Category: फ्रन्ट पेज

फ्रन्ट पेज

  • सम्झिँदा तिमी मुस्कुराएको पलहरु

    सम्झिँदा तिमी मुस्कुराएको पलहरु

    चुप बस्छु बुझेर जिन्दगानीमा कहिले
    उम्रदैनन् सपनाहरु खरानीमा कहिले

    सम्झिँदा तिमी मुस्कुराएको पलहरु
    आफ्नै आँखा देख्छु पानीमा कहिले

    हाँगासँग छुट्टिएर बाँच्दैनन् फुलपनि
    सास रहँदैन त्यो फूलदानीमा कहिले

    मायामा रिस तिम्रो देख्न धेरै पाइयो
    माया भने देखिएन रिसानीमा कहिले

    रातमा सूर्य उदाएका आँखा हुन् मेरा
    अटाउँदैनन् तिम्रो कहानीमा कहिले
    – कपिल अगस्त्य

  • पोखरा छिर्ने सबै सडक ठप्प, गण्डकीका ६ प्रमुख सडकमा पहिरो

    पोखरा छिर्ने सबै सडक ठप्प, गण्डकीका ६ प्रमुख सडकमा पहिरो

    पोखरा । अविरलको झरीले पोखरा छिर्ने सबै सडकहरू अवरुद्ध भएका छन् । पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग सहित गण्डकीका प्रमुख ६ वटा सडकमा पहिरो झरेको छ ।

    पृथ्वीराज मार्गको तनहुँ स्थित म्याग्दे ४ मनोहरीमा बाटो हिलो भएर ट्रक र बस फसेका छन् । जसका कारण सडक पूर्ण ठप्प भएको गण्डकी प्रहरीले जनाएको छ ।

    यस्तै, सिद्धार्थ राजमार्गको वालिङ नगरपालिका ८ स्थित शान्ति, वडा नम्बर १० को मोदीखोला, गल्याङ ८ को चिउरी र गल्याङ ११ को मुडकिल्लामा पहिरो झरेको छ ।

    बेंसीशहर मनाङ सडक, मालढुंगा बेनी, बेनी दरबाङ र बेनी जोमसोम सडक पनि पूर्ण रुपमा ठप्प छ । बेंसीशहर चामे सडकको मर्स्याङ्दी ४ हावाडाँडामा पहिरोले बाटो रोकिएको छ ।

    मालढुंगा वेनी सडकको कुश्मा नगरपालिका १ मालढुंगामा पहिरो झरेको प्रहरीले जनाएको छ । यस्तै, बेनी जोमसोम सडकको रघुगंगा ३ बैसरीमा लेदो सहित पहिरो आएको छ ।

    बेनी दरबाङ सडक खण्डको बेनी ४ घुमाउने भीरमा पहिरो आएको छ । सबै सडकमा प्रहरी खटाएर पहिरो पन्छाउने काम भइरहेको गण्डकी प्रहरीले जनाएको छ ।

  • सिद्धार्थ राजमार्ग  पहिरोले अवरुद्ध

    सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध

    बुटवल । अविरल वर्षाले सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ ।  सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्नी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ ।

    यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।

    सडकमा खसेको पहिरोको कारण दुवै सडक खण्ड शनिवार बिहानैदेखि अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पातर्फ आउने सवारीसाधन बिच बाटोमै राखिएको छ ।

    अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । तर पानी परेकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । कालीमाटी, चर्चरे र राम्दी क्षेत्रका सडक एकतर्फी खुलाइएको छ । अन्य स्थानको पहिरो हटाउन भने केही समय लाग्ने प्रहरीले  जनाएको  छ ।

  • प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो

    प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो

    काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ।

    प्रचण्डले सङ्घीय संसदका महासचिवलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारमा सहभागी दलहरूमध्ये एक दल (एमाले)ले आफ्नो समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनका लागि असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।

    ‘मेरो नेतृत्वमा संवत् २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दलहरूमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राखु पर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ’, प्रधानमन्त्रीको पत्रमा भनिएको छ ।

    असार १७ गते राति एमाले र कांग्रेसबीच नयाँ समीकरण बनाउने सहमति भएको थियो । लगत्तै एमालेले आफ्नो मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

    कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेपनि उनले संसदमार्फत विश्वासको मत लिने बताउँदै सोहीअनुसार पत्राचार गरेका हुन् ।

  • मधेसमा खानेपानीको समस्या समाधान गर्न दातृ निकायसँग छलफल भइरहेको छ : अर्थमन्त्री पुन

    मधेसमा खानेपानीको समस्या समाधान गर्न दातृ निकायसँग छलफल भइरहेको छ : अर्थमन्त्री पुन

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले तराई मधेसमा देखिएको खानेपानीको समस्या तत्काल समाधानका लागि दातृ निकायहरुसँग छलफल भइरहेको बताएका छन् । शुक्रवार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट खानेपानीलगायतका विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

    अर्थमन्त्री पुनले खानेपानीसँग सम्बन्धित अधूरा र अपूरा आयोजनाहरु पूरा गरेर तराई मधेसमा देखिएको खानेपानीको समस्या समाधान गर्न सकिने भएकाले त्यसका लागि दातृ निकायहरुसँग सहयोगका लागि छलफल भइरहेको बताए ।

    अथमन्त्री पुनले मधेश प्रदेशका सबै जिल्लाहरुमा देखिएको खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि समाधानका लागि सुनकोशी कमला तथा पश्चिमका जिल्लाहरुका लागि नारायणी चितवन र भेरी बबई कोहलपुरमा खानेपानी वितरण गर्नेगरी थोक वितरणका लागि छलफल शुरु गरिएको पनि बताए ।

    मन्त्री पुनले आम नागरिकलाई खानेपानीमा पहुँच पु¥याउने दायित्व सरकारको भएकाले सो काममा सरकारले विशेष ध्यान दिएको बताए ।

    उनले भने, ‘तराई मधेसमा हाल देखिएको खानेपानीको समस्या तत्काल समाधानका लागि अधुरा र अपूरा खानेपानी आयोजनाहरुको एकिन गरी सहयोगका लागि दात्रृ निकायहरुसँग छलफल भइरहेको छ  । मधेश प्रदेशमा भूमिगत पानीको म्यापिङका लागि एसियाली विकास बैंकले सहयोग गर्ने जानकारी गराएको छ ।’

    मन्त्री पुनले सिमित स्रोतका कारण सबै खानेपानीका आयोेजनाहरुको काम अघि बढाउने सम्भावना नरहेको पनि स्पष्ट पारे ।

  • लुम्बिनी सरकारबाट बाहिरियो एमाले, समर्थन फिर्ता

    लुम्बिनी सरकारबाट बाहिरियो एमाले, समर्थन फिर्ता

    काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । बिहिबार लुम्बिनी प्रदेश सरकारमा एमालेका पाँच मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् । 

    एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ताको जानकारी प्रदेशसभाका सभामुख तुलाराम घर्तीलाई बुझाइएको र मन्त्रीको राजीनामा मुख्यमन्त्री जोखबहादुर महराको सरकारी निवासमै पुगेर बुझाएका हुन् ।

    लुम्बिनी प्रदेशमा गत चैत २३ गते एमालेसहितका ५ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ४८ जनाको समर्थनमा माओवादी केन्द्रका महरा मुख्यमन्त्री बनेका थिए । लुम्बिनीमा एमालेबाट आर्थिक मामिलामा आचार्यसहित आन्तरिक मामिला तथा कानुनमन्त्रीमा दिनेश पन्थी, सहरी विकास तथा खानेपानीमन्त्रीमा भूमिश्वर ढकाल, सामाजिक विकासमन्त्रीमा रत्न खत्री र वन तथा वातावरण मन्त्रीमा अर्जुनकुमार केसी रहेका थिए ।

    गत चैत २३ गते माओवादी केन्द्रका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमालेका २९, माओवादीका १०, जसपाका ३, नागरिक उन्मुक्तिका ४, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र गरी ४८ जनाको समर्थन थियो । जसपा टुक्रिएपछि जसपा नेपालतर्फ लागेकी अम्बिका काफ्लेले असार ९ गते नै समर्थन फिर्ता लिएकी छन् । एमालेका २९ जनाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका छन् ।

