सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गर्छौं : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् ।

मंगलबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले नीति ल्याएर, कानुन बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने बताएका हुन् ।

‘सरकारले गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानुन ल्याएर भए पनि जनताको बचत फिर्ता गरिन्छ,’ उनले भने, ‘सञ्चालकको जायजेथा बिक्री गर्न कानुन अभाव भनिएको छ । यदि हो भने कानुन बनाएर भए पनि तिनको सम्पत्तिबाट बचत फिर्ता गर्ने क्रमको सुरुवात हुन्छ ।’

रास्वपाका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले रास्वपालाई रोक्न नसकिए आफ्नो दिन सकिने ठानेर नै पुराना दलहरूले आफूहरूलाई घेराबन्दी गर्न थालेको बताए । अहिलेसम्म जनतालाई झुक्याए पनि अब नसक्ने भन्दै उनले इलामलाई अहिलेसम्म झुक्याउनेलाई उपनिर्वाचनमा इलामले नराम्रोसँग झुक्याउने दाबी पनि गरे ।

‘इलाममा अहिलेसम्म कतिले झुक्याए थाहा छैन । तर, यसपटक इलामेली जनताले विवेक प्रयोग गरेर घण्टीमा भोट हालेर सबैलाई झुक्याउने छन्,’ उनले भने, ‘तर यो झुक्याइले देशभर परिवर्तनको लहर ल्याउने छ । र, त्यो लहरले २०८४ मा रास्वपाको एकलौटी विजय यात्रालाई कसैले रोक्न सक्दैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *