Category: खेलकुद

खेलकुद

  • वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले बलिङ गर्दै नेपाल

    वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले बलिङ गर्दै नेपाल

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ विरुद्ध पहिले  बलिङ गर्ने भएको छ ।  नेपालले टस जितेर पहिले  बलिङ गर्ने निर्णय लिएको हो ।

    खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

    नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली बुधबार काठमाडौँ आइपुगेको हो । क्यारेबियन टोलीका खेलाडीले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नियमित अभ्यास पनि गरेका थिए ।

    नेपाल र वेस्ट इन्डिजबिच पाँच खेल टी–२० खेलको शृङ्खला खेलिने कार्यक्रम रहेको छ । शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।

    शृङ्खलाका सबै खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै खेलिने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यानले वेस्ट इन्डिज ‘ए’ विरुद्धको शृङ्खलाका लागि बिहीबार १६ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

    घोषित टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा, बिवेक यादब र आकाश चन्द रहेका छन् ।

    आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो । वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो । नेपालसँगै वेस्ट इन्डिजसले पनि आगामी टी–२० विश्वकप खेल्दै छ ।

    आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । आगामी आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।

    उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने टी–२० विश्वकपको समूह ‘सी’ मा रहेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् ।

    यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो । सो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो ।

  • बलियो वेस्ट इन्डिज टीमसँग भिड्दै नेपाल

    बलियो वेस्ट इन्डिज टीमसँग भिड्दै नेपाल

    काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु मैदानमा ५ खेलको टी–२० सिरिज खेल्दै छ । उक्त सिरिज शनिबारदेखि टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । सिरिजका लागि दुवै टोलीले टीमको घोषणा गरिसकेका छन् ।

    दुई पटकको टी–२० विश्वकप विजेता टोली वेस्ट इन्डिज बलियो राष्ट्रमध्ये एक हो । आइसिसीको पछिल्लो टी–२० वरियतामा ७ औँ स्थानमा छ ।

    वेस्ट इन्डिजले ‘ए’ टीम पठाए पनि अधिकांश सिनियर टोलीबाट खेलिसकेका खेलाडीहरूलाई समावेश गरेको छ । वेस्ट इन्डिज ‘ए’ टीममा ३ खेलाडीबाहेकका सबै खेलाडी सिनियर टोलीबाट खेलिसकेका छन् । ‘ए’ टीम भए पनि वेस्ट इन्डिजले आफ्नो प्रमुख खेलाडीलाई टीममा समावेश गरेको छ ।

    सन् २०१२ र २०१६ मा विश्वकप जित्दा टोलीमा रहेको आन्द्रे फ्लेचर र जोनसन चाल्र्सदेखि सिनियर टीमबाट एक सयभन्दा धेरै खेल खेलिसकेका रोस्टन चेससम्मलाई वेस्ट इन्डिजले टीममा समेटेको छ । यस्तै वेस्ट इन्डिजका उदाउँदा म्याथ्यु फर्ड, एलिक एथानाज र केसी कार्टी पनि टीममा छन् । त्यसैले वेस्ट इन्डिजसँग खेल्दा नेपाललाई सिकाई पनि हुनेछ ।

    नेपालले जेठ २० गतेदेखि अमेरिका र वेस्ट इन्डिजमा हुने हुने टी–२० विश्वकप खेल्दै छ । उक्त तयारीका लागि नेपालले वेष्ट इन्डिजसँग घरेलु मैदानमा सिरिज खेल्न लागेको हो । नेपालका लागि यो तयारी मात्रै हुने छैन, आफ्नो स्तर मापन गर्ने अवसर पनि हुनेछ । किनकि नेपालले टी–२० विश्वकपको समूह चरणमा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्ड र बङ्गलादेशको सामना गर्ने तालिका छ । नेपालले टेस्ट राष्ट्रसँग खेल्ने अवसर कमै पाउँछ ।

    विश्वकपको तयारी स्वरूप नेपालले पछिल्लो समय नियमित सिरिज खेलिराखेको छ । तर, प्रदर्शनमा मन जित्न नसक्दा नेपालले नियमित बलिया राष्ट्रसँग खेल्ने अवसर भने पाउन सकेको छैन । केही दिनअघि ओमन भएको एसीसी प्रिमियर कपमा नेपाल सेमिफाइनलमा युएईसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

    तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग पराजित हुँदा नेपालले विश्वकपअघि क्रिकेट समर्थकलाई निराशा बनाएको थियो । नेपाल प्रिमियर कपमा ब्याटिङ, बलिङ परीक्षण गरे पनि सफल हुन सकेको थिएन । उक्त हारबाट आएको निराशालाई चिर्दै विश्वकपअघि आत्मबल बलियो बनाउने अवसर नेपाललाई छ ।

    एक दिवसीय क्रिकेटमा भारत र पाकिस्तानसँग खेलिसकेको नेपालले टी–२० मा भने खासै खेल्न पाएको छैन । सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपालले ओमनमा भएको एसीसी प्रिमियर कप जित्दै भारत र पाकिस्तानसँग टी–२० एसिया कप खेल्ने अवसर गुमाउन पुग्यो ।

    वेष्ट इन्डिजसँग पनि नेपालले गत वर्ष एक दिवसीय विश्वकप छनोट खेल खेलेको थियो । उक्त खेलमा नेपाल १ सय १ रनले पराजित भएको थियो ।

    यसअघि नामिबिया र नेदरल्यान्डसँग घरेलु मैदानमा सिरिज खेलेको थियो । भारतमा प्रादेशिक टीमसँग टी–२० सिरिज खेलेर एसीसी प्रिमियर कप खेल्न ओमन पुगेको नेपाली टोली शानदार प्रदर्शन गर्न सकेन ।

    अहिले वेस्ट इन्डिजसँग खेल्ने टोलीबाट विश्वकप खेल्ने टोलीमा खासै परिवर्तन हुने सम्भावना छैन । तसर्थ पनि विश्वकप अघि यो सिरिज नेपालका लागि स्तर मापन गर्ने अवसर बन्नेछ ।

    यस्तै बलिया राष्ट्रसँग खेल्ने आत्मविश्वास पनि बढाउने अवसर नेपाललाई हुनेछ । वेस्ट इन्डिजको सिरिजपछि नेपाललाई तयारीका लागि एक महिनाको मात्र समय बाँकी हुनेछ । हालसम्म यो सिरिजपछिका कुनै खेल तय भएको छैन । तसर्थ यो सिरिज विश्वकपअघि स्तर मापन रहनेछ ।

    नेपालले घरेलु मैदानमा वैशाख १५ गतेदेखि घरेलु मैदानमा ५ टी–२० खेल खेल्नेछ । नेपालले पहिलो खेल वैशाख १५ गते, १६ मा दोस्रो, १९ मा, २० मा चौथो र वैशाख २२ मा अन्तिम खेल हुनेछ । नेपालसँग खेल्न पहिलो पटक वेस्ट इन्डिज टोली नेपाल आउन लागेको हो ।

  • सन्दीपको पुनरावेदनमा आज सुनुवाइ

    सन्दीपको पुनरावेदनमा आज सुनुवाइ

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ ।

    यसअघि गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ ।

    स्मरणीय छ कि, गौशाला २६ को जन्ममिति जिल्ला अदालतले नै निरुपण गरिसकेको विषय हो । जन्ममितिसँग सम्वन्धित सारा कागजातहरु पहिल्यै अदालतमा आइसकेका छन् । वडाबाट फेरि तिनै कागजात मगाउनुको उद्देश्य फैसला टार्नेभन्दा अर्को नरहेको सन्दीप पक्षको बुझाइ छ ।

    उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको २ नम्बर वडाले फेरि पत्राचार गरेको छ । उक्त पत्रमा गौशाला २६ को जन्ममिति २०६१/३/१८ नै रहेको र पछि उनले विद्यालयको प्रमाणपत्रका आधारमा एक वर्ष उमेर घटाएर अर्को जन्मदर्ता निकालेको उल्लेख छ । अदालतले मागेको गौशाला २६ को निवेदन भने अभिलेखमा नरहेको पनि वडा कार्यालयले जनाएको छ ।

  • हङकङसँग पनि हार्‍यो नेपाल

    हङकङसँग पनि हार्‍यो नेपाल

    काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो ।

    नेपालले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य हङकङले अन्तिम ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो । हङकङका लागि अन्सुमन राथले नटआउट रहँदै सर्वाधिक ६५ रन बनाए ।

    त्यस्तै, बाबर हायातले २६ तथा एजाज खानले १२ रन बनाए । नेपालका लागि सोमपालका कामीले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।

    टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । नेपालका लागि फेरि एक पटक दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए ।

    नेपालले खेलमा खराब सुरुवात गरेको थियो । कुशल भुर्तेल फेरि एक पटक शून्य रनमा आउट भए । तेस्रो ओभरमा सोमपाल कामी १६ रन बनाएर आउट भए । लगत्तै ५ रन बनाएर आशिफ शेख पनि पभेलियन फर्किए ।

    त्यसपछि कप्तान रोहित पौडेल र सन्दीप जोराले नेपालको इनिङ्स सम्हालने प्रयास गरेका थिए । जोराले २३ बलमा २२ रन बनाए भने कप्तान पौडेलले १९ बलमा २१ रन बनाए ।

    कुशल मल्ल १३ रन बनाएर आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङका आयुश शुक्लाले ३ तथा अतिक इक्बाल, यासिम मुर्तजा र इशान खानले १–१ विकेट लिए ।

  • हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै

    हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै

    काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानका लागि हङकङसँगको खेलमा टस जितेको छ । अल अमरेत क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएक छन् । पहिलो सेमिफाइनल खेल युएईबाट नेपालले टोलीमा परिवर्तन गरेको छैन ।

    नेपाल युएईसँग ६ विकेट तथा हङकङलाई ओमानसँग ५ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएका थिए । फाइनल पुगेका ओमान र युएई स्वत इमर्जिङ टिम्स एसिया कपमा पुगेका छन् ।

    अब तेस्रो स्थानको लागि हुने नेपाल र हङकङबीचको विजेता टोली इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोली हुनेछन् ।

    नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा ।

    बेन्च :  विवेक यादव, अनिल शाह र प्रतिश जिसी