Category: कृषि

कृषि

  • किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत

    किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत

    काठमाण्डौ ।  अनुदानलगायत सहायता उपलब्ध गराउन सरकारले ल्याएको किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत भएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीकाअनुसार किसानबाट उत्पादित उपज, खेती गरेको जमिनको क्षेत्रफललगायत विवरणसहितको एकीकृत तथ्याङ्क सङ्कलन भइरहेको छ ।

    राज्यबाट देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने तयारी भएको छ । यो विद्युतीय सूचना प्रणालीमा किसान जोडिएपछि रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधा उपलब्ध गराउन सहज हुने छ ।

    कृषि सूचना तथा प्रशिक्षण केन्द्रले समन्वय गरेको  कार्यक्रममा देशभर पालिकामार्फत किसानका सूचना सङ्कलन गरिएको हो । २०७७ साल फागुनमा मन्त्रीस्तरीय बैठकबाट शुरु भएको यस कार्यक्रममा आउँदो वर्ष १२ लाख सूचीकृत गर्ने योजना रहेको मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिनुभयो ।

    यसैबीच, मन्त्रालयले कृषि पशुपक्षी विकाससम्बन्धी सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा किसान पहिचानको प्रमाणका रूपमा किसान परिचयपत्रलाई मान्यता दिने जनाएको छ । किसानलाई प्राविधिक सेवा प्रवाह गर्न निकट भविष्यमा ‘मोबाइल एप्लिकेसन’को विकास गरिने जनाइएको छ ।

  • खडेरीले घोगा नलाग्दै सुके मकै

    खडेरीले घोगा नलाग्दै सुके मकै

    म्याग्दी  । असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन् ।

    मकै लगाउने समय (फागुन, चैत) मा पनि वर्षा नभएकाले ढिलो गरी बारीमा मकै रोपेका म्याग्दीका किसान असार लागिसक्दा पनि राम्रोसँग वर्षा नभएपछि चिन्तित छन् । ‘बारीका मकै नपसाउँदै सुक्न थालेका छन्, खेतमा राखेको धानको ब्याड पनि सुक्दै जान थालेको छ’, मालिका गाउँपालिका–४ का हिमबहादुर बिकले भने ।

    हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन नभएको मालिका–२ का किसान टेकबहादुर बिकले बताए । ‘मकै बारीमै सुक्न थालेका छन्, खेतमा रोपाइँका लागि राखेको धानको ब्याड पनि पहेँलिँदै गएको छ, खडेरीका कारण किरा र कमिलाले बीउ खाएर नास गर्न थालेका छन्’, बिकले भने ।

    उनका अनुसार वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन भएन । ‘अहिले खडेरी परेको छ, बारीमा छरेको मकै बारीमा सुक्न थाल्यो, यस्तै भयो भने भोकमरी हुने भयो’, मङ्गला गाउँपालिका–२ की किसान राधिका पौडेलले गुनासो गरिन् ।

    लामो समयदेखि पानी परेको छैन । मौसम तातिरहेको र गर्मीले अलासतलास बनाइरहेकाले जनजीवन प्रभावित बनेको यहाँका किसानको भनाइ रहेको छ । ‘विपत्ति सुरु भएको छ, पाँच महिनादेखि राम्रोसँग पानी परेको छैन, बारीमा छरेको मकै बारीमा नै सुकेको छ, रोपाइँ गर्न नपाएर किसान चिन्तित छन्, तरकारी र फलफूलका बिरुवा मर्न थाले, वनजङ्गल डढेलोले ध्वस्त भएका छन्, खानेपानीका मुहान सुकिराखेका छन’, मालिका–६ का प्रेम सिउथानीले भने ।

    हिउँदमा हिमपात नभएपछि हिमशृङ्खला काला पत्थरजस्ता देखिएका छन् । यस वर्ष कम हिमपात हुँदा हिमालको हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएको छ ।

    जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयको भनाइ छ । ‘मौसम परिवर्तन हुँदै गएको छ, खडेरीका कारण जनजीवन अस्तव्यस्त बनेको छ, बाली खेतबारीमा नै मर्न थालेपछि किसान के खाएर वर्ष बिताउने भन्ने चिन्तामा छन्’, दरबाङ बजारका होटल व्यवसायी अमृत सापकोटाले भने ।

    वर्षा नहुँदा बाँझै रहेका खेत जोत्नसमेत नपाइएको किसानले गुनासो गरेका छन् । व्यावसायिक तरकारीखेती गरेका किसानले खडेरीका कारण उत्पादनमा कमी आउने गुनासो गरेका छन् । लामो समयको खडेरीले किसानलाई बाली लगाउन र लगाएका बालीको संरक्षणमा समस्या भएको कृषि प्राविधिक जगत बानियाँले बताए ।

    कृषि ज्ञान केन्द्रका अनुसार विशेषगरी हिउँदे बालीमा खडेरीले असर पुर्‍याएको छ । सिँचाइ सुविधा भएका र नभएका दुवै स्थानमा उत्पादनमा निकै कमी आएको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बाँस्तोलाले बताए ।

    म्याग्दीमा आकाशे वर्षाको भरमा खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रुपमा लगाइएका गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारीखेती गर्नेहरुले ठूलो नोक्सानी व्यहोर्नुपरेको केन्द्रले जनाएको छ ।

    तेलहन बालीमा मात्र २५ प्रतिशतभन्दा बढीले उत्पादनमा कमी आएको कृषि प्राविधिक बताउँछन् । त्यसैगरी, लहरेबाली समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी किसान मारमा परेका छन् ।

    बालीनाली सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । अर्कोतर्फ पानीको वैकल्पिक स्रोतसमेत खडेरीका कारण सुकेपछि धमाधम रोपाइँ हुनुपर्ने लेकाली क्षेत्रमा रोपाइँ हुन सकेको छैन ।

  • कुरिलो खेतीबाट एकै याममा सात लाख मुनाफा

    कुरिलो खेतीबाट एकै याममा सात लाख मुनाफा

    नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा रु सात लाख मुनाफा आर्जन गरेका छन् ।

    मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गरेका मोक्तानले वार्षिक रु १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गरेका हुन् । सबै खर्च कटाएर रु सात लाख नाफा कमाएको उनले बताए।

    हाल उनले ५० कठ्ठामा कुरिलोखेती गरेका छन् । “यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार र पठाउने काममा व्यस्त भइन्छ”, उनले भने । दैनिक ८० देखि एक सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको उनले बताए । किसान मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौँमा खपत हुने गरेको छ ।

    गत वर्ष तीस कठ्ठा क्षेत्रफलमा कुरिलोखेती गर्नुभएका मोक्तानले यस वर्ष २० कठ्ठा क्षेत्रफलमा थपेको बताए । गत वर्षभन्दा यो वर्ष अधिक  आम्दानी हुने उनी बताउछन् । हाल कुरिलोको खुद्रा बजार मूल्य प्रतिकेजी रु तीन सय छ र थोकमा मूल्य रु दुई सय ५० छ ।

    लोट्स कृषि तथा पशु फार्म दर्ता गरी जग्गा भाडामा लिएर उनले तरकारीखेती गर्दै आएका छन् । विगत पाँच वर्षदेखि उनी व्यावसायिक खेतीमा लागेका हुन् । उनको बारीमा  कुरिलोसँगै घिरौला, भिण्डी, करेला, खरबुजा लटरम्म फेलका छन् । आफ्ना अन्य उत्पादनले भन्दा कुरिलोखेतीबाट अधिक आम्दानी हुने गरेको उनी बताउछन् ।

  • उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी

    उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी

    जलेश्वर ।  महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले एक अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी लिएका छन् । 

    एभरेष्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार पाँच सय किसानलाई उक्त रकम भुक्तानी दिइएको बताए। उनले भने, ‘चालु आर्थिक वर्षको किसानको बक्यौता चुक्ता भएको छ ।’

    समयमै भुक्तानी पाएपछि उत्साहित भएका उखु किसानले थप जमिनमा उखु रोप्ने बताएका छन् । गौशाला नगरपालिका–११ का किसान दिनेश कुशवाहाले थप जमिनमा खेती बढाउने बताए ।

    उक्त मिलले चालु आर्थिक वर्षमा महोत्तरी, धनुषा, सर्लाही र रौतहटका १४ हजार चार सय ४४ जना किसानबाट २९ लाख चार हजार पाँच सय ११ क्विन्टल उखु खरिद गरेर कूल दुई लाख ६४ हजार चार सय ९१ क्विन्टल चिनी उत्पादन गरेको महाप्रबन्धक ठाकुरले जानकारी दिए । 

  • नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

    नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

    मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताए। विगत चार वर्षदेखि सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम जिल्लामा बढेको उनले बताए ।

    “चैतेधान थन्काएपछि असारमा फेरि धान रोप्नुपर्ने भएकाले गर्मीलाई बेवास्ता गर्दै किसानहरू धान भित्रउन व्यस्त छन्”, उनले भने, “यस वर्ष छ हजार सात सय ५५ मेट्रिक टन चैतेधान उत्पादन हुने अनुमान छ ।”

    दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानले चैतेधान लगाउने गरेका छन् । तुलनात्मक रूपमा यहाँ मकैभन्दा धान बढी उत्पादन हुने र दुई बाली धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने हुँदा किसानहरू यसतर्फ आकर्षित भएका प्रमुख तिवारीले बताए । विगत चार वर्षदेखि जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकामा चैतेधान खेतीको क्षेत्र छुट्याएर खेती गरिएको उनले बताए ।

    “जिल्लाको कावासोती नगरपालिका–८ देखि १७, गैँडाकोट नगरपालिका १०, ११, १२ र १३, देवचुली नगरपालिका–१७, मध्यविन्दु नगरपालिका २ र ३,  विनयी त्रिवेणी गाउँपालिका १ र ५, बुलिङटार गाउँपालिका–३ र बौदीकाली गाउँपालिका–४ मा हिउँदे धान भित्र्याउन अहिले किसान व्यस्त भएका छन्”, उनले भने।

    कृषि ज्ञान केन्द्रले चैतेधान उत्पादन हुने सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गरी किसानलाई प्रोत्साहन गर्दै आएको छ । “गत वर्ष जिल्लामा एक हजार दुई सय १० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदा छ हजार एक सय २३ मेट्रिक टन धान उत्पादन भएको थियो”, उनले भने, “गत वर्षभन्दा यो वर्ष एक सय १५ हेक्टर क्षेत्रफलमा खेती विस्तार भएको छ ।” बर्खे धान प्रतिहेक्टर तीन टनभन्दा बढी उत्पादन हुनेमा चैतेधान प्रतिहेक्टर चारदेखि पाँच टनसम्म उत्पादन हुने प्रमुख तिवारीले जानकारी दिए ।

    “चैतेधानमा रोग तथा किरा पनि कम लाग्ने भएकाले किसानका लागि यो राम्रो मानिन्छ ”, उनले भने, “जिल्लामा विशेष गरी चैते–५ र हर्दिनाथ–१ जातको चैतेधान रोप्ने गरिन्छ ।”

  • पर्वतमा जेठोबुढो धानको उन्नत बीउ उत्पादन गरिँदै

    पर्वतमा जेठोबुढो धानको उन्नत बीउ उत्पादन गरिँदै

    पर्वत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुइ एकाइ पर्वतले जिल्लाका पाँच स्थानमा जेठोबुढो धानको बीउ उत्पादन सुरु गरेको छ । 

    एकाइले धान उत्पादनको पकेट क्षेत्रका रुपमा रहेका कुश्मा नगरपालिका–१ पाङ, वडा नं २ खुर्कोट, वडा नं ११ पकुवा, फलेवास नगरपालिका–६ देवीस्थान र बिहादी गाउँपालिका–२ बर्राचौरमा जेठोबुढो जातको उन्नत बीउ उत्पादन गर्न सुरु गरेको हो । 

    पछिल्लो समय नेपाली भान्छामा जेठोबुढो चामलको माग अत्यधिक बढ्दै गएको छ । स्वदेशमा मात्र नभई विदेशमा रहेका नेपाली रेष्टुरेण्टमा पनि जेठोबुढो चामलको माग बढी हुन थालेकाले बीउ उत्पादन गर्न थालिएको परियोजना बागलुङका प्रमुख नारायण पौडेलले बताए। उनका अनुसार स्वादिलो, बास्नादार र गुणस्तरको हिसाबले पनि उपयुक्त भएकाले पर्वतमा यसको विस्तारसँगै बीउ उत्पादन गर्न थालिएको हो । 

    विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा धानखेती हुँदै आए पनि यस वर्ष बीउ उत्पादन गर्न थालिएको परियोजना प्रमुख पौडेलले बताए। कार्यालयले खेतमा धानको बीउ उमार्ने, रोप्ने, गोडमेल गर्ने, उत्पादित बीउ छनौट तथा भण्डारणसम्मका काममा प्राविधिक सहयोग गर्ने उनले जानकारी दिए।

    बीउ उत्पादनका लागि यस वर्ष परियोजनाले पाँच सय ८० किलो मूल बीउ वितरण गरेको छ । अहिले उमार्न थालिएको मूल बीउबाट जिल्लाको सात सय हेक्टर क्षेत्रफलमा धानखेती गरिने परियोजना प्रमुख पौडेलले जानकारी दिए । यस वर्ष उत्पादित बीउबाट आगामी वर्ष जिल्लाका साथै अन्य जिल्लामा पनि बिक्री गर्ने उद्देश्यले उत्पादन थालिएको उनले बताए।

    जेठोबुढो धानको विस्तारका लागि चालु आर्थिक वर्षमा १० लाख विनियोजन भएको कार्यालयले जनाएको छ । जुनसुकै हावापानीमा पनि सहज रुपमा उत्पादन गर्न सकिने भएकाले जिल्लाका ६१ वटै वडामा जेठोबुढो धानखेती गर्न सकिने कार्यालयले जनाएको छ । 

    खानका लागि चामल मात्र नभई बीउ नै उत्पादन गर्न सकेमा कृषकको आम्दानीसमेत बढ्ने बिहादी–२ बर्राचौरका कृषक रामप्रसाद पराजुलीले बताए। यस वर्षदेखि प्राविधिकको निगरानीमा वैज्ञानिक र आधुनिक पद्धतिबाट उत्पादन गरिने उक्त बीउले वैधानिकता पाउनेमा कृषक विश्वस्त छन् । 

    कृषक गोविन्द पराजुलीले उत्पादित बीउ सहज रुपमा बिक्री वितरणको व्यवस्था परियोजनाले मिलाइदिनुपर्ने बताए। उनले कृषकलाई प्रोत्साहन गर्न उत्पादित धानका साथै बीउको बिक्रीमा बजारीकरणमा सहजीकरण गरिदिन उनले आग्रह गरे। 

    परियोजनाले बीउका साथै आवश्यक प्राविधिक सहयोग गर्ने भएपछि बाँझै रहेको जग्गामा कतिपय कृषकले खनजोत गरेर धानखेती गर्न थालेको पराजुलीले बताए । 

    पर्वतमा करिब नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । जिल्लाभर २६ हजार मेट्रिकटनभन्दा बढी धान उत्पादन हुने गरेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । 

    पर्वतमा सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, यूएस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, जेठोबूढो, पहेँले, गुर्दी, एक्ले, खुमल, गौरिया, झिनुवा, बिरमफूल, पोखरेली जेठो बूढो, गुर्जा, लुम्ले, माछापुच्छ्रे, जर्नेली, सुगन्ध, हाइब्रिडलगायत जातका धान लगाउने गरिन्छ । केही पुराना जातका धान भने लोप भइसकेको केन्द्रले जनाएको छ । 

  • तनहुँमा ‘एक घर, दश कफीका बिरुवा’ अभियान

    तनहुँमा ‘एक घर, दश कफीका बिरुवा’ अभियान

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-१० ले ‘एक घर, दश कफीको बिरुवा’ रोप्ने अभियान सञ्चालन गर्न लागेको छ । आगामी आर्थिक वर्ष २०८१- ८२ को नीति तथा कार्यक्रम तर्जुमा गर्दै वडाले व्यावसायिक कफी उत्पादनलाई अभियानकै रुपमा अगाडि बढाउन लागेको हो  । 

    एक हजार एक सय ५५ घरधुरी रहेको यस वडामा यस आर्थिक वर्षमा मात्रै १० हजार कफीको बिरुवा वितरण गर्न लागिएको हो । युवासँग उपप्रमुख कार्यक्रम अन्तर्गत व्यावसायिक खेती उत्पादन कार्यक्रमबाट यस वडालाई कफीको पकेट वडाको रुपमा विकास गर्न लागिएको वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले जानकारी दिए। 

    स्थानीय बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म नेपाली कफीको अत्यधिक माग भएको र बाँदरलगायत वन्यजन्तुबाट कम क्षति हुने नगदे बाली भएको हुँदा स्थानीय किसान व्यावसायिक रुपमा कफी खेती गर्न इच्छुक देखिएको उनको भनाइ छ । उनका अनुसार कफीको बिरुवा ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गरिनेछ । किसानलाई प्रविधि विस्तार र बजारीकरणको जिम्मा कृष्मी बहुउद्देश्यीय सहकारी संस्थासँग समन्वय गरिने उनले बताए । 

    शुक्लागण्डकी नगरपालिकाको युवासँग उपप्रमुख कार्यक्रम र कृषी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा यस अघि व्यावसायिक अदुवा खेती अभियान सञ्चालन गरिएको थियो ।

    बढ्दो बसाइँसराइले गाउँ खाली हुँदै गएको, उर्वर खेतीयोग्य जमिन बाँझो हुँदै गएको अवस्थामा कफी खेतीबाट बाँझो जमिनको सदुपयोग हुनका साथै किसानको आयआर्जनमा टेवा पुग्ने विश्वास गरिएको छ ।