जिन्दगीभर नछुटिने भनेकाहरू, छुटिएर गए होलान्,
हरेक मोडमा साथ रहन्छु, मलाई सम्झिए मात्र पुग्छ भन्नेहरू खै कता गए कता,
आफैँ नबोलाउँदा पनि बोलाइरहने, बोल्न मन नहुँदा पनि बोल्न खोज्ने, अनि धेरै दिन नहुँदा, नबोल्दा खोजिरहनेहरू पनि आज आफैले बोलाएन भने बोल्दा पनि बोल्दैनन् होला, बोल्दे पनि कर गरे जस्तो गरि बोल्छन् होला।
साना झगडा, साना बाझाबाझ, साना मनमुटावलाई छिनमै बिर्सिएर, छिनमै एकअर्कासँगै नभइ नहुनेहरू आज साना कुरालाई मनमा लिएर साना कुरामा रिसाउँछन् होला, अनि बाझेपछि फर्किएर पनि हेर्दैनन् होला।
सुन्नै मन नलाग्दा पनि तिमी सुन्न दिन्थ्यौ, अनि उनीहरूले दुखदेखि सुखका कुराहरू सुनाउँदै आउँथे होला। कहिले मजाक पनि बन्थ्यो होला अनि कहिले आँसु पनि बग्थे होला। आज सुनाउने धेरै कुरा भएर पनि सुनाउँदैनन् होला र तिमीले सुन्न पाउँदैनौ होला।
कसैसँग नजिक हुन पनि डर लाग्न थालेको छ। के थाहा कति बेला नजिक भइन्छ अनि माथिका कुराहरू दोहोरिने पो हुन्छन् कि अनि आफैँलाई दुखाउने पो हुन्छन् कि ती कुराहरूले?
त्यसैले कसैसँग नजिक हुनु भन्दा अघि भनिदिनु।
साना साना कुरामा चित्त दुख्छ मेरो। सक्छौ त मेरो पिन्चे स्वभावलाई साथिको रूपमा स्वीकार्न?
रिस पनि चाँडै उठ्छ, अनि रिसाउँदा के बोलेँ थाहा पाउँदिन। सक्छौ त मेरो “moody” स्वभावलाई साथिको रूपमा स्वीकार्न?
तिम्रा कुरा तिम्रै मुखबाट सुन्न पाउँ, तिम्रा कुरा अरुका मुखबाट सुन्दा टाढाको महसुस हुन सक्छ। कहिलेकाहीं तिमी मेरो मात्र हौ जस्तो पनि लाग्न सक्छ। कहिलेकाहीं केही गर्नु पर्दैन, तिमी अरूसँग बोलेको देख्दा पनि रिस उठ्न सक्छ, चित्त दुख्न सक्छ, यसैमा झगडा हुन सक्छ। सक्छौ त मेरो साथी प्रतिको “स्वार्थ” तालाई स्वीकार्न?
नजिक हुनु भन्दा अघि भनिदिनु। तिमीलाई कहिलेकाहीं आफ्नै परिवारलाई भन्दा बढी विश्वास गर्न सक्ने छु। भन न, सक्छौ त मेरो परिवार पछिको “विश्वासको पात्र” बन्न?
मेरो सुखदेखि दुखका, हाँसोदेखि आँसोका, पास्टदेखि फ्युचरका, आजदेखि भोलि हुनसक्ने सम्मका सबै कुराहरू तिमीलाई सुनाउने छु, तिमीमाथि बजार्ने छु। भन न, सक्छौ त मेरो जीवनको “secret diary” बन्न?
सक्छौ भने भन, स्वागत छ तिमीलाई। ढोका सधैं खुला छ मित्रताको!
होइन भने,
नबोलाउँदा नबोल्ने,
साना कुरामा बोल्नै छोडिदिने,
मेरो कुरा मसँग भन्दा अरूसँग गर्ने,
अगाडि राम्रो बनेर पछि छुरा रोप्नेहरूको त धेरै सँगत गरिसकेको छु मैले।
– अनिता रेग्मी