म प्राय भुल्छु

  • मलाई लेख्न मन पर्छ। धेरै भयो लेखेकै छैन। भुलेछु। आज लेख्छु भन्छु, साँझ भुल्छु। साँझ लेख्छु भन्छु, राति भुल्छु। भुल्दिन भन्छु। प्राय भुल्छु।

    मलाई भुलाइन्छ। म भुल्छु। म बाट भुल हुन्छ। भुल भुलाउन खोज्छु। भुल्नै भुल्छु।भुलैभुलको भुलभुलैया, अनि भुल्ने भुल भुल्न भुल्ने भुलक्कड म, भुलेको भुलेई हुन्छु।

    म प्रायभुल्छु।

     

    सबै भुल्छन्, हैन र?

     

    हैन भने,

    हिजो सधैंसंगै हुनु पर्छ भन्ने साथीहरू सम्पर्कमै छैनन्। भुलेरै त होला।

    निर्मलाको हत्यारा पत्ता लगाउँछु भन्ने पनि आज गुपचुप छन्। भुलेरै त होला।

    रंगशाला आफ्नै खर्च जोडेर भएपनि बनाउँछु भन्ने आज बेपत्ता छन्। भुलेरै त होला।

    मिचिएको सीमा म फिर्ता ल्याउँछु भन्ने आज अन्तै व्यस्त छन्। भुलेरै त होला।

    राजतन्त्र फिर्ता ल्याउँछु भनेर उफ्रिदै हिंडेहरू पनि अलपत्र छन्। भुलेरै त होला।

    १० अर्बको सड्यन्त्र पर्दा फास गर्छु भन्नेहरू सम्पर्कमै आउँदैनन्। भुलेरै त होला।

     

    सबै भुल्छन्।

     

    विदेशिएकाले देश भुले।

    स्वदेशमै हुनेहरूले इमान भुले।

    पैसा कमाउनेहरूले सम्बन्ध भुले।

    २ तले घर भाडामा चढाउनेहरूले, वृद्धाश्रममा बुवाआमा भुले।

    आज हातमा सुन लगाउनेहरू, हिज आफन्तले लगाएको गुण भुले।

    देश बनाउँछु भन्नेहरूले गरिबको मर्म भुले।

    आदर, सम्मान, संस्कार अनि धर्म भुले।

    सपना देख्नेहरूले संघर्ष र कर्म भुले।

    पढ्नुपर्ने विद्यार्थीले पढ्न भुले।

    अंग्रेजी गीत सुन्नेहरूले नेपाली गाउन भुले।

    समाचार सुनाउनेहरूले सत्य बोल्न भुले।

    न्याय दिनेहरूले आदर्श भुले…

    -Amrit Neupane

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation