Category: शिक्षा

  • विद्यालयको करेसाबारी: दिवा खाजामा ताजा तरकारी

    विद्यालयको करेसाबारी: दिवा खाजामा ताजा तरकारी

    सुनवल । “विद्यालय पढ्ने ठाउँ मात्र होइन, काम गरेर सिक्ने प्रयोगशाला पनि हो,” यो भनाइलाई व्यवहारमा उतारेको छ सुनवल नगरपालिका–७ स्थित जनज्योति आधारभूत विद्यालयले। विद्यालयको परिसरमा विद्यार्थीहरूले उत्पादन गरेका घिरौंला, बोडी, करेला, फर्सी, टमाटर र मकै अहिले दिवा खाजाको परिकार बन्दै आएका छन्।
    किताबी ज्ञान मात्र हैन व्यहारिक शिक्षालाइ जोड दिने विद्ध्यालाको नीति अहिले नियमित अभ्यास बनेको छ। विद्यार्थीहरू पाठ्यपुस्तकको पढाइसँगै खेतबारीको व्यवहारिक ज्ञानमा पनि रमाइरहेका छन्।
    “विद्यार्थीले आज मात्रै दोस्रो छाकमा घिरौंला खाए। पहिले टमाटर फल्यो, तर अहिले सकिएको छ। अहिले चाहिँ बोडी मात्र बाँकी छ,” विद्यालयका शिक्षक राजेश तिवारीले जानकारी दिए। “फर्सीका मुन्टाहरू चाहिँ जाउलोमा हालेर खुवाउने गरेका छौं,” उनले थपे। उनका अनुसार मकैको पहिलो लट भाँचिसकिएको छ भने दोस्रो लटको तयारी भइरहेको छ। पहिले गोभी र बन्दा पनि फलाएर विद्यार्थीले दिवा खाजा खाएको उनले बताए।
    विद्ध्यालयमा करेसा बारी सुनवल नगरपालिले स्थानीय पाठेक्रममा समावेस गर्नुको साथै विद्यालयमा बजेट पनि बिनियोजन गरेको छ यसले पनि बिउ बिजन र मल खरिद लाइ सहज भएको विद्यालयकि प्रधानाध्यापक सावित्री कुमारी राना बताउँछिन् । विद्यालयमा व्यवहारिक शिक्षाको अभ्यासका रूपमा सुरु गरिएको करेसाबारी अभियानले विद्यार्थीलाई उत्पादनमा समेत अभ्यस्त बनाएको छ। केही पिरियडमा पढाइ सकेपछि विद्यार्थीहरू खुसी हुँदै करेसाबारीतिर लाग्छन्। “विद्यार्थीहरू करेसाबारीतिर जान पाउँदा रमाउँछन्।
    कक्षा शिक्षक बिदामा बसेको समय, दिउँसो खाजा खाने समय र आवश्यकता परेको बेला छुट्टीको दिन विद्यार्थीहरू उत्साहित भएर विद्यालय आउँछन् । उनी दिनभरि नर्सरी र तरकारी खेतीमा रमाउँछन् ।
    जनज्योति आधारभूत विद्यालयमा सञ्चालन गरिएको करेसाबारीले केवल तरकारी मात्रै फलाएको छैन, विद्यार्थीको सोच, दृष्टिकोण र सीप पनि हुर्काइदिएको छ। यस्तो व्यवहारिक अभ्यासले ग्रामीण विद्यालयमा शिक्षालाई जीवनोपयोगी बनाउन मद्दत गरेको छ ।

  • त्रिवि केन्द्रीय क्याम्पसमा आज स्ववियु निर्वाचन

    त्रिवि केन्द्रीय क्याम्पसमा आज स्ववियु निर्वाचन

    काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ ।

    क्याम्पसका स्ववियु निर्वाचन अधिकृत प्राध्यापक डाक्टर कृष्णप्रसाद न्यौपानेका अनुसार बिहान ८ बजे सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहने छ ।

    यसअघि चैत ५ गते तोकिएको निर्वाचन विद्यार्थी सङ्गठनबीच विवाद र त्यसपछि चैत ८ गतेका लागि तोकिएको निर्वाचन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश आएपछि स्थगन भएको थियो ।

    क्याम्पसमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी सङ्घबाट दीपकराज जोशी, अनेरास्ववियु (क्रान्तिकारी)बाट प्रविन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की उम्मेदवार छन् ।

    यस्तै, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्रसिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि)बाट उज्जलबहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

    त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ जना मतदाता रहेका छन् ।

  • कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत उत्तीर्ण

    कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत उत्तीर्ण

    काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् । 

    बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुत्तीर्ण भएका छन् ।

    आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । नतिजा सार्वजनिक भएपनि अनलाइनमा अपलोड हुन भने केही समय लाग्ने बोर्डले जनाएको छ ।

    गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । 

    यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।

    देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ । 

  • एसईई मौका परीक्षा साउन २३ गतेदेखि हुने

    एसईई मौका परीक्षा साउन २३ गतेदेखि हुने

    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ ।

    आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३  देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने साेमबार सार्वजनिक गर्ने बताएको छ ।

    यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो । तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । त्यसपछि बोर्डले अर्को मिति तय गरेको हो ।

    गत बिहीबार २०८० सालको एसईईको नतिजा सार्वजनिक गरिएको थियो । जसमा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा एनजी आएको थियो ।

  • एसईईको नतिजा सार्वजनिक

    एसईईको नतिजा सार्वजनिक

    काठमाडौँ । एसईई नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

    जसमध्ये १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो ।

    यो पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । लेटर ग्रेडिङ पद्धति (तेस्रो संशोधनसहित) अनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल अर्थात् ‘नन ग्रेडेड’ (एनजी) हुनेछन् । जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गरेको हुनुपर्छ ।

    अर्थात् जम्मा १०० पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने हुन्छ । त्योभन्दा कम अङ्क आउनेको हकमा ‘एनजी’ आउनेछ । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिनापछि हुने पूरक परीक्षामा सामेल हुन पाउने बोर्डले जनाएको छ ।

    ०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा चार लाख ८८ हजार परीक्षार्थी सहभागी थिए ।

    एसइई नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिनेछ ।  आइभीआरका लागि नेपाल टेलिकमको ल्यान्ड लाइन फोन तथा मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार नतिजा थाहा पाउन सकिनेछ ।

  • यस वर्षकाे एसईई परीक्षा आउँदाे चैत ७ गतेदेखि

    यस वर्षकाे एसईई परीक्षा आउँदाे चैत ७ गतेदेखि

    काठमाण्डाै । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत ७ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको एसईई सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै आउँदो चैत ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जानकारी गराएको हो ।

    कार्यालयले परीक्षाको समय तालिका भने माघ १ गते प्रकाशन गर्ने भएको छ । फागुन मासान्तभित्र विद्यार्थीको आन्तरिक र प्रयोगात्मक अङ्क शिक्षा विकास तथा समन्वय इकाइमा पठाइसक्नुपर्ने तालिकामा उल्लेख छ । यस्तै एसईईको नतिजा २०८२ सालको असार ६ गतेभित्र प्रकाशन गरिने र पूरक परीक्षा साउन १९ र २० गते हुने बोर्डले जनाएको छ ।

    यस वर्षको एसईईको वार्षिक कार्यतालिका सार्वजनिक भए पनि कार्यालयले गएको वर्षको एसईईको नतिजा भने अझै पनि प्रकाशन गरेको छैन ।

  • चुहिने छानामुनि पढ्न बाध्य छन् कुँडेढोरका विद्यार्थी

    चुहिने छानामुनि पढ्न बाध्य छन् कुँडेढोरका विद्यार्थी

    गलकोट । उप्किएका भित्ता, जीर्ण झ्यालढोका, मक्किएका काठले छाएको छानो । घामपानी र  हावाहुरी नछेक्ने टहरो । हेर्दै जीर्ण भवनमा ओत लागेर पढ्छन्, निसेलढोरका बालबालिका ।

    निसीखोला गाउँपालिका(६ निसेलढोरस्थित कुँडेढोर प्राथमिक विद्यालयका विद्यार्थीहरु यस्तै जीर्ण भवनमा पढ्न बाध्य छन् । विंसं २०६४ मा स्थापना भएको विद्यालयको हालसम्म भरपर्दो भवन बनेको छैन । ५२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीदेखि आधारभूत पूर्वाधारको अभाव छ ।

    तीनवटा विद्यालय भवनमध्ये दुई वटा भवन कच्ची छन् । हावाहुरी र पानी पर्दा कक्षाकोठामा बस्नै मिल्दैन । यो विद्यालय जिल्लाको सबैभन्दा विकटमा पर्छ  । बर्खा लागेपछि घुम्ती बसाइमार्फत २५ जना विद्यार्थी थपिन्छन् । पढाउनेक्रममै छानोको फलेक कुहिएर झर्ने गरेको र बर्खामा पानी चुहिने गरेको विद्यालयका निमित्त प्रधानाध्यापक रुद्र विकले जानकारी दिए ।

    “विकटमा राज्यको नजर कम पर्दोरहेछ, बालविकास र कक्षा ४ सम्मका विद्यार्थीलाई कक्षाकोठा ठिकै छ तर, कक्षा ५ का विद्यार्थीलाई कक्षाकोठाको अभाव छ”, विकले भने, “गाउँपालिकामा भवन निर्माणका लागि बजेट माग गरिरहेका छौँ, यसपटक बजेट प्राप्त होला ।”

    कक्षाकोठा उपयुक्त नहुँदा पठनपाठनमा असहज हुने गरेको  कक्षा ५ मा अध्ययनरत छात्रा सृष्टी मगरले बताइन् । “कक्षामा पानी पर्दा चुहिन्छ, हिउँ पर्दा पग्लेर कक्षा कोठा भरिन्छ”, मगरले भनिन् । पाँच कक्षासम्म मात्रै पढाइ हुने यहाँका बालबालिका कक्षा छ देखि माथी पढ्न  गाउँभन्दा बाहिर जानुपर्ने बाध्यता छ ।

    निसेलढोरमा अस्थायी र स्थायी गरी दुई थरी बस्ती छन् । निसीखोला गाउँपालिकाको विभिन्न स्थानबाट धेरैजसो गर्मीको समयमा यहाँ खेतीपातीका आउँछन् र हिउँदमा बेंसी झर्छन् । ५० घरधुरी भने स्थायीरुपमा निसेलढोरमै बस्छन् ।

    निसीखोला–५ निसीको ज्ञानेन्द्र माध्यामिक विद्यालयलाई २०६४ सालअघिसम्म घुम्ती विद्यालयका रुपमा निसेलढोरमा सञ्चालन गरिएको थियो । विसं २०६४ सालमा सोही विद्यालयको पूर्वाधारमा कुँडेढोर प्राथमिक विद्यालय स्थापना गरिएको हो । निसीखोला–५ निसीबाट सोही वडाको निसेलढोर आउन पाँच घण्टा पैदल हिँड्नुपर्छ ।