Category: स्वास्थ्य

स्वास्थ्य

  • जाडोमा देखिने प्रमुख स्वास्थ्य समस्या

    जाडोमा देखिने प्रमुख स्वास्थ्य समस्या

    जाडो मौसम सुरु भएसंगै यससंग संबन्धित रोग पनि देखिन सुरु भैसकेका छन । जाडोयाममा विशेषत् बुढाबुढी र बालबालिका बढी प्रभावित हुन्छन् । बालबालिकामा पनि शिशुहरूमा धेरै समस्या देखिने सम्भावना रहन्छ ।

    जाडो याममा देखिने स्वास्थ्य समस्या

    रुघाखोकी – जाडो यामको अर्को मुख्य समस्या भनेको रुघाखोकी हो । रुघाखोकी लाग्नुको मुख्य कारण भाइरल संक्रमण नै हो । भाइरल संक्रमणबाट बच्ने उपाय भनेको रुघाखोकी लागेको मानिससँग दुरी कायम गर्ने र उनीहरूले प्रयोग गरेको सामान सकेसम्म प्रयोग नगर्नु नै हो । शरीरलाई न्यानो राख्न सक्यो भने पनि भाइरल संक्रमणबाट बच्न सकिन्छ । त्यसैले समय समयमा तातो तरल पदार्थको सेवन निकै हितकर हुन्छ । जाडोयाममा पानी थोरै मात्र पिउने बानी धेरैमा हुन्छ, जुन अस्वस्थकर मानिन्छ ।

    श्वासप्रश्वास समस्या – विशेषगरी यो समस्या ६५ वर्षमाथिका वृद्धवृद्धामा देखिन्छ । श्वासप्रश्वासको समस्या भएका वृद्धवृद्धाका लागि जाडोयाम निकै कष्टकर समय हो । चिसोका कारण थोरै मात्र काम गर्दा पनि दम बढ्छ भने यसले अन्य धेरै समस्या निम्त्याउँछन् । धेरै दम बढेमा त्यसले मुटुमा पनि असर गर्छ र मुटुको समस्या पनि थपिन सक्छ। त्यसैले जाडो याममा बूढाबूढीलाई चिसोबाट जोगाउनु नै उत्तम हुन्छ।

    निमोनिया – यो धेरैजसो दुई वर्ष भन्दा कम उमेरका बच्चाहरू र बूढाबूढीमा देखिने रोग हो । यो एक प्रकारको छातीमा हुने संक्रमण हो । यो रोग पनि भाइरस, ब्याक्टेरिया, फंगसकै संक्रमणका कारण हुन्छ । यो अन्य मौसममा पनि देखा पर्न सक्छ । तर, जाडोयाममा भने यसले अलिक धेरै उग्र रुप लिन्छ । किनभने यो स्वासप्रस्वास, रुघाखोकी सबैलाई साथै लिएर आउँछ र उपचारलाई झन् जटिल बनाइ दिन्छ ।

    हाइपोथर्मिया – जाडोयाममा बाहिरको मौसमलाई बेवास्ता गरेर मनलागि गरे हाइपोथर्मिया हुने सम्भावना धेरै रहन्छ । हाइपोथर्मिया आफैँमा रोग भने होइन । तर, यसले विभिन्न प्रकारको स्वस्थ्य समस्या भने निम्त्याउन सक्छ । हाइपोथर्मिया भनेको आफ्नो शरीरले उत्पादन गर्न सक्ने तापभन्दा छिटो त्यो ताप शरीरबाट बाहिरिनु हो । धेरै चिसो ठाउँमा पातलो लुगा लगाएर काम गर्दा वा चिसोको सम्पर्कमा धेरै समय रहँदा यो आपतकालिन समस्या उत्पन्न हुन सक्छ । यदि यसको समयमा नै उपचार वा रोक थाम गरिएन भने ज्यान जाने खतरासम्म रहन्छ ।

    कार्बनमोनोअक्साइड पोइजनिङ – यो जाडोयाममा मानिसको लापरवाहीले गर्दा देखिने समस्या हो । चिसोको कारण झ्यालढोका सबै बन्द पारेर आगो ताप्ने चलन छ । तर, कतैबाट हावा नै नछिर्ने गरि बन्द गरेर आगो वा हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बनमोनोअक्साइडको मात्रा बढ्न जान्छ र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्छ वा मृत्यु नै पनि हुन सक्छ । जाडो याममा ग्याँस गिजरका कारण मृत्यु हुने घटना पनि यसैले गर्दा हो । त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र गर्नु राम्रो हुन्छ ।

