Category: फ्रन्ट पेज

फ्रन्ट पेज

  • आज अन्तर्राष्ट्रिय योग दिवस

    आज अन्तर्राष्ट्रिय योग दिवस

    काठमाडौं । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ ।

    सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

    उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी हुनेछन् ।

    मूल कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी हुने उक्त मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिए। 

    मूल समारोह समितिको गत जेठ ३० गतेको बैठकले दिवसको आदर्श वाक्य ‘महिला सशक्तीकरणका लागि योग’ चयन गरेको थियो । सोही बैठकले प्रदेश र स्थानीय तहमा पनि योग दिवस मनाउन पत्राचारका साथै विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

    संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो । महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत गरेको थियो । 

  • भूमि व्यवस्था मन्त्रालयलाई आवश्यकता अनुसार बजेट अपुग छ  : मन्त्री अधिकारी

    भूमि व्यवस्था मन्त्रालयलाई आवश्यकता अनुसार बजेट अपुग छ : मन्त्री अधिकारी

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालयको आवश्यकता परिपूर्ति गर्न बजेट अपुग भएको बताएका छन् । यो मन्त्रालयका लागि विनियोजित बजेटमाथि उठेका प्रश्नमा जवाफ दिँदै मन्त्री अधिकारीले मन्त्रालयलाई चाहिने जति बजेट अपुग भएको बताएका हुन् ।

    आगामी आर्थिक वर्ष २०८१–८२ का लागि यो मन्त्रालयका लागि ६ अर्ब ८२ करोडको रुपैयाँ बजेट विनियोजन भएको छ । यो बजेटबाट मन्त्रालयको ४ महाशाखा र १३५ नापी र १३५ मालपोत गरी २७० कार्यालय सञ्चालन गर्नुपर्ने मन्त्री अधिकारी बताउँछन् ।

    यस्तै मन्त्रालय मातहतमा ७ हजार जनशक्ति परिचालित छन् । सोहीकारण मन्त्रालयलाई चाहिने जति बजेट नपुग्ने मन्त्री अधिकारीको भनाई छ । यसमा बजेट आवश्यकताअनुसार अपुग भइरहेको छ । अधिकारीले अर्थ मन्त्रालयपछि सबैभन्दा धेरै राजश्व संकलन गर्ने मन्त्रालयको सूचीमा भूमि व्यवस्था मन्त्रालय रहेको बताएका छन् ।

    चालू आर्थिक वर्ष २०८०–८१ को यो अवधिसम्म भूमि व्यवस्था मन्त्रालयले ३८ अर्ब रुपैयाँ राजश्व संकलन गरेको मन्त्री अधिकारीले बताए । मन्त्रालयले ३० लाख सेवाग्राहीलाई सेवा दिएको समेत उनको भनाई छ ।

    अन्तर्राष्ट्रिय सीमा विवाद द्विपक्षीय वार्तामार्फत समाधान गर्ने, भूमि हीन समस्या समाधानका लागि ५ लाख भूमि हीनलाई लालपुर्जा वितरण लगायतका योजना अघि बढेको मन्त्री अधिकारीले बताए ।

  • पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

    पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

    लमजुङ ।  पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका– ६ खरखरेभीरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी  प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभीरमा सडक माथिबाट ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको छ ।

    हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभीर नै हो ।

    यहाँ पहिरो नियन्त्रणका निम्ति सङ्घीय सरकारले १६ करोड ४८ लाखको लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।

  • कवाडी व्यवसायीद्वारा बुधबार पनि प्रदर्शन

    कवाडी व्यवसायीद्वारा बुधबार पनि प्रदर्शन

    काठमाडौँ ।  कवाडी व्यवसायीहरूले बुधबार पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिएका छन् । उच्च अदालत पाटनले कवाडी व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि काठमाडौँ महानगरपालिकाले कवाडी व्यवसायीको टहरामा डोजर चलाएपछि उनीहरू फेरि प्रदर्शनमा उत्रिएका हुन् ।

    कवाडी व्यवसायीहरूले केही दिनदेखि  महानगरको निर्णयविरुद्ध विरोध प्रदर्शन गर्दै  आएका छन् । मंगलबार कवाडी व्यवसायीहरू कमलादीस्थित महानगरको कार्यालय घेर्न पुगेका थिए । सोही क्रममा नेपाल प्रहरीले उनीहरूमाथि  लाठी चार्ज पनि गरेको थियो ।

    बुधबार उनीहरूले महानगरविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरमा भेला भई बानेश्वरसम्म र्‍याली गर्दै प्रदर्शन गरेका छन् ।

  • गोसाइँकुण्डमा गंगादशहरा स्नान गर्ने बढे

    गोसाइँकुण्डमा गंगादशहरा स्नान गर्ने बढे

    रसुवा । यस वर्ष गोसाइँकुण्डमा गंगादशहरा स्नान गर्ने बढेका छन् । गोसाइँकुण्डमा यस वर्ष एक हजार छ सयभन्दा बढी तीर्थालुले गंगादशहरा स्नान गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

    गत जेठ २५ गतेदेखि यही असार २ सम्म आठ सय ८७ महिला र आठ सय पुरुषले गंगादशहरा स्नान गरेको निकुञ्ज कार्यालयका संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिए। यो सङ्ख्या गत वर्षको तुलनामा ३० प्रतिशतले बढी भएको उनको भनाइ छ । 

    समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा पर्ने पवित्र तीर्थस्थल गोसाइँकुण्डमा जानेहरूको सुरक्षामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्तीटोली खटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले बताए । 

    गंगादशहरा स्नानका अवसरमा स्वदेशीसँगै ४९ जना विदेशी पनि सहभागी थिए । स्नानका लागि एक सयभन्दा बढी यात्रुहरू हेलिकप्टरमार्फत गोसाइँकुण्ड पुगेका थिए । 

    चालु आर्थिक वर्षसम्म असार १ गतेसम्म गोसाइँकुण्डमा २१ हजार पाँच सय १८ नेपालीहरू पुगेको निकुञ्जका संरक्षण अधिकृत सापकोटाले जानकारी दिए। केही वर्षअघिसम्म गंगादशहरामा १० दिन र जनैपूर्णिमा पाँच दिन गरी वर्षमा १५ दिन मात्रै गोसाइँकुण्डमा तीर्थ गर्ने चलन थियो । 

    काठमाडौँबाट मोटरमा धुञ्चे पुगेपछि सोहि दिन खन्ति, देउराली र चन्दनवारीलगायतका स्थानमा बास बस्न पुग्न सकिन्छ । खाना र बस्नका लागि गोसाइँकुण्ड, लौरीविनायक, चोलाङपाटी,  चन्दनवारी, डिम्सा, देउराली, खन्ति  तिवारीवगर समेतका स्थानमा होटल तथा लज सञ्चालनमा रहेको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताए ।

  • १४२० वर्ष पुरानो पनौती जात्रा मनाइँदै

    १४२० वर्ष पुरानो पनौती जात्रा मनाइँदै

    काभ्रे । काभ्रेपलाञ्चोकको ऐतिहासिक पनौती नगरमा एक हजार चार सय २० वर्षदेखि मनाइँदै आएको हिले जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य रहेको छ ।

    त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल मनाइने हिलेजात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन हो ।

    जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्‍याउनेले  कहिल्यै सुख पाउँदैन भन्ने स्थानीय बूढापाकाको भनाइ छ ।

    त्रयोदशीको तीन दिनअघि आज पनौतीको ऐतिहासिक क्षेत्रमा अवस्थित भैरवनाथ, भद्रकाली, इन्द्रेश्वर र ब्रह्मायणी मातालाई मन्दिरको आसनबाट केही तल सारेपछि औपचारिक रुपमा जात्रा सुरु भएको मानिन्छ । विशेष रुपमा यस वर्ष असार ६ गते अर्थात् बिहीबारदेखि शुक्रबारसम्म धुमधामका साथ मनाइन्छ ।

    स्थानीयले भैरवनाथ र भद्रकालीको रथ बनाउँछन् भने मन्दिरहरूमा तोरण र झल्लरीसहित बत्ती तथा रङ्गाउने राख्ने काम भइरहेको छ ।

    जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिएको पाइन्छ । जात्रा सकिएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुन्छ । यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि बर्षा हुनैपर्छ । प्रत्येक वर्ष यस्तै हुँदै आएको यहाँका स्थानीयसँग अनुभव पनि छ ।

    किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टीका ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्गमतीबाट वासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिँदै आइएको स्थानीय समाजसेवी तुयुकाजी ताम्राकार बताउँछन् । उनका अनुसार करिव पचास मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रुपमा दुईवटा बाँस तेर्स्याइने र देवगण एक घण्टा लगाएर तर्ने गर्छन् ।

    तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो जात्राका रुपमा लिने गरिएको छ ।

    जात्रा मनाउने क्रममा त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठ मन्दिरमा धुमधामहित पूजाअर्चना गरिने स्थानीय वृद्ध विकुनारायण ताम्राकारले बताए ।

    उनका अनुसार इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित गणेशको मूर्तिलाई खटमा राखी अबीरजात्रा गरी नगर परिक्रमा गराइन्छ ।

    जात्राको तेस्रो अर्थात् पूर्णिमाको दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने गरिन्छ । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रुपमा लिँदै युवायुवतीको सहभागिता उत्साहजनक रहने गर्दछ ।

    स्थानीय वृद्धवृद्धाको भनाइमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुप धारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफाली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुप धारण गरी भद्रकालीलाई भगाउँछन् ।

    भाग्ने र पिछा गर्ने कार्यका रुपमा रथ जुधाइने गरिएको मानिन्छ । रथ जुधाइसँगै अबीरजात्रा पनि हुन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्द्रेश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रह्मायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् ।

    धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनिक सम्बन्ध प्रस्तुतिका रुपमा लिइएको हो । रथ जुधाउँदा जोश झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तँछाडमछाड गर्छन् अनि, थाक्दैनन् पनि ।

    इन्द्रेश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको थियो । विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो तर, पछिल्ला केही वर्षदेखि देवतारुपी रथलाई ठूलो सहभागितामा दिउँसो जुधाउने गरिएको छ । स्थानीय मुख्य पर्व जनाउँदै जात्राको अन्तिम दिन नगरपालिकाले सार्वजनिक बिदासमेत दिने गरेको छ ।

    जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य (आचाजू)हरु सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ । कर्माचार्य खोलापारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास गरिन्छ ।

    कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ठ हुने, खडेरीले दुःख दिने जस्ता आध्यात्मिक विश्वास मनमा पाल्ने भएकाले जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ ।

    अर्को रोचक प्रसङ्ग जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ । यसपछि यी सामग्रीको बिक्री सुरु हुने पनि जनविश्वास छ । जात्रामा चिउली चपाएर जिब्रो पड्काउँदै युवायुवती हौसिएका देखिन्छन् । स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाइ स्वागत सत्कारका साथ भोज गर्छन् । भोजका लागि प्रत्येक घरमा बलि दिने प्रथा अझै कायम रहेको छ ।

    किंवदन्तीअनुसार राजा प्रताप मल्लले विसं १२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ ।

    तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता (लिलावती) र रोशी खोला (रुद्रावती)बाहेक पद्यमावती नदी गुप्तरुपमा ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बगिरहेको मान्यता रहेको छ ।

     

  • प्रधानमन्त्री दाहाललाई के का लागि प्रधानमन्त्री भएको भन्ने नै थाहा छैन : गगन थापा

    प्रधानमन्त्री दाहाललाई के का लागि प्रधानमन्त्री भएको भन्ने नै थाहा छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले सरकारमा भएर पनि नभएको जस्तो व्यवहार देखाएको टिप्पणी गरेका छन् ।

    शनिबार नेपाली काँग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेले मन्त्रिपरिषदमा जुनियर मन्त्री पठाउनुका साथै सरकारको कामको पनि जिम्मा नलिएको बताए ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताए । प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री के का लागि भएको र प्रधानमन्त्री भएर के गर्ने भन्ने पनि थाहा नभएको उनको भनाइ थियो ।

    उनले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको भन्दै अर्थतन्त्र बिग्रनुको जिम्मेवारी प्रधानमन्त्रीले नलिएको बताए । विगतको सरकारको अर्थतन्त्र पनि राम्रो नभएको भन्दै उनले त्यतिबेला पनि प्रधानमन्त्रीले कांग्रेसलाई दोष लगाएको बताए ।

  • विपद् व्यवस्थापनको तयारीका लागि थोराङ्ला भञ्ज्याङको अनुगमन

    विपद् व्यवस्थापनको तयारीका लागि थोराङ्ला भञ्ज्याङको अनुगमन

    मनाङ ।  मनाङमा विपद् व्यवस्थापनको तयारी सुरु गरिएको छ । मनसुन भित्रिएसँगै हुनसक्ने सम्भाव्य विपद्को जोखिम न्यूनीकरणको तयारी सुरु गरिएको हो ।

    विपद्को जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चार हजार नौ सय १६ मिटर उचाइमा अवस्थित तिलिचो ताल जाने पदमार्ग र थोराङ्ला भञ्ज्याङ पार गर्ने अन्नपूर्ण पदमार्गको अनुगमन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

    पदमार्गमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणको तयारीका लागि अनुगमन गरी सम्बन्धित निकायसँग छलफल गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष सुवासकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार खाङ्सार, याकखर्क, लेदर, हाइक्याम, बेसक्यामलगायतका पर्यटक बढी बसोबास गर्ने क्षेत्रका पर्यटन व्यवसायीलाई सचेत गराइएको छ ।

    अनुगमनका क्रममा मुस्ताङ खण्डमा सचेतना तथा सूचना पार्टी राख्ने विषयमा  सुरक्षा निकायसँग छलफल भएको छ । उद्धारका लागि जिल्लाभरका लागि उपकरण अद्यावधिक गरी तयारी अवस्थामा राखिएको उनले बताए ।

    आवश्यक उपकरण राख्न र कर्मचारीलाई कार्य प्रतिकारका लागि तयार रहन र बाहिर जिल्ला जाँदा विपद् व्यवस्थापन समितिलाई जानकारी गराउन आग्रह गरिएको जनाइएको छ । पालिकास्तरमा विपद् सहायता कक्ष स्थापना, स्थानीय प्रतिकार टोली, रेडक्रसलगायतका सुरक्षा टोलीलाई तयार पारिएको छ ।

    तालिम प्राप्त कोर टिम नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई तयारी अवस्थामा राखिएको प्रजिअ लामिछानेले बताए । मनसुनको सुरुआत भएसँगै विपद् व्यवस्थापन समितिले जीर्ण भएका साइनिङ पोलको जडान तथा बाटो देखाउन राखिएका चिन्हको अवस्थाको तथ्याङ्क सङ्कलन गरिएको उनले बताए । उनले भने, “साइनिङ पोल र चिन्ह सङ्कलन भइरहेको छ, एक्यापलाई चिन्ह र पोल राख्नुपर्ने स्थानबारे जानकारी गराएका छौँ ।”

    ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जिल्ला विपद् व्यवस्थापन समितिले सुझाव दिएअनुरुप नै तयारी गरिएको बताए । पालिका तथा वडास्तरकै विपद् सहायता कक्ष खडा गरिएको उनको भनाइ छ । जिल्लाको बढी जोखिमयुक्त चामे र नासों गाउँपालिकामा सहायता कक्ष स्थापना र विपद् सचेतनाका कार्यक्रम भइरहेको बताइएको छ ।

  • म बेरोजगार हो

    म बेरोजगार हो

    छैन काम, छैन दाम, बेरोजगार हो मेरो नाम।
    खायो, बस्यो, सुत्यो, यही त हो मेरो काम।
    हो, म बेरोजगार हुँ, तर यो मेरो रहर होइन, बाध्यता हो।
    प्रयास नगरेको त होइन, निरन्तर गरिरहेछु, गर्दा गर्दै हार्छु, म के गरूँ?

    हैन, कुन जुनी जन्म लिएँ मैले,
    मेरो भाग्यमा यही लेखेछ,
    भनूँ कि विधाताले यही मागेछ,
    जे छोयो, त्यही खरानी बन्छ, म के गरूँ?

    मलाई पनि रहर छ, केही कमाउने,
    मेरो बाको रित्तो गोजी देखेर ,
    तन्ना भएका आफ्नालाई फेरि किन्ने।
    प्रयास गर्दागर्दै पनि हार मात्र पाइरहेछु, म के गरूँ?

    माफ गर है मलाई,
    सकिन खुशी किन्नलाई,
    जिन्दगी यस्तै जान्छ कि खै?
    नआत्तिन, मेरो पनि दिन आउँछ कि,
    “जसको कोही हुँदैन, उसको भगवान हुन्छ” भन्दै,
    कति दिन सम्हालूँ मनलाई?

    खै मेरो त भगवान पनि छैन्न कि,
    जति मागे पनि केही दिन्न त।
    होइन, मेरो माग गलत भयो कि,
    तिमी निर्दयी भयौ खै॥
    म खुशी मागिरहन्छु,
    तिमी दुख दिइरहन्छौ।

    खै कति अझै यसरी बस्नुपर्ने हो,
    बारम्बार आफैलाई मार्नुपर्ने हो।
    थाकीसके यी हातहरू, तिमीलाई जोर्दा,
    म काम खोजिरहन्छु, तिमी पहिचान मागिरहन्छौ।

    लाखौं खर्च गरेर निकालेका ती प्रमाणपत्रमा पनि धुलो लागिसक्यो,
    जिन्दगी भने अझै सुन्यमा छ,
    खै त यी प्रमाणपत्रहरू कहाँ काम लाग्यो?
    प्रयास नगरेको त होइन,
    गर्दा गर्दै असफल हुन्छु, म के गरूँ?

    केही गर्छु भनेर प्रयास गर्दा,
    बारम्बार असफल भएको त के कुरा गर्नु,
    बाहिर जान्छु भनेर दलाललाई पैसा तिर्दा,
    गोजी रित्तियो, खै कसलाई भनूँ?

    हो, म बेरोजगार हुँ,
    बेरोजगार हुनु मेरो रहर होइन, बाध्यता हो।
    संगै पढेका साथीहरू कोही अष्ट्रेलिया, अमेरिका पुगे,
    कोही जापान, कोरिया।
    म भने यही गाउँघरमा अल्झिएँ।

    केही गर्न नस्कदा मेरो पनि मन पोल्छ नि,
    साथी तिमी फोटो नहाल न,
    खै किन यो मन नराम्रोसॅग जल्छ नि?

    बिचरा भन्ने शब्द सुन्दा,
    मन कस्तो हुन्छनि ,
    किन किन मै माथि हाँसीरहेको जस्तो लाग्छ।
    प्रकृतीले नि मलाईनै गील्लाए झै लाग्छ॥
    कस्तो चल्दै छ जिन्दगी भनी प्रश्न गर्दा आफ्नै चरीत्र हत्या भएजै लाग्छ॥
    सकिन केही गर्नलाई,
    तैपनि मैले हार मानेको छैन,
    केही प्रयास अझै जारी छ,
    मेरो नि दिन आउला नि है।

    हो, म बेरोजगार हुँ,
    यो मेरो रहर होइन, बाध्यता हो।
    आफ्नो भविष्य सम्झेर,
    कति आँसु बगे सिमा भएन
    यी रातलाई सोध,
    कति छटपटिमा बिताएँ गिन्ति भएन ॥
    प्रयास गरिरहेकै हो,
    खै के पुगेन,
    बारम्बार असफल नै भए,
    भाग्यमा यही लेखेको भनूँ कि,
    विधाताले यही खोजेको भनूँ?
    जे चाहे ती सबै कल्पनामा हराए।
    -ईरा आर्याल

  • पृथ्वीराजमार्गमा सवारी दुर्घटना : पाँचजना गम्भीर

    पृथ्वीराजमार्गमा सवारी दुर्घटना : पाँचजना गम्भीर

    मलेखु । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ ।

    नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको बस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा  ठोक्किँदा बस नदी किनारमा खसेको हो ।

     कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले बताए ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ। 

    गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।