Author: खोज प्रेस

  • पाल्पाली कप २०२६: रोमाञ्चक भिडन्तको तयारी

    पाल्पाली कप २०२६: रोमाञ्चक भिडन्तको तयारी

    दुबई । पाल्पाली समाज यूएईले आयोजना गर्न लागेको प्रथम पाल्पाली भलिबल कप–२०२६ को टाइसिट सार्वजनिक गरिएको छ।

    सन् २०१४ मा स्थापना भएको यूएईस्थित पाल्पालीहरूको साझा संस्था पाल्पाली समाज यूएईले आयोजना गर्न लागेको प्रतियोगितामा १५ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिए।

    प्रतियोगिताअन्तर्गत पहिलो खेल आइतबार बिहान ९:३० बजे कास्की आदर्श समाज र रूपन्देही बुटवल भलिबल टिमबीच हुनेछ। प्रतियोगिता आइतबार बिहान ९ बजेदेखि दुबईको अल खवानिज–२ स्थित स्पार्ट स्पोर्ट्स एकेडेमीमा सञ्चालन हुनेछ।

    खेलकुदमार्फत आपसी एकता, ऊर्जा र सामाजिक सद्भावलाई थप सुदृढ बनाउने उद्देश्यका साथ पाल्पाली समाज यूएईले पहिलोपटक उक्त प्रतियोगिताको आयोजना गर्न लागेको जनाएको छ।

    टाइसिट सार्वजनिक कार्यक्रममा पाल्पाली समाज यूएईका संरक्षक खुमबहादुर आले, वेदप्रसाद अर्याल, व्यवसायी तथा समाजसेवी एकेन्द्रबहादुर थापा तथा प्रतियोगितामा सहभागी विभिन्न टोलीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

  • क्षेत्री समाज नेपाल युएईको अध्यक्षमा ढकाल निर्वाचित

    क्षेत्री समाज नेपाल युएईको अध्यक्षमा ढकाल निर्वाचित

    दुबई । क्षेत्री समाज नेपाल युएई शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कृष्णबहादुर ढकाल क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

    निर्वाचन समिति संयोजक दीपक खड्काका अनुसार उपाध्यक्षमा सुदिप कार्की र दीपक राउत चयन भएका छन् । महिला उपाध्यक्षमा हिरा केसी, सचिवमा भीम केसी, सहसचिवमा टेस्रो खड्का, कोषाध्यक्षमा होमबहादुर महत तथा सहकोषाध्यक्षमा कमल केसी निर्वाचित भएका छन् । समितिमा अन्य सदस्यसहित २१ सदस्यीय कार्यसमिति गठन गरिएको जनाइएको छ ।

    अधिवेशनमा नेपालबाट जुममार्फत सहभागी भएका क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष रिवबहादुर थापा, अन्तर्राष्ट्रिय प्रवास इन्चार्ज हंसराज ढकाललगायत केन्द्रीय प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष रिवबहादुर थापाले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले प्रवासमा रहेका सम्पूर्ण खस क्षेत्री समुदायलाई संस्थामा आबद्ध गराउँदै समुदायको संस्कार र संस्कृतिको संरक्षणमा सक्रिय भूमिका खेल्न आग्रह गरे ।

    अधिवेशनले प्रवासमा रहेका क्षेत्री समुदायबीच संगठनात्मक एकता, सहकार्य तथा सामाजिक समन्वयलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।

  • ज्योति माविमा ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रम, अभिभावकको भूमिकामाथि जोड

    ज्योति माविमा ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रम, अभिभावकको भूमिकामाथि जोड

    दिपक खाती, नवलपरासी । सुनवल नगरपालिका ७, अस्नैया स्थित  ज्योति माध्यमिक विद्यालयमा ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रम सम्पन्न भएको छ।

    लुम्बिनी प्रदेश सरकार अन्तर्गत सञ्चालित उक्त कार्यक्रमकालागि सुनवल नगरपालिकाभित्र ज्योति माध्यमिक विद्यालय मात्रै छनोटमा परेको विद्यालयले जनाएको छ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष नारायण आचार्य प्रमुख अतिथि रहेका थिए। नगर शिक्षा अधिकृत पशुपति भट्टराई विशिष्ट अतिथिका रूपमा सहभागी थिए भने कार्यक्रमको सञ्चालन शिक्षक पप्पु पाण्डे मगरले गरेका थिए।

    कार्यक्रममा पूर्वविद्यार्थी दुर्गा सोर्खाली, सुदिप खनाल, शङ्कर पुरी लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा वक्ताहरूले विद्यार्थीको शैक्षिक तथा नैतिक विकासमा अभिभावकको भूमिका महत्वपूर्ण हुने बताएका थिए। विद्यालय, शिक्षक र अभिभावकबीचको सहकार्य बलियो भए मात्रै विद्यार्थीलाई उत्कृष्ट बनाउन सकिने धारणा उनीहरूले राखेका थिए।

    अभिभावकमुखी चेतना अभिवृद्धि गर्दै विद्यालयप्रति अपनत्व बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

  • ११ वर्ष पूरा गर्दै पाल्पाली समाज युएई, भव्य समारोह सम्पन्न

    ११ वर्ष पूरा गर्दै पाल्पाली समाज युएई, भव्य समारोह सम्पन्न

    संयुक्त अरब इमिरेट्समा रहेका पाल्पालीहरूको साझा संस्था पाल्पाली समाज युएईले आफ्नो ११औँ वार्षिक उत्सव सम्पन्न गरेको छ।

    सन् २०१४ (वि.सं. २०७१) मा स्थापना भएको समाजले बरदुबईमा वार्षिकोत्सव आयोजना गरेको हो। कार्यक्रममा समाजका अध्यक्ष कैलाश अर्यालको अध्यक्षता तथा नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो।

    समारोहमा संस्थाको आर्थिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने प्रवासमा रहेर विभिन्न क्षेत्रमा सफलता हासिल गरेका पाल्पाली नागरिकलाई सम्मानसमेत गरिएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राम मोक्तानले पाल्पाली समुदायको आपसी सद्भाव, सहयोगी भावना र सक्रियताले पाल्पाको पहिचानलाई प्रवासमा अझ मजबुत बनाएको बताए। उनले आगामी दिनमा नेपाली समाज युएई र पाल्पाली समाज युएईबीच सहकार्यलाई थप सुदृढ बनाइने धारणा व्यक्त गरे।

    कार्यक्रममा दुबईलाई कर्मथलो बनाएका लोक तथा दोहोरी गायक अर्जुन न्यौपाने तथा निरुता गैरेले सांगीतिक प्रस्तुति दिएका थिए।

    समारोहमा नेपाली समाज युएईका पार्षद अध्यक्ष कमल गिरी, लुम्बिनी प्रदेश समाज युएईका अध्यक्ष नारायणप्रसाद अधिकारी, पाल्पाली समाज युएईका संरक्षक तथा सल्लाहकार कृष्णप्रसाद आचार्य, खुमबहादुर आले, ओमकुमारी खाँण, बेदप्रसाद अर्याललगायत विभिन्न प्रदेश, जिल्ला तथा नगरस्तरीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रम संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाको स्वागत मन्तव्य तथा महासचिव खुमप्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो।

  • कृति तथा क्यालेन्डर बिमोचन सम्पन्न

    कृति तथा क्यालेन्डर बिमोचन सम्पन्न

    यूएईमा नेपाली मिडिया र नेपाली समाजलाई एकसूत्रमा जोड्ने उद्देश्यसहित आयोजित “कृति तथा क्यालेन्डर बिमोचन कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रममा सेतोमसीबाट प्रकाशित पत्रकार कमला अर्यालद्वारा लिखित “नारी नेतृत्व” कृतिको साथै लुम्बिनी पाना मिडियाको क्यालेन्डर बिमोचन गरिएको थियो।
    कार्यक्रमको अध्यक्षता लुम्बिनी पाना मिडियाका बिदेश बिभाग प्रमुख निशान्त पाठकले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तानको उपस्थिति रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा लुम्बिनी प्रदेश समाज यूएईका अध्यक्ष नारायण अधिकारी सहभागी रहेका थिए।
    त्यसैगरी अतिथिहरूमा एनआरएनए एनसीसी यूएईका उपाध्यक्ष तथा ट्रस्टेड की टाइपिङ सेन्टरका सञ्चालक रुद्र थापा, भेराइटी मोमोका सञ्चालक आशिष पुरुष, पाल्पाली सेवा समाज यूएईका सदस्य राजु बस्याल, स्याङ्जा सेवा समाज प्रमुख सह सचिव कल्पित भण्डारी, देवदह सेवा समाज यूएईका अध्यक्ष श्याम बस्याल, सगरमाथा टुर्स एण्ड ट्राभल्सका सञ्चालक ताराप्रसाद खनाल, पर्वत समाज यूएईका अध्यक्ष पूर्णप्रसाद भुसाल, धौलागिरि टुर्स एण्ड ट्राभलका संचालक उमेश भुसाल, तपस्या एकाउन्टिङकी एकाउन्ट म्यानेजर एवं देवदह सेवा समाज यूएईकी प्रतिनिधि बिन्दु अधिकारीलगायतको उपस्थिति रहेको थियो।
    कार्यक्रमका अध्यक्ष निशान्त पाठकले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यूएईमा रहेका नेपालीहरूको संघर्ष, सफलता र प्रेरणादायी कथालाई सञ्चारमाध्यममार्फत उजागर गर्नु मुख्य लक्ष्य रहेको बताए। उनले प्रवासमा रहेका नेपाली समुदायको सहयोग, सहकार्य र सहभागिताले यस्ता सिर्जनात्मक तथा सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
    कार्यक्रममा बोल्ने विभिन्न अतिथिहरूले यूएईमा आफ्नो अनुभव सुनाउँदै लुम्बिनी पाना र सेतोमसीले नेपाली समुदायका आवाज, अनुभव र गतिविधिलाई उजागर गर्ने दिशामा सकारात्मक सुरुआत गरेको बताए। समाचार तथा सामग्री प्रकाशन गर्दा अध्ययन, अनुसन्धान र तथ्यमा आधारित भएर प्रस्तुत गर्न सुझावसमेत दिएका थिए।
    प्रमुख अतिथि राम मोक्तानले नेपालबाट विदेशमा आएपछि पनि कामसँगै समाजसेवा र सामुदायिक गतिविधिमा सक्रिय रहन सकिने धारणा व्यक्त गरे। उनले कुनै पनि काम असम्भव नहुने उल्लेख गर्दै इमानदारी, निरन्तरता र मेहनतका साथ अघि बढे सफलता हासिल गर्न सकिने बताए। साथै, नेपाली समाज यूएई तथा व्यक्तिगत रूपमा आफूबाट हुनसक्ने सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
    आयोजकका अनुसार सेतोमसीबाट प्रकाशित कमला अर्यालको “नारी नेतृत्व” कृतिले महिलाको नेतृत्व, क्षमता विकास, सामाजिक भूमिका तथा सशक्तिकरणका विविध पक्षलाई समेटेको छ। त्यसैगरी बिमोचन गरिएको लुम्बिनी पाना क्यालेन्डरलाई मिति हेर्ने माध्यम मात्र नभई नेपाली कला, संस्कृति, पहिचान तथा सामाजिक सम्बन्धलाई जोड्ने माध्यमका रूपमा प्रस्तुत गरिएको थियो।
    साहित्य, कला र सिर्जनाले समाजलाई सभ्य, सुसंस्कृत र जागरूक बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आयोजकले यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपाली समुदायलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरेका थिए।

  • डलर तिरेर पोस्ट बुस्ट, माननीयको प्राथमिकता प्रचार कि काम ?

    डलर तिरेर पोस्ट बुस्ट, माननीयको प्राथमिकता प्रचार कि काम ?

    राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद श्रद्धा कुंवरले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना पोस्टहरू बुस्ट गर्न डलर खर्च गरेको देखिएपछि आलोचना सुरु भएको छ।

    पछिल्लो समय उनका पोस्टहरू ‘स्पोनसर’ रूपमा प्रयोगकर्ताको फिडमा देखिन थालेका छन्। सार्वजनिक पदमा बसेको व्यक्तिले आफ्ना गतिविधि र विचार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु सामान्य भए पनि, पहुँच बढाउन पैसा खर्च गर्नु कत्तिको उचित हो भन्ने प्रश्न उठेको छ।

    कतिपयले यसलाई कामभन्दा प्रचारलाई प्राथमिकता दिने प्रवृत्ति भन्दै टिप्पणी गरेका छन्। “काम राम्रो भए बुस्ट नगर्दा पनि जनसमर्थन आफैं बढ्छ,” भन्ने प्रतिक्रिया सामाजिक सञ्जालमै देखिन थालेको छ।

  • “राजनीतिक हस्तक्षेपले आजित भण्डारी, अन्ततः दिए राजीनामा”

    “राजनीतिक हस्तक्षेपले आजित भण्डारी, अन्ततः दिए राजीनामा”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवदह नगर सभापति किरण भण्डारीले देवदह आदर्श बहुमुखी क्याम्पसको सञ्चालक समितिबाट राजीनामा दिएका छन्।

    भण्डारीले सामाजिक सञ्जालमार्फत विद्यालय तथा क्याम्पसहरूमा राजनीतिक हस्तक्षेप हुन नहुने जनाउँदै आफूले उक्त समितिबाट राजीनामा दिएको जानकारी दिएका हुन्।

    यसअघि प्रकाशित समाचारमा किरण भण्डारीले पार्टी पदबाट राजीनामा दिएको भनी उल्लेख गरिएकोमा तथ्यगत त्रुटि भएकोले सच्याइएको छ। – सम्पादक

  • घुमन्ते मन, घुमन्ते बादल

    घुमन्ते मन, घुमन्ते बादल

    आज घरको बरन्ढा बसिरहँदा एउटा घुमन्तेको याद आयो। आकाश निलो थियो। मैँले त्यो घुमन्तेलाई बोलाएँ ……

    कता छौ तिमी, आकाश त निलो छ ।

    कता हरायौ तिमी, अस्तित्व नै हराय जस्तै ।

     

    ए बादल म यता छु, आउ यता ।

    खुसी देखिन्छौ त आज, म जस्तै ।

    शान्त छौ त तिमी आज धेरै ।

    हसिँलो छ त तिम्रो मुहार, मेरो जस्तै ।

    तिमी त धेरै ठाँउ डुल्ने गर्छौ रे ।

    शीतल र पानी दिने गर्छौ रे, आँसु जस्तै।

    फरक फरक आकार बनाइ गिज्याउने गर्छौ रे ।

    कतै बाघ रे त कतै मेरो दिल जस्तै।

    शरद ऋतुतका शान्त हुने गर्छौ रे ।

    जता ततै खडेरी पार्छौ रे, सुख्खा आँखा जस्तै ।

    तिमिलाई गर्मीदेखि रिस उठ्ने गर्छ रे।

    कालो विशाल हुने गर्छौ रे, म रातो भए जस्तै।

    घामले माथिबाट पोल्दा आँसु तल झार्ने गर्छौ रे ।

    बाडि पहिरो ल्याउँछौ रे, घाइते मुटु जस्तै ।

    आँसुले तिम्रो खडेरिलाई चड्कन हान्नेगर्छौ रे।

    किसानको खेतमा हरियाली ल्याउने गर्छौ रे, बसन्त जस्तै ।

    पोल्दा घामले तिमीलाई आत्थु आत्थु गर्ने गर्छौ रे।

    पैतलामा शीतल ल्याउँछौ रे, त्यो गरिबलाई जस्तै।

    आँधी हुरि पनि तिमीले नै ल्याउने गर्छौ रे,

    गड्याङ गुडुङ्ग गरि तर्साउने गर्छौ रे, त्यो भोको पेट जस्तै ।

    – रोहन रेग्मी

  • बेलायतमा रनिङ शिल्ड भलिबल प्रतियोगिता हुंदै

    बेलायतमा रनिङ शिल्ड भलिबल प्रतियोगिता हुंदै

    लन्डन- बेलायतको मिडल्यान्डमा बस्ने नेपालीहरुको प्रतिनिधि संस्था साझा नेपाली समाज यूकेको आयोजनामा एक खुला भलिबल प्रतियोगिता हुने भएको छ ।

    सेप्टेम्बर ८ तारिख सोमबारका दिन बेलायतस्तरीय ‘प्रथम साझा रनिङ शिल्ड भलिबल प्रतियोगिता’ तय भएको हो ।

    नटिङहमको एसर ग्रोभ, कभ्यालियर्स एण्ड क्यारिङटन क्रिकेट क्लबमा प्रतियोगिता सञ्चालन हुनेछ ।

    प्रतियोगिताका संयोजक एवम् साझा नेपाली समाज यूकेका अध्यक्ष दीपक सापकोटाका अनुसार प्रतियोगितामा सहभागिताका लागि बेलायतभरका नेपाली खेलाडीका टीमहरुलाई दर्ता खुला गरिएको छ ।

    इच्छुक टीमहरुले आयोजकलाई सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन सक्नेछन् । टीम दर्ता शुल्क २ सय ५० पाउण्ड लाग्नेछ ।

    सेप्टेम्बर ५ तारिखभित्र टीम दर्ता गर्न आयोजकले आग्रह गरेको छ । टीम दर्ताका लागि संयोजक दीपक सापकोटा 07796065638 र सहसंयोजक शिव खराल 07791304035 लाई सम्पर्क गर्न सकिनेछ ।

    प्रतियोगिताका विजेता टीमहरुलाई आकर्षक पुरस्कार व्यवस्था गरिएको छ । जसअनुसार विजेता टीमले नगद १६ सय पाउण्ड, उपविजेताले ९ सय पाउण्ड तथा तेस्रो हुने टीमले ४ सय पाउण्डसहितको पुरस्कार प्राप्त गर्नेछन् ।

    प्रतियोगिताको प्रमुख प्रायोजक ‘एभरेष्ट एण्ड को अकाउन्टिङ’ छ ।

    प्रतियोगितालाई अर्को वर्षदेखि युरोपस्तरीय बनाउने योजना आयोजकको छ । आगामी वर्षदेखि अन्डर १८, ओभर ५०, महिलालगायतका छुट्टै क्याटेगोरीहरु पनि थपिने संयोजक सापकोटा बताउँछन् ।

    साझा नेपाली समाज यूकेका अध्यक्ष सापकोटाकै संयोजनमा यसअघि हरेक वर्ष मिडल्यान्ड क्रिकेट लिग आयोजना हुंदै आएको छ । बेलायतका नेपाली युवालाई खेलप्रति प्रोत्साहन गर्ने लक्ष्य लिएको संस्थाले यसपटकदेखि भलिबल प्रतियोगिता शुरु गरेको अध्यक्ष सापकोटाले बताए । आउँदा दिनमा क्रिकेट, भलिबलसंगै फुटबलसमेत आयोजना गर्ने लक्ष्य राखिएको उनले बताए ।