Category: विश्वकप विशेष

  • दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि

    दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि

    काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपकाे उपाधि जितेको हो ।

    यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । दक्षिण अफ्रिकाले भने पहिलो पटक विश्वकपको उपाधि चुम्ने मौका गुमाएको छ ।

    भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ मात्र रन बनाउन सक्यो ।

    उसका लागि हेनरिक क्लासेनले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन  । २७ बलको सामना गरेका उनले २ चौका र ५ छक्कासहित ५२ रन बनाए । उनलाई १७ औं ओभरको पहिलो बलमा हार्दिक पाण्ड्याले ऋषभ पन्तको हातबाट क्याच आउट गराएका थिए ।

    त्यस्तै क्विन्टन डे ककले ३९ रनको योगदान दिए । ३१ बल खेलेका उनले ४ चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै ट्रिस्टन स्टब्सले २१ बलमा ३ चौका र एक छक्कासहित ३१ रन बनाए ।

    भारतका लागि हार्दिक पाण्ड्यले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका उनले २० रन खर्चिए । त्यस्तै जसप्रित बुमराह र अर्शदीप सिंहले दुईदुई विकेट लिँदा अक्षर पटेलको नाममा एकविकेट रह्यो ।

    यसअघि केन्सिङ्टन ओभल बार्बाडोस स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

    भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । ५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरे ।

    त्यस्तै अक्षर पटेलले ३१ बलमा ४ छक्का र १ चौकासहित ४७ रन बनाए । शिवम दुवेले १६ बलमा २७ रन बनाउँदा हार्दिक पाण्ड्या ५ रनमा नटआउट रहे ।

    आज भारतले खेलको दोस्रो ओभरमा नै दुई विकेट गुमाएको थियो । ओपनिङ गर्न आएका कप्तान रोहित शर्मा ५ बलमा दुई चौकासहित ९ रन बनाएर आउट भए । त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ भने दुई बलमा रनको खाता नै नखोली आउट भएका थिए ।

    दक्षिण अफ्रिकाका लागि केशव महाराज र एन्रिच नोर्तेजले दुईरदुई विकेट लिए । ३.२ ओभर बलिङ गरेको एन्रिचले २० रन खर्चिए, भने चार ओभर बलिङ गरेका महाराजले ४९ रन खर्चिए । त्यस्तै कागिसो रवाडा र मार्को जेन्सेनको नाममा एकरएक विकेट रह्यो ।

  • विश्वकप फाइनलमा आज भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा

    विश्वकप फाइनलमा आज भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा

    काठमाडौं । आईसीसी टि-२० विश्वकप २०२४ को उपाधिका लागि शनिबार भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा हुँदैछ।

    दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दैै फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै भारतले फाइनलमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो।

    भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनल खेल्दैछ। यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। पहिलो सिजनमा उपाधि उचालेको भारत त्यसपछि उपाधिबिहीन छ।

    दक्षिण अफ्रिका भने विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो। यो विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको थियो। दक्षिण अफ्रिकाले अफगानिस्तानलाई सेमिफाइनलमा ५६ रनमा समेटेर विश्वकपमा इतिहाससमेत बनाएको छ।

    पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५६ रनमा प्याक गरेको हो। बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले ५७ रनको लक्ष्य ८.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियो।

    दोस्रो सेमिफाइनलमा भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६.४ ओभरमा अलआउट हुँदै १०३ रनमा समेटिएको थियो।

    भारत र दक्षिण अफ्रिका दुवै टिम समूह चरणमा कुनै हारको सामना नगरी फाइनल पुगेका हुन्। भारत र दक्षिण अफ्रिकाको फाइनल भिडन्त नेपाली समय अनुसार शनिबार राति ८:१५ बजे वेस्ट इन्डिजको केन्सिङ्टन ओभल क्रिकेट मैदान ब्रिजटाउनमा हुनेछ।

  • विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र भारत भिड्ने

    विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र भारत भिड्ने

    काठमाडौं । आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।

    बिहीबार राति भएको खेलमा साविक विजेता इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको हो ।

    यसअघि सन् २०१४ काे विश्वकपमा भारतले फाइनल खेलेकाे थियाे । त्यतिबेला श्रीलंकासँग ६ विकेटले पराजित भएकाे भारत याे पटक उपाधि चुम्ने दाउमा छ ।

    दक्षिण अफ्रिका भने यसअघि नै सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । फाइनल खेल शनिबार हुने छ ।

    भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६.४ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो । इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले सर्वाधिक २५ रन बनाए । १९ बलको सामना गरेका उनले तीन चौका प्रहार गरे । उनलाई भारतका कुलदीप यादवले बोल्ड गरेका थिए ।

    त्यस्तै ओपनर जोस बटलरले १५ बलमा २३ रन बनाए । अर्का ओपनर फिल साल्ट ५ रनमा आउट भए । मोइन अलीले ८ रन बनाउँदा लियाम लिभिङस्टोने ११ रनमा रन आउट भए । जोफ्रा आर्चरले १४ बलमा दुई छक्का र एक चौका सहित २१ रन बनाए ।

    भारतका लागि कुलदीप यादव र अक्षर पटेलले समान तीनतीन विकेट लिए । चार ओभर बलिङ गरेका यादवले १९ रन खर्चिदा त्यति नै ओभर बलिङ गरेका पटेलले २३ रन खर्चिए ।

    यसअघि गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएका थियो ।

    उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाए । ३९ बलको सामना गरेका रोहितले ६ चौका र २ छक्का प्रहार गरे । उनलाई १४ औं ओभरको चौथो बलमा इङ्ल्यान्डका आदिल रासिदले बोल्ड गरेका थिए ।

    यस्तै सुर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन बनाए । हार्दिक पाण्ड्याले २३ रन बनाउँदा रविन्द्र जडेजा १७ मा नट आउट रहे । भारतले पहिलो विकेटको रुपमा विराट कोहलीलाई ९ र दोस्रो विकेटको रुपमा ऋषभ पन्तलाई चार रनमा गुमाएको थियो ।

    इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन विकेट लिए । चार ओभर बलिङ गरेका जोर्डनले ३७ रन खर्चिए । त्यस्तै रीस टोपले, जोफ्रा आर्चर, सैम करन र आदिल रशीदले समान एकएक विकेट लिए ।

    भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले पनि यो विश्वकपमा हार ब्यहोरेको छैन् ।

  • अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

    अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

    काठमाडौं । आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको छ।

    टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको ५७ रनको सामान्य चुनौती दक्षिण अफ्रिकाले ८.५ ओभरमा ६० रन बनाउँदै पूरा गरेको हो। सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्र जोडेको थियो।

    दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक नटआउट २९ रन बनाए। उनले २५ बलको सामना गरेर तीन चौका र एक छक्का प्रहार गरेका हुन्। कप्तान एडेन मार्करामले नटआउट २१ बलमा चार चौकाको मद्दतमा २३ रन जोडे। दक्षिण अफ्रिकाले क्विन्टन डी ककलाई ८ बलमा पाँच रन बनाउँदा गुमाएको थियो। अफगानिस्तानका लागि एक विकेट फजलहक फारुकीले लिए।

    सुरुमा ब्याटिङ गरेको अफगानिस्तानलाई ११.५ ओभरमा ५६ रनमा समेट्न दक्षिण अफ्रिकाका लागि मार्को जोन्सेन र तबरेज शम्सीले तीनतीन विकेट हात पारेका थिए भने कासिगो रबडा र एनरिच नोर्चिया दुईदुई विकेट लिएका थिए।

    सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले रहमानउल्लाह गुरबाज र मोहम्मद नाबीलाई शून्यमै गुमाएको थियो। इब्राहिम जाद्रानलाई दुई, गुलबदिन नायब ९, अजमातुल्लाह उमरजाई १० रनमा आउट गरेको दक्षिण अफ्रिकाले नङ्गेलिया खरोटेले दुई रनमा समेटेको थियो।