    फ्रस्टबाइट – यो समस्या विशेषगरी हिउँ पर्ने ठाउँमा देखिन्छ । शरीरको कुनै पनि अंग धेरै लामो समयसम्म हिँउ वा चिसो पानीको सम्पर्कमा रहिरहे यो समस्या हुन सक्छ । त्यसैले शरिरलाई हिउँ वा चिसो वस्तुबाट जोगाउँनु नै राम्रो हुन्छ । यदि धेरै नै नराम्रोसँग फ्रस्टबाइट भएमा उक्त ठाउँलाई चिरेर नै फाल्नुपर्ने अवस्था पनि आउन सक्छ । यो खासगरी हिमाली क्षेत्रमा बस्ने मानिसको हात–गोडामा देखिन्छ

    हृदयाघात र फोक्सोको संक्रमण – चिकित्सकका अनुसार चिसोका कारण रगत जम्ने समस्या बढ्छ। यो मौसममा उच्च कोलेस्टोरल, उच्चरक्तचाप बढ्ने हुन्छ । सामान्य रक्तचाप भएकामा पनि यो मौसममा रक्तचाप तलमाथि भइरहेको हुन्छ । केही छैन भनेर बस्नुभन्दा रक्तचाप नियमित जाँच्नु पर्ने हुन्छ ।

    ‘चिसो बढ्दा रगतमा फ्रिब्रिनोजेन, फ्याक्टर सेभेन, सिपिआर, कोलेस्टोरलजस्ता तत्व बढ्छ,’ उनले भने, ‘यसका कारण रगतका नशा खुम्चिन्छ र यस्तो समस्या बढ्छ ।’ यस्तो समयमा युवाहरुमा हार्ट–एट्याक्टको जोखिम बढी हुन्छ।

    जाडो महिनामा फोक्सोको संक्रमण पनि बढ्छ। वायुमण्डलमा चिसो हुनाले बढी दिनसम्म किटाणु बच्ने हुँदा दमका रोग र श्वासप्रश्वासको समस्या निको हुन गाह्रो हुन्छ। वृद्धवृद्धामा प्राकृतिक रुपमै जाडो सहने क्षमता कमजोर हुनाले पनि चिसोसम्बन्धी रोग बढ्छ। उच्च रक्तचाप भएका र कोलेस्टोरल भएकाहरु बिहान चिसोमा नहिँड्न र हिँडे पनि चिसोको पूरै प्रोटेक्सन गरेर हिँड्दा राम्रो हुन्छ ।

    चिकित्सकले यस्तो अवस्थामा रोगप्रतिरोध क्षमतासमेत घट्ने बताउँछन्। चिसोबाट बालबालिका, अशक्त, दीर्घरोगी, दमका बिरामी, गरिब र सडकमा बस्ने बढी जोखिममा हुन्छन्। चिकित्सकले चिसोबाट बच्ने तातो बस्ने, तरल कुरा प्रशस्त पिउनेजस्ता सावधानी अपनाउन सुझाव दिएका छन्।

    जाडोमा स्वस्थ रहन के गर्ने ?

    – जाडो याममा बिहानको चिसोमा सकेसम्म हिँड्डुल नगर्दा नै फाइदा हुन्छ । हिँड्डुल गर्नै पर्ने भए न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनु उचित हुन्छ ।

    – भाइरल फ्लु लागेका मानिसहरूबाट दुरी कायम गर्ने ।

    – तातो पानी सकेसम्म धेरै पिउने । चिसो कुराको सेवन नगर्ने ।

    – बन्द कोठाभित्र नभई राम्रोसँग हावा आवतजावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्ने ।

    – मौसमी फलफुल विशेष गरेर भिटामीन सि युक्त फलफुलको सेवन धेरै गर्ने ।

    – श्वासप्रश्वासका समस्या भएकाहरूले यो मौसममा विशेष सतर्कता अपउने र समय–समयमा चिकित्सकसँग परामर्श गरिरहने ।

