Category: कृषि

कृषि

  • ‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा

    ‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा

     सुदूरपश्चिम आफ्नै जिल्लामा फलेको ‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा पर्दा बाजुराका किसान धनबहादुर रावल दङ्ग छन्। नजिकिएको चाडपर्वका समयमा स्याउको माग बढेपछि उनी यतिबेला बिक्रीका लागि धनगढी पुगेका छन् । 

    ‘बिक्रीका लागि बुधबार धनगढी ल्याइपुर्याएको चार सय १७ पेटी (छ हजार दुई सय ५५ किलो) स्याउ दुई दिनमै बिक्री भइसक्यो’, उनले भने, ‘स्याउखेतीमा लागेका किसानले उत्पादन क्षेत्रमा उचित मूल्य नपाउँदा भने केही खल्लो महसुस भएको छ ।’

    वर्षासँगै गएको पहिरोले बाजुरा–अछाम सडकखण्ड अवरुद्ध हुँदा उनले कालिकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया हुँदै कैलालीको धनगढीमा अर्ग्यानिक स्याउ बिक्रीका लागि ल्याएका हुन् । आफ्नै प्रदेशको बाटो अवरुद्ध हुँदा स्याउको बजार खोज्न कर्णाली र लुम्बिनी प्रदेशका जिल्ला हुँदै ट्रकमार्फत ढुवानी गरेर धनगढी पुर्याउनुपरेको किसानको गुनासो छ ।

    बाजुरा स्वामीकार्तिक गाउँपालिकाका किसान रावलको बारीमा रोपिएका एक हजार एक सय स्याउका बोटमध्ये यस वर्ष तीन सय बोटमा स्याउ फलेको थियो । फलेको स्याउ धनगढी बजारसम्म पुर्याउन एक ट्रकको ढुवानी भाडा रु ७० हजार परेको थियो । 

    उत्पादन क्षेत्रमा सम्बन्धित किसानले भने प्रतिकिलो ४० मात्रै पाउने गरेका छन् । यो स्याउ धनगढी बजारमा भने एक सय २० मा बिक्री भएको छ । बाजुराबाट यसपालि सुर्खेतमा तीन ट्रक, छिन्चुमा दुई र कैलालीको बौनिया र धनगढीका लागि एक–एक ट्रक स्याउ बजारीकरणका लागि ल्याइएको विक्रेताको भनाइ छ ।

    किसान दानबहादुरले सडकको भरपर्दो सुविधा नहुँदा उत्पादित स्याउ बजारसम्म पुर्याउन मुस्किल भएको बताए। त्यहाँ उत्पादित स्याउ कतिपय समयमा बिक्री नहुँदा त्यसै सडेर खेर जाने र पशुचौपायालाई खुवाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

    बाजुराको हिमाली भेग पाण्डुसैन, बुढीनन्दा, स्वामीकात्तिक र जगन्नाथ गाउँपालिका अर्ग्यानिक स्याउ उत्पादनका लागि प्रख्यात छन् । स्याउको बजारीकरणमा भइरहेको समस्यासँगै व्यापारीले यो स्याउ बजारसम्म पुर्याउन चर्को ढुवानी भाडा तिर्नुपरेको छभने किसानले उचित मूल्य पाउन सकिरहेका छैनन् ।

    उत्पादनस्थलसम्म सडकको पहुँच नहुनु, भएका सडक पनि बर्खायाममा भत्किएर बन्द हुनु, भाण्डारणका लागि उचित व्यवस्था नहुनुजस्ता समस्याले उत्पादित स्याउ बजारसम्म पुर्याउन समस्या हुने गरेको उनीहरूको भनाइ छ । सरकारी निकायबाट किसानको अपेक्षाअनुसार सहयोग नपाउँदा स्याउको बजारीकरणमा समस्या भइरहेको गुनासो पनि किसानको छ ।

    बाजुराको अर्ग्यानिक स्याउ धनगढी पुगेपछि स्थानीय उपभोक्ताले पनि यसको स्वाद पनि लिन पाएका छन् । धनगढीका फणिन्द्र जोशीले बाजुराको स्याउ रसिलो र स्वादिलो भएको अनुभव सुनाए । सुदूरपश्चिम प्रदेशको धनगढीलगायतका सहरी क्षेत्रका फलफूल बजारमा भारतबाट आयातित स्याउको कारोबार हुने गरेको छ । 

  • नवलपरासीपूर्व दूध उत्पादनमा आत्मनिर्भर

    नवलपरासीपूर्व दूध उत्पादनमा आत्मनिर्भर

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । जिल्लाको जनसङ्ख्याका आधारमा आवश्यकता भन्दा बढी दूध उत्पादन भई बिक्रिका लागि जिल्ला बाहिर पठाउन थालिएको छ ।

    उत्पादित दूधको तथ्याङ्कका आधारमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा विगत तीन वर्षदेखि आत्मनिर्भर बनेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख ऋषभ गुरागाईँले बताए ।

    ‘विश्व स्वास्थ्य सङ्गठनले विकास उन्मुख राष्ट्रमा एक व्यक्तिलाई एक वर्षमा ९१ लिटर दूध तय गरेको आधारमा जिल्लामा एक जनाका लागि एक सय ४६ लिटर दूध पुग्ने गरी उत्पादन भइरहेको छ’, उनले भने, ‘आर्थिक वर्ष २०८०–८१ मा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उत्पादन भएको दूधको आधारमा यहाँको कूल जनसङ्ख्यालाई आधार मान्दा एक जनालाई एक सय ४६ लिटर दूध पुग्ने देखिन्छ ।’

    गत आवमा जिल्लामा ५५ हजार एक सय ७० मेट्रिक टन दूध उत्पादन भएको थियो । यसमध्ये गाईको दूध ३६ हजार सात सय ९५ मेट्रिक टन उत्पादन भएको थियो । भैँसीको दूध १८ हजार तीन सय ७५ मेट्रिक टन उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

    जिल्लामा खपत भएर बाँकी दूध काठमाडौँ, पोखरा र चितवन बिक्रिका लागि पठाउने गरिएको प्रमुख गुरागाईँले जानकारी दिए । दूध उत्पादनमा जिल्ला आत्मनिर्भर भए पनि पछिल्लो तीन वर्षलाई तुलना गर्दा गत आवमा दूध उत्पादनमा कमी आएको छ ।

    गत वर्ष पशुमा फैलिएको लम्पीस्किन, आर्थिक मन्दी, पशु आहाराको मूल्यवृद्धि, दूध बिक्रीको अस्थिर बजार र बजारीकरण पूर्वाधारको अभावले दूध उत्पादनमा कमी आएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको अनुमान छ ।

  • स्याउ खेतीप्रति किसान उत्साहित

    स्याउ खेतीप्रति किसान उत्साहित

    बागलुङ– निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो ।

    विसं २०७८ सालमा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए । हाल गाउँका धेरै किसान यसप्रति आकर्षित भएका छन् । पोखराबाट इटालियन गालाफुजी जातका बिरुवा ल्याएर लगाएको एक वर्षमा फल लागेपछि किसान उत्साहित भएका हुन् ।

    पहिलो वर्ष गाउँमा किसानले कृषि ज्ञान केन्द्रबाट ६० बिरुवा अनुदानमा लिएर लगाएका थिए । बिरुवा हुर्किएर फल दिन थालेपछि दोस्रो वर्ष थप ९० वटा बिरुवा अनुदानमा लिएर लगाए ।

    यस वर्ष निसीखोला गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा सात सय बिरुवा लगाएको अगुवा किसान चेतबहादुर कुँवरले बताए । गाउँमा स्याउखेतीको सम्भावना देखेपछि गाउँका अधिकांशले स्याउका बिरुवा लगाउन थालेको उनको भनाइ छ ।

    अर्नाकोटमा खानेपानीको अभाव हुँदा बिरुवा हुर्काउन समस्या भएको सुनाउँदै अब सिङ्गो गाउँ नै स्याउ उत्पादनबाट आत्मनिर्भर बन्ने आशा पलाएको कुँवर बताउँछन् ।

    खानेपानी अभावमा धेरै नागरिक बसाइँसराइ गर्न बाध्य भएको सन्दर्भमा गाउँमा स्याउ उत्पादनको ठूलो सम्भावना देखिएपछि धेरै गाउँमै बस्न थालेको उनको भनाइ छ ।

    तीन वर्ष अगाडि लगाएको स्याउ थोरै भए पनि बजारमा पठाउन थालेको कुँवरले बताए । उनका अनुसार अहिले अर्नाकोटमा करिब एक सय ५० बोटमा स्याउ फलेका छन् ।

    स्थानीय किसान दुर्गाबहादुर ओलीले पहिलो वर्ष २२ वटा स्याउका बिरुवा लिएर लगाएको सुनाउँदै अहिले बिरुवा बढाउँदै गएको बताए । वर्षौँदेखि पशुपालनसँगै निर्वाहमुखी खेतीपाती गर्दै आएका उनी पछिल्लो समय स्याउखेतीलाई नै बढी जोड दिएको बताउँछन् ।

    निसीखोला गाउँपालिकाका कृषि प्राविधिक तारा परियारले स्याउखेतीतर्फ किसानको चासो बढेपछि इटालियन जातको स्याउका बिरुवा जुम्लाबाट ल्याएर वितरण गरिएको बताए ।

    गाउँपालिकाले चार लाख ११ हजार दुई सय ५० मा बिरुवा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएका हो । यहाँका किसानले करिब ४० रोपनी क्षेत्रफलमा स्याउका बिरुवा लगाएको उनको भनाइ छ ।

  • काभ्रेमा उत्पादित आलुको ‘ब्राण्डिङ’

    काभ्रेमा उत्पादित आलुको ‘ब्राण्डिङ’

    काभ्रेपलाञ्चोक ।  प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा यहाँ आलुको ‘ब्राण्डिङ’ थालिएको छ । आलुको ‘हब’ मानिने यस जिल्लाको पनौती नगरपालिका–३ कुशादेवीमा आलु भण्डारणसहित ‘प्याकेजिङ’ थालिएको हो । 

    ‘आलु सुपरजोन’का रुपमा जिल्लाको चिनारी बनाउन तथा यहाँको आलुको गुणस्तरीयतालाई प्रचारप्रसार गर्न स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी ब्रान्डिङ गर्ने ध्येयले प्याकेजिङ सुरु गरिएको जनाइएको छ । 

    प्रारम्भिक चरणमा हाल दुइ किलो, तीन किलो र पाँच किलो तौलमा आलुको प्याकेजिङ हुने गरी ब्राण्डिङ सुरु गरिएको खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफुल नर्सरी उद्योगका सञ्चालक राजेन्द्र थापाले बताए। उनका अनुसार स्थानीयस्तरमा उत्पादित आलुको ब्रान्डिङसहित बजारीकरण थालिएको हो । 

    भण्डारणका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना (सुपरजोन)को आर्थिक सहयोगमा भण्डारण कक्ष निर्माणसहित प्याकिङ गरिएको आलु बजारीकरण सुरु गरिएको थापाले बताए।

     “हाललाई एकतले भवनबाट भण्डारणसहित प्याकेजिङ थालेका छौँ, अब चालु आर्थिक वर्षमा भवनको निर्माण थप्दै प्याकेजिङको परिमाण बढाउनेछौँ”, उनले भने। उद्योगलाई भन्डार कक्ष र प्याकेजिङ सुरुआतका लागि परियोजनाले गत आवमा पहिलो चरणमा रु १४ लाख सहयोगमा गरेको थियो ।

     केही दिनअघि आलु प्याकेजिङलाई जिल्लास्थित बजार पठाइएकाले मागको अवस्थाबारे अनुगमनसमेत गर्न थालिएको उद्योगका अर्का सञ्चालक शशी अधिकारी बताउँछन् । उद्योगले ‘काभ्रेको चिनारी पोषिलो आलुको तरकारी’को नारासहित हाललाई प्रतिकेजि ८० का दरले प्याजिङ गरिएको आलु बजार पठाएको हो । 

    ‘आलुको गुणस्तर कायमै राखी बजारको मागअनुसार फरकफरक तौलमा प्याकिङ गर्ने योजना बनाएका छौँ’, अधिकारीले भने। उनका अनुसार उद्योगले फरकफरक जातको आलु ‘ग्रेडिङ’ गरी बजार पठाएको छ । 

    उपभोक्ताले आफुलाई मन पर्ने जातको आलु किनेर लैजान सक्नेगरी प्याकेजिङ गरेको जनाइएको छ । सुपरजोन समन्वय समितीका प्रमुख सुमन नेपालले ठुक्क भएर काभ्रेपलाञ्चोकमा प्याकेजिङ गरिएको आलु खान आग्रह गरेका छन् ।

     उनले भने, ‘काभ्रेमा उत्पादित आलु गुणस्तरीय रहँदै आएको छ, उपभोक्ताले विना संकोच किनेर खान सक्नुहुन्छ ।’

    उनका अनुसार यस आलु ब्राण्डिङ कार्यक्रमले अन्य ब्यवसायिक कृषकलाई उत्प्रेरण मिलेको पाइएको छ । आलु सुपरजोन कार्यलयले काभ्रेपलाञ्चोकमा आलुको उत्पादन तथा उत्पादनमा बृद्धि, मल्चिङ प्रविधिलगायतमा सहयोग आएको जनाएको छ आलुको बिउ र मल्चिङ तथा नस्ल सुधार लगाएतमा कार्यक्रम कार्यलयले सञ्चालन गर्दै आइरहेको छ । कार्यालय प्रमुख जय महतोले आगामी दिनमा जिल्लाको अन्य क्षेत्रमा आलुको प्याकेन्जिङ र ब्राण्डिङ बिस्तार गर्न कार्यलयले सहजीकरण गर्ने बताए। 

    जिल्लाको पाँचखाल, मण्डनदेउपुर, पनौती, बनेपा तथा नाला आलु उत्पादन हुने प्रमुख क्षेत्र हुन् । आलुको पकेट क्षेत्र मानिएको काभे्रको नौ हजार हेक्टर क्षेत्रफलमा बार्षिक करिब एक लाख ७५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।

  • नवलपुरमा व्यावसायिक स्याउ खेती

    नवलपुरमा व्यावसायिक स्याउ खेती

    नवलपुर ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ । प्राय चिसो हावापानी भएको भूगोलमा खेती गरिने स्याउ पहिलो पटक मधेशमा एग्रिकल्चर एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च सेन्टर प्रालि (एएफसीआरसी)ले खेती गरेको हो । 

    एएफसीआरसीले अधिकतम् ४० डिग्री सेल्सियस सम्म तापक्रम हुने यहाँको पाँच बिघा क्षेत्रफलमा स्याउ रोपेको छ । यहाँ रोपिएका स्याउ दुई वर्षमै फल्न थालेको छ । प्रालिका व्यवस्थापक ईश्वर भट्टराईले भारतको कास्मिरबाट ‘अन्ना’, ‘डोरसेट’ र ‘एचआरएम–९९’ प्रजातिको स्याउको बिरुवा ल्याएर खेती गरिएको जानकारी दिए। 

    ‘यी प्रजातिका स्याउ न्यूनतम ६ देखि अधिकतम ४५ डिग्री सेल्सियससम्मको तापक्रममा फल्छ’, उनले भने, ‘बिरुवा रोपेको दुई वर्षपछिनै फल दिन थालेको छ ।’ 

    एएफसीआरसीले करिब तीन हजार पाँच सय स्याउको बिरुवा रोपेको छ । एउटा बोटमा ३० वटासम्म स्याउका दाना फलेका छन् । गर्मी धेरै भएकाले केही स्याउका दानाहरु फुटेको उनले बताए। यहाँ लगाइएको स्याउको फल पहेँलो रङ  र स्वाद फुजी स्याउको जस्तै हुने उनको भनाइ छ । 

    एएफसीआरसीले ४० बिघा क्षेत्रफलमा स्याउसँगै अम्बा, सुनकागती, शीतलचिनी, चेरी, भूइँकटहर, केरा, उन्नत जातको ममफलीलगायतका फलफूल लगाएको छ । यहाँ लगाइएका फलफूल खेतीका लागि थोपा सिँचाइ प्रयोग गरिएको एएफसीआरसीका व्यवस्थापक भट्टराईको भनाइ छ ।

    एएफसीआरसीले फलफूल खेतीसँगै ‘टिस्यू कल्चर’ प्रविधिबाट उत्पादन गरेर केरा तथा बाँसको बिरुवा देशभरी बिक्री वितरण गर्दै आइरहेको छ । गुणस्तरीय वनस्पतिको कोष, तन्तु वा कुनै एक भागलाई निकालेर नियन्त्रित प्रयोगशाला वा किटाणुरहीत वातावरणमा ठूलो सङ्ख्यामा बिरुवा उमार्ने आधुनिक प्रविधिलाई टिस्यु कल्चर प्रविधि भनिन्छ । छोटो समयमा एउटा राम्रो बिरुवाबाट अरु हजारौँ बिरुवा उत्पादन गर्न र राम्रो उत्पादन दिन यो प्रविधि अपनाउने गरिन्छ । 

