Category: मनोरञ्जन

मनोरञ्जन

  • अन्नपूर्णको तिहार विशेष जनचेतनामूलक गीत सार्वजनिक

    अन्नपूर्णको तिहार विशेष जनचेतनामूलक गीत सार्वजनिक

    सुनवल–७ अस्नैया स्थित अन्नपूर्ण इङ्ग्लिस बोर्डिङ स्कूलले तिहारलाई विशेष बनाउने उद्देश्यसहित जनचेतनामूलक गीत सार्वजनिक गरेको छ। यस गीतमा विद्यालयकै शिक्षिका लक्ष्मी गोर्खालीको सुमधुर स्वर र संगीत शिक्षक सुरज खातीको संगीतले सजिएको छ। विद्यालय प्रांगणमै छायांकन गरिएको यो म्युजिक भिडियोमा सम्पूर्ण शिक्षक शिक्षिकाहरूले अभिनय गर्नुभएको छ, जसले विद्यालयको समर्पण र एकताको सन्देशलाई जनाउँदैछ।

    विद्यालयले यसअघि तीज पर्वमा पनि समाज, अभिभावक, विद्यार्थी र विद्यालयको भूमिका केन्द्रीत जनचेतनामूलक गीत सार्वजनिक गरेको थियो। यसरी निरन्तर सन्देशमूलक गीतहरू सार्वजनिक गर्दै आइरहेको विद्यालयको प्रयासको बारेमा प्रधानाध्यापक नेत्र रिजालले भने, “अन्नपूर्णमा अहिलेको शिक्षक–शिक्षिका टीमले नै यो सम्भव भएको हो। हामीसँग गीत रचना, संगीत र गायनमा अब्बल साथीहरू हुनुहुन्छ जसले गर्दा सहज रूपमा गीत निकाल्न सकिएको छ।” उहाँले थप्दै गीत–संगीत शिक्षा प्रदान गर्ने भरपर्दो माध्यम भएको बताउनुभयो।

    प्रधानाध्यापक रिजालले अन्नपूर्ण इङ्ग्लिस बोर्डिङ स्कूललाई पछ्याउने र भिडियो हेर्ने सम्पूर्णलाई विद्यालय र यससँग सम्बन्धित विषयलाई ध्यानमा राखेर गीतलाई हेरिदिन र सुझाव सल्लाह दिन आग्रह गर्नुभयो। उहाँले विद्यालयको प्रतिष्ठा, सम्पूर्ण कर्मचारीको सहकार्य र आत्मीयता नै विद्यालयको ब्राण्ड निर्माणमा महत्वपूर्ण योगदान दिने धारणा व्यक्त गर्नुभयो।

     

  • विष्णु माझीको तीज गीत ‘आइनँ आमा’ सार्वजनिक

    विष्णु माझीको तीज गीत ‘आइनँ आमा’ सार्वजनिक

    काठमाडौं । गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ ।

    हरेक वर्षमा तीजमा नयाँ गीत सार्वजनिक गर्ने गरेकी माझीले यस वर्षमा आइनँ आमा यो तीजमा शीर्षकको गीत शनिबार सार्वजनिक गरेकी छन् ।

    माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डष्ट्रिज युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो । गीत सार्वजनिक भएको केही घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन् ।

    गीतको रचना र सङ्गीत सुन्दर मणि अधिकारीले गरेका छन् ।

     

  • नक्कली तोरि लाहुरे सार्वजनिक

    नक्कली तोरि लाहुरे सार्वजनिक

    काठमाण्डौ । लोक गायक पुस्कल शर्माले आफ्नो नयाँ तीज गीत “तोरी लाहुरे” शुक्रबार पुस्कल शर्मा युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्। यस गीतमा पुस्कल शर्मा र गायिका शान्ति श्री परियारले आवाज दिएका छन्, भने गीतका लय र शब्द पनि गायक शर्माकै रहेको छ।

    गीतको म्युजिक भिडियोमा गायक शर्मा स्वयं, सबि शर्मा, करिश्मा ढकाल, र स्मारिका ढकालले अभिनय गरेका छन्। “तोरी लाहुरे” गीतमा एक लाहुरेले केटीलाई माया प्रेम गरेपछि कुनै पनि देशको लाहुरे नरहेर तोरी लाहुरे भएको कथालाई चित्रण गरिएको छ।

    पुस्कल शर्मा लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रहेका छन् र दर्जनौं लोकप्रिय गीत गाइसकेका छन्। उनले यो गीत तीजको अवसरका लागि मात्र नभएर मेला र महोत्सवहरूमा नाच्ने गाउने खालको रमाइलो गीत भएको बताए। शर्माका “मुटु जलाइ जलाई,” “म मरेको छैन,” “मलामी,” “सालैजो” लगायतका दर्जनौं सुपरहिट गीतहरू पनि बजारमा छन्।

  • सुनिल बने कमेडी च्याम्पियन सिजन–३ को विजेता

    सुनिल बने कमेडी च्याम्पियन सिजन–३ को विजेता

    काठमाडौं । कमेडी च्याम्पियन सिजन–३ को विजेता सुनील खड्का बनेका छन् । शनिबार साँझ भएको ग्रान्ड फिनालेमा काठमाडौंका सुनील विजेता बनेका हुन् ।

    उपाधिसँगै सुनिलले २५ लाख रुपैयाँ नगद र ४० लाख मूल्यको विद्युतीय गाडी ‘नेटा भी’ कार प्राप्त गरेका छन् ।

    त्यस्तै सुनसरीका ऋषभ काफ्ले फर्स्ट रनरअप र नवलपरासीकी सुयशा सेकेन्ड रनरअप बने । विशाल भण्डारीको निर्देशन रहेको शोमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए ।

  • रीता थापा मगरको ‘ ए आमा जाम भन्यो मलाई’ महिना दिनमै करोड क्लबमा

    रीता थापा मगरको ‘ ए आमा जाम भन्यो मलाई’ महिना दिनमै करोड क्लबमा

    काठमाडौं । लोकगायिका रीता थापा मगरको गीत ‘ए आमा जाम भन्यो मलाई’ युट्युबमा रिलिज भएको एक महिनामै करोड क्लबमा प्रवेश गरेको छ ।   राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी थापाको यो गीतलाई हालसम्म १ करोड ३ लाख भन्दा बढी पटक हेरिएको छ ।

    यो गीत लामो समय युट्युब ट्रेन्डिङको शीर्षस्थानमा पर्न सफल भएको थियो । फेसबुक रिल्स र टिकटकमा समेत गीतले सुरूका दिनदेखि चर्चा पाएको थियो ।

    यतिबेला कार्यक्रमको सिलसिलामा हङकङमा रहेकी गायिका थापाले खुसी साट्दै श्रोता–दर्शकलाई धन्यवाद दिएकी छन् ।

    गीतमा एकनारायण भण्डारीको शब्द, गायिका थापाकै संगीत र श्यामश्वेत रसाइलीको एरेन्ज छ । गीतको भिडियोमा प्रकाश सपूत र सनिशा भट्टराई फिचर्ड छन् । मौसम हिमालीले भिडियो निर्देशन गरेका हुन् ।

  • प्रसारणमा आयो ‘ख्याल ठट्टा’

    प्रसारणमा आयो ‘ख्याल ठट्टा’

    काठमाडौं । कमेडी सिरियल ‘ख्याल ठट्टा’ नयाँ टिमका साथ शनिबारदेखि प्रसारणमा आएको छ। यसअघि ‘अति भो’ सिरियल ल्याउँदै आएको टिमले ‘ख्याल ठट्टा’ लाई प्रसारणमा ल्याएको हो।

    सिरियललाई सुरज खनालले लेखन तथा निर्देशन गरेका छन्।

    शनिबार एक कार्यक्रमकाबीच सिरियलका कलाकार, प्राविधिकसँगै प्रसारण मिति र समयबारे जानकारी दिइएको थियो। अब हरेक शनिबार साँझ ७ः १५ बजे सन्सा फिल्मस् युट्युब च्यानलबाट सिरियल प्रसारणमा आउनेछ।

    आयोजित कार्यक्रमका प्रमुख अतिथिका रूपमा उपस्थित पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले सफलताको शुभकामना दिए। उनले आफूलाई कलाकारहरू निकै मन पर्ने र कलाकारले आफ्नो कलाकारिताको माध्यमबाट समाजमा सन्देश फैलाउनुपर्ने बताए।

    सिरियलको टिमलाई शुभकामना दिन अग्रज कलाकार सुरवीर पण्डित (दाह्री बा), कलाकार हरिश निरौला (कक्रोज), बेगम नेपाली (भटभटे माइला) पनि पुगेका थिए।

    सिरियलका कलाकार निर्मल शर्माले राम्रो टिमसँग काम गर्न पाउँदा खुसी लागेको भन्दै आफूले अहिलेको समयमा एकमात्र सिरियलमा काम गरेको जानकारी गराए।