    केन्द्रमा कांग्रेससँग भएको सहमति अनुसार अब लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने भएको छ ।

  • एमालेका मन्त्रीले बालुवाटार पुगेर बुझाए राजीनामा

    एमालेका मन्त्रीले बालुवाटार पुगेर बुझाए राजीनामा

    काठमाडौँ । नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् ।

    बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् ।

    कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् ।

    एमाले सरकारबाट बाहिरिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

  • नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

    नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

    काठमाडौँ । नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । कांग्रेस–एमाले नयाँ समीकरण बनेपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को सामना गरेर मात्रै अघि बढ्ने अडान लिइरहेका बेला नयाँ सत्ता समीकरणको मुख्य दल नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो आग्रह गरेको हो ।

    बुधवार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको सो बैठकले दुई ठुला दल र अन्य दलहरूले पनि नयाँ सत्ता समीकरणको पक्षमा आफ्नो मत राखेपछि नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीलाई माग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

    उनले भने, ‘दुई वटा ठुला दल नेपाली कांग्रेस र एमालेसँगै सरकार बनाउने भनिसकेपछि त स्वाभाविक रूपमा सम्माननीय प्रधानमन्त्रीजीले मार्ग प्रशस्त गर्नुपर्छ । त्यो पनि हाम्रो निर्णयमा आएको छ । उहाँले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ । र, अरू दलको समेत समर्थन घोषणा भइराखेको छ । यो जुन नयाँ समीकरण बनेको छ । यो सम्बन्धमा हाम्रो कार्य सम्पादन समितिको बैठकले सम्माननीय प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न पनि आग्रह गरेको छ ।’

    त्यसैगरी बैठकले नयाँ सत्ता समीकरणका लागि एमालेसँग गरिएको समझदारी पनि अनुमोदन गरेको छ । बैठकले संविधान संशोधन गर्ने दुई दलबिचको समझदारी सबै दलहरूसँग सघन छलफल गरेर मात्रै बढाउने पनि स्पष्ट पारेको प्रवक्ता महतले बताए ।

    ‘यो समझदारीलाई कार्य सम्पादन समितिले अनुमोदन गरेको छ । अर्को विषय वस्तुलाई पार्टी सभापतिले भ्रातृ सङ्गठनका सम्बन्धमा जुन निर्णय गर्नुभएको थियो समय थप गर्ने सम्बन्धमा र निर्देशक समितिको सम्बन्धमा । त्यो निर्णयलाई पनि कार्य सम्पादन समितिले अनुमोदन गरेको छ । यही नै विषयवस्तु हो’ महतले भने ।

  • कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, शुरुमा ओली प्रधानमन्त्री बन्ने

    कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, शुरुमा ओली प्रधानमन्त्री बन्ने

    काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने सहमति भएको छ । लामो छलफल र गृहकार्यपछि गएराति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

    सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली र डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नुहुने नेताहरुले बताएको छ । नेताका अनुसार निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने सहमति पनि भएको छ ।

    आयोगले दिने सुझावका आधारमा संविधान संशोधन गर्ने र राजनीति स्थायित्व हुने गरी निर्वाचन प्रणाली सुधार गर्ने नेताहरुको भनाइ छ । सहमतिअघि देउवा र ओलीले राति नै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएकाे छ । कांग्रेस र एमालेबीच सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार विघटनको हुने निश्चित भएको छ ।

    नयाँ सत्ता समीकरणका लागि देउवा र ओलीबीच केही दिनदेखि शृंखलाबद्ध छलफल भइरहेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमालेले उहाँलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको दाबी छ ।

  • एसईई मौका परीक्षा साउन २३ गतेदेखि हुने

    एसईई मौका परीक्षा साउन २३ गतेदेखि हुने

    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ ।

    आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३  देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने साेमबार सार्वजनिक गर्ने बताएको छ ।

    यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो । तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । त्यसपछि बोर्डले अर्को मिति तय गरेको हो ।

    गत बिहीबार २०८० सालको एसईईको नतिजा सार्वजनिक गरिएको थियो । जसमा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा एनजी आएको थियो ।