Category: फ्रन्ट पेज

फ्रन्ट पेज

  • तिहार नजिकिएसँगै मादलको बिक्री बढ्यो

    तिहार नजिकिएसँगै मादलको बिक्री बढ्यो

    सुनसरी । तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ । नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्वपूर्ण बाजाको रुपमा लिने गरिन्छ ।

    पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजालोप हुँदै गए पनि धरानमा चाडवाडको बेला भएपनि मादलको बिक्री बढ्ने गरेको छ ।

    धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देसी लाइनमा मादल बिक्री गर्दै आएका यदुनाथ अधिकारी तिहार नजिकिएसँगै मादलको बिक्रि बढेको बताउँछन् ।

    विगत १५ वर्षदेखि मादलसँगै खुकुरीको व्यापार गर्दै आभएका अधिकारीले आफ्नो पसलमा एक हजार पाँच सयदेखि पाँच हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताए । उनले भने, ‘मादल कहिले धेरै बिक्री हुने त कहिले बिक्री नै नहुने समस्या छ । तर, तिहारको समयमा राम्रै बिक्री हुन्छ । एकै दिनमा आठ देखि १० वटासम्म बिक्री हुने गरेको छ ।’

    उनका अनुसार लक्ष्मी पूजाको दिनदेखि मादल बेच्न भ्याईनभ्याई हुन्छ । हाल उनले भोजपुर, धनकुटा साथै पश्चिममा बनाइएका मादलहरु बिक्री गर्दै आएका छन् ।

    धरान उपमहानगरपालिका–२ छाता चोकका सुमन चौधरी अरु समयको तुलनामा तिहारमा मादल धेरै बिक्री हुने गरेको बताउँछन् । विगत २० वर्षदेखि उनले मादलसँगै गितारलगायतका बाद्यवादनको व्यापार गर्दै आएका छन् ।

    तिहारमा देउसी भैलो खेल्ने सांस्कृतिक टोलीहरूले बढी मादलको खरिद गर्ने गरेको उनको भनाइ छ । उनले तिहारमा ३० देखि ४० वटासम्म मादल बिक्री हुने गरेको बताए ।

    भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर, बेलटारलगायतका ठाउँमा मादल बिक्री गर्न जाने गरेको बताउँदै उनले पसलमा तीन हजारदेखि आठ हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताए ।

     

  • विश्वकप लिग २ : अमेरिकासँगको पहिलो खेलमा नेपाल पराजित

    विश्वकप लिग २ : अमेरिकासँगको पहिलो खेलमा नेपाल पराजित

    काठमाडौं  । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको पहिलो खेल नेपालले गुमाएको छ । नेपाल बलर सन्दीप लामिछाने नचल्दा नेपालले अमेरिकासँगको पहिलो खेल गुमाएको हो । ९ ओभर बलिङ गर्दा सन्दीपले विकेट लिन सकेनन्।

    टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ४९.४ ओभरमा २९१ रन बनाउँदै ३ विकेटको जित निकालेको हो ।

    अमेरिकाको जितमा शायन जहाँगीरले शतक प्रहार गरे। उनले ९७ बलमा १०४ रन बनाएका हुन्। मोनाङक पट्टेल र हरमित सिंहले अर्धशतक बनाए।

    नेपालका लागि सन्दीप लामिछाने नचलेको बलिङ लाइनमा कुशल भुर्तेलले चार विकेट लिए। ६ ओभर बलिङ गर्दा मात्र २३ रन खर्चिएर उनले चार विकेट लिएका हुन्। सोमपाल कामीेले दुई विकेट लिँदा ललित राजवंशीले एक विकेट हात पारे।

    टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले ९६रनको शानदार अर्धशतकीय इनिङ पूरा गरेका थिए। उनले ७५ बलमा ८ चौका र तीन छक्का हिर्काएका थिए।

    नेपालका ओपनरद्वय अनिल शाह र आशिफ शेखले अर्धशतक बनाए। अनिलले ५ चौकासहित ५६ रन बनाउँदा आशिफले ७ चौका र १ छक्का हिर्काउँदै ५२ रन बनाए। आरिफ शेखले ३७ रन बनाएको खेलमा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।

    योसँगै नेपालले लिग- २ मा ९ खेलमा सात खेल गुमाएको छ। अमेरिका भने १० खेलमा सात जित निकालेको छ। तीन अंकसहित नेपाल तालिकाको सातौं स्थानमा छ भने अमेरिका १४ अंकसहित दोस्रो स्थानमा छ।

    आइसिसी विश्वकप लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन् ।

    नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्ड, तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले अमेरिका र स्कटल्यान्डसँग दुई दुई खेल खेल्न लागेको हो।

  • सिलौटो बेचेर मासिक ४० हजार आम्दानी

    सिलौटो बेचेर मासिक ४० हजार आम्दानी

    सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए । उनी लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दै आएका छन् । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दै आएका हुन् ।

    उनले भने,“सिलौटा बनाउने हाम्रो पुख्र्यौली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि निरन्तरता दिँदैआएको छु ।”इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुङ्गाका सामाग्री बिक्री गर्दै आइरहेका छन् । नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको साहायताबाट उनले ढुङ्गालाई विभिन्न आकार दिनुका साथै बुट्टा भर्दै आएका छन् । उनले खोलाको किनारमा ती सामग्री बिक्रीका लागि लहरै राखेका छन् ।

    “विदेशमा गएर दुःख गर्नुभन्दा यही पुर्ख्यौली पेसा सिलौटो व्यापारबाट आम्दानी गर्दै आएको छु, दिनभर यही बसेर सामाग्री तयार गर्छु, बेलुका घर फर्किन्छु । अहिलेसम्म यही व्यापारबाट परिवारलाई खान लाउन पुगेको छ । आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ”, सन्तराजले भने ।

    सन्तराजले दैनिक तीनदेखि चार जोरसम्म लोहोरो र सिलौटा बनाउँदै आएका छन् । “कहिले चार/पाँच वटासम्म बिक्री हुन्छ कहिले कत्ति पनि बिक्री हुँदैन । व्यापार हो, सधैँ एकनास हुँदैन”, उनले भने । लोहोरो, जाँतो, सिलौटालगायत सामग्री बिक्री गर्न सन्तराज जिल्लाका विभिन्न ठाउँ पुग्ने गरेका छन् । सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते, लेटाङ, धुलाबारीगायतका स्थानबाट ल्याउने गरेको उनले बताए ।

    व्यापारबाट घर खर्च कटाएर मासिक रु ४० हजारसम्म आम्दानी हुँदै आएको सन्तराजले जानकारी दिए । उनले एउटै ठाउँलाई व्यापार गर्ने थलो बनाएका छन् । छोराले पनि उनलाई साथ दिँदै आएका छन् । “पुर्ख्यौली पेसाको संरक्षण पनि भयो । साथमा आम्दानी पनि हुने भएकाले यो पेसालाई निरन्तरता दिएको हुँ”, उनले भने ।

    सन्तराजले केही सामान ग्राहकको मागअनुसार बनाउने गरेका छन् । एउटा सिलौटो तथा जाँतो बनाउन एक घण्टादेखि डेढ घण्टासम्म लाग्छ । उनले एउटा सिलौटो रु चार सयदेखि रु ५ सय ५० सम्ममा बिक्री गर्दै आएका छन् । एक जोर जाँतो रु एक हजारदेखि रु एक हजार तीन सय सम्ममा बिक्री गर्दै आएका छन् ।

    पछिल्लो समय आफ्नो व्यवसाय सङ्कटमा पर्दै गएको उनको भनाइ छ । कुटानी पिसानीका लागि विभिन्न उपकरण बजारमा आएसँगै सन्तराजको पेसा सङ्कटमा परेको हो ।

  • ‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा

    ‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा

     सुदूरपश्चिम आफ्नै जिल्लामा फलेको ‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा पर्दा बाजुराका किसान धनबहादुर रावल दङ्ग छन्। नजिकिएको चाडपर्वका समयमा स्याउको माग बढेपछि उनी यतिबेला बिक्रीका लागि धनगढी पुगेका छन् । 

    ‘बिक्रीका लागि बुधबार धनगढी ल्याइपुर्याएको चार सय १७ पेटी (छ हजार दुई सय ५५ किलो) स्याउ दुई दिनमै बिक्री भइसक्यो’, उनले भने, ‘स्याउखेतीमा लागेका किसानले उत्पादन क्षेत्रमा उचित मूल्य नपाउँदा भने केही खल्लो महसुस भएको छ ।’

    वर्षासँगै गएको पहिरोले बाजुरा–अछाम सडकखण्ड अवरुद्ध हुँदा उनले कालिकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया हुँदै कैलालीको धनगढीमा अर्ग्यानिक स्याउ बिक्रीका लागि ल्याएका हुन् । आफ्नै प्रदेशको बाटो अवरुद्ध हुँदा स्याउको बजार खोज्न कर्णाली र लुम्बिनी प्रदेशका जिल्ला हुँदै ट्रकमार्फत ढुवानी गरेर धनगढी पुर्याउनुपरेको किसानको गुनासो छ ।

    बाजुरा स्वामीकार्तिक गाउँपालिकाका किसान रावलको बारीमा रोपिएका एक हजार एक सय स्याउका बोटमध्ये यस वर्ष तीन सय बोटमा स्याउ फलेको थियो । फलेको स्याउ धनगढी बजारसम्म पुर्याउन एक ट्रकको ढुवानी भाडा रु ७० हजार परेको थियो । 

    उत्पादन क्षेत्रमा सम्बन्धित किसानले भने प्रतिकिलो ४० मात्रै पाउने गरेका छन् । यो स्याउ धनगढी बजारमा भने एक सय २० मा बिक्री भएको छ । बाजुराबाट यसपालि सुर्खेतमा तीन ट्रक, छिन्चुमा दुई र कैलालीको बौनिया र धनगढीका लागि एक–एक ट्रक स्याउ बजारीकरणका लागि ल्याइएको विक्रेताको भनाइ छ ।

    किसान दानबहादुरले सडकको भरपर्दो सुविधा नहुँदा उत्पादित स्याउ बजारसम्म पुर्याउन मुस्किल भएको बताए। त्यहाँ उत्पादित स्याउ कतिपय समयमा बिक्री नहुँदा त्यसै सडेर खेर जाने र पशुचौपायालाई खुवाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

    बाजुराको हिमाली भेग पाण्डुसैन, बुढीनन्दा, स्वामीकात्तिक र जगन्नाथ गाउँपालिका अर्ग्यानिक स्याउ उत्पादनका लागि प्रख्यात छन् । स्याउको बजारीकरणमा भइरहेको समस्यासँगै व्यापारीले यो स्याउ बजारसम्म पुर्याउन चर्को ढुवानी भाडा तिर्नुपरेको छभने किसानले उचित मूल्य पाउन सकिरहेका छैनन् ।

    उत्पादनस्थलसम्म सडकको पहुँच नहुनु, भएका सडक पनि बर्खायाममा भत्किएर बन्द हुनु, भाण्डारणका लागि उचित व्यवस्था नहुनुजस्ता समस्याले उत्पादित स्याउ बजारसम्म पुर्याउन समस्या हुने गरेको उनीहरूको भनाइ छ । सरकारी निकायबाट किसानको अपेक्षाअनुसार सहयोग नपाउँदा स्याउको बजारीकरणमा समस्या भइरहेको गुनासो पनि किसानको छ ।

    बाजुराको अर्ग्यानिक स्याउ धनगढी पुगेपछि स्थानीय उपभोक्ताले पनि यसको स्वाद पनि लिन पाएका छन् । धनगढीका फणिन्द्र जोशीले बाजुराको स्याउ रसिलो र स्वादिलो भएको अनुभव सुनाए । सुदूरपश्चिम प्रदेशको धनगढीलगायतका सहरी क्षेत्रका फलफूल बजारमा भारतबाट आयातित स्याउको कारोबार हुने गरेको छ । 

  • उड्डयन प्रशिक्षण प्रतिष्ठानको जग्गामा फिर्ता गर्न पहल गर्छु : मन्त्री पाण्डे

    उड्डयन प्रशिक्षण प्रतिष्ठानको जग्गामा फिर्ता गर्न पहल गर्छु : मन्त्री पाण्डे

    काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएका छन् । 

    बिहीबार नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित एटिसी सिमुलेटर तथा आधारभुत एयर ट्राफिक सर्भिस तालिमको उद्‌घाटन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताए  । 

    मन्त्री पाण्डेले भने, कुने पनि शैक्षिक प्रतिष्ठानमाथि सरकारले आँखा लगाउनु हुँदैन । नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा २०७६ सालमा सरकारले नै फिर्ता लिएको रहेछ । शैक्षिक प्रतिष्ठानको जग्गा कसैले खोस्न मिल्दैन । सम्माननीय प्रधानमन्त्री स्वदेश फर्किएपछि उनलाई भेटेर फिर्ता ल्याउने प्रक्रियाको बारेमा कुरा गर्ने बचनवद्धता व्यक्त गर्दछु।

    उनले जग्गा फिर्ता भएपछि दक्ष जनशक्ति उत्पादन गर्नका लागि आवश्यक संरचना बनाउने समेत विश्वास दिलाए। मन्त्री पाण्डेले एकेडेमीको जग्गा अपुग भएको बताउँदै सरकारले लिएको एकेडेमीको जग्गा एकेडेमीमै फर्काउने गरि पहल गर्ने बचनवद्धता दोहोर्‍याए।

    मन्त्री पाण्डेले प्रतिष्ठानबाट उत्पादित जनशक्तिले नेपाली आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिए।  उनले अगाडि भने,  नागरिक उड्डयन क्षेत्र कमजोर भयो भने धेरै कुरा देखाउन सक्दैनौँ । हामीसँग नेपालको आकाश सुरक्षित भन्ने सन्देश प्रवाह हुने गरि काम गर्न जरूरी छ । नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश संसारभर फैलाउन जरूरी छ  । असुरक्षित छ भन्ने गलत भाष्य र प्रवृत्ति रोक्नु पर्छ । 

    मन्त्री पाण्डेले नेपालको आकाश सुरक्षित छ भन्नका लागि  कुनै कसर बाँकी नराख्न नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक (डिजि)लाई निर्देशन दिँदै त्यसको जिम्मा प्राधिकरणले लिनु पर्ने बताए । त्यसै गरि उनले नेपालका एयरलाइन्सलाई सुरक्षित र भरपर्दो बनाउनका लागि सरकारले आवश्यक हस्तक्षेप गर्दै अघि बढ्ने समेत दाबी गरे ।

  • आज गणेश चतुर्थी पर्व मनाइँदै

    आज गणेश चतुर्थी पर्व मनाइँदै

    काठमाडौं । भगवान श्री गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ ।

    सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता अनुसार यो पर्व मनाउने गरिएको हो ।

    गणेश चतुर्थीका अवसरमा आज काठमाडौं उपत्यकाका सूर्यविनायक, कमलविनायक, अशोकविनायक, चन्द्रविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विहानैदेखि भक्तजनको भीड लागेको छ ।

    शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ ।

    यस दिन हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।

    भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

    बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजाआराधना गरी अर्घ्य दिनुपर्ने विधि रहेको छ ।

    नेवार समुदायले यो पर्वलाई चथाः नामले मनाउने गर्दछन् ।

  • आज हरितालिका तिज, हिन्दु नारीहरुले महादेवको पूजा गरी मनाउँदै

    आज हरितालिका तिज, हिन्दु नारीहरुले महादेवको पूजा गरी मनाउँदै

    काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् ।

    सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् ।

    सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

    यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तिजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ ।

    धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले तिजको व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।

    व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष  प्रा डा रामचन्द्र गौतम बताउछन् ।  भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

    “निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुन्छ”, उनले भने । “सर्वतः आत्मानं गोपायेत्” अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धर्मशास्त्रविद् गौतमले जानकारी दिए ।

    श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तिजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका प्रा डा देवमणि भट्टराई बताउछन् । “अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, महिला र पुरुषहरुले असल वर तथा  बधु प्राप्तिका लागि पनि तिजको व्रत बस्ने शास्त्रीय विधान छ”,उनले भने।

    नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तिज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।

    समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रविद्हरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तिजको व्रतको महत्व  छ ।

    व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तिजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तिजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको पनि धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए । ‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने उनले बताए । जसको अर्थ हुन्छ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो ।

    पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घर लगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्मकर्मका काम महिलाले नै गर्छन् ।

     

  • जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ : गगन थापा

    जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ : गगन थापा

     

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जिल्ला शिक्षा कार्यालय पूर्णरूपमा हटाउनुपर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफलमा उनले नेपालको संविधानले जिल्ला शिक्षा कार्यालयलाई नमान्ने भएकाले पूर्णरूपमा हटाउनुपर्ने बताए ।

    उनले शैक्षिक गुणस्तर परीक्षण केन्द्र नभई प्राधिकरण बनाउनुपर्ने प्रस्ताव गरे । शैक्षिक गुणस्तर परीक्षण केन्द्र स्वायत्त हुनुपर्ने भन्दै उनले स्वायत्त भएमात्रै राम्रोसँग काम गर्न सक्ने बताए ।

    उनले शिक्षकलाई प्रतिष्ठा बढाउने, सेवा सुविधा बढाउने कुरा खुलेर गर्न पनि आग्रह गरे । मिलान गर्ने कुराको सन्दर्भमा शिक्षकको उत्तीर्णाङ्क ५० प्रतिशत अनिवार्य राख्नुपर्ने उनको भनाइ छ ।

    “जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ । किनभने हाम्रो संविधानले यसलाई मान्दैन । त्यसकारण यसलाई हटाउनुपर्छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र होइन, प्राधिकरण हुनुपर्छ । यो समय अटोनोमस हुनुपर्छ । त्यसपछि बल्ल यसले हेर्न सक्छ । नत्र शिक्षा मन्त्रालयअन्तर्गतकै विद्यालयहरू शिक्षा मन्त्रालयको सामान्य एउटा केन्द्रको रूपमा राखेर शिक्षा मन्त्रालयले ओभरअल विद्यालयको कुरा हेर्न सक्दैन,” थापाले भने ।

    सांसदसमेत रहेका थापाले विद्यालयका लागि मापदण्डमात्रै नभई स्रोतको सुनिश्चितता पनि हुनुपर्ने बताए ।

  • आज बुवाको मुख हेर्ने दिन : के छ कुशे औंसीको महत्त्व ?

    आज बुवाको मुख हेर्ने दिन : के छ कुशे औंसीको महत्त्व ?

    काठमाडौं । आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ। आजको दिनलाई बुवाको मुख हेर्ने दिन हो। यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ। बुवालाई भेट्न नसक्नेले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्।

    भौतिक, भावनात्मक, जैविक अनि अन्य धेरै सम्बन्धको एक मात्र मेल हो, पिता। त्यसैले आज कुशे औंसी, बुवाको मुख हेर्ने दिनको अवसरमा हरेकले आफ्ना पिता प्रति सम्मान दर्शाउन बुवाको मुख हेर्ने र कोशेली दिने परम्परा छ।

    कुशे औंसीलाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ। आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन हो। कुशै औंसीका दिन पिता हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन्।

    बुवा नहुनेले पिताको सम्झनामा तस्बिर हेरेर वा विभिन्न मन्दिर शक्तिपीठ, देवालय लगायतका पवित्र तिर्थस्थल पुगेर पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्दछन्।

    ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यता अनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ। भाद्र कृष्ण औंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभर देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने पनि गर्दछन्।

    शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ। सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्।

    कुशको महत्त्व
    नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्ममा महत्वका साथ हेरिन्छ।

    वैदिक सनातन हिन्दू संस्कारमा कुश अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती मानिन्छ। यो देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पती हो। औंशी दिन घरमा ल्याइने कुशको महिमा श्रीमद्भागवत् गीता, गरुँड पुराण, यथर्व वेद र विष्णु पुराणमासमेत वर्णन गरिएको छ।

    कतिपयले बुवाको मुख हेर्नेदिनलाई ‘फादर्स डे’ पनि भन्छन्। तर फार्दस डे र बुवाको मुख हेर्ने दिनमा फरक छ। सन् १९०९ मा पहिलो पटक श्रीमती सोनोरा डोडले आफ्नो पिताको सम्मानमा मनाएकी थिइन्। त्यसपछि फार्दस डेलाई जुन १९, १९१० मा अमेरीकामा मनाइएको थियो। तर, बुवाको मुख हेर्ने दिन कहिलेबाट मनाउन थालियो भन्ने कुनै यकिन तथ्यांक छैन। यो पौराणिक कालबाटै मनाउन थालिएको किवंदन्ती छ।

  • बाढीले माडी–ठोरी सडकखण्ड अवरुद्ध

    बाढीले माडी–ठोरी सडकखण्ड अवरुद्ध

    चितवन । अविरल वर्षासँगै घाँघर खोलामा आएको बाढीले चितवनको माडी–ठोरी सडकखण्ड अवरुद्ध भएको छ ।

    इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङले घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडकमा सवारीसाधन आवतजावत बन्द भएको जानकारी दिए ।

    यो खोलामा पुल निर्माणकै क्रममा रहेकाले बाढी आउनासाथ आवतजावत ठप्प हुने गरेको छ । पानी पर्न नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव नरहेको उनको भनाइ छ ।

    अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । धेरै पानी पर्नासाथ खोला बढ्ने गरेका छन् । अधिकांश खोलामा पुल निर्माण भइसकेका छन ।

    घाँघर, बगई र मगुईखोलामा पुल निर्माणको चरणमा रहेको माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन् ।

    उहाँले छिटो काम सम्पन्न गर्न हुलाकी सडक आयोजनालाई आग्रह गरिरहेको बताइन् । यो खण्डमा पर्ने पतरेखोलामा भने अझै पुल निर्माणको काम सुरु भएको छैन ।