    – बालबालिकालाई धेरै बाक्लो लुगा लगाइदिएर गुम्साउनु हुँदैन । भित्रभित्रै तातो भएर पसिना आउँछ र त्यसैको चिसोले अन्य समस्या नित्याउँछ ।

    – हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाहरूले मोस्चराइजर क्रिमको प्रयोग गर्ने ।

    – जाडो मौसममा तुँवालो लागेको बेला माक्सको प्रयोग गर्नाले पनि धेरै प्रकारका स्वासप्रस्वासका समस्याबाट जोगिन सकिन्छ ।

    (डाक्टरहरुको सल्लाह अनुसार तयार गरिएको सामाग्री)

  • आजदेखि काठमाडौँ उपत्यकामा विशेष पोलियो खोप अभियान

    आजदेखि काठमाडौँ उपत्यकामा विशेष पोलियो खोप अभियान

    काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान सञ्चालन हुने भएको छ । साउन १२ गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाका लागि विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

    नियमित खोपमा पोलियोको खोप दिइएको भएता पनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियोविरुद्धको खोप दिनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई छ ।

    पोलियो विरुद्धका खोपहरू कुन उमेरमा लगाउनु पर्दछ? 

    • मुखबाट खुवाइने खोप : ओरल पोलियो भ्याक्सिन (OPV) – ३ पटक (६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा )
    • सुईबाट दिइने खोप : इनएक्टीभेटेड पोलियो भ्याक्सिन (IPV) – २ पटक (१४ हप्ता र ९ महिनाको उमेरमा )

    पोलियो रोग कुन उमेरका मानिसलाई लाग्छ ? 
    पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ । तर पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छन् । त्यसैले, यो रोगबाट सुरक्षित गराउन आफ्ना बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पोलियो खोपहरूको पूर्ण मात्रा लगाउनु पर्दछ ।

    यस खोप अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई थप खोपको मात्रा अनिवार्य रूपमा दिनु पर्दछ ।

  • कास्कीलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

    कास्कीलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

    कास्की । कास्की जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो । 

    जिल्लास्तरीय खोप समन्वय समिति र जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार पोखरामा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरेका हुन् ।

    स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्यांक संकलन गरी खोप लगाइएको जानकारी दिनुभयो । उनका अनुसार जिल्लाका पाँच पालिकाका ७२ वडाका कुल ३० हजार ७४ बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । 

    ‘एकपटक पूर्णखोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरूले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिन्छ’, स्वास्थ्य कार्यलयका प्रमुख नेपालीले भने।

    कास्की जिल्लालाई विसं २०७५ असार २७ गते पहिलोपटक पूर्ण खोप घोषणा गरेपश्चात नयाँ जन्मने तथा अन्यत्रबाट जिल्लामा आई बसोबास गर्ने सबै बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको पाएको उनले बताए ।

    स्थानीय तहका वडाहरूबाट स्वास्थ्यकर्मीको सङ्लग्नतामा तयारी र योजनासहित घरपरिवार सर्वेक्षण गरी सर्वेक्षणको क्रममा खोप पूरा नगरेका बालबालिका भेटिए तत्काल खोप लगाउने व्यवस्थासमेत मिलाई सबै बालबालिकाले उपलब्ध सबै खोप पाएको सुनिश्चत गरेपछि वडा घोषणा गरिन्छ ।

     सबै वडा घोषणा भएपछि पालिका र सबै पालिका घोषणा भएपछि जिल्ला घोषणा गर्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    जिल्लामा घरपरिवार सर्वेक्षणका क्रममा भेटिएका खोप पूरा नगरेका एक सय ४० जना बालबालिकालाई खोप लगाइएको थियो । यसैगरी १५ महिनासम्मका सात हजार दुई सय २७ जना बालबालिकालाई पनि खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

    यसैगरी १६ महिनादेखि पाँच वर्षसम्मका २२ हजार आठ सय ४७ बालबालिकालाई खोपको पहुँचमा ल्याइएको छ । कास्की जिल्लामा पाँचवटै स्थानीय तहहरूमा रहेका स्वास्थ्य संस्था तथा खोप केन्द्रमार्फत नियमित खोप सेवा प्रदान हुँदै आएको छ ।

    कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापाले खोपले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित रहन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। गण्डकीका सबै जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणापछि छिट्टै गण्डकी पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिने जानकारी दिए । 

    जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक लीलाधर पौडेलले खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताए। यसअघि जिल्लामा रहेका पाँचवटा स्थानीय तहलाई गत वैशाख र जेठमा पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिसकिएको थियो । 

  • कैलालीमा चट्याङ लागेर स्कुल जाँदै गरेका तीन बालिका गम्भीर घाइते

    कैलालीमा चट्याङ लागेर स्कुल जाँदै गरेका तीन बालिका गम्भीर घाइते

    कैलाली । कैलालीको घोडाघोडीमा चट्याङ लागेर ३ जना बालिका गम्भीर घाइते भएका हुन् । जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने ३ बालिकालाई विद्यालय जाने क्रममा आज बिहान पौने ७ बजे तिर चट्याङ्ग लागेको थियो।

    चट्याङ्ग लागेर घाइते हुनेमा ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत रहेका छन् । अध्ययनरत मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको इलाका प्रहरी सुखडका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पालले जानकारी दिए ।

    एक बालिकाको चट्याङ लागेर आन्द्रा बाहिर आएको छ भने, दुई बालिकाको टाउकोम चोट लागेको प्रहरी नायव उपरीक्षक पालले बताए ।
    उपचारका लागि घोडाघोडी अस्पताल लगिएका उनीहरूलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।

  • पाठेघर खस्ने समस्याको निःशुल्क उपचार गरिने

    पाठेघर खस्ने समस्याको निःशुल्क उपचार गरिने

    सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ स्थित बर्धमान अस्पतालले पाठेघर खस्ने समस्या भएका महिलाको निःशुल्क उपचार गर्ने भएको छ ।

    मधेस प्रदेश स्वास्थ्य निर्देशनालयसँगको सहकार्यमा अस्पतालले आज मङ्गलबारदेखि शिविर सञ्चालन गर्न लागेको हो । अस्पतालका व्यवस्थापक डा शारीका गोइतले पाठेघर समस्याबाट पीडित महिलाको उपचार तथा शल्यक्रियाका लागि शिविर आयोजना गर्न लागेको जानकारी दिइन् ।

    “अझै पनि विकट गाउँघरमा धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित छन् । कतिपयले लोकलाजका कारण रोग लुकाएका छन् भने कतिपयले आर्थिक समस्याका कारण शल्यक्रिया गर्न सकेका छैनन्”, गोइतले भनिन, “आर्थिक अभावका कारण उपचार गराउन असमर्थहरूलाई निःशुल्क उपचार, शल्यक्रिया एवं उचित परामर्श दिन शिविर आयोजना गर्दैछौँ ।”

    बिरामीको शल्यक्रिया स्त्री तथा प्रसूति रोग विशेषज्ञद्वय डा शारीका गोइत र तेजशङ्कर यादवको टिमले गर्नेछ । सुत्केरी भएको केही दिनपछि नै भारी बोक्नेजस्ता शारीरिक श्रमलगातका कामगर्दा प्रायः ३५ वर्षमाथिका महिलामा यस्तो समस्या देखिने गरेको चिकित्सकले बताएका छन् ।

  • जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन

    जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन

    म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा तीन वर्षअघि निर्माण सम्पन्न भएको अस्पताल भवन जनशक्ति अभाव र आवश्यक उपकरण व्यवस्थापन नहुँदा प्रयोगमा आउन सकेको छैन ।

    सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने नीतिअनुरूप स्थानीयवासीले जग्गा दान दिएर समयमै निर्माण भएको उक्त भवन हालसम्म प्रयोगमा नआउँदा अलपत्र बनेको हो । निर्धारित समयमा भवन सम्पन्न भए पनि अहिले बजेट, जनशक्ति र आवश्यक उपकरण अभाव हुँदा प्रयोगमा आउन नसकेको अन्नपूर्ण–१ दोवाका वडासदस्य गोविन चोचाङ्गीले बताए । “तीन वर्षअगाडि  सम्पन्न भएको पाँच शय्याको पालिकास्तरीय अस्पतालको भवन अलपत्र परेको छ”, उनले भने, “जिल्लाका अन्य पालिकामा योजना अलपत्र परेको अवस्थामा दोवामा भवन निर्माण भए पनि उपकरण, चिकित्सकसहित जनशक्ति व्यवस्थापनमा तीनै तहको सरकारको ध्यान नपुग्दा यस्तो अवस्था आएको हो ।”

    वडासदस्य चोचाङ्गीका अनुसार अस्पतालको बाहिरको भागमा झार तथा बुट्यान पलाएको छ । करिब १२ रोपनी सात आना दुई दाम क्षेत्रफल रहेको अपाङ्गमैत्री संरचनामा निर्मित भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ वटा कोठा रहेको उनले जानकारी दिए ।

    भवनको तल्लो तलामा विभिन्न उपचार कक्ष राखिने छ भने माथिल्लो तलाका केही कोठा चिकित्सक र स्वास्थ्यकर्मीको आवासका रूपमा प्रयोग गरिने जनाइएको छ । भवन निर्माणका लागि विसं २०७८ वैशाख १७ गते रविना–अमित जेभीसँग रु पाँच करोड १२ लाख ६० हजार छ सय ५२ मा ठेक्का सम्झौता गरेको थियो ।

    अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना, नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, घमती पुर्जाले १३ आना र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराएको स्थानीयले बताएका छन् ।

    पाँच शय्या क्षमताको भूकम्प प्रतिरोधी भवन निर्माण भए पनि प्रदेश र सङ्घीय सरकारले आवश्यक स्रोतसहितको जनशक्ति व्यवस्थापन गर्न नसक्दा सञ्चालनमा ल्याउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।

    अस्पताल सञ्चालनमा आएपछि दोवावासीलाई उपचारमा सहज हुनेछ । पालिकाभित्रका अन्य वडाका बासिन्दाको सहजतका लागि बेनी–पोखरेबगर सडकखण्डबाट दोवा जोड्ने ग्रामीण सडकमा ढलान, कालो पत्रसहितको स्तरोउन्नति आवश्यक देखिएको स्थानीय बताउँछन ।

    जिल्लाको मङ्गला, धवलागिरिमा पालिकास्तरीय अस्पताल निर्माणाधीन अवस्थामा रहेका छन् भने रघुगङ्गा गाउँपालिकामा जग्गासहितको प्राविधिक पक्षमा ढिलासुस्तीका कारण अलपत्र परेको छ । स्थानीय तहले ठेकेदारलाई ताकेता गर्दा समेत भवन समयमै सम्पन्न हुन नसकेको जनाएका छन् ।

     

  • तराईमा उच्च गर्मी र तातो हावाको लहरका कारण पोलियो रोगविरुद्धको खोप अभियान प्रभावित

    तराईमा उच्च गर्मी र तातो हावाको लहरका कारण पोलियो रोगविरुद्धको खोप अभियान प्रभावित

    काठमाण्डौ । सरकारले गएको जेठ १३ गतेदेखि सञ्चालन गरेको पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान तराईका जिल्लामा प्रभावित भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले तराईका धेरैजसो जिल्लामा उच्च गर्मी र तातो हावाको लहर चलेसँगै खोप अभियान प्रभावित भएको बताए  ।

    गर्मीका कारण तराई/मधेशमा कतिपय विद्यालय बन्द गरिएको छ । विद्यालय बन्द हुँदा आईपीभी खोप कार्यक्रम सञ्चालन भए पनि प्रभावित भएको हो । पानी पर्न र केही शितल हुन थालेसँगै अब फेरि विद्यालय खुल्ने र खोप अभियान पनि सञ्चालन गर्ने डा. गौतमले बताए  । उनकाअनुसार अहिलेसम्म चार लाख १७ हजार पाँच सय ३६ जना बालबालिकाले पोलियोविरुद्धको खोप आईपीभी लगाइसकेका छन् । यो २८ दशमलव ५ प्रतिशत हो ।

    अहिलेको खोप लगाएको यो तथ्याङ्क ४६ जिल्लाको हो । अन्य जिल्लाबाट तथ्याङक आउन बाँकी छ । खोप अभियानकाक्रममा सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई पोलियोविरुद्धको खोप आईपीभी लगाउने लक्ष्य राखेको छ । अभियान यही जेठ २६ गतेसम्म सञ्चालन हुने गरी शुरु गरिएको थियो ।

    स्वास्थ्य मन्त्रालयले विद्यालय नजाने बालबालिकाका लागि अभियानको अन्तिम दिन स्वास्थ्य सस्थामा पनि खोप अभियान सञ्चालन गर्नेछ । खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोग लाग्ने उच्च जोखिम रहेकाले यस वर्ष सरकारले खोप अभियान सञ्चालन गरेको हो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

  • दुई सय २९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’

    दुई सय २९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महिला भेलाका क्रममा दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा भेलामा  सहभागी ती महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो  ।

    महासङ्घका उपाध्यक्ष शारदा खनालले दुई सय २९ जनाको  ‘एचपिभि डिएन प्रविधि’बाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको जानकारी दिइन् । उनले स्क्रिनिङको नतिजा एक महिनापछि मात्र  प्राप्त हुने जानकारी दिइन्।

    “हाम्रा धेरै दिदीबहिनी पाठेघरको मुखको क्यान्सरबाट पीडित भएका पाइएको छ, ” उनले अन्य मुलुकमा स्तनक्यान्सरका बिरामी अधिक भेटिएका जानकारी दिँदै उनले भनिन् । समय–समयमा पाठेघर र स्तन  परीक्षण गराउन उपाध्यक्ष शर्माले सुझाव दिइन् ।

  • करिब दुई लाखमा गरिएको परीक्षणमा १ हजार ५ सय बढीमा एचआईभी एड्स सङ्क्रमण

    करिब दुई लाखमा गरिएको परीक्षणमा १ हजार ५ सय बढीमा एचआईभी एड्स सङ्क्रमण

    काठमाडौँ । नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स सङ्क्रमित रहेको पाइएको छ ।

    अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआईभी पोजेटिभ देखिएको उल्लेख छ । यो चालु आर्थिक वर्षको फागुनसम्मको आँकडा हो ।

    सो अवधिमा ३५ हजार ४३ एचआईभी सङ्क्रमितलाई एन्टी रेट्रो भाइरल ट्रिटमेन्ट (एआरटी) केन्द्रबाट औषधि वितरण गरिएको छ । गत आर्थिक वर्षको फागुनसम्म आमाबाट बच्चामा सर्ने एचआईभी रोकथाम (पीएमटी सिटी) कार्यक्रममा आबद्ध ६१ गर्भवती महिलासहित २३ हजार ७ सय ६० सङ्क्रमितलाई एआरटी केन्द्रबाट औषधि वितरण भएको थियो ।

  • मेडिकल कलेजका विद्यार्थीलाई अभिमुखीकरण

    मेडिकल कलेजका विद्यार्थीलाई अभिमुखीकरण

    काठमाडौं । नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष डा. भोला रिजालले स्नातकोत्तर कार्यक्रममा भर्ना हुन आएका विद्यार्थीहरुलाई स्वागत गर्दै मेहनत गरेर अध्ययन गर्न सुझाए ।

    डा. रिजालले आफुले मेडिकल शिक्षा अध्ययन गर्दाको समयमा स्नातकोत्तर तह अध्ययन गर्न ४० वर्ष पुरा भएको हुनुपर्ने मान्यता अहिले हटेको बताए । ‘आज २८ वर्ष उमेरका विद्यार्थीहरु पोस्ट ग्राजुएट गर्न आएको देख्दा मलाई गर्व लागेको छ । हाम्रो पालामा ४० नकटी पोस्ट ग्राजुएट गर्न हुँदैन भन्ने मान्यता राखिन्थ्यो भने, अहिले आएर एमविविएस पास गरिसकेपछि जसले इन्र्टनशिप पुरा गर्छ त्यसलाई पोस्ट ग्राजुएट गर्न रोक्नुहुँदैन भन्ने लडाईमा हामी छौं ।’ नेपाल मेडिकल एशोसिएसन मातहतमा लडिरहेको लडाईले विद्यार्थीहरुलाई ठूलै उपलब्धी हुने भन्दै डा. रिजालले भने ।

    अरु मुलुकहरुमा एमविविएस पास गरे लगत्तै पोस्ट ग्राजुएट गर्न पाइने प्रावधान अब नेपालमा पनि लागू हुनुपर्ने डा. रिजालको तर्क छ । मेडिकल शिक्षा अध्ययनका लागि नेपाल मेडिकल कलेज उत्कृष्ट गन्तव्य रहेको उल्लेख गर्दै अध्यक्ष डा. रिजालले विद्यार्थीको सिकाई र अध्ययनका लागि कलेज प्रशासन सदैव सहयोगी भूमिकामा रहने बताए । मेडिकल शिक्षा अध्ययन गर्नु भनेको धेरै गाह्रो विषय हो भन्दै त्रासमा रहेर अध्ययन नगर्न सुझाए । ‘तपाईहरु आफ्नो कामदेखि रमाउन सक्नुहोस्, धेरै पढिराख्नु पर्दैन । जब बिरामी तपाईहरुको अगाडी आउँछ उसलाई कसरी खुसी पार्ने, निको पारेर घर पठाउने मात्र सोच्नु होस्, दुखःलाई नै सुख ठान्नुहोस् ।’ उनले भने ।

    कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले आफुले एमविविएस गर्दाको समय र अहिलेको पढाईमा धेरै अन्तर आइसकेको बताउँदै मेहनत र लगनशील भएर अध्ययन गर्ने विद्यार्थीहरुले सधैं सफलता प्राप्त गर्ने बताए । ‘मेडिकल शिक्षा विशिष्टीकृत विषय हो । ४० वर्ष मैले पिजी पाउँदा मलाई सर्जन भइसके लागेको थियो । जब पढ्न गएँ बेकार पढ्न आएँ जस्तो लाग्यो । धेरै मेहनत गर्नुपर्दथ्यो । अल इण्डीया इन्ष्टिच्युटबाट परीक्षा लिन आउँथे । प्रोफेसरहरुले ओटीमा केही गल्ती गरे कुटीपनि हाल्थे । राती राम्ररी सुत्न पाइदैनथ्यो । राम्ररी खान पाइँदैनथ्यो ।’ तर, त्यसबेला गरेको मेहनतले सफलता प्राप्त गरेको भन्दै प्रा.डा. अन्सारीले विद्यार्थीहरुलाई मेहनत गर्न सिक्नुपर्ने बताए ।

    प्रा.डा. अन्सारीले नेपाल मेडिकल कलेज गुणस्तरीय मेडिकल शिक्षाका लागि सदैव विद्यार्थीको पक्षमा रहेको बताउँदै विगतको जस्तो मेडिकल शिक्षा अध्ययन गर्न बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको जनाए । विद्यार्थीले हासिल गरेकाे सफलतामा कलेजले गर्व गर्ने भएकाले मेहनतका साथ लगनशील भएर अध्ययन गर्न प्रा.डा. अन्सारीले जाेड दिए ।

    यस्तै, कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्रीले मेडिकल शिक्षाको क्षेत्रमा कलेजले दक्ष जनशक्ति उत्पादन र स्वास्थ्य सेवामा राम्रो काम गरिरहेको बताउँदै पोस्ट ग्राजुएट गर्न आएका विद्यार्थीको सिकाईमा कलेजले कुनै कम्प्रोमाइज नगर्ने बताउँदै विद्यार्थीले पनि कलेजको अनुशासन र नियममा रहेर अध्ययन गर्नुपर्ने बताए ।

    कार्यक्रममा बोल्दै कलेजका अस्पताल निर्देशक प्रा.डा. मोदनाथ मरहठ्ठाले विद्यार्थी र परिवारले देखेको सपना पुरा गर्न कलेज तत्पर रहेको भन्दै अनुशासनमा रहेर अध्ययन गर्न सुझाए । कलेजमा शैक्षिक सत्र २०२४ का लागि चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर कार्यक्रमका लागि ६० वटा सिट निर्धारण गरेको छ ।

    अभिमुखीकरण कार्यक्रममा कलेजका हस्पिटल डाइरेक्टर डा. राजेश किशोर श्रेष्ठ, निर्देशक डा. साविहा यासमिन, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का लगायत विभिन्न विभागका प्रमुखहरुको उपस्थिति रहेको थियो ।