    टिस्यू कल्चर ल्याब स्थापना गर्ने बेला सरकारले अनुदान सहयोग गरेको थियो । उत्पादन गरिएका जिनाइन प्रजातिका केराका बेर्ना तथा बाँसका बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले देशैभर लैजाने गरेको उनले बताए  । 

    केराको बिरुवा प्रतिगोटा रु ३५ देखि रु ६० सम्म र बाँसको बिरुवा प्रतिगोटा एक सय ३० मा बिक्री गरिन्छ । स्यू कल्चर प्रविधिबाट उत्पादन गरिएका ‘बालकोवा’ प्रजातिको बाँस पहाडी क्षेत्रमा भूक्षय नियन्त्रण एवम् तराई क्षेत्रमा नदी कटान रोकथामका लागि लैजाने गरेको एएफसीआरसीले जनाएको छ ।

  • किसानलाई हल गोरु वितरण

    किसानलाई हल गोरु वितरण

    भोजपुर ।  भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरूप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो ।

    पशुपन्छी तथा कृषि विकासका लागि रु ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा नौ हल गोरु वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए । किसानलाई गोरु वितरणको लागि रु तीन लाख ६० हजार बजेटसमेत विनियोजन गरिएको उनको भनाइ छ  ।

    “हामीले किसानलाई प्रोत्साहन गर्नको लागि हल गोरु वितरण कार्यक्रमअघि सारेका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भने, “लम्की स्किन रोगले धेरै किसानका गोरु मरेका कारण उनीहरू समस्यामा छन् । यो कार्यक्रममार्फत उनीहरूलाई केही राहत पुग्नेछ ।”

    किसानलाई ५० प्रतिशत अनुदानमा गोरु वितरण गरिने प्रशासकीय अधिकृत निरौलाले बताए । किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै उनीहरूलाई आयआर्जनसँग जोड्न गाउँपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको उनको भनाइ छ । पछिल्लो समय किसानमा गोरु पाल्ने चलन हराउँदै गएकाले यसको निरन्तरताको लागिसमेत यो कार्यक्रमले टेवा पुग्ने उहाँले बताए ।

    “पछिल्लो समय गाउँघरमा गोरु पाल्ने चलन पनि हराउँदै गएको अवस्था छ”, उहाँले भने, “गोरु पाल्दा किसानलाई धेरै फाइदा छ । गोरु पाल्दा खेतबारी जोत्नसँगै मलमूत्र पनि काम लाग्छ ।” गाउँपालिकाले किसानलाई प्राथमिकता राख्दै यहाँको दिगो विकासमा जोड दिँदै आएको उनको भनाइ छ ।

    किसानलाई कृषिमा लाग्न थप हौसला दिनको लागि योजनाबद्ध विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । किसानलाई आयआर्जनमा जोड्न एक घर एक करेसाबारी, नर्सरी स्थापना, मौरीपालन, प्लास्टिक पोखरी निर्माण कार्यक्रम, सुन्तला खेती विस्तारलगायत कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ । त्यस्तै उत्कृष्ट किसान सम्मान कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।

    “गाउँपालिकाका किसानको जीवनस्तर सुधारको लागि कृषिको योजनाबद्ध विकासमा जोड दिएका छौँ”, अध्यक्ष राईले भने, “किसानलाई लक्षित गरेर हल गोरु वितरणको कार्यक्रम अघि सारेका छौँ । यसले पनि किसानलाई थप सहयोग पुग्ने छ ।”  किसानलाई लक्षित गरेर उन्नत जातको भैँसी वितरण, गोठ सुधारलगायतको कार्यक्रम पनि सञ्चालन भइरहेको उनको भनाइ छ । समथर भू–भागका किसानलाई ध्यानमा राख्दै हाते ट्र्याक्टरलगायतका आधुनिक उपकरणसमेत वितरण भइरहेको अध्यक्ष राईले जानकारी दिए ।

  • वन्यजन्तुको आहारका लागि १० हजार बिरुवा रोपिए

    वन्यजन्तुको आहारका लागि १० हजार बिरुवा रोपिए

    सामुदायिक वनको ७४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए ।

    ‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपिएको उनले जानकारी दिए ।

    जिल्लाको उत्तरी भेगमा जङ्गली क्षेत्र छ । जहाँ भारतबाट बर्सेनि आउने सयौँ हात्ती विचरण गरेर फर्किने गरेका छन् भने दुई दर्जनको सङ्ख्यामा रहेको रैथाने जङ्गली हात्तीले यही जङ्गललाई बासस्थान बनाउने गरेका छन् ।

    हात्तीबाहेक जङ्गलमा बस्ने बाँदरबाट पनि जङ्गल नजिकका बासिन्दा पिरोलिँदै आएका छन् । अहिले रोपिएका फलफूलका बिरुवा हुर्किएपछि बाँदर पनि आहारको खोजीमा गाउँ नआउने स्थानीयवासीले ठानेका छन् ।

    जङ्गली जनावर जङ्गलमै रमाउन् र उनीहरूलाई आहारको कमी नहोस् भन्ने सोचका साथ फलफूलका बिरुवा रोपिएको हो ।

    आगामी वर्ष २० हजार बिरुवा रोप्ने योजना रहेको उनको भनाइ छ । हाल जङ्गलमा हात्ती र बाँदरका लागि खानलायक बोटबिरुवा मासिइसकेका कारण समस्या भएको छ ।

    दिउँसो जुकेखाडी जङ्गलमा बस्ने भोका हात्ती राति आहारको खोजीमा गाउँ आउँदा मानव–हात्ती द्वन्द्व हुने भएकाले ती बिरुवाले हात्तीलाई जङ्गलमै अल्मल्याउने जुकेखाडी सामुदायिक वन समितिका उपभोक्ता दिपीन राईले बताए ।

    समितिका अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक वनमा तीन हजार पाँच सय ५८ उपभोक्ता छन् । जङ्गलमा बिरुवा रोप्न सामुदायिक वनका उपभोक्ता आफैँले घरबाट बिरुवा सङ्कलन गरेका थिए । जिल्ला डिभिजन वन कार्यालयले थप तीन हजार बिरुवा दिने भएको समितिले जनाएको छ ।

    कार्यालयका प्रमुख मेघराज राईले जिल्लाका सबै सामुदायिक वनले आ–आफ्ना क्षेत्रमा हात्तीलाई मनपर्ने केरा, बाँसलगायत बिरुवा रोप्ने गरेको जानकारी दिए ।

  • पर्वतकाे शालिजाका किसानले तरकारी बेचेर एक वर्षमा ५ करोड रुपैयाँभन्दा बढी आम्दानी गरे

    पर्वतकाे शालिजाका किसानले तरकारी बेचेर एक वर्षमा ५ करोड रुपैयाँभन्दा बढी आम्दानी गरे

    पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ६ शालिजाका किसानले तरकारी बेचेर एक वर्षमा पाँच करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका धेरैजसो किसानले व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका छन् ।

    कृषि ज्ञान केन्द्रमार्फत सागसब्जी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिएको शालिजामा मौसमीभन्दा बेमौसमी सागसब्जी बढी उत्पादन हुने भएकाले किसानको आम्दानी बढेको हो ।

    शालिजामा उत्पादन भएको आलु, काउली, बन्दागोभी, बोडी, सिमी, लौका, डल्ले खुर्सानी, काँक्रोलगायत ताजा सागसब्जी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा, बाग्लुङ बजार र पोखरासम्म बिक्री हुने गरेको स्थानीय किसान बुद्धि सुवेदीले जानकारी दीए ।

    शालिजाका आठ सय परिवार तरकारी खेतीमा संलग्न भएका जिल्ला कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

     

  • हिउँदमा सिँचाइ गर्न फलेवासमा पोखरी निर्माण

    हिउँदमा सिँचाइ गर्न फलेवासमा पोखरी निर्माण

    पर्वत । वर्षायाममा पानी सञ्चित गरी सुक्खायाममा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतको फलेवासमा सिँचाइ पोखरी निर्माण गरिएको छ । खाद्यान्न उत्पादनका लागि जिल्लाकै अब्बल मानिएको फलेवासमा हिउँदयाममा भने सिँचाइ गर्न सकस हुँदै आएको छ ।

    फलेवास सिँचाइ योजनाको मुहान रहेको लमाए खोलामा पानीको मात्रा कम हुँदा हिउँदमा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता भएका बेला सिँचाइ पोखरी बनाएपछि बाह्रैमास सिँचाइ गर्न सकिने भएको छ ।

    फलेवास नगरपालिका–६ देवीस्थानमा पोखरी निर्माण गरिएको हो । हिउँदे सिँचाइका लागी पानी सङ्कलन गर्न पोखरी निर्माण गरिएको हो । सुक्खायाममा बाँझो जमिनमा सिँचाइ सुविधा पुर्‍याउन पोखरी निर्माण गरिएको देवीस्थानका वडाध्यक्ष नवीनकुमार श्रेष्ठले जानकारी दिए । करिब १२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने गरी पोखरी निर्माण गरिएको छ ।

    स्थानीय चौविस कुरिया टोलको फेदीबाट डिप बोरिङमार्फत पानी तानेर पोखरीमा जम्मा गर्ने र हिउँदमा फाँटहरुमा हिउँदे खेती, फलफूल, तरकारी बालीमा सिँचाइको सुविधा पुर्‍याइने छ । हिउँदको समयमा पानी अभावका कारण सुक्खा रहने जमिनमा सिँचाइ हुने गरी पोखरी बनेपछि स्थानीय कृषक खुसी भएका छन् ।

    पोखरी निर्माणका लागि गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतमार्फत रु २० लाख बजेट प्राप्त भएको थियो । पाँच फिट गहिराइ, दश मिटर चौडाइ र १६ मिटर लम्बाइ भएको पोखरी निर्माण भएपछि देवीस्थानका एक सय ३० घरधुरी लाभान्वित हुने पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश चपागाईले बताए ।

    “यसले हिउँदमा धेरै कृषक लाभान्वित हुने छन्”, उनले भने । बाह्रै महिना सिँचाइ हुने भएपछि तरकारी उत्पादनमा वृद्धि गर्ने कृषकको योजना छ । सडक, विद्युत् पुगे पनि पर्याप्त सिँचाइका लागि पानी नहुँदा तरकारी तथा अन्य वस्तु आयात गर्दै आएका किसानले अब त्यसका कमी आउने अपेक्षा गरेका छन् ।

    अहिले पर्वतको कुल खेतीयोग्य जमिनमध्ये ११ हजार नौ सय ३४ हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा छ । तर बाह्रैमास सिँचाइ सुविधा पुग्ने जमिनको क्षेत्रफल भने जम्मा तीन हजार पाँच सय हेक्टर मात्र रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख विष्णुहरि अधिकारीले बताए। स्रोत कम भएका तर खेतीयोग्य जमिन रहेका फलेवासजस्तै कटुवाचौपारी, पाङ, बर्राचौर, कुर्घालगायतका ठूला फाँटमा यस्ता पोखरी निर्माण गर्न सकिने उनको भनाइ छ ।

  • इलामका ग्रामीण किसानलाई उन्नत जातका बाख्रा वितरण

    इलामका ग्रामीण किसानलाई उन्नत जातका बाख्रा वितरण

    फिक्कल । जिल्लाको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको  छ। माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातका पाठी र छवटा जातका ‘ब्याडे बोका’ वितरण गरेको हो ।

    कोशी प्रदेश सरकारको बाख्रापालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत ७५ प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत किसानको लागत साझेदारीमा बाख्रा वितरण गरिएको माङसेबुङ गाउँपालिका ४ नं वडाध्यक्ष नवीन लिम्बूले बताए ।

    उक्त कार्यक्रमअन्तर्गत सो वडाका सगरमाथा बाख्रापालन समूह, सरस्वती बाख्रापालन समूह र मिलिजुली बाख्रापालन समूहले प्रतिसमूह २६ वटाका दरले ७८ वटा उन्नत जातका पाठी र प्रतिसमूह दुईवटाका दरले छ वटा ब्याडेबोका पाएका छन् । प्रत्येक समूहमा १३ जना किसान आबद्ध छन् । 

    बाख्रापालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत समूहमा आबद्ध किसानले खोर निर्माण, घाँसखेती व्यवस्थापनलगायत पशुपालनका निम्ति आवश्यक काम गरेका छन् । किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा ३० लाख प्रदेश सरकारबाट प्राप्त भएको थियो भने १० लाख तीनवटा बाख्रापालन समूहको लागत साझेदारी रहेको थियो ।

    ‘ग्रामीण क्षेत्रका किसानलाई बाख्रापालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजनाअनुरुप सञ्चालित कार्यक्रमले किसानमा उत्साह थपेको छ’, वडा अध्यक्ष लिम्बूले भने, ‘यस्ता कार्यक्रम शून्य लागत सहभागितामा बढाउन सके किसानको आयमा वृद्धि हुने थियो ।’