    कलाकार धनराम मुस्कान, शर्मिला शर्मा, चन्दा विडारी लगायतका कलाकारले पनि आफ्नो अनुभव सुनाए। सिरियलका लेखक, निर्देशक तथा कलाकार सुरज खनालले यसअघि अति भो सिरियलमा २०१ भाग निर्देशन गरेको अनुभव रहेको र ख्याल ठट्टामा अझै राम्रो गर्ने प्रयास रहने बताए।

    सिरियलमा मोडल पवित्रा साकी (मिस पबी)को पनि मुख्य भूमिका रहनेछ। सिरियलमा नियमित देखिन लागेकी उनले यसमा जोडिन पाउँदा खुसी लागेको बताइन्।

    सागर खड्का र शिब बि.कको छायांकन रहने सिरियललाई सन्दीप चौधरीले सम्पादन गर्नेछन्।

  • ‘नेपाल आइडल–५’ को उपाधि करणलाई

    ‘नेपाल आइडल–५’ को उपाधि करणलाई

    काठमाडौँ  । प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बनेका हुन् ।

    विजेता परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद रु १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद रु पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गरे ।

    विगत चार महिनादेखि जारी प्रतियोगितामा दर्शकले दिएको मतका आधारमा विजेता चयन गरिएको हो । ‘नेपाल आइडल’को पाँचौँ संस्करणमा गायक न्हू बज्राचार्य, सङ्गीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी निर्णायक थिए ।

  • शिल्पा र गौरव अभिनीत फिल्म ‘देवी’ तीजमा प्रदर्शन हुने

    शिल्पा र गौरव अभिनीत फिल्म ‘देवी’ तीजमा प्रदर्शन हुने

    काठमाडौँ । नेपाली फिल्म ‘देवी’ तीजमा प्रदर्शनमा आउने भएको छ।

    निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै भदौं २१ गतेदेखि फिल्म प्रदर्शनमा ल्याउने घोषणा गरेको हो।

    महिलामाथि हुने यौनहिंसा विरुद्धको कथावस्तुमा बनेको फिल्मलाई सञ्जोग राईले निर्देशन गरेका हुन्। पोस्टरमा शिल्पा मास्केको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ।

    क्राइम थ्रिलर जनरामा बनेको फिल्ममा शिल्पाका साथमा गौरव पहारी, नाजिर हुसेन लगायतको अभिनय छ।

    रेमन गुरुङ, नारायण राई र सञ्जोग राई फिल्मको निर्माता हुन्। यसको पटकथा निर्देशक राईले अजय गौतमसँग मिलेर तयार पारेका हुन्।

    एक्जिबिट स्टुडियोको प्रस्तुति रहेको फिल्म बाँसुरी फिल्म्ससँगको सहकार्यमा निर्माण भएको हो।

  • निर्देशक सुदर्शन थापा पक्राउ

    निर्देशक सुदर्शन थापा पक्राउ

    काठमाडौं । चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार (आज) थापालाई पक्राउ गरिएको एक प्रहरी उच्च अधिकारीले जानकारी दिए ।

    आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

    आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए । थापा ‘प्रसाद–२’ का निर्देशक हुन् ।

  • वर्षालाई लिएर छायांकनमा निस्कियो ‘छक्का पञ्जा- ५’को टिम

    वर्षालाई लिएर छायांकनमा निस्कियो ‘छक्का पञ्जा- ५’को टिम

    काठमाडौं । दीपक–दीपाको टिमले ‘छक्का पञ्जा– ५’ छायांकन सुरु भएको छ । सुपरहिट फिल्मको पाँचौ श्रृखंलामा नायिका वर्षा सिवाकोटी अनुबन्ध भएको जानकारी दिँदै टिम छायांकनमा निस्किएको हो ।

    भक्तपुरको सूर्यविनायक मन्दिरमा शुभ मुहूर्त गरी छायांकन सुरु भएको लेखक एवं नायक दीपकराज गिरीले खबरहबलाई जानकारी दिए । 

    दीपकराजका अनुसार टिमले यो पटक राजनीतिबाट टाढा रहेर सामाजिक कथामा फिल्म बनाउन लागेको छ । ४५ दिनको छायांकनको काम सक्ने उनीहरुको लक्ष्य रहेको छ । 

    यो फिल्म काठमाडौं र पोखराका विभिन्न स्थानमा छायांकन गरिने बताइएको छ । फिल्ममा अहिलेसम्म दीपकराज, केदार घिमिरे र सिवाकोटी पक्का भएका छन् । अन्य कलाकारका बारेमा निर्माण पक्षले केही समयपछि जानकारी दिने बुझिएको छ । 

    दीपाश्री निरौलाको निर्देशन रहने यो फिल्म प्रदर्शन मिति असोज २४ गते फुलपातीलाई तोकिएको छ ।