Category: खेलकुद

खेलकुद

  • अपराजित रहँदै भारत सेमिफाइनलमा

    अपराजित रहँदै भारत सेमिफाइनलमा

    काठमाडौँ । टी–२० विश्वकपमा सुपर ८ अन्तर्गत समूह १ को आफ्नो अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको छ । २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८१ रन मात्र बनाउन सक्यो ।

    जितसँगै भारत अपराजित रहँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा प्रवेश गर्ने भारत तेस्रो टोली हो । यसअघि समूह २ बाट दक्षिण अफ्रिका विजेता र इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अब भारतले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ ।

    अस्ट्रेलियाले भने अब आफ्नो भाग्यको फैसलाका लागि मंगलबार बिहानसम्म पर्खनुपर्नेछ । अफगानिस्तान र बंगलादेशबिचको खेलले समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । आफगानिस्तानले बंगलादेशलाई हराए टोली अस्ट्रेलियालाई उछिन्दै अन्तिम चारमा प्रवेश गर्नेछ ।

    सोमबारको खेलमा अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गरे ।

    उनलाई कप्तान मिचेल मार्सले ३७ रन बनाउँदै साथ दिए । मार्सले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मार्स र हेड मिलेर ४८ बलमा ८१ रनको साझेदारी गरे ।

    ग्लेन म्याक्सवेलले १२ बलमा २० रन बनाए । उनले २ चौका र १ छक्का हिर्काए । टिम डेभिडले ११ बलमा १५ रन जोडे ।

    भारतका लागि अर्शदीप सिंहले ४ ओभरमा बलिङ गर्दै ३७ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले २ विकेट हात पारे । जसप्रित बुमराह र अक्षर पटेलले १–१ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रन बनाएको थियो । कप्तान रोहित शर्माले शानदार ब्याटिङ गर्दै मात्र ४१ बलमा ९२ रन जोडे । मिचेल स्टार्कको बलमा बोल्ड हुनुअघि उनले ७ चौका र ८ छक्का प्रहार गरे ।

    भारतको सुरुवात भने राम्रो हुन सकेको थिएन । दोस्रो ओभरमा विराट कोहली शून्य रन बनाएर पभिलियन फर्किएका थिए ।

    त्यसपछि रोहितले ऋषभ पन्तसँग मिलेर ८७ रनको साझेदारी गर्दै भारतको इनिङ्स अगाडि बढाए । पन्त १५ रन बनाएर आउट भए ।

    त्यसपछि रोहितले सूर्यकुमार यादवसँग ३४ रनको साझेदारी गरे । यादवले १६ बलमा ३१ रन बनाउँदै स्टार्ककै शिकार बने । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

    शिवम दुवेले २२ बलमा २८ रनको योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । हार्दिक पाण्ड्याले नटआउट रहँदै १७ बलमा २७ रन बनाए । उनले १ चौका र २ छक्का प्रहार गरे ।

    अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ४ ओभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिसले पनि २ विकेट लिए । तर, उनले आफ्नो चार ओभरमा ५६ रन खर्चिए । जोस हेजलवुडले एक विकेट हात पारे ।

  • अष्ट्रेलियामाथि अफगानिस्तानको शानदार जित

    अष्ट्रेलियामाथि अफगानिस्तानको शानदार जित

    काठमाडौं ।  अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रीकेटमा अष्ट्रेलियामाथी अफगानिस्तानले शानदार जित दर्ता गराएको छ ।

    आइतबार बिहान भएको खेलमा अफगानिस्तानलेअष्ट्रेलियालाई २१ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको हो ।

    अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य अष्ट्रेलिया १९ ओभर २ बलमा १२७ रनमा समेटियो । अष्ट्रेलियाका ग्लेन म्याकवेलले ४१ बलमा ५९ रन जोडे पनि जितका लागी पर्याप्त हुन सकेन । बलिङमा अफगानिस्तानका गुलबदिन नायबले सर्वाधिक ४ विकेट लिए ।

