जिन्दगी यस्तो भइदिए भन्ने त केवल परिकल्पना हो । बिना कुनै कल्पना पनि सहनै परेका, बुझ्नै परेका, भोग्नै परेका परिस्थिति जिन्दगी हो । धेरैको दृष्टिकोणमा जीवन र जिन्दगीको अर्थ एकै छ । तर मेरोलागी फरक अर्थ राख्छ । बाँचिरहेको पल जीवन हो तर बाँचेका पललाई समेट्दा बन्ने यादका शृङ्खला वा अध्याय जिन्दगी हो ।
जीवनको अन्तिम मुनामा म मेरो जिन्दगी समेट्दै छु ।मैले घडी हेर्न जान्दा देखि त्यही एकै ठाउँमा रहेर आफ्नो हातलाई एउटै गतिमा रिङ्गाउने त्यो घडी आजपनि त्यही ठाउँ र त्यही गतिमा छ तर ऐना हेर्दा म परिवर्तन महसुस गर्दछु । न कतै टाढा पुग्ने हतास न थकितको आराम। एकै गतिमा यति परिवर्तन ल्याउने समय कहाँ सामान्य हो र ! काखदेखि घाटको पर्खाइ सम्मको जिन्दगी मेरो स्मरणमा रहेसम्म यहाँ पोख्दै छु । मेरो जीवनको रङ्गमञ्चबाट बिदाइको पर्खाइमा म छु । जीवन यहाँसम्म आउँदा आज म एक्लो छु । यही हो जिन्दगी एक्लो, अन्तिमसम्म आइपुग्दा । त्यो बालपनदेखि यहाँसम्म आइपुग्दा जिन्दगी भनेर धेरै कुरा बुझ्ने अवसर मिल्यो। जीवनमा मिल्ने ठक्करले धेरै कुरा सिकाउदोँ रहेछ ।
सम्झिन चाहेपनि सम्झन नसकिने त्यो आमाको काखमा बिताएको शिशु काल र जीवनमा बिर्सिन चाहेरपनि बिर्सिन नसकेको त्यो पलले आजपनि मनलाई त्यही चोटमा पुर्याउँछ । बालपनमा सँगै खेलेका मितेरीहरु कहाँ पुगे कुन्नी? तर आजपनि उनीहरूसँग बिताएको पल सम्झँदा मेरा चाउरी परेका ओठ मुस्कुराउँछन्। याद पुरानो भएपनि मुस्कान भने ताजा नै हो। अनि त्यो युवक पल र जवानीको रस भरिएको पल जहाँ कसै सगैं जिन्दगानी काटुँला भन्ने रहर थियो ,केही सपना सजाएको थिए तर आज सबैसँग छुटिएर यहा आइपुगे यही हो जिन्दगी । सोचाइ एउटा थियो , खुसी एउटामा थियो अनि भाग्यले एउटासँग जोडिदियो, अनि भोगाईसंगै बुझाइमा आएको जिन्दगी फरक भइदियो। भाग्य र मन सधैँ विपरित हुदोँरहेछ । भाग्यमा नभएको मान्छे मनमाभने रहिरहने। जिन्दगीको अर्को पल जागिरको लागि ठक्कर खादाको पल । जिम्मेवारी काधँमा पर्दाको पल । श्रृणले पछ्याउँदाको पिर । पिता बन्नुको खुसी जिन्दगीको अर्को मिठासको लाली पोतिएको पल ,खुसीको मुना फक्रिएको पल । बाबा खै भन्दै खोज्ने त्यो नयन अनि मसँग खेल्न पाउदा रमाउने त्यो मुहार आजपनि सम्झन्छु। खुट्टामा राखेर उफार्दा , ढाडमा राखेर घर घुमाउँदै अनि काधमा राखेर गाउँ घुमाउँदा मेरो छोरोको ओठमा आएको मुस्कान तर हिजो आज मलाई देखेर मुस्कुराउन छोड्यो हुन त अब पहिलेको जस्तो जोस र होश कहाँ छ र ? जवानीले छोड्दै गर्दा त सबै आफैंसगं लादो रैछ । जवानीले भरिएको रसिला गाला खुम्चिँदै गर्दा पुरै जिन्दगी खुम्चिएको अनुभुति मैले गरे । जसोतसो आट गरेर यहाँसम्म आएकै हो।
जिन्दगीमा सङ्गिनी खुसी बाडेर हाँस्दाको पल अनि दुखले काधँमा रोएको पल । पल पल जोडिएर हरपल ज्ञान बाड्छ जिन्दगीले । हुन त म पनि मेरो जिम्मेवारी भनेर दौड्दैगर्दा मेरो बाबालाई छोडेर हिडेको हुँ । पृथ्वी गोलो छ । दुखैदुखले जीवन पोत्दापनि आफ्ना भनि कोही बटुल्न नपाउने खेल रहेछ जिन्दगी । हिड्दा हिड्दै लडाउने र रोक्नेसगँको भेट रहेछ जिन्दगी । लडाउने र रोक्नेको भरमा रोकिए असन्तुष्टि र कौटुहलताले एक्लो बनाउने अनि मनको आवाज सुने सबैको साथ छुटेर एक्लो हुने ।आज नियाल्छु दायाँबायाँ नकोही नकोही । जिन्दगी ज्युँदा लामो हो , सम्झँदा केवल दुई पल छ ।
एक सुख अनि अर्को दुख । जसोतसो अप्ठ्यारो भए पनि जीवनको अर्थ बुझियो । कतै कसैसँगको भेट अनि कतै बिछोड अनि अन्त्यमा एक्लो यही हो जिन्दगी । मानिसका इच्छा, चाहना र आशयहरू पूरा हुन नपाउँदै, जिन्दगीको परिभाषा नबुझ्दै एउटा जिन्दगीको अवसान हुँदोरहेछ ।