गण्डकीमा आयो ३२ अर्ब ९७ करोडको बजेट

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शनिबार प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री डा. टकराज गुरुङले सो बराबरको बजेट प्रस्तुत गरे । त्यसमध्ये पूँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार र चालूतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ।

वित्तीय व्यवस्थाका लागि यो वर्ष ३ करोड छुट्याइएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ५ अर्ब १७ करोड रुपैयाँ, चालू आवको खर्च नभई बाँकी रहन जाने अनुमानित २ अर्ब ९४ करोड रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँड बापत प्राप्त ९ अर्ब ६१ करोड १२ लाख रुपैयाँ, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

त्यसैगरी बजेटमा वित्तीय समानीकरण अनुदानबाट प्राप्त ७ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ र सशर्त अनुदानबाट ३ अर्ब १० करोड ११ लाख रुपैयाँ तथा नेपाल सरकारबाट प्राप्त हुने समपूरक अनुदान बापत १ अर्ब १९ करोड रुपैयाँ र विशेष अनुदान बापत ६५करोड ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

दिगो र उत्थानशील पूर्वाधार निर्माण, आय उत्पादन र रोजगारीमा वृद्धि, सामाजिक विकास र समतामूलक समाजको स्थापना, सर्वसुलभ स्वास्थ्य र गुणस्तरीय शिक्षा, सन्तुलित क्षेत्रगत विकास र सुशासन प्रवर्द्धन, गुणस्तरीय सेवाप्रवाहलगायत बजेटले प्राथमिकता दिएको छ ।

साथै खेल क्षेत्रलाई प्राथमिकता दिँदै उचाइमा खेल, खेलमा उचाइ कार्यक्रम संचालन गर्ने भएको छ । उच्च उचाइमा खेल तालिम केन्द्रको पूर्वाधार निर्माण गर्ने कार्य आगामी आवमा सुरुआत गरी उच्च उचाइको खेलका लागि उचाइमा खेल, खेलमा उचाइ कार्यक्रमका लागि आवश्यक व्यवस्था मिलाएको अर्थमन्त्रीले उल्लेख गरे ।

प्रदेश सरकारले खेलाडीको सम्मानमा समेत बजेट विनियोजन गरेको र प्रदेशका ख्यातिप्राप्त खेलाडीको सम्मान कार्यक्रम संचालनका लागि आवश्यक बजेट व्यवस्था मिलाइएको अर्थमन्त्री गुरुङले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *