Category: राजनीति

राजनीति

  • उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

    उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

    फिक्कल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बताएका छन् ।

    इलामको फाकफोकथुम गाउँपालिकास्थित आमोचकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो-कोहीलाई कडा कारबाही गरिने बताएका हुन् ।

    उनले पैसा बाँड्न आउनेको फोटो खिचेर पठाए २४ घण्टाभित्र कारबाही गर्ने बताए । ‘मौन अवधिमा धेरै पैसाको चलखेल हुन्छ, यदि कसैले पैसा दिन खोज्यो भने फोटो खिचेर गृह मन्त्रालयमा पठाइदिनुहोला’, उनले भने, ‘२४ घण्टाभित्र त्यसलाई कारबाही गर्छौँ ।’

    उनले गाउँगाउँमा पैसा बाँड्दै हिँडेर इलामको भविष्य किन्न खोज्नेलाई सार्वजनिक गरेर आम नागरिकसामु चिनाउने बताए । 

    लामिछानेले आफ्नो पार्टीको उम्मेदवार जिताउन मात्रै इलाम नआएको उल्लेख गर्दै इलामलाई जिताउन र आम इलामेली नागरिकलाई जिताउन चुनावी घरदैलोमा आएको बताए । 

    रास्वपाले इलाम-२ मा पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । रास्वपाको टोली अहिले चुनावी घरदैलोमा छ । यही वैशाख १५ गते इलाम-२ मा उपनिर्वाचन हुँदैछ ।

  • वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा

    वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन् । शनिवार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने दाबी गरे । उनले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको बताए । चुनावको अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको बताए ।

    उनले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताए । थापाले चुनाव अघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको बताए । इलामबाट नेपालमा चुनाव अघिको गठबन्धनको राजनीति चल्दैन भन्ने सन्देश दिन जरुरी रहेको बताए ।

    ‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताका अघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज । अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईंहरुको बीचमा फेरि जवाफ दिन आउनेछु’ उनले भने, ‘चुनावको अगाडि गठबन्धन जनतालाई धोका र बेइमानी हो ।

    चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन हो । त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ ।’ महामन्त्री थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई फोहोर बनाएको बताए ।