Category: फ्रन्ट पेज

फ्रन्ट पेज

  • एमाले रुपन्देहीको १० औँ अधिवेशन सुरु

    एमाले रुपन्देहीको १० औँ अधिवेशन सुरु

    बुटवल । नेपाल एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशन सुरु भएको छ । बुधबारदेखि भैरहवामा सुरु भएको अधिवेशनको एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरेका हुन् ।

    यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएपनि कार्य व्यस्तताका कारण आउन नसकिएको एमालेले जनाएको छ । बिहीबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिवसहित १४५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । अध्यक्षमा वर्तमान अध्यक्ष तेजेन्द्र केसी,  सचिव यज्ञ पोखरले र सैनामैना नगरपालिका पूर्वमेयर चित्र बहादुर केसीले आकांक्षा राखेका छन् ।

    अधिवेशनको उद्घाटन सत्रमा उपाध्यक्ष पौडेलसहित सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्युरो सदस्य  लीला गिरीलगायत विभिन्न तहका नेताको उपस्थिति रहेको छ ।

  • विश्वकपमा अफगानिस्तानको विजयी सुरुवात : ५८ रनमा समेटियो युगान्डा

    विश्वकपमा अफगानिस्तानको विजयी सुरुवात : ५८ रनमा समेटियो युगान्डा

    काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत मंगलबार बिहानको खेलमा युगान्डामाथि अफगानिस्तानले १२५ रनको शानदार जित निकालेको छ। टस टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको अफगानिस्तानले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १८३ रन बनाएको थियो।

    १८४ रनको लक्ष्य पछ्याएको युगान्डा १६ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको हो। युगान्डाका लागि रोबिन्सन ओबुयाले सर्वाधिक १४ रन बनाए भने रियाजत अली शाहले ११ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्। पावर प्लेमै युगान्डाले पाँच विकेट गुमाएको थियो।

    युवान्डालाई सस्तैमा समेट्न अफगानिस्तानका फजलहक फारुकीले ९ रन दिएर लिए पाँच विकेट लिए। राशिद खान र नविन उल हकले समान दुईदुई विकेट लिए भने मुजीब उर रहमानले एक विकेट लिए।

    सुरुमा ब्याटिङ गरेको अफगानिस्तानका ओपनरले ८५ बलमा १५० रनको ऐतिहासिक साझेदारी गरेका थिए। अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जाद्रानले ८५ बलमा पहिलो विकेटका लागि १५० रनको साझेदारी गरेका हुन्।

    रहमान ४५ बलमा चार चौका र चार छक्काको मद्दतमा ७६ रन बनाएर आउट हुँदा अर्का ओपनर इब्राहिम ४६ बलमा ९ चौका र १ छक्काको मद्दतमा ७० रन बनाउँदै आउट भए। ओपनिङ आकर्षक गरेको अफगानिस्तानको मध्यक्रमका ब्याट्सम्यान टिकेर खेल्न सकेनन्। मोहम्मद नाबीले १४ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

    टस जितेर सुरुमा फिल्ड रोजेको युगान्डाका लागि कशमस कियुटा र ब्रायन मसाबाले दुईदुई विकेट हात पारेका थिए भने अल्पेश रामजानीले एक विकेट लिएका थिए।

    समूह ‘सी’मा अफगानिस्तान र वेस्ट इन्डिजले विजयी सुरुवात गरेका छन्। यो समूहको पहिलो खेलमा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको थियो। पपुवा न्युगिनी (पिएनजी)लाई वेस्ट इन्डिजले ५ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको हो। यो समूहमा वेस्ट इन्डिज, पिएनजी, अफगानिस्तान, युवान्डा र न्युजिल्यान्ड छन्।

  • युगान्डालाई जितका लागि अफगानिस्तानले दियो १८४ रनको लक्ष्य

    युगान्डालाई जितका लागि अफगानिस्तानले दियो १८४ रनको लक्ष्य

    काठमाडौं । आईसीसी टी- २० विश्वकप क्रिकेट अन्तर्गत अहिले भइरकेको खेलमा अफगानिस्तानविरुद्ध जितका लागि युगान्डाले १८४ रनको लक्ष्य पाएको छ ।

    युगाण्डाले टस जितेर फिल्डिङ रोज्दै अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो । जसमा निर्धारित २० ओभरमा अफगानिस्तानले ५ विकेट गुमाउँदै १८३ रन बनाएको हो ।

    अफगानिस्तानका ओपनरद्वय रहमनुल्लाह गुरबाजले ७६ र इब्राहिम जद्रानले ७० रनको अर्धशतकीय पारी खेले । त्यस्तै नाजिबुल्लाह जद्रानले २ रन जोडे भने गुलबदीन नइब र अजमतुल्लाह उमरजाइ ५ रनमा आउट भए । मोहम्मद नबीले नटआउट १४ रन जोडे भने राशिद खान २ रनमा नटआउट रहे ।

    युगाण्डाका लागि ब्रेइन मासाबा र कसमस केवाटाले २/२ विकेट लिए । त्यस्तै अलपेस रमाजानीले १ विकेट लिए ।

    अफगानिस्तान र युगाण्डा दुवै समूह सीमा छन् । यसअघि यो समूहमा रहेका वेस्ट इन्डिज र पपुवा न्युगिनीबीच खेल भइसकेको छ । जसमा वेस्ट इन्डिजले पपुवा न्युगिनीलाई पराजित गरेको थियो ।

  • टी–२० विश्वकप : आयोजक अमेरिकाको विजयी सुरुवात

    टी–२० विश्वकप : आयोजक अमेरिकाको विजयी सुरुवात

    काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा आयोजक अमेरिकाले जित हात पारेको छ । घरेलु मैदान डालासमा आइतबार बिहान खेलिएको खेलमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको हो ।

    टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले १७.४ ओभरमा केवल तीन विकेट गुमाएर एक सय ९७ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।

    अमेरिकामा क्रिकेट विश्वकपको इतिहासकै पहिलो खेल खेलिएको हो । अमेरिकामा खेलिएको विश्वकपको यो ऐतिहासिक खेलमै कुल तीन सय ९१ रन बन्यो । अमेरिकाको जितमा एन्ड्रिज गौस र एरोन जोन्सले महत्त्वपूर्ण योगदान गरे ।

    दुवै ओपनरलाई सस्तैमा गुमाएको अमेरिकाका लागि गौसले ६५ रन बनाए । उनले केवल ४६ बलमा तीन छक्का र सात चौका प्रहार गरे । एरोन जोन्सले पनि टोलीका लागि अविजित अविजित ९४ रनको योगदान गरे । उनले ४० बलको सामना गरी १० छक्का र चार चौका हिर्काए ।

    गौस र एरोनले एक सय ३१ रनको साझेदारी गरे । अमेरिकाले खाता खोल्नुअघि नै आफ्नो पहिलो विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान स्टिभन टेलर शून्य रनमै आउट भएका थिए । अर्का ओपनर मोनांक पटेलले भने १६ रन बनाए ।

    दोस्रो विकेटका रूपमा कप्तान मोनांक पटेललाई गुमाउँदा घरेलु टोली अमेरिकाले केवल ४२ रन बनाएको थियो । त्यसपछि एन्ड्रिज गौस र एरोन जोन्सले टोलीको स्कोरलाई एक सय ७३ रनको बलियो स्थितिसम्म पुर्याएका थिए ।

    कोरी एन्डर्सन तीन रनमा अविजित रहे । अमेरिकाले अतिरिक्त रूपमा पनि १९ रन पाएको थियो । क्यानडाका बलर निखिल दत्त, डिलोन हेलिगर र कलिम सानाले एक–एक विकेट लिए ।

    त्यसअघि आफ्नो चिर प्रतिद्वन्द्वी अमेरिकाविरुद्ध क्यानडाले गतिलो ब्याटिङ गरेको थियो । क्यानडाका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । ओपनर नवनित धालिवालले ६१ रन बनाएका थिए । उनले केवल ४४ बलको सामना गरी तीन छक्का र ६ चौका पनि प्रहार गरे ।

    चौथो नम्बरका ब्याट्सम्यान निकोलस किर्तन पनि टोलीको खातामा ५१ रन थपे । उनले केवल ३१ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । विकेटकिपर ब्याट्सम्यान श्रेयस मोभाले पनि अविजित ३२ रन बनाए । उनले १६ बलमा दुई छक्का र दुई चौका प्रहार गरे ।

    ओपनर ब्याट्सम्यान एरोन जोन्सनले पनि टोलीको खातामा २३ रन थपेका थिए । क्यानडाले अतिरिक्त रूपमा पनि १० रन पाएको थियो । अमेरिकाका बलर कोरी एन्डर्सन, हरमित सिंह र अली खानले एक–एक विकेट हात पारे ।

  • रियललाई १५ औं पटक च्याम्पियन्स लिगको उपाधि

    रियललाई १५ औं पटक च्याम्पियन्स लिगको उपाधि

    काठमाडौं । स्पेनिस च्याम्पियन टोली रियल म्याड्रिडले १५ औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । लन्डनस्थित वेम्ब्ली स्टेडियममा शनिबार भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० ले हराउँदै रियलले उपाधि जितेको हो ।

    रियललाई उपाधि दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

    कार्भाजालले ७४ औं र जुनियरले ८३ औं मिनेटमा गोल गरेका हुन् । टोनी क्रुजको कर्नरमा कार्भाजालले हेड गोल गरेका हुन् ।

  • देवदह : मकै एक परिकार अनेक 

    देवदह : मकै एक परिकार अनेक 

    देवदह। रुपन्देहीको देवदहमा एक दिने दोश्रो मकै महोत्सव सम्पन्न भएको छ । देवदह मकै पकेट क्षेत्रको पहिचान, मकैको बजारीकरणमा हाम्रो अभियान भन्ने नाराका साथ दोश्रो मकै महोत्सव सम्पन्न भएको हो ।

    मकै महोत्सव मूल समितिको आयोजना र देवदह नगरपालिकाको आर्थिक सहयोगमा देवदहलाई मकैमा आत्मनिर्भर बनाउने र उत्पादीत मकैको बजारीकरण गर्ने गरी मकै महोत्सवको आयोजना गरेको हो । देवदह नगरपालिका क्षेत्रमा अहिले ५२ विगाहा क्षेत्रफलमा मकैको खेती हुदै आएको छ । देवदह नगरपालिकाले देवदह-५, कोलुवालाईउ मकै पकेट क्षेत्रको रुपमा घोषणा गरेर अगाडि बढिरहेको छ ।

    सोही अवसरमा बोल्दै देवदह नगरपालिका नगर प्रमुख धुर्व प्रसाद खरेलले परम्परागत भन्दा आधुनिक र व्यवसायीक रुपमा कृषि गर्न आवश्यक रहेकोमा जोड दिए। उनले यस क्षेत्रमा उत्पादीत मकैलाई विविधिकरण गर्न आवश्यक रहेको बताए ।

    महाेत्सवमा राखिएको स्टलमा मकैबाट बनाइएको परिकार मकैको सेलरोटी, मकैको बटुक, मकैको चटपट, मकैको बटुक, पकौडा, चुकौनी, खिर, सातु, जेरी, चाट आदि परिकार बिक्री वितरणका लागि राखिएको मकै महोत्सवमा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो।

  • रुमाल हराएको दिन

    रुमाल हराएको दिन

    शिक्षक बिद्यार्थीको सामु कहिले अभिभावक बन्नुपर्छ।कहिले उनीहरुकै साथी जस्तो बन्नुपर्छ भने कहिलेकाही पुलिस र अदालत पनि बन्नुपर्छ। बिद्यार्थीहरुले शिक्षकसंग अरुको सिकायत गर्न निकै तछाडमछाड गर्छन्। कहिले आफु आफु झगडा गर्छन्। कुटाकुट गर्छन् । उनीहरुको झगडाको कारण पत्ता लगाउन बढो कठिन हुन्छ। जसलाइ हेरेपनि निर्दोष देखिन्छन्। र उनीहरुले आफुलाइ कहिल्यै दोषी ठान्दैनन्। कहिले कलम चोर्यो भन्ने सिकायत। कहिले कापी च्यातिदियो भन्ने सिकायत त कहिले नास्ता, क्याल्कुलेटर, किताब ,घडी हराएको वा चोरिएको भन्ने सिकायत दिनहु आउने गर्छ।

    एकदिन  भर्खर दोस्रो पिरियड सकिएर तेस्रो पिरियड सुरु भएको थियो। मेरो तेस्रो पिरियड कक्षा सात मा थियो । म शिक्षण सामाग्री बोकेर कक्षा कोठा तर्फ गएँ। कक्षा सातको उक्त सेक्सनमा जम्मा पैँतालीस जना बिद्यार्थी थिए। म कक्षामा नपुग्दै त्यहा बिद्यार्थीहरु झगडा गरेको सुने। कसैको चिच्याएर बोल्ने स्वभाव पनि हुन्छ। झगडा गरेको सुनेपछि म फटाफट कक्षा कोठा तिर लागेँ। कक्षामा केहि छात्राहरु एकअर्कालाइ ” तँ चोर हो  । हिजो  मेरो कलम हराएको थियो।तैले चोरेको हो बुझिस्।” तैले पनि त मेरो गणितको नोट कापी चोरेर लगेकी थिइस् नी, आफुले नजान्ने अर्काको चोर्ने खुप।”  यस्तै यस्तै आरोप प्रत्यारोप चलिरहेको थियो। म कक्षामा पसेर उनीहरुलाइ शान्त बनाउनका लागि उनिहरुको ध्यान मतिर आकर्षण गरेँ

    एउटी छात्रा टाउको तल गरेर विब्हल हुदै रोएकी थिइन्। मैले “तिमीलाइ के भयो  प्रगती ( नाम परिवर्तन ) तिमीलाइ ? किन रोएकी भनेर सोधेँ।” धेरैपटक सोधेँ तर केही जवाफ दिइनन्। अरु बिद्यार्थीहरुले भन्दै थिएँ-  ” प्रगतिले सिमाको नयाँ रुमाल चोरेकी छिन् रे, त्यही भएर प्रगतीलाइ सबैले चोर भनेर गाली गरे। अनि रोएकी हुन्। मैले सोधे – प्रगती ! तिमीले रुमाल चोरेकी हो त?  तर उनले केही जवाफ दिइनन्। उनको अनुहार मलीन् थियो। सायद उनको स्वास्थ्यमा पनि केही समस्या थियो।

    उक्त समस्या कक्षाकोठामा समाधान होला जस्तो लागेन।  कक्षामा  विद्यार्थीहरुलाइ केहि गणितका अभ्यासहरु गर्न दिएर  म प्रगतिलाइ कक्षाको बाहिर अलि एकान्तमा लगि सोधपुछ गर्न थालेँ। उनी त्यहा पनि बोल्न अन्कनाइन। मैले सोधेँ – तिमीलाइ सन्चो छैन हो?” के दुखेछ?  महिनावारी भएको हो? उनी भुँइतिर फर्केर ,हो भन्ने संकेत गरिन्। बेस्सरी पेट दुखेको , रुदै  आफुलाइ सहन गाह्रो भएको कुरा पनि भनिन्।

    अनि मैले सोधेँ – कक्षामा तिम्रा साथीहरुले त तिमीलाइ रुमाल चोरेको आरोप लगाएका छन् नि त? तिमीले लगेको हो? अनि उनले भनिन्-  हो मिस्”

    किन चोरेकी त? अर्काको सामान त्यसरी चोर्नु हुन्न नि। यस्तो बानी राम्रो होइन। त्यो रुमाल कहाँ राखेकी छौ? फिर्ता गर है!

    उनले मलिन हुदै भनिन्-” मिस म हिजो मिन्स भएको थिएँ। मलाइ यस्तो बेला धेरै गाह्रो हुन्छ। अनि धेरै रक्तश्राव पनि हुन्छ। घरबाट हिड्दा राखेको टालो पुरै भिजेछ। मेरो पोषाक पनि छोएछ। मसंग अरु कपडा थिएन। साथीको रुमाल देखेँ।त्यही लगेर प्रयोग गरेँ।अब कसरी रुमाल फिर्ता गर्न सक्छु र मिस्।” त्यतिबेला बिद्यालयमा सेनेटरी प्याडको व्यवस्था थिएन। गाउँघरमा प्याड किन्नु। फजुल खर्चको रुपमा हेरिन्थ्यो। पुराना कपडाहरु च्यातेर प्रयोग गर्नुपर्ने बाध्यता थियो। उनको कुरा सुनेपछि म नतमस्तक भएँ। अब रुमाल नयाँ किनेर दिनुपर्ला भन्ने सोचेर उनलाइ कक्षा लिएर गएँ।

    मैले कक्षा कोठामा पसेपछि महिनावारी केहो भन्ने विषयमा कुरा गर्न थालेँ। सबैजना लजाए। कोही मुसुमुसु हास्न थाले। कसैले आफ्नो मुख छोप्न र खानेखुशी गर्न थाले। तर मैले उनीहरुलाइ खुलेर यसबारे चर्चा गरेँ। प्रगतिको समस्याको कुरा पनि सुनाएँ। सबै सुनिसकेपछि उनीहरु भावुक भए। मैले सिमाको लागि नयाँ रुमाल किनिदिने बाचा गरेँ। मेरो कुरा सुनि सकेपछि सिमाले प्रगतिसंग माफी माग्दै मलाइ भनिन्- ” मलाइ नयाँ रुमाल चाहिन्न मिस्। मलाइ माफ गरिदिनु है। मैले साथीको पिडा बुझ्न सकिन। मलाइ माफ गरिदिनु मिस्। प्रगतीलाइ अंगाल्दै भनिन् -“मलाइ माफ गरिदेउ साथी प्रगती।”

    मेरो मनमा एक किसिमको सन्तुष्टि प्राप्त भयो। अनुभवको एउटा सफल बिन्दु आलिङ्गित गर्दै कक्षाबाट निस्केँ।

    हिजोआज यो खाले समस्या आउन छाडेको छ।

  • आज विश्व दुध दिवस मनाइँदै

    आज विश्व दुध दिवस मनाइँदै

    काठमाडौं । आज विश्व दुध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको नारा ‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन’ भन्ने रहेको छ ।

    संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनले सन् २००१ जुन १ देखि विश्व दुध दिवस मनाउन सुरु गरेको हो । नेपालमा भने सन् २०११ देखि दिवस मनाउन सुरु गरिएको हो ।

    विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षा एवम् जीविकोपार्जनमा पुर्‍याउने योगदानलाई ध्यानमा राखेर दिवस मनाउन थालिएको हो ।

    दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्ड र सरोकारवाला निकाय नेपाल डेरी एसोसिएशन, केन्दीय दुग्ध सहकारी, दुग्ध विकास संस्थान (डीडीसी), पशु सेवा विभागलगायतले कार्यक्रम गर्दैछन् ।

    सरकारी तथ्यांकअनुसार देशभर दैनिक झण्डै ७० लाख लिटर दुध उत्पादन हुने गरेको छ ।

     

  • उखुको जुस बेचेर मनग्य आम्दानी

    उखुको जुस बेचेर मनग्य आम्दानी

    कैलाली । धनगढी उपमहानगरपालिका– ३ की पुजा शर्माले धनगढीको सहिद गेट नजिकै उखु जुसको व्यवसाय गर्दै आएका छन् । उनले जुस बिक्री गरेर जीविकोपार्जन गरिरहेका छन् । 

    शर्माले थोरै लगानीमा भए पनि स्वरोजगार बन्नुपर्छ भन्ने मनसायबाट प्रेरित भई उखु जुसको व्यवसाय सुरु गरेको बताए ।

    ‘पहिले अर्काको पसलमा काम गर्थे । अर्काको काम गर्दा जानीनजानी कहिलेकाहीँ गल्ती भयो भने अनावश्यक कुरा सुन्नु पर्दथ्यो । आजभोलि आफैँले व्यवसाय सञ्चालन गरेपछि कमाएको जति खर्च गरेर बचत पनि हुन्छ’, उनले भने। 

    धनगढीस्थित स्थानीय बजारबाट ६० हजारमा उखु पेल्ने मेसिन खरिद गरी व्यवसाय सुरु गरेकी भन्दै शर्माले मासिक ७० हजार बराबरको उखु जुसको कारोबार हुने गरेको बताए। उनीका अनुसार बालबच्चाको लालनपालन, शिक्षा र घरपरिवारको सम्पूर्ण खर्च कटाएर ३५ हजार जति बचत हुने गरेको छ । उखु जुस प्रतिगिलास ३० मा बिक्री गर्दै आएको उनले बताए ।

    धनगढीको जुगेडाबाट प्रतिक्विन्टल रु एक हजार पाँच सयमा उखु खरिद गरेर शर्माले जुस व्यवसाय गर्दै आएका हुन् । केही दिनदेखि अत्यधिक गर्मी बढेसँगै जुसको व्यवसाय पनि राम्रो हुँदै आएको उनको भनाइ छ ।

    लामो समयदेखि उखु जुस व्यवसाय सञ्चालन गरी जीवन निर्वाह गर्दै आएका छोटु गुप्ताले पनि यही व्यवसायबाट जीविकोपार्जन भइरहेको बताए। कैलाली र कञ्चनपुरको सीमास्थित डोके बजार नजिकै व्यवसाय सञ्चालन गर्दै आएका उनले मासिक एक लाख बराबरको कोरोबार हुने गरेको जानकारी दिए।  

    करोबारको पचास प्रतिशत जति फाइदा हुने गरेको गुप्ताको भनाइ छ । उनले धनगढीका तीन स्थानमा उखु जुस पेल्ने मेसिन राखेर व्यवसाय गर्दै आएका छन् । 

    उखु जुसको व्यवसायले जीविकोपार्जनका साथै आम्दानीको स्रोत बन्दै गएको अर्का व्यवसायी अमरबहादुर चौधरीले बताए। उनले जाडो याममा ज्याला मजदुरी गर्ने र गर्मीमा प्रत्येक वर्ष जुसको व्यवसाय गर्दै आएको बताए । मासिक रुपमा रु ९० हजार जति कारोबार हुने गरेको भन्दै सबै खर्च कटाएर रु ३५ हजार फाइदा हुने उनको भनाइ छ ।

    थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय यो व्यवसायप्रति धेरैको आकर्षण बढ्दै गएको छ । धनगढीमा हिजोआज अत्यधिक गर्मी बढेसँगै चिसो पेय पदार्थको व्यापार बढेको स्थानीय व्यापारीको भनाइ छ । धनगढी बजारलगायत आसपासका क्षेत्रमा झण्डै एक सय उखुको जुस बिक्री गर्ने व्यवसायी छन् । 

  • पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

    पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

    काठमाडौँ । राष्ट्रदेव भगवान पशुपतिनाथका चारवटै ढोका आउँदो असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

    उनले भने, “यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८.३० बजेपछि मात्रै बाँकी तीनवटा ढोका खोलिँदै गरिएकोमा भक्तजनले चारवटै ढेकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यले आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने छ ।”

    यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।