    अफगानिस्तानका कप्तान राशिद खानले ८ बलको सामना गरेर मात्र ८ रन बनाएका थिए। करिम जनातले १३ बलको सामना गरेर ८ रन जोड्दा नूर अहमद शून्यमै आउट भएका थिए भने नवीन उल हकले मात्र दुई रन बनाएका थिए।

    समूह चरण र सुपर ८ मा प्रभावशाली खेल प्रदर्शन गरेको अफगानिस्तान सेमिफाइनलबाट घर फर्किएको हो। दक्षिण अफ्रिकाले दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ। दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्याण्डबिच बिहीबार (आज) राति प्रतिस्पर्धा हुँदैछ। दोस्रो सेमिफाइनल नेपाली समय अनुसार राति ८:१५ बजे खेल सुरु हुनेछ।

  • बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

    बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

    काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ ।

    अफानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर-८ बाटै बाहिरिएको छ ।

    ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो ।

    बंगलादेशका ओपनर लिटन दासले ५०, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए । अन्य चलेनन् ।

    अफगानिस्तानको जितका लागि कप्तान राशिद खान र नवीन उल हकले ४/४ र फजलहक फारुकी र गुलबदिन नाबी एक/एक विकेट लिए ।

    यसअघि सेन्ट भिन्सेन्टको किङटाउनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।

    अफगानिस्तानक लागि ओपनर रहमानुल्लाह गुर्बाजले ४३, कप्तान राशिद खानले १९, इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० र करिम जन्नतले ७ रन जोडे ।

    बंगलादेशका रिशाद होसैनले तीन तथा तस्किन अहमेद र मुस्ताफिर रहमानले एक/एक विकेट लिए ।

    यो खेलसँगै सेमिफाइनलको समीकरण पनि पूरा भएको छ । सुपर-८ को समूह १ बाट इन्डिया शीर्ष स्थान र अफगानिस्तान दोस्रो हुँदै सेमिफाइनल पुगे । समूह २ बाट साउथ अफ्रिका शीर्ष स्थानमा रहँदा इंग्ल्याण्ड दोस्रो भएर सेमीफाइनलमा पुगेको हो ।

  • अपराजित रहँदै भारत सेमिफाइनलमा

    अपराजित रहँदै भारत सेमिफाइनलमा

    काठमाडौँ । टी–२० विश्वकपमा सुपर ८ अन्तर्गत समूह १ को आफ्नो अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको छ । २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८१ रन मात्र बनाउन सक्यो ।

    जितसँगै भारत अपराजित रहँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा प्रवेश गर्ने भारत तेस्रो टोली हो । यसअघि समूह २ बाट दक्षिण अफ्रिका विजेता र इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अब भारतले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ ।

    अस्ट्रेलियाले भने अब आफ्नो भाग्यको फैसलाका लागि मंगलबार बिहानसम्म पर्खनुपर्नेछ । अफगानिस्तान र बंगलादेशबिचको खेलले समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । आफगानिस्तानले बंगलादेशलाई हराए टोली अस्ट्रेलियालाई उछिन्दै अन्तिम चारमा प्रवेश गर्नेछ ।

    सोमबारको खेलमा अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गरे ।

    उनलाई कप्तान मिचेल मार्सले ३७ रन बनाउँदै साथ दिए । मार्सले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मार्स र हेड मिलेर ४८ बलमा ८१ रनको साझेदारी गरे ।

    ग्लेन म्याक्सवेलले १२ बलमा २० रन बनाए । उनले २ चौका र १ छक्का हिर्काए । टिम डेभिडले ११ बलमा १५ रन जोडे ।

    भारतका लागि अर्शदीप सिंहले ४ ओभरमा बलिङ गर्दै ३७ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले २ विकेट हात पारे । जसप्रित बुमराह र अक्षर पटेलले १–१ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रन बनाएको थियो । कप्तान रोहित शर्माले शानदार ब्याटिङ गर्दै मात्र ४१ बलमा ९२ रन जोडे । मिचेल स्टार्कको बलमा बोल्ड हुनुअघि उनले ७ चौका र ८ छक्का प्रहार गरे ।

    भारतको सुरुवात भने राम्रो हुन सकेको थिएन । दोस्रो ओभरमा विराट कोहली शून्य रन बनाएर पभिलियन फर्किएका थिए ।

    त्यसपछि रोहितले ऋषभ पन्तसँग मिलेर ८७ रनको साझेदारी गर्दै भारतको इनिङ्स अगाडि बढाए । पन्त १५ रन बनाएर आउट भए ।

    त्यसपछि रोहितले सूर्यकुमार यादवसँग ३४ रनको साझेदारी गरे । यादवले १६ बलमा ३१ रन बनाउँदै स्टार्ककै शिकार बने । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

    शिवम दुवेले २२ बलमा २८ रनको योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । हार्दिक पाण्ड्याले नटआउट रहँदै १७ बलमा २७ रन बनाए । उनले १ चौका र २ छक्का प्रहार गरे ।

    अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ४ ओभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिसले पनि २ विकेट लिए । तर, उनले आफ्नो चार ओभरमा ५६ रन खर्चिए । जोस हेजलवुडले एक विकेट हात पारे ।

  • अष्ट्रेलियामाथि अफगानिस्तानको शानदार जित

    अष्ट्रेलियामाथि अफगानिस्तानको शानदार जित

    काठमाडौं ।  अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रीकेटमा अष्ट्रेलियामाथी अफगानिस्तानले शानदार जित दर्ता गराएको छ ।

    आइतबार बिहान भएको खेलमा अफगानिस्तानलेअष्ट्रेलियालाई २१ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको हो ।

    अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य अष्ट्रेलिया १९ ओभर २ बलमा १२७ रनमा समेटियो । अष्ट्रेलियाका ग्लेन म्याकवेलले ४१ बलमा ५९ रन जोडे पनि जितका लागी पर्याप्त हुन सकेन । बलिङमा अफगानिस्तानका गुलबदिन नायबले सर्वाधिक ४ विकेट लिए ।

    त्यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४८ रन जोडेको थियो । अफगानिस्तानका ओपनरद्वय रहमानउल्लाह गुरबाजले ६० र इब्राहिम जाद्रानले ५१ रन जोड्दै शानदार सुरुवात दिलाएका थिए। बलिङमा अष्ट्रेलियाका पाट कमिन्सले ३ र एडम जाम्पाले २ विकेट लिए ।

    उक्त समूहमा भारतको २ खेलको ४, अष्ट्रेलिया र अफगानिस्तानको समान २ र बंगलादेशको ० अंक छ । अब अष्ट्रेलियाले भारत र अफगानिस्तानले बंगलादेशसंग खेल्नेछ ।

  • टी–२० विश्वकप क्रिकेट : सुपर आठमा भारतको लगातार दोस्रो जीत, बंगलादेश ५० रनले पराजित

    टी–२० विश्वकप क्रिकेट : सुपर आठमा भारतको लगातार दोस्रो जीत, बंगलादेश ५० रनले पराजित

    काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेट सुपर आठमा गएराति भएको खेलमा भारतले बंगलादेशलाई ५० रनले हराएको छ । सुपर आठको खेलमा भारतको यो लगातार दोस्रो जित हो ।

    यसअघि सुपर आठको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो । गएराति भारतले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४६ रन मात्रै बनायो ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । भारत समूह एकको शीर्ष स्थानमा छ ।

     

  • विश्वकपको रोचक खेलमा इंग्ल्यान्डमाथि दक्षिण अफ्रिका सात रनले विजयी

    विश्वकपको रोचक खेलमा इंग्ल्यान्डमाथि दक्षिण अफ्रिका सात रनले विजयी

    काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर ८’ को दोस्रो खेलमा लगातार जित निकाल्दै दक्षिण अफ्रिकाले चार अंक जोडेको छ। शुक्रबार राति सम्पन्न रोमाञ्चक खेलमा इंग्ल्यान्डविरुद्ध दक्षिण अफ्रिकाले सात रनको जित निकालेको हो। जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो निरन्तर छैटौं जित हो।

    शनिबार राति टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो। १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ६ विकेट गुमाएर १५६ रन बनाउँदा ७ रनको पराजय भोगेको हो।

    सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले ६५ रन बनाए। ३८ बलको सामना गरेका उनले समान चारचार चौका र छक्का हिर्काएका थिए।

    रिजा हेन्ड्रिक्स भने १९ रन बनाउँदा दक्षिण अफ्रिकाका लागि ओपनरले ८६ रनको साझेदारी गरेका थिए। डेभिड मिल्लरले २८ बलको सामना गर्दै नटआउट ४३ रन बनाउँदा दुई छक्का र चार चौका प्रहार गरे।

    दक्षिण अफ्रिकाको आक्रामक व्याटिङलाई रोक्न इंग्ल्यान्डका जोफ्रा आर्चरले तीन विकेट लिँदा मोइन अली र अदिल रसिदले एक-एक विकेट हात पारे।

    १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले ५३ रन बनाए। ३७ बल खेलेका उनले ७ चौका प्रहार गरेका थिए। लियाम लिभिङ्स्टोनले ३३ बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो योगदान गर्न सकेनन्। इंग्ल्यान्डमाथि रोचक जित निकाल्न दक्षिण अफ्रिकाका बलर कागिसो रबडा र केशव महाराजले दुई–दुई विकेट लिए भने आर्नियल बार्मिन र अर्निच नोर्कीयाले एकएक विकेट हात पारे।

    ‘सुपर ८’ को पहिलो खेलमा अमेरिकाविरुद्ध १८ रनको जित निकालेको दक्षिण अफ्रिकाले यो जितसँगै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।

    सुपर ८ को पहिलो खेलमा वेस्ट इन्डिजलाई आठ विकेटले हराएको इंग्ल्यान्ड भने दोस्रो खेल खेल्दा दुई अंकमा सीमित भएको छ। यो समूहमा अमेरिका र वेस्ट इन्डिजले खाता खोल्न सकेका छैनन्।

  • सुपर-८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित

    सुपर-८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित

    काठमाडौं ।  आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर ८ को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको छ। आन्द्रियस गोउसले अफ्रिकाविरुद्ध शानदार अर्धशतक बनाएपनि अमेरिकालाई हारबाट जोगाउन सकेनन्।

    सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको १९५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १७६ रन बनाउँदा १८ रनको पराजय भोगेको हो।

    अमेरिकाका लागि आन्द्रियस गोउसले नटआउट ५ चौका र ५ छक्काको ४७ बलमा ८० रनको योगदान दिए। तर अमेरिकालाई जित दिलाउन सकेनन्।

    हरमित सिंहले गोउससँग ९१ रनको साझेदारी गर्दा उनले ३८ रन बनाएका थिए।

    ओपनर स्टिभन टेलरले १४ बलमा २४ रन बनाउँदा कोरी एन्डरसनले १२ बलमा १२ रन जोडेका थिए। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

    दक्षिण अफ्रिकाका लागि कासिगो रबाडाले तीन विकेट लिए भने केशव महाराज, एनरिच नोर्टजे र ताब्रियाज साम्सीले एकएक विकेट हात पारे।

    टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा चार विकेटको क्षतिमा १९४ रन बनाएको थियो। उसका लागि ओपनर क्वीन्टन डी ककले सर्वाधिक ७४ रन बनाएका थिए। उनले मात्र ४० बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै उनले शानदार अर्धशतक बनाए।

    कप्तान ऐडन मार्क्रमले ३२ बलमा ४६ रन रन जोड्दा हेनरिच क्लासनले २२ बलमा ३६ रन बनाए। ट्रिस्टन स्टब्सले १६ बलमा २० रन बनाएका थिए।

    अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले समान दुईदुई विकेट हात पारेका थिए।