    त्यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४८ रन जोडेको थियो । अफगानिस्तानका ओपनरद्वय रहमानउल्लाह गुरबाजले ६० र इब्राहिम जाद्रानले ५१ रन जोड्दै शानदार सुरुवात दिलाएका थिए। बलिङमा अष्ट्रेलियाका पाट कमिन्सले ३ र एडम जाम्पाले २ विकेट लिए ।

    उक्त समूहमा भारतको २ खेलको ४, अष्ट्रेलिया र अफगानिस्तानको समान २ र बंगलादेशको ० अंक छ । अब अष्ट्रेलियाले भारत र अफगानिस्तानले बंगलादेशसंग खेल्नेछ ।

  • टी–२० विश्वकप क्रिकेट : सुपर आठमा भारतको लगातार दोस्रो जीत, बंगलादेश ५० रनले पराजित

    टी–२० विश्वकप क्रिकेट : सुपर आठमा भारतको लगातार दोस्रो जीत, बंगलादेश ५० रनले पराजित

    काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेट सुपर आठमा गएराति भएको खेलमा भारतले बंगलादेशलाई ५० रनले हराएको छ । सुपर आठको खेलमा भारतको यो लगातार दोस्रो जित हो ।

    यसअघि सुपर आठको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो । गएराति भारतले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४६ रन मात्रै बनायो ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । भारत समूह एकको शीर्ष स्थानमा छ ।

     

  • क्रिकेटर लामिछाने विश्वकपमा सहभागी भई स्वदेश फर्किए

    क्रिकेटर लामिछाने विश्वकपमा सहभागी भई स्वदेश फर्किए

    काठमाडौं । आईसीसी टी-२० विश्वकपमा सहभागी भइ क्रिकेटर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टीमका अन्य सदस्य तीन दिनअघि नै स्वदेश फर्किए पनि सन्दीप भने शनिबार स्वदेश फर्किएका हुन् ।

    अमेरिकाको भिसा नभएका कारण सन्दीप टोलीसँगै नेपाल फर्किन पाएका थिएनन् । उनी क्यानडा हुँदै नेपाल आएका हुन् । नेपाल आएपछि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सन्दीपले टी–२० विश्वकपको खेल खेल्दा आफूले डेब्यू गरेजस्तो अनुभव भएको प्रतिक्रिया दिए ।

    विश्वकपको अनुभव निकै स्मरणीय रहेको भन्दै टिममा अझै धेरै गर्न बाँकी रहेको उनले बताए । उनले साउथ अफ्रिकालाई दिएको चूनौति निकै राम्रो भएपनि अन्तिम बलमा जित्न नसक्दा दुख लागेको सुनाए ।

    उनले बिभिन्न कारणले आफु केहि समय क्रिकेटबाट बाहिर रहेपछि अब निरन्तर रुपमा लागिपर्ने बताए ।

  • रोहित, दीपेन्द्र र सन्दीपले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने

    रोहित, दीपेन्द्र र सन्दीपले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने

    काठमाडौं । नेपाली तीन खेलाडीले क्यानडाको टी-२० लिग खेल्ने भएका छन् ।

    नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने भएका हुन् ।

    ऐरी र लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन् ।

    नेपालका कप्तान रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा छनोट भएका हुन् । सन्दीप र दीपेन्द्रले यसअघि नै क्यानडामा लिग खेलिसकेका छन् ।

    ऐरी यूएईको आईएल टी-२० लिगमा पनि रिटेन भएका छन् ।

  • नेदरल्याण्ड्स र फ्रान्सले खेले बराबरी

    नेदरल्याण्ड्स र फ्रान्सले खेले बराबरी

    काठमाडौं । जर्मनीमा भइरहेको १७औँ संस्करणको युरोकप फुटबलमा समूह ‘डी’ का नेदरल्याण्ड्स र फ्रान्सले बराबरी खेलेका छन् ।

    आज बिहान लेइपजिग स्टेडियम सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक–एक अंक बाँडेका छन् ।

    यो बराबरीसँगै नेदरल्याण्ड्स र फ्रान्सको चार–चार अंक भएको छ । तर गोल अन्तरका आधारमा नेदरल्याण्ड्स समूहको शीर्षस्थानमा छ भने फ्रान्स दोस्रो स्थानमा छ ।

    अब नेदरल्याण्ड्सले अष्ट्रिया र फ्रान्सले पोल्याण्डसँग खेल्ने छन् ।

  • विश्वकपको रोचक खेलमा इंग्ल्यान्डमाथि दक्षिण अफ्रिका सात रनले विजयी

    विश्वकपको रोचक खेलमा इंग्ल्यान्डमाथि दक्षिण अफ्रिका सात रनले विजयी

    काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर ८’ को दोस्रो खेलमा लगातार जित निकाल्दै दक्षिण अफ्रिकाले चार अंक जोडेको छ। शुक्रबार राति सम्पन्न रोमाञ्चक खेलमा इंग्ल्यान्डविरुद्ध दक्षिण अफ्रिकाले सात रनको जित निकालेको हो। जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो निरन्तर छैटौं जित हो।

    शनिबार राति टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो। १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ६ विकेट गुमाएर १५६ रन बनाउँदा ७ रनको पराजय भोगेको हो।

    सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले ६५ रन बनाए। ३८ बलको सामना गरेका उनले समान चारचार चौका र छक्का हिर्काएका थिए।

    रिजा हेन्ड्रिक्स भने १९ रन बनाउँदा दक्षिण अफ्रिकाका लागि ओपनरले ८६ रनको साझेदारी गरेका थिए। डेभिड मिल्लरले २८ बलको सामना गर्दै नटआउट ४३ रन बनाउँदा दुई छक्का र चार चौका प्रहार गरे।

    दक्षिण अफ्रिकाको आक्रामक व्याटिङलाई रोक्न इंग्ल्यान्डका जोफ्रा आर्चरले तीन विकेट लिँदा मोइन अली र अदिल रसिदले एक-एक विकेट हात पारे।

    १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले ५३ रन बनाए। ३७ बल खेलेका उनले ७ चौका प्रहार गरेका थिए। लियाम लिभिङ्स्टोनले ३३ बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो योगदान गर्न सकेनन्। इंग्ल्यान्डमाथि रोचक जित निकाल्न दक्षिण अफ्रिकाका बलर कागिसो रबडा र केशव महाराजले दुई–दुई विकेट लिए भने आर्नियल बार्मिन र अर्निच नोर्कीयाले एकएक विकेट हात पारे।

    ‘सुपर ८’ को पहिलो खेलमा अमेरिकाविरुद्ध १८ रनको जित निकालेको दक्षिण अफ्रिकाले यो जितसँगै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।

    सुपर ८ को पहिलो खेलमा वेस्ट इन्डिजलाई आठ विकेटले हराएको इंग्ल्यान्ड भने दोस्रो खेल खेल्दा दुई अंकमा सीमित भएको छ। यो समूहमा अमेरिका र वेस्ट इन्डिजले खाता खोल्न सकेका छैनन्।

  • सुपर-८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित

    सुपर-८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित

    काठमाडौं ।  आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर ८ को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको छ। आन्द्रियस गोउसले अफ्रिकाविरुद्ध शानदार अर्धशतक बनाएपनि अमेरिकालाई हारबाट जोगाउन सकेनन्।

    सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको १९५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १७६ रन बनाउँदा १८ रनको पराजय भोगेको हो।

    अमेरिकाका लागि आन्द्रियस गोउसले नटआउट ५ चौका र ५ छक्काको ४७ बलमा ८० रनको योगदान दिए। तर अमेरिकालाई जित दिलाउन सकेनन्।

    हरमित सिंहले गोउससँग ९१ रनको साझेदारी गर्दा उनले ३८ रन बनाएका थिए।

    ओपनर स्टिभन टेलरले १४ बलमा २४ रन बनाउँदा कोरी एन्डरसनले १२ बलमा १२ रन जोडेका थिए। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

    दक्षिण अफ्रिकाका लागि कासिगो रबाडाले तीन विकेट लिए भने केशव महाराज, एनरिच नोर्टजे र ताब्रियाज साम्सीले एकएक विकेट हात पारे।

    टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा चार विकेटको क्षतिमा १९४ रन बनाएको थियो। उसका लागि ओपनर क्वीन्टन डी ककले सर्वाधिक ७४ रन बनाएका थिए। उनले मात्र ४० बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै उनले शानदार अर्धशतक बनाए।

    कप्तान ऐडन मार्क्रमले ३२ बलमा ४६ रन रन जोड्दा हेनरिच क्लासनले २२ बलमा ३६ रन बनाए। ट्रिस्टन स्टब्सले १६ बलमा २० रन बनाएका थिए।

    अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले समान दुईदुई विकेट हात पारेका थिए।

  • आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रको छलाङ

    आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रको छलाङ

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ नेपालीका प्रभावशाली खेलाडी दीपेन्द्रसिंह ऐरीले ठुलो फड्को मारेका छन् ।

    पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ दीपेन्द्र छैटौँ स्थानमा उक्लिएका छन् । अघिल्लो वरीयताको तुलनामा उनी तीन स्थान माथि उक्लिएका हुन् । अलराउन्डर वरीयताको पहिलो स्थानमा अस्ट्रेलियाका मार्कुस स्टोइनिस रहेका छन् ।

    यसैगरी दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा, तेस्रो स्थानमा बंगलादेशका सकिब अल हसन, चौथो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी र पाँचौँ स्थानमा जिम्बाबेका सिकन्दर राजा रहेका छन् ।

    पछिल्लो अलराउन्डर वरीयतामा भारतका हार्दिक पाण्ड्या, इङ्ल्यान्डका लियाम लिभिङस्टोन र मोइन अली, दक्षिण अफ्रिकाका एडिन मारक्रम, पाकिस्तानका इमाद वसिम नेपालका दीपेन्द्रभन्दा पछाडि रहेका छन् ।

    हार्दिक सातौँ, लिभिङस्टोन आठौँ, मोइन अली नवौँ र एडिन मारक्रम १०औँ र इमाद वसिम ११औँ स्थानमा छन् । अलराउन्डर वरीयतामा वेस्ट इन्डिजका रोमारियो सेफर्ड १४औँ, पाकिस्तानका सादाब खान १५औँ, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल १८औँ र मिचेल मार्स २०औँ स्थानमा छन् ।

  • कप्तान रोहितसँग आक्रामक बनेका बंगलादेशी बलरलाई आईसीसीको कारबाही

    कप्तान रोहितसँग आक्रामक बनेका बंगलादेशी बलरलाई आईसीसीको कारबाही

    काठमाडौं ।  नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसँग आक्रामक व्यवहार देखाएका बङ्गलादेशका बलर तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ ।

    जारी टी-२० विश्वकप अन्तर्गतको खेलका क्रममा आईसीसीले सकिबले आईसीसीको नियम विपरित व्यवहार गरेको भन्दै म्याच फिसको १५ प्रतिशत जरिवाना गरेको हो ।

    आइतबार सेन्ट भिसेन्टमा समूह चरणको अन्तिम खेलमा कप्तान रोहित र बंगलादेशी बलर तान्जिमबीच झगडा भएको थियो।

    नेपाल र बंगलादेशविरुद्धको खेलमा बलिङ गर्ने क्रममा सकिबले खेलको तेस्रो ओभर पछि आक्रामक हुँदै भनाभन गरेका थिए ।

    त्यसपछि दुवै खेलाडी बीच भनाभन भएको र एम्पायरले दुवैलाई अलग गरेका थिए । सकिबको गलत व्यवहार बारे एम्पायरले त्यति नै बेला बंगलादेशका कप्तान नाजमुल होसैन शन्तोलाई जानकारी गराएका थिए ।

    आईसीसीले जरिवानाको अलावा सकिबलाई एक डिमेरिट अंक समेत दिएको छ । २४ महिनाको अवधिभित्र कुनै खेलाडीको चार वा सोभन्दा बढी डिमेरिट अंक पुगेमा निलम्बन अंकमा परिणत हुने र खेलाडीलाई प्रतिबन्ध लगाइन्छ। यो अवधिमा सकिबको यो पहिलो डिमेरिट अंक हो ।