्रु चापले यस क्षेत्रको आकर्षणसँगै सेफ्टी र सेक्युरिटीलाई मजबुद बनाउनुपर्ने दबाब बढेको छ । हवाई क्षेत्रका जानकार अच्युत पहाडी पनि समगमा सन् २०२४ एभिएसनका हिसाबले दुःखद् वर्ष साबित भएको बताउँछन् ।

    “विश्वव्यापीरुपमा ठूला ठूला हवाई दुर्घटना भए । नेपालमा पनि सौर्य एयरलाइन्स र एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना भए । यसरी हेर्दा एभिएसनलाई सन् २०२४ फापेन । दुर्घटना मात्रै हैन मानवीय क्षति पनि धेरै भएको छ । यसले हवाई सुरक्षामाथि प्रश्न खडा गरेको छ”, उनले भने ।

    सन् २०२४ को अन्तिम महिनाका केही हवाई दुर्घटनाले हवाई क्षेत्रमा संशय पैदा गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतमले बताए । समग्रमा सन् २०२४ लाई बिदाई गर्दैगर्दा एभिएसनले नराम्रो क्षति व्यहोर्न पुगेको उनले उल्लेख गरे ।

    “एभिएसनमा नेपालको सन्दर्भमा राम्रो रहे पनि विश्वव्यापी रुपमा हेर्दा दुःखद् वर्षको रुपमा रह्यो”, पूर्वमहानिर्देशक गौतमले भने, “दुर्घटनाबाट पाठ सिकेर हवाई सुरक्षालाई कसरी बलियो बनाउनेभन्नेतर्फ राज्य र सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।”

    अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले सन् २०३० सम्म मानवजन्य मृत्यु हुने दुर्घटना शून्यमा झार्ने लक्ष्य लिएको छ । अहिले वार्षिक १० प्रतिशत हवाई यात्रु बृद्धि भइरहेको छ ।

    अन्तर्राष्ट्रिय हवाई यातायात संघको तथ्यांकलाई उधृत गर्दै पूर्वमहानिर्देशक गौतमले विश्वव्यापी रुपमा हवाई यात्रुको संख्या झण्डै पाँच अर्ब पुगेको बताए । सन् २०१९ मा चार अर्ब ५० करोड हवाई यात्रु पुगेका थिए ।

    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले हवाई यात्रु बढेका हिसावले सकारात्मक लिन सकिए पनि सन् २०२४ मा भएका केही हवाई दुर्घटनाले एभिएसन क्षेत्रलाई खिन्न बनाएको बताए ।

    “नेपालको सन्दर्भमा सन् २०२३ को तुलनामा सन् २०२४ दुर्घटनाको संख्या हिसावले सुधारात्मक रहे पनि विश्वव्यापी रुपमा हेर्दा वर्षको अन्तिम महिनामा धेरै संख्यामा भएका विमान दुर्घटनाले एभिएसन क्षेत्रलाई झस्क्काएको छ”, उनले भने ।

    उडान सुरक्षा र यात्रु बढोत्तरीका हिसाबले सुधार हुँदै गएको सूचना अधिकारी भूलको भनाइ छ । नेपालमा पनि हवाई यात्रुको संख्या निरन्तर बढिरहेको छ ।

    प्राधिकरणको तथ्यांकअनुसार सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा आन्तरिकतर्फ १३ प्रतिशत र अन्तराष्ट्रिय हवाई यात्रुको संख्या ७ दशमलव ९ प्रतिशतले बृद्धि भएको छ । आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म कुल ८७ लाख ६० हजार तीन सय दुई हवाई यात्रुले यात्रा गरेका छन् ।

    सन् २०२३ को नोभेम्बरसम्म कुल ७७ लाख हवाई यात्रुले यात्रा गरेका थिए । त्यसैगरी सन् २०२४ को नोभेम्बरसम्म अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ४४ लाख ४९ हजार १३३ पुगेको थियो ।

    प्राधिकरणका अनुसार नेपालमा हालसम्म १०८ हवाई दुर्घटनामा ९५९ जनाको मृत्यु भएको छ । विसं २०१२ वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । वर्षको अन्त्यतिर दक्षिण कोरिया र कजाकिस्तानमा भएका दुई ठूला विमान दुर्घटनाले समग्रमा हवाई उड्डयनको क्षेत्रलाई निरास बनाएको छ ।

    यो घटनाले विश्वव्यापी रुपमै हवाई उडान कति सुरक्षित छ भन्ने प्रश्न तेर्सिएको छ । यसरी सन् २०२४ मा ठूला विमान दुर्घटनामा चार सयभन्दा बढीको मृत्यु भएको बताइएको छ । अधिकांश दुर्घटना खराब मौसम र मानवीय कमजोरीले हुने गरेको विज्ञहरु बताउँछन् । सिबी अधिकारी/रासस

  • एमाले सचिवालय बैठक बस्दै

    एमाले सचिवालय बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

    बैठकमा आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा, समसामयिक राजनीतिक परिस्थिति लगायत विषयमा छलफल हुनेछ ।

    यही पुस १० गते बसेको सचिवालय बैठकले पुस २१ र २२ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

    बैठकले केन्द्रीय कमिटी बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुबारे जानकारी, विगतका सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्तावसहित चार एजेण्डा पनि तय गरेको थियो ।

     

  • कल्पनाको छायामा

    कल्पनाको छायामा

    खै, कसरी गरूँ सुरु?
    मेरो कथा लेख्दा-लेख्दै,
    कलमको मसी सकियो,
    तर सकिएन मेरो मनको बेथा।

    झिसिमिसे रातमा, जून लागेसँगै,
    मेरो आँखामा कैद भयो
    सुन्दर तस्बिर—
    तस्बिरको रङ, आकार,
    र त्यहाँका अनगिन्ती कालाकृति।
    देख्नसाथ, मेरो मन त्यसैमा मोहित हुँदै थियो।
    झन् झन् आकर्षित,
    स्वप्नभूमिमा हराउँदै थिएँ म।

    हेर न, ओइ!
    कस्तो उडे जस्तो लागिरहेछ,
    जीवनको केही पलका लागि
    समय मेरै लागि पर्खेजस्तो लागिरहेछ।
    मेरा बेरङ्ग सपनामा,
    कति मिठो रङ भरिएको जस्तो लागिरहेछ।
    कति भाग्यमानी रै’छु है म,
    यो सबै त मेरो इसारामै
    जीवन चलिरहेको जस्तो छ।

    तर, अचानक
    मैले देखेको त्यो कल्पनिक चित्र
    किन धुमिल हुँदै गयो?
    नचाहँदा-नचाहँदै,
    आधा रातमा आँखा खुल्न पुग्यो।

    आफ्नै स्थिति हेरेँ,
    मेरो मन खल्लो भयो।
    देखेका सपनाहरू
    सबैले आफैँ बलि चढ्न थाले,
    र जिन्दगी फेरि बेरङ्ग हुँदै गयो।

    जिन्दगी बेरङ्ग भए पनि,
    त्यो सपनामा कुनै संकेत थियो।
    खै, के थियो त्यो इशारा,
    बुझ्न अलि गाह्रो पो भयो।
    सपनामा भए पनि
    मनले खोज्दै छ कुनै सहारा।

    शायद, यो पल पनि
    कुनै नयाँ कथा बन्नेछ।
    र म फेरि लेख्नेछु—
    बेथा सकिएला नसकिएला,
    तर कथा कहिल्यै सकिने छैन!

    सपना सकिए पनि, तिनले देखाएको बाटोले कहिल्यै अन्त्य पाउँदैन।

    ईरा अर्याल

  • पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै, पोखरामा रास्वपाले प्रदर्शन गर्ने

    पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै, पोखरामा रास्वपाले प्रदर्शन गर्ने

    काठमाडौं– सहकारी ठगी र सङ्गठित अपराधमा प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज पुनः म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ ।

    लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक थप गरिएको १० दिनको म्याद सकिएपछि फेरि म्याद थपका लागि अदालतमा पेस गर्न लागिएको हो ।

    यही कात्तिक १५ गतेदेखि लागू हुनेगरि गत मङ्गलबार लामिछानेमाथि अनुसन्धानका लागि १० दिनको म्याद थपिएको थियो । यसअघि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेमाथि अनुसन्धानका लागि ६ र ७ दिन गरी दुई पटक म्याद थपिएको थियो ।

    लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ।

    यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । रास्वपाले सभापति लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध राखेर हिरासतको समय लम्ब्याउने काम गरिरहेको आरोप लगाउँदै आएको छ ।

  • पार्टीको तानाशाही प्रवृत्तिको प्रतिवाद गरौँ : भीम रावल

    पार्टीको तानाशाही प्रवृत्तिको प्रतिवाद गरौँ : भीम रावल

    काठमाडौं । एमाले नेता भीम रावलले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई स्पष्टीकरण सोधिएको प्रति आपत्ती जनाएका हुन् ।

    उनले एमालेको जबज, परम्परा र संवैधानिक हक विपरित कुनै बैठक र छलफल बिना नै पार्टी सदस्यहरूलाई स्पष्टीकरण सोध्ने र धम्क्याउने काम भएको बताएका छन् ।

    नेता रावलले पार्टीको तानाशाही शैलीविरुद्ध न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूलाई विरोध र प्रतिवादमा उत्रन समेत आग्रह गरेका छन् ।

    उनले भनेका छन्, ‘एमालेको जबज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल बिना पदको दुरुपयोग गर्दै सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूले विरोध र प्रतिवाद गरौँ !