फर्केर हेर्दा : ४ दिनको दशैं यात्रा

२०७९ साल।
करिब ४ बर्षपछि पहाड घर जान लाग्दाको उत्साह अनौठो थियो। बुटवलबाट मात्र ४ घण्टाको बाटो,आइपुगेकि भनेर ४०० चोटि झ्यालबाट त नियाले नै होला। झ्यालबाट नियालिरहदा ती चारैतिर बाट घेरिएका पहाडी सुन्दर दृश्यहरुले मनलाई अझ आतुर गराइरहेको थियो।

४ जनाको परिवार हाम्रो,नभन्दै प्रदेश न.४ स्थित जिल्ला स्याङ्जा पुगियो। अचम्मलाग्ला तर एकजनाको गाडिभाडा रु.४०० नै रहेछ। चारैजनाको गाडिभाडा तिरिवरि हामी झर्यौं।
अब पैदल हिड्नुपर्ने करिब ४० मिनेट। देखेचिनेका गाउँले देखभेट गर्दै हामी ओरालो लागेउं। त्यो चिसो हावापानी,सानोछदा पौडी खेल्ने त्यो खोला,घुम्तीनीर खरले छाएको त्यो बिसौनी,हरेक साझ किर्तन हुने त्यो कालिका मन्दिर अनि आफुलाइ क,ख चिनाएको त्यो ४ कोठाको स्कुल। पक्कैपनि आफू जन्मिएको ठाउँ स्वर्ग भन्दा प्यारो लाग्दो रहेछ।

घर पुगियो। पुग्नासाथ हजुरआमालाइ ढोगें। “हेर हेर, दुब्लाएर ४ हड्डी बाहेक केही बाकी रहेनछ..ए राधा,खुवाउन छोडिस कि क्याहो मेरो नाति लाई?” आमाले हासो गर्दै सोध्नुभयो। मम्मी पनि हास्नुभयो,केहि बोल्नुभएन। दुब्लाउ थिइन पनि कसरी।दिनमा ४ पटक भोक लाग्यो भनेर दुखदिने मान्छे म, आजकल ४ दिनमा मात्र ४ पटक खाएपनी बाँच्न सक्छु जस्तो लाग्छ।

गाउँ डुल्न आतुर म, भोलिपल्ट ४ नबज्दै बिउँझिएछु। सबै नित्यकर्म सकिसकेपछि म गाउँ डुल्न निस्किए।कृषि पढिरहेको म, सुरुमै त्यि बाझो खेतहरुमा आखा गयो। पल्लाघरको बुवालाई यसबारे सोधेँ। “गाउँमा ४ बर्ष भन्दा मुनि अनि ४० बर्ष भन्दा माथी उमेरका मान्छे मात्र धेरै भएपछी कस्ले गरेर खाने बाबु? सक्ने खाने कोहि तराइ त कोहि पराइ। त्यसमाथि ४ गाउँ डुलेपनि एकहल गोरु पाइने होइन..केले जोत्ने? कस्ले जोत्ने?”बुवाले थप्नु भयो। म निशब्द भए। हस बुवा भनी निस्किए।
माथिल्लो घरकि ठुलीआमा पनि डिलैमा बसेर चिया पिइरहनु भएको रहेछ। आमालाई ढोगभेट गरे। “आमा दाइ खोइ त?”
मैले सोधेँ। “आछैन बाबु” नरम स्वरमा उत्तर दिनुभयो। ४ बर्ष भैसकेछ गोबिन्द दाइ बिदेशबाट नफर्किएको। यसैगरि सबै गाउँ डुले। गाउँ रित्तो लाग्यो। ४० वटा घर भएर के गर्नु, “घर” जस्तो घर ४ वटा पनि नभएपछी…..

आज बडादशैं, ४ दिन भैसक्यो झरी परेको। आजपनि रोकिएन। ११:५२ को साइत तर टीकाटालो सकिसक्दा ४ बज्न आटेको थियो।
अर्कोदिन ४ वटा छाताओडि हामी ४ जना मामाघर तर्फ लाग्यौं।
त्यै ४० मिनेटको बाटो….पानी,हिलो,उकालो अनि सेलरोटीले भरिएका ती ४ झोला ले गर्दा आज ४ घन्टा लाग्यो। जसोतसो उकालो चडियो। अनि चारैतिर हेरेर लामो सास फेर्दै गाउँलाइ बिदा गरिदिए।

खै किन हो।
जिन्दगीको गति ४ गुणाले बडिरहेको जस्तो महसुस हुन्छ।अबको ४ दिन भित्र, रामपुरमा हुनेछु।
त्यै ४ भित्ताको कोठा।
४० जना विद्यार्थी तर त्यिनै ४ वटा मिल्ने साथी।
४ बर्षको पढाइ।
४०,००० को जागीर या त चारैतिर अन्धकार।

-अमृत न्यौपाने
AFU, Rampur
Ag,5th sem.

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *