लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका ५ वटा मध्ये २ वटा बस धम्मयात्रा लेखेर पुस ३ गतेदेखि परीक्षण स्वरुप सञ्चालन गरिएको छ ।
Category: पर्यटन
पर्यटन
-

रामग्रामदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन
लुम्बिनी । लुम्बिनी विकास कोषले बुद्धको अस्तीधातु रहेको रामग्रामबाट लुम्बिनीसम्म बुधबारदेखि विद्युतीय बस सञ्चालन शुरु गरेको छ । गत पुस ४ गतेदेखि सञ्चालन शुरु गरिएको बिजुली बसलाई बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुहरुको सेवालाई लक्षित गरी रामग्रामबाट लुम्बिनीका लागि बस सञ्चालन शुरु गरिएको हो ।बुधबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई(सिद्धिचरण), रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बसमा सवार भएर सेवा सञ्चालन गरे ।कोषले बृहत्तर लुम्बिनी क्षेत्रका पर्यटकहरुलाई सेवा दिने उदेश्यले अनुदानमा प्राप्त गरेको विद्युतीय बस कानुनी उल्झनका कारण सञ्चालन हुन सकेको थिएन ।कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले सेतो नम्बर प्लेटका कारण बस सेवा सञ्चालन गर्न नसकेको अवस्थामा सबैको गुनासो आएपछि दानपेटिका राखेर परीक्षण स्वरुप बस सञ्चालन गरिएको बताए । उनले रामग्राम र बुद्धजन्मस्थल लुम्बिनी जोड्नका लागि हप्ताको तीन दिन विद्युतीय बस सञ्चालन गरिएको र भविष्यमा दैनिक एक वटा बस सञ्चालन गर्ने योजना रहेको बताए ।यस्तै रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले आफूहरुले लामो समयदेखि विद्युतीय बस सञ्चालनका लागि माग गरेकोमा त्यसको शुरुवात भएको बताए । उनले रामग्राम र लुम्बिनी जोड्नका लागि विद्युतीय बसले ठूलो भूमिका खेल्ने बताए । उनले विजुली बस नियमित सञ्चालनका लागि आवश्यक वातावरण बनाउन स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाए ।रामग्रामबाट लुम्बिनीका लागि हप्ताका तीन दिन सोमबार, बुधबार र शुक्रबार विहान ९ बजे बस चल्नेछ । रामग्राम स्तुपबाट बुद्धचौक, परासी बजार, धकधई, बेलहिया भैरहवाको देवकोटा चौक, बुद्धचोक हुँदै एयरपोर्टबाट लुम्बिनी बस चल्ने गरी रुट मिलाइएको कोषका देवदह कार्यालयका प्रमुख दामोदर सापकोटाले बताए ।उनका अनुसार देवदह र रामग्राममा शनिबारलाई आलोपालो गरी रुट बनाइने छ । लुम्बिनीदेखि सिधा बस सञ्चालन भएपछि रामग्राम आउने तीर्थयात्रुहरुलाई सहजता हुनेछ । बसमा सवारहरुले स्वेच्छिक रुपमा दानपेटिकामा सहयोग गर्न सक्नेछन् तर, कोषले भाडा वापत भने शुल्क लिनेछैन ।बस शुभारम्भमा रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरी, रामग्राम वडा न. ७ का वडाअध्यक्ष, रविन्द्र यादव, नेपाल पत्रकार महासंघ नवलपरासी (पश्चिम) का अध्यक्ष केशव पराजुली, रामग्राम विकास कोषका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका ५ वटा मध्ये २ वटा बस धम्मयात्रा लेखेर पुस ३ गतेदेखि परीक्षण स्वरुप सञ्चालन गरिएको छ ।एसियाली विकास बैंकको अुनदान सहयोगमा ५ वटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले २०७९ साल जेठ १२ गते हस्तान्तरण गरेको थियो । -

पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’
भेरीगङ्गा – ‘सुर्खेतमा बुलबुले ताल, चौतारीमा भेट भयो यो साल’अर्जुन नेपाली र सङ्गीता प्रधानको बन्धकी फिल्मको यो गीत सुन्ने बित्तिकै बुलबुलेको झल्को आउँछ । यो ताल नघुमेका व्यक्तिलाई घुमौंघुमौं लाग्छ । चारैतिर पहाडले घेरिएको वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र बुलबुल गरेर जमिनमुनिबाट निस्किएको पानीले बनेको तालको नाम हो– बुलबुले । यो ताल पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ भने वीरेन्द्रनगर नगरपालिकाको आन्तरिक आम्दानीको स्रोत पनि बनेको छ।
पहिलो पटक कर्णालीको राजधानी समेत रहेको वीरेन्द्रनगरमा आउने जोकोही पनि बुलबुले ताल हेर्न जाने गर्छन् । एकपटक गएपछि फेरि पनि घुम्न मन लाग्ने बुलबुले उद्यान क्षेत्र पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाइ बनेको छ । समुद्री सतहबाट करिब छ सय ५७ मिटरको उचाइमा अवस्थित बुलबुले तालमा मोटरेबल समेत सञ्चालनमा आएपछि झनै पर्यटकको रोजाइ बनेको हो । सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइएको छ भने चारैतिर घुम्न र हेर्नलायक बन्दै छ । तालमा अहिले मोटरबोट शयर गर्न समेत सकिन्छ ।
१२ हजार वर्गमिटर क्षेत्रफलमा रहेको उक्त तालको क्षेत्र बढाएर २८ हजार पाँच सय वर्गमिटर बनाइएको छ । अहिले यही तालमा दुईवटा मोटरबोट सञ्चालनमा ल्याइएपछि आन्तरिक पर्यटक बढ्न थालेका हुन् । साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । कर्णाली आउने हरेक पर्यटकको रोजाइमा बुलबुले पनि पर्छ । बुलबुलेमा बिदाका दिनमा बढी पर्यटक आउने गर्छन् । दैनिक पाँच सयभन्दा बढी पर्यटकले बुलबुलेको अवलोकन गर्ने बताइएको छ । विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो ।
नजिकै रहेको काँक्रेबिहारले पनि रमाइलो थपिदिन्छ । यहाँ वनभोजस्थलदेखि घुमघाम गर्न जानेहरूको घुइँचो बढ्न थालेको छ । विशेषगरी बिदाको दिन बुलबुले घुम्न जाने पर्यटकको संख्या बढ्ने गरेको छ । अहिले बिदाको दिन पाँच हजारभन्दा बढी व्यक्ति बुलबुले घुम्न आउने गरेको वीरेन्द्रनगर नगर विकास समितिअन्तर्गत टिकट काउन्टरमा कार्यरत माली निर्मला बास्तोला बताउँछिन् । ‘अहिले दैनिक औषतमा पाँच सयभन्दा धेरै व्यक्ति बुलबुले अवलोकन गर्न आउने गर्नु हुन्छ, दैनिक टिकट बिक्रीबाट रु १५ हजार आम्दानी हुने गरेको छ’, उनले भनिन् । बिदाका दिनमा रु ३५ हजारसम्मको आम्दानी हुने गरेको निर्मला बताउँछिन् ।
अझै व्यवस्थित गर्न सुझाव
बुलबुले घुम्न आएका आन्तरिक पर्यटकले भने नगरपालिकाले अझै उद्यान क्षेत्र व्यवस्थित गर्न आवश्यक रहेको औंल्याएका छन् । वनभोजका लागि आएका शिव मावि धुलियाबिटका प्रधानाध्यापक पूर्णप्रसाद पौडेलले उद्यानसँगै सार्वजनिक शौचालयलगायतका संरचना बनाएर व्यवस्थित गर्नुपर्ने सुझाव दिए । ‘अहिलेको समय भनेको हरेक नागरिकका लागि रमाइलो चाहिएको छ, त्यसका लागि उपयुक्त ठाउँ बुलबुले बनिरहेको छ, तर यसको व्यवस्थापन अझै गर्न आवश्यक देखिन्छ’, उनले भने । प्रधानाध्यापक पौडेलले सार्वजनिक शौचालयदेखि रातिको समयमा घुम्न मिल्ने वातावरण बनाउनुपर्ने सुझाव दिए । बत्ती, पानीसहित चार्चिङ स्टेशनलगायत संरचना बनाएर अझै प्रचारप्रसार गर्न सके वीरेन्द्रनगरको आन्तरिक आम्दानीको ठूलो स्रोत बुलबुले बन्न सक्ने उनको भनाइ छ ।
बुलबुले घुम्न आएका टङ्कप्रसाद पोख्रेलले पनि बुलबुले आफैंमा महत्वपूर्ण र घुम्नलायक ठाउँ रहेको भन्दै आन्तरिक पर्यटकसँगै बाह्य पर्यटक भित्र्याउने गरी सरकारले काम गर्नुपर्ने सुझाव दिए । ‘अझै आकर्षक र हेर्नलायक बनाउन सक्नुपर्छ, यही प्रदेश सरकार पनि भएको हुँदा स्थानीय र प्रदेश सरकारले विशेष योजना ल्याउनु पर्छ’, उनी भन्छन् ।
बाहिरबाट सुर्खेत आएपछि बुलबुले घुम्न जाने गरेको उल्लेख गर्दै शिक्षक कमला खतिवडाले पनि अझै सबैको रोजाइ हुनेगरी बुलबुले उद्यान निर्माण गरिनुपर्नेमा जोड दिए । व्यवसायी ओमप्रकाश तिवारीले बुलबुले, काँक्रेबिहारलगायत पर्यटकीय क्षेत्रलाई पर्यटकको रोजाइ बन्नेगरी योजना बनाउनु पर्ने भन्दै यसले अर्थतन्त्रलाई टेवा पुग्न सक्ने सुझाव दिए । पर्यटकको आकर्षक बनाउन सके कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा व्यवसाय पनि बढ्थ्यो, रोजगारी सिर्जना हुन्थ्यो भने अर्कातर्फ विदेशिनु पर्ने बाध्यता कम हुने थियो ।
अर्का व्यवसायी रमेश खड्काको मत पनि त्यस्तै छ । बुलबुलेको पहिचानलाई जोगाउँदै देश तथा विदेशका पर्यटक भित्र्याउने गरी योजना बनाउनुपर्ने उनले बताए । प्रदेश राजधानीमा रहेको बुलबुले, काँक्रेबिहार र देउती बज्यै जस्ता पर्यटकीय क्षेत्रलाई व्यवस्थित तथा प्रचारप्रसार गरी आन्तरिक आम्दानी बढाउन सकिने सरोकारवालाको सुझाव छ । कर्णाली प्रदेश सरकारले पर्यटकीय क्षेत्रको पहिचानसँगै कर्णाली घुम्न आउने वातावरण बनाउने गरी योजना बनाइएको भन्दै सबै पक्षलाई कार्यान्वयन गर्न सहयोग गर्न आग्रह गरेको छ ।
-

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनमा वृद्धि
चितवन । अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आव २०८०-८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । अघिल्लो आवमा यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ थियो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा दुई लाख ७४ हजार दुई सय ९९ पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गरेकामा अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ७१ हजार सात ३१ थियो । गत आवमा भरतपुर महानगर हुँदै २७ हजार ९५६ पर्यटक आएका थिए । आव २०७९-८० मा यो सङ्ख्या २३ हजार २५७ थियो ।
भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ विश्व सुवेदीले चितवन भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रचारले निकुञ्जमा पर्यटक बढेका बताए । उनले बाह्य मुलुकबाट धार्मिक पर्यटक आउनेगरी धार्मिक कार्यक्रम, देवघाटधाम महोत्सव, जंगल सफारी मार्ट, म्याराथन आयोजना गरिने जानकारी दिए ।
भ्रमण वर्षका अवसरमा देवनगरमा सर्वसाधारणका लागि हेर्न मिल्ने गरी उद्धार गरिएका पाटेबाघ राखिएका छन् । दियालो बंगला पनि सर्वसाधारणका लागि खुला गरिएको छ । यो पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ ।
-

बर्खा लागेसँगै मनाङ सुनसान, व्यवसायी ‘फुर्सदिला’
कास्की । पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ बर्खा लागेसँगै सुनसान भएको छ । जेठदेखि भदौसम्म पदयात्रा पर्यटनका लागि ‘अफसिजन’ मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङमा अहिले फाट्टफुट्ट मात्र विदेशी पर्यटक भित्रिने गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले असोजदेखि मङ्सिर र फागुनदेखि वैशाख मुख्य पर्यटकीय याममा यहाँ पर्यटकको सङ्ख्या बाक्लो हुने बताए ।
चामेका पर्यटन व्यवसायी फुर्वा लामाले मनाङवासीको मुख्य आयआर्जनको स्रोत पर्यटन व्यवसाय रहेको तर अहिले व्यवसायीहरू फुर्सदिला रहेका बताए । यस्तै सडक विस्तारले पदमार्ग छोटिँदा अन्नपूर्ण चक्रीय पदमार्गको साख गुम्दै गएको लामाको अनुभव छ । जाडोयाममा व्यवसायीहरू होटल बन्द गरेर काठमाडौँ, पोखरालगायतका ठाउँमा जाने गर्छन् ।
‘एक्याप’ मनाङका प्रमुख भुजेलले गएको वर्ष २१ हजार चार ९५ जना विदेशी पर्यटकले मनाङ घुमफिर गरेका जानकारी दीए । धेरैजसो युरोपियन देशका पर्यटकको रोजाइमा मनाङ पर्ने गरेको छ । आन्तरिक पर्यटकको तथ्याङ्क ‘एक्याप’ सँग छैन । भारतीय र नेपाली पर्यटक ‘बाइक राइडिङ’ गरेर पनि मनाङ आइपुग्छन् ।
-

संस्कृतिलाई जोड्दै गुरुङ सम्पदा
गण्डकी। व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्दै गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)को प्रवर्द्धन र विकासमा जुटेको छ ।
जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएका अवस्थामा सङ्घले गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्दै त्यहाँका संस्कार संस्कृतिसमेत पदयात्रा पर्यटनसँग जोड्ने गरी प्रवर्द्धनका कार्यक्रम अघि बढाइएको हो ।
सङ्घले गुरुङहरूको प्राचीन बस्ती ताङतिङदेखि करापुडाँडा–ताप्रो–क्होलासोँथर–ठूलो लेक–थुर्जु–दूध पोखरी–गुरुङ देउराली–डाँफे खर्क–तिमाङ हुँदै बेँसीसहरसम्मलाई समेटेर गुरुङ सम्पदा पदमार्गका रुपमा विकास गर्न खोजेको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताए।
सङ्घले हालै नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पदमार्ग क्षेत्रका मादी, क्होलासोँथर, मस्र्याङ्दी र चामे गाउँपालिकाको सहयोगमा यही जेठ २१ गतेदेखि ३० गतेसम्म उक्त क्षेत्रमा १० दिने पदयात्रा अन्वेषण एवं प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको उनले जानकारी दिए।मौलिक भाषा, धर्म र संस्कृतिले सम्पन्न गुरुङ समुदायका आफ्नै मातृभाषा, मौलिक पोसाक र लिपि रहेका छन् । आफ्ना संस्कार र संस्कृतिलाई पुस्तौँदेखि संरक्षण गर्दै आएको यो समुदायका घाँटु, सोरठीजस्ता परम्परागत संस्कृति पनि छन् ।
-

विपद् व्यवस्थापनको तयारीका लागि थोराङ्ला भञ्ज्याङको अनुगमन
मनाङ । मनाङमा विपद् व्यवस्थापनको तयारी सुरु गरिएको छ । मनसुन भित्रिएसँगै हुनसक्ने सम्भाव्य विपद्को जोखिम न्यूनीकरणको तयारी सुरु गरिएको हो ।
विपद्को जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चार हजार नौ सय १६ मिटर उचाइमा अवस्थित तिलिचो ताल जाने पदमार्ग र थोराङ्ला भञ्ज्याङ पार गर्ने अन्नपूर्ण पदमार्गको अनुगमन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
पदमार्गमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणको तयारीका लागि अनुगमन गरी सम्बन्धित निकायसँग छलफल गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष सुवासकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार खाङ्सार, याकखर्क, लेदर, हाइक्याम, बेसक्यामलगायतका पर्यटक बढी बसोबास गर्ने क्षेत्रका पर्यटन व्यवसायीलाई सचेत गराइएको छ ।
अनुगमनका क्रममा मुस्ताङ खण्डमा सचेतना तथा सूचना पार्टी राख्ने विषयमा सुरक्षा निकायसँग छलफल भएको छ । उद्धारका लागि जिल्लाभरका लागि उपकरण अद्यावधिक गरी तयारी अवस्थामा राखिएको उनले बताए ।
आवश्यक उपकरण राख्न र कर्मचारीलाई कार्य प्रतिकारका लागि तयार रहन र बाहिर जिल्ला जाँदा विपद् व्यवस्थापन समितिलाई जानकारी गराउन आग्रह गरिएको जनाइएको छ । पालिकास्तरमा विपद् सहायता कक्ष स्थापना, स्थानीय प्रतिकार टोली, रेडक्रसलगायतका सुरक्षा टोलीलाई तयार पारिएको छ ।
तालिम प्राप्त कोर टिम नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई तयारी अवस्थामा राखिएको प्रजिअ लामिछानेले बताए । मनसुनको सुरुआत भएसँगै विपद् व्यवस्थापन समितिले जीर्ण भएका साइनिङ पोलको जडान तथा बाटो देखाउन राखिएका चिन्हको अवस्थाको तथ्याङ्क सङ्कलन गरिएको उनले बताए । उनले भने, “साइनिङ पोल र चिन्ह सङ्कलन भइरहेको छ, एक्यापलाई चिन्ह र पोल राख्नुपर्ने स्थानबारे जानकारी गराएका छौँ ।”
ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जिल्ला विपद् व्यवस्थापन समितिले सुझाव दिएअनुरुप नै तयारी गरिएको बताए । पालिका तथा वडास्तरकै विपद् सहायता कक्ष खडा गरिएको उनको भनाइ छ । जिल्लाको बढी जोखिमयुक्त चामे र नासों गाउँपालिकामा सहायता कक्ष स्थापना र विपद् सचेतनाका कार्यक्रम भइरहेको बताइएको छ ।
-

मगर संस्कृति चिनाउँदै चुली बोझा मगर ‘होमस्टे’
नवलपरासी । बुलिङटार गाउँपालिका–४ स्थित देवचुली चुलीबोझा मगर सामुदायिक घरबास ‘होमस्टे’ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । विसं २०७५ मा स्थापना भएको यस घरबासमा मगर संस्कृतिसँग रमाउन चाहने आन्तरिक पर्यटक आउने गर्दछन् ।
यस घरबासलाई महाभारत पर्वत शृङ्खलाको अग्लो पहाड देवचुली डाँडा, चुली बोझा गाउँको नाम र मगर समुदायलाई जोडेर देवचुली चुलीबोझा मगर सामुदायिक घरबास पहिचान दिइएको छ । जिल्लामा घरबास खुल्नेक्रम बढेसँगै यहाँका मगर समुदायले आफ्नो संस्कृति र खानाका परिकार पर्यटकको रोजाइमा पार्न घरबास सञ्चालन गरेका हुन् ।
पूर्वपश्चिम राजमार्गको दलदले बजारबाट २२ किमी उत्तरमा रहेको बुलिङ्टार-४ मा पर्ने होमस्टेमा यहाँको रैथाने खाना, मगर कलासंस्कृति र मनोरम दृश्य अवलोकनका कारण आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको घरबासका सचिव हेमलाल बरालले बताए ।
स्थापना गरिएको केही वर्ष खासै चर्चामा आउन नसकेको भए पनि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्दै गएपछि सामुदायिकरुपमा घरबास सञ्चालन गर्दै आएका स्थानीय खुसी भएका छन् ।
चुली बोझामा अहिले १३ घरमा घरबास सञ्चालन हुँदै आएको छ । दैनिक ५० देखि ६० जनासम्म पर्यटकलाई सेवा दिन सकिने गरी घरबास व्यवस्थापन गरिएको सचिव बरालले जानकारी दिए।





