“विदेश जानु कि देशमा बस्नु”

बिदेश पो जाउँ कि ?
पढाइलाई निरन्तरता दिएर देशमा केही गरुँ कि ?
पढाइ छोडेर केही व्यवसाय पो गरुँ कि ?
कसैले नदेख्ने, कोही नआउने ठाउँमा गएर अर्कै परिचय बोकेर पो बसुँ कि ?

जब जिम्मेवारीहरू बढ्दै जान्छन्, एक्कासि, पढाइ गर्दै गरेको मान्छेलाई जब जिम्मेवारी बोध हुँदै जान्छ, तब हाँस्दै गरेको मान्छेलाई भित्रबाट खुशी हुन रोकिदिन्छन् यी अनि यस्तै सवालहरूले।

अझ पनि बच्चा जस्तै गरी जिस्किँदै, बच्चा जस्तै गरी हिँडडुल साथीभाइहरूसँग गर्दै गरेकोलाई एक्कासि जिन्दगी त बल्ल सुरु पो हुँदै रहेछ भन्ने बोध गराइदिन्छ। उसले बुझेको हुँदैन कि आउने दिनहरूमा कति संघर्षका बाटाहरू पार गर्नु छ उसले अझै।

कोही साथीभाइ घरबार बसाएर एक किसिमले अघि बढिरहेका हुन्छन्,
र कोही बिदेश हुइकीसकेका हुन्छन्,
कोही आफ्नै व्यवसाय सुरु गरिरहेका हुन्छन्
त कोही म जस्तै हुन्छन्, के गर्ने के नगर्ने अन्योलमा।

धेरै कुरा भएर पनि केही बोल्न सक्दैन उसले !

बाघबजार, पुतलिसडक, कुमारीपाटी, बानेश्वरका चोकचोकमा खुलेका कन्सलटेन्सीहरू, भिताभितामा टाँसिएका अनेक होर्डिङ बोर्डहरूले,
लोकसेवा पढाउने, कोचिङ इन्स्टिच्युटहरूले
बाटो हिँड्दा पनि चिच्याइचिच्याइ बोलाइरहेका हुन्छन् उसलाई ।

तर ऊ अन्योलमा हुन्छ, केही भन्नै सकिरहेको हुँदैन।
मनले अनेक भनिरहेको हुन्छ तर उसले गर्न केही सकिरहेको हुँदैन।

न त ऊ कसैलाई केही सुनाउन नै सकिरहेको हुन्छ।
दिन त जसो तसो बिताउँछ उसले,
तर रात भएपछि सताउँछ उसलाई यही जिन्दगीका अनेक कुराले।
सबैसँग भएर पनि एक्लै भइरहेको हुन्छ ऊ।

कहिलेकाहीँ त बोझ लाग्छ उसलाई जिन्दगी पनि
कति परिवारकै भरमा बाँच्नु, कति माग्दै जानु आमालाई
बस भाडाकोलागि पैसा पनि भनेर,
कति माग्नु आमालाई बाइकमा हाल्ने तेलको पैसा पनि भनेर।
भलै परिवारले त्यस्तो बोझका रूपमा कहिल्यै लिएका हुँदैनन्,
तर सोच त आउँछ मनमा।
अनि यही कुराहरूले थप्दै जान्छ जिम्मेवारी थपिएको भावना।

हो, यही समय हो, यही समय जहाँ आँखाअघि अनेक
बाटाहरू देखिएका हुन्छन् तर रोज्न एकदम गाह्रो।

दृढ भएर एउटा बाटो आज लिन सक्यौँ
र यसमा चाहिँ केही गरेरै छाड्छु भन्ने संकल्पका साथ अघि बढ्न सक्यो भने
आजको संघर्षले पक्कै भोलि मिठो फल दिनेछ।
– अनिता रेग्मी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *