मारे पाप पाले पुण्य भनी छोरी नअन्माउनु 

अनिता रेग्मी । एउटै कोखबाट जन्मिएका छोराछोरी, आफ्नै दिदिबहिनी, दाजुभाइको विचार त मिल्दैन। फरक फरक सोच्ने तरिका हुन्छ, बानी बेहोरा फरक हुन्छ। त्यसैले बिहे भनेको भनेको त दुई जना फरक कोखबाट जन्मिएका, फरक सोच, फरक बानी बेहोरा र फरक विचार भएका मान्छेहरूबीच हुने कुरा हो। बिहे पछि अनेक समस्याहरू आउन सक्छन्, सोच नमिल्न सक्छ, बिचार नमिल्न सक्छ, मन मुटाब पनि हुन सक्छ। समस्याको समाधान पनि हुन्छ, आफैले सक्ने बेला सम्म सम्झौतासँग सम्बन्ध बचाउने प्रयास गरिन्छ। तर यदि सम्झौतामा जीवन चल्दैन भन्ने पक्का भएपछि कानूनी सहयोगमा सम्बन्ध बिच्छेद गरेर आफ्नो खुशीको बाटोमा जान सकिन्छ र गर्नु नै यही हो।

एउटा आमा-बाबाले आफ्नो छोरीलाई कसैको रिस वा यातना सहन र अन्त्यमा मारेर फाल्न बिहे गरेर दिएको होइन। मन मिल्न सक्छ भने मिलेर बस्न सकिन्छ, तर कसैले पनि छोरीलाई मारेर फाल्ने अधिकार छैन। एउटा छोरीलाई जन्माएर बिहे गरेर पठाउँदा कुनै आमा-बाबाले सोचेका हुँदैनन् कि मेरो छोरीलाई यस्तो दिन देख्न पर्ला। कहिले दाइजो भएन, कहिले सम्पत्ति ल्याएन, कहिले आफ्नो खुशी गर्न पाएन भन्ने बहाना बनाइन्छ। कसैले फुल जसरी हुर्काएर बिहे गरेर पठाएको छोरीलाई मारेर फाल्न कुन नैतिकताले अनुमति दिन्छ? सानो हुँदा छोराछोरीले घरमा चकचक गर्दा त्यस्तो नगर भनेर सिकाउने आमा-बाबाले, आफ्नो छोराले बहिनीसँग यातना, कुटपिट गर्दा र अन्त्यमा मार्दा एक शब्द पनि बोल्न सक्दैनन्। कतिपय ठाउँमा त छोरा मार्नेमा सघाउने उसको बाबु-आमा नै हुन्छन्। यदि तिमीलाई मारे भने के होला? एउटा सानो कुकुरको बच्चालाई मायाले पालेर हुर्काउने हो भने मान्छेको छोरीलाई मार्दा हातखुट्टा काम्दैन? कति निच र निर्दयी? सुख-दुखमा साथ दिने भनेर बिहे गरेर लिएको मान्छे चित्त बुझेन भने, आफूलाई बाच्न र उसलाई बाच्न दिने कुरा सोच्न सकिँदैन? आफूले चाहेको जस्तो भएन भने, उसले आफ्नो विचारमा सहमति दिएन भने उसलाई बाच्ने अधिकार नै छैन? यस्ता अमानवीय व्यक्तिहरूबाट आफ्नो छोरीलाई जोगाउने तरिका के हो? केही हदसम्म छोरीका बाबु-आमाले पनि बुझ्नुपर्छ। बिहे गरेर पठाएपछि जिम्मेवारी सकियो भन्ने सोच आउने हो भने, तिम्रो छोरीले ममता जस्ता कैयौं अरूको जस्तै ज्यान गुमाउनु पर्नेछ। मारे पाप पाले, पुन्य भनेर नअन्माउनु छोरीलाई। मैले मान्छे लाई छोरी दिएको हुँ, पशु निस्किए भने पशुजस्तो व्यवहार गर्न हामीलाई पनि आउँछ भनेर पठाउनु। छोरीलाई बिहे पछि केहि परे आमा-बाबाले सम्झनुहोस्, यो घर सम्झनुहोस्। बिहे पछि छोरीको घर बिग्रेर इज्जत जाने होइन, त्यो भन्दा दुःख त त्यतिबेला लाग्छ। आफ्नै छोरीले मायतिको इज्जत जाला भनेर ज्वाई र उसको परिवारको दिनरातको यातना सहन्छे र एकदिन घरकाले मिलेर मारेको भन्ने खबर सुन्नु पर्छ! मरेको छोरिको लास हेर्नु जानु भन्दा घर बिग्रेर जीवित छोरीलाई ल्याउनु जाति हो।

अझै कति ममता मर्नु? अझै कति ममताका आमा-बाबाले चोट सहनु? अनि अझै कति ममताका छोराछोरी टुहुरा हुनु? सबैको जीवनमा बिहे राम्रोसँग नचले, नचले भने आफ्नो बाटो लाग। तर कसैले फुल जसरी सम्हालेर राखेको छोरीलाई मारेर फाल्ने अधिकार कुनै नलायक पुरुषलाई छैन। यस्ता नलायक पुरुष र उनीहरूलाई सघाउने उनका आफन्त परिवार समाजका कलंक मात्र हुन्। र यस्ता पशु जस्तो सोच भएका व्यक्तिहरूलाई कहिल्यै नर्कमा पनि बास नहोस्।

“ममता, तिमीलाई चिनेका छैनौं, तर तिमीले सहेका सबै यातना र दुःखहरू कसैले देख्न सकेन। तिमीले जीवन रक्षाका लागि गरेको संघर्षहरू व्यर्थ गए। तर तिमीलाई जीवनभर नर्क देखाउने पशुहरूले सजाय पाउने आशा छ। तिम्रो आत्माले शान्ति पाओस्। जीवनमा नपाएको शान्ति मृत्यु पछि मिलोस्। बैकुण्ठ बास होस् तिम्रो।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *