
मृत्यु, तिमी अचम्मको पाहुना हौ।
न निम्ता, न समयको खबर, न कुनै औपचारिक परिचय—
तर तिमी आउँदा संसारको सारा ध्वनि शून्यमा हराउँछ।
तर, के यो अन्त्य हो?
कि अर्को यात्राको प्रवेशद्वार?
तिमी साँच्चै एउटा कालो पर्दा मात्र हौ,
जसको पछाडि अर्को कथा, अर्को स्वरूप, अर्को समय बस्छ।
तिमी डरको नाममा चिनिन्छौ,
तर कतिपय आत्माहरू तिम्रो अँगालोमा शान्ति खोज्छन्—
जस्तै थकित यात्रु, अन्तिम बस स्टपमा, घर फर्किएको महसुस गर्छ।
मृत्यु, तिमी कुनै शत्रु हैनौ,
तिमी त जीवनको लामो बाटोको अन्तिम चौतारी हौ,
जहाँ थकित आत्माले आफ्नै बोझलाई बिस्तारै माटोमा झार्छ
तिमी अँध्यारो पनि हौ, र अँध्यारोभित्रको उज्यालो पनि।
किनकि तिम्रो अँगालोमा, दुःखका सबै गाँठाहरू खुल्छन्,
र हामी समयको हत्कडीबाट स्वतन्त्र हुन्छौँ।
तिमीले शरीरलाई माटोसँग मिलाउँछौ,
तर आत्मालाई यात्रामा पठाउँछौ—
जस्तो नदी, जुन समुद्रमा विलीन हुन्छ तर
समुद्रकै लहर बनेर फेरी फर्किन्छ।