Category: फ्रन्ट पेज

फ्रन्ट पेज

  • आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

    आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

    काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।

    रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

    मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

    नेपाल पञ्चाङ्ग निर्यायक विकास समितिका अनुसार मुलुकका विशिष्ट व्यक्तिले मात्र भद्रा कटाइ दिनको १ः३१ बजेपछि रक्षाबन्धनको कर्म गर्नु मुनासिव हुनेछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलिसमेत बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए । सोही पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा निरन्तर छ ।

    यसैदिन ब्राहृमण, क्षेत्री र वैश्यगरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ ।

    यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पणगरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।

    अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ ।

    रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठमन्दिरमा भक्तजनको भीड लागेको छ ।

    क्वाँटी खाने दिन

    जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

    नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

    काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ । जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

  • मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत, आयात र निर्यात दुवै घट्यो

    मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत, आयात र निर्यात दुवै घट्यो

    काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ ।

    नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि सीमाभित्रै देखिएको हो ।

    राष्ट्र बैङ्कका आनुसार गत आ.व.मा आयात एक दशमलव दुई प्रतिशतले र निर्यात तीन प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६ दशमलव एक प्रतिशतले र निर्यात २१ दशमलव चार प्रतिशतले घटेको थियो ।

    गत आ.व.मा विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ ।

    त्यस्तै शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो ।

    गत आवमा कूल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । यो अवधिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढेको छ ।

    गत आवमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव आठ प्रतिशतले बढेको छ ।

    गत असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको कूल निक्षेप रु ६४ खर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु ५० खर्ब ७४ अर्ब पुगेको छ ।

  • विपन्नलाई चिकित्साशास्त्र पढ्न नगरपालिकाद्वारा छात्रवृत्तिको व्यवस्था

    विपन्नलाई चिकित्साशास्त्र पढ्न नगरपालिकाद्वारा छात्रवृत्तिको व्यवस्था

    नवलपरासी ।  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ । पालिकाले चालु आर्थिक वर्षदेखि त्यसलाई कार्यान्वयन पनि गरेको छ । 

    नगरपालिकाले स्थापना गरेको ‘नगरप्रमुख छात्रवृत्ति कोष’मार्फत उपलब्ध गराइएको रकम नगरप्रमुख शम्भुलाल श्रेष्ठले बिहीबार प्रदान गरिएको जानकारी दिए 

    जेहन्दार दुई जनालाई प्रतिविद्यार्थी ५० हजारका प्रदान गरिएको हो । यस वर्ष एमबिबिएस अध्ययन गर्न दुईजनाले छात्रवृत्ति पाएका छन् ।

    यसैबीच, नगरभित्र उच्च शिक्षा अध्ययन गर्ने २८ जना विपन्न विद्यार्थीलाई आठ हजार छात्रवृत्ति प्रदान  गरेको छ।

    आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको नगरप्रमुख श्रेष्ठले बताए। 

  • प्रचण्डको गुनासो- हतियार छाडेर सेना समायोजन गरेपछि पार्टी फुटाइयो

    प्रचण्डको गुनासो- हतियार छाडेर सेना समायोजन गरेपछि पार्टी फुटाइयो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे युद्धबाट शान्ति प्रक्रियामा आइसकेपछि आफू नेतृत्वको पार्टी फुटाइएको गुनासो गरेका छन् ।

    संसद्‍मा पेश भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारेको छलफलमा सहभागी हुँदै उनले यस्तो गुनासो गरेका हुन् ।

    ‘भोलि बिहानसम्म पर्खिए देश दुर्घटनामा जानसक्छ । प्रत्येक क्यान्टोनमेनमा खुनखराबा हुन सक्छ । आजकै दिन, आजकै राति हतियार व्यवस्थापन हुनपर्यो, सेना समायोजन हुनपर्यो भनेपछि ११ बजे रातिपछि यो काम सम्पन्न गरियो विनाखुनखराबा, विना क्षति काम सम्पन्न गरियो’, उनले भने, ‘एउटामात्रै क्षति मैले र पार्टीले ब्यहोर्नुपर्यो । मैले सेना समायोजन गरेवापद, मैले हतियार व्यवस्थापनको नेतृत्व गरेवापद मेरो पार्टी विभाजित भयो । निकै ठूलो जटिलता पार्टीले ब्यहोर्नुपर्यो । देश बच्यो, शान्ति स्थापित भयो, मलाई गर्व छ ।’

    आफ्नो पार्टी विभाजन भएर पनि देशमा शान्ति स्थापना भएकोमा आफूलाई गर्व रहेको बताए । उनले आफ्नो विशेष पहलमा नै सेना समायोजन र हतियार व्यवस्थापनको काम सकिएको सुनाए ।

    अध्यक्ष दाहालले आफूलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियाका बाँकी काम सक्ने जिम्मेवारी दिएर गएको पनि बताएका छन् ।

    उनले गिरिजाबाबुसँग मिलेर नै निरंकुश शासकलाई घुँडा टेकाएर आफूहरू यहाँसम्म आइपुगेको पनि बताएका छन् ।

  • भारतीय विदेश सचिवसँग राष्ट्रपतिले भने- जलवायु परिवर्तनको असर कम गर्न मिलेर अघि बढौँ

    भारतीय विदेश सचिवसँग राष्ट्रपतिले भने- जलवायु परिवर्तनको असर कम गर्न मिलेर अघि बढौँ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको सो भेटमा द्विपक्षीय आपसी हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने बताए । ‘हिमाल र पानीको सुरक्षा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ’, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

    राष्ट्रपति पौडेलले नेपाल–भारतबीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

    राष्ट्रपति पौडेलले आपसी हित र समृद्धिका लागि दुई देशबीचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्छ भन्ने लागेको छ भन्दै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत्, व्यापार, लगानी, पर्यटन तथा मानवसंशाधन विकास नेपालको प्राथमिकता रहेको बताएको उनका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।

    राष्ट्रपति पौडेलले नेपालमा जलविद्युत् विकास, दिगो एवं सहज ऊर्जा व्यापारका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गरे  ।

    सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकाले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    नेपाल सरकारका कैयौँ योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतामा भारत पनि काम गर्न इच्छुक रहेको उनले बताए । उनले काम अगाडि बढिरहेका आयोजना यथाशीघ्र सम्पन्न गरेर नयाँ र प्राथमिकताका क्षेत्रमा काम गर्न भारत इच्छुक रहेको पनि जानकारी दिए ।

    नेपाल–भारतबीचको सम्बन्ध जति सुमधुर हुन्छ त्यति नै दुवै देशका जनताको हित हुने उल्लेख गर्दै विदेश सचिव मिस्रीले भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि प्रस्ट पारेको प्रेस सल्लाहकार पोखरेलले बताए ।

  • आज नागपञ्चमी पर्व मनाइँदै

    आज नागपञ्चमी पर्व मनाइँदै

    काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ ।

    नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ ।

    नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।

    आजको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

    नागको पूजा गर्नेहरुको घुइँचो

    आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा पूजा गर्नेहरुको घुइँचो छ । नागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने र खाने गरिन्छ ।

    वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने भएकाले ऋषिमुनिहरुले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ । नागपञ्चमीसँगै चाडबाडको याम सुरु हुन्छ ।

  • जापानमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने!

    जापानमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने!

    टोक्यो । जापानमा ७.१ म्याग्नेच्‍युडको शक्तिशाली भूकम्प गएको छ।

    स्थानीय समयअनुसार बिहीबार दिउँसो मियाजाकी तटबाट करिब २० माइल टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको जापानको समाचार संस्था एनएचके वर्ल्डले जनाएको छ।

    शक्तिशाली भूकम्प गएसँगै जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको एड्भाइजरी जारी गरेको हो।

    मियाजाकी, कोची, ओइटा, कागोशिमा र इह्मी प्रिपेक्चरहरूमा सुनामी आउन सक्ने भन्दै सचेत रहन सूचना जारी गरिएको हो। सुनामी एक मिटरसम्म आउनसक्ने एनएचकेले समाचारमा लेखेको छ।

    त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई समुन्द्र किनारबाट टाढा रहन अनुरोध गरिएको छ।

  • नवलपरासीपूर्व दूध उत्पादनमा आत्मनिर्भर

    नवलपरासीपूर्व दूध उत्पादनमा आत्मनिर्भर

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । जिल्लाको जनसङ्ख्याका आधारमा आवश्यकता भन्दा बढी दूध उत्पादन भई बिक्रिका लागि जिल्ला बाहिर पठाउन थालिएको छ ।

    उत्पादित दूधको तथ्याङ्कका आधारमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा विगत तीन वर्षदेखि आत्मनिर्भर बनेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख ऋषभ गुरागाईँले बताए ।

    ‘विश्व स्वास्थ्य सङ्गठनले विकास उन्मुख राष्ट्रमा एक व्यक्तिलाई एक वर्षमा ९१ लिटर दूध तय गरेको आधारमा जिल्लामा एक जनाका लागि एक सय ४६ लिटर दूध पुग्ने गरी उत्पादन भइरहेको छ’, उनले भने, ‘आर्थिक वर्ष २०८०–८१ मा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उत्पादन भएको दूधको आधारमा यहाँको कूल जनसङ्ख्यालाई आधार मान्दा एक जनालाई एक सय ४६ लिटर दूध पुग्ने देखिन्छ ।’

    गत आवमा जिल्लामा ५५ हजार एक सय ७० मेट्रिक टन दूध उत्पादन भएको थियो । यसमध्ये गाईको दूध ३६ हजार सात सय ९५ मेट्रिक टन उत्पादन भएको थियो । भैँसीको दूध १८ हजार तीन सय ७५ मेट्रिक टन उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

    जिल्लामा खपत भएर बाँकी दूध काठमाडौँ, पोखरा र चितवन बिक्रिका लागि पठाउने गरिएको प्रमुख गुरागाईँले जानकारी दिए । दूध उत्पादनमा जिल्ला आत्मनिर्भर भए पनि पछिल्लो तीन वर्षलाई तुलना गर्दा गत आवमा दूध उत्पादनमा कमी आएको छ ।

    गत वर्ष पशुमा फैलिएको लम्पीस्किन, आर्थिक मन्दी, पशु आहाराको मूल्यवृद्धि, दूध बिक्रीको अस्थिर बजार र बजारीकरण पूर्वाधारको अभावले दूध उत्पादनमा कमी आएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको अनुमान छ ।

  • नुवाकोटको शिवपुरीमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    नुवाकोटको शिवपुरीमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    काठमाडौं । नुवाकोटमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए।

    उनले स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेको जानकारी दिए।  दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।

    बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको हो ।

  • स्वयम्भूमा आजदेखि एक महिने मेला सुरु

    स्वयम्भूमा आजदेखि एक महिने मेला सुरु

    काठमाडौँ । काठमाडौँको स्वयम्भूमा आजदेखि एक महिनासम्म लाग्ने मेला सुरु भएको छ ।

    गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने चाडका अवसरमा आयोजित मेला अवधिभर हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन परिक्रमा, शोभाभगवतीसँगै विजेश्वरी र सेतो मत्स्येन्द्रनाथको परिक्रमा तथा करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।

    स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका निम्ति आउने भक्तजनको संख्या बढ्ने अपेक्षा गरेको छ ।

    प्राचीन सम्पदास्थलका चैत्य र विभिन्न भाग मर्मत एवं जीर्णोद्धार सम्पन्न गरिएकाले मेलामा आउनेको संख्या बढ्ने अपेक्षा गरिएको हो

    महासमितिका महासचिव अशोक बुद्धाचार्यले मन्दिर आसपासमा अस्थायी पसल हटाइएको र सहयोगापेक्षीलाई बस्न नदिने व्यवस्था गरिएको बताए ।

    थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पाँच लाख मानिस आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ ।

    काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले महासमितिसँग समन्वय गरी मेला व्यवस्थापनको प्रबन्ध भएको जानकारी दिए । स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्तले सडक जामलाई व्यवस्थापन गर्ने जनाएको छ ।