Category: समाचार

समाचार

  • काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

    काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

    काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ ।

    एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । शुक्रबार १९४ एक्यूआइसहित काठमाडौँ शीर्ष स्थानमा रहेको छ । यो स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ ।

    त्यस्तै दोस्रो स्थानमा पाकिस्तानको लाहोर शहर रहेको छ । लाहोर १८६ एक्यूआईसहित दोस्रो स्थानमा छ भने भारतको दिल्ली १७३ एक्यूआईसहित तेस्रो स्थानमा रहेको छ । 

    प्रदुषण मापनमा शुन्यदेखि  ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ । 

    २०१ देखि ३०० सम्मको अति अस्वस्थ अवस्थाको वायु भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ ।  काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ । 

  • महोत्तरीको मटिहानी आगलागी: न खाने अन्न रह्यो, न फेर्ने लुगा

    महोत्तरीको मटिहानी आगलागी: न खाने अन्न रह्यो, न फेर्ने लुगा

    महोत्तरी ।  बुधबार दिउँसोको आगलागीबाट घरबारविहीन भएकी महोत्तरीको मटिहानी–६ जरलहवागाछीकी मैमुन खातुनका आँखा अझै ओभाएका छैनन् ।

    बनीबुतो गरेर सञ्चय गरिएको अन्नपात, लुगाफाटा र भाँडाकुडासहित घरजलेर खरानी भएपछि अब जहान परिवार कहाँ लिएर कसरी पालिने भन्ने चिन्ताले मैमुनलाई पिरोलेको छ । बनीबुतो र  खेत बढैया (अधिया) गर्दै जोहो गरिएका अन्नपात र क्षणभरमै खरानी भएपछि मैमुनका पति शेष फर्मुदका आँसु पनि थामिएका छैनन् । फर्मुद सुस्केरा हाल्दै  भन्छन्, ‘आब केना जिबै ! या अल्लाह (अब कसरी बाँच्ने हे ईश्वर) !’

    मैमुन परिवारमा मात्रै होइन घरबारविहीन सो बस्तीका एक सय ६० भन्दा बढी आगलागी पीडित परिवारको व्यथा उस्तै छ । ति परिवारसँग न खाने अन्न छ, न त फेर्ने लुगा । ‘कुछो बच नइसकल, सब जैरगेल (घरका केही सामान बचेनन्, सबै जले),’ बस्तीकी आगलागी पीडित लखनदेवी पासवान भन्छिन्, ‘आब परिवारके कोना गुजारा चलत(अब परिवारको गुजारा कसरी चल्ला !’

    बुधबार लखनदेवी उपचारका लागि भारतको सीतामढी गएकी थिइन् । घर फर्किँदा घरको ठाउँमा खरानीको थुप्रो मात्रै देखेपछि बेहोस भएकी उनलाई नगरप्रमुख हरिप्रसाद मण्डलसहितका प्रतिनिधिले ढाडस दिएपछि सम्हालिए पनि वर्षौंको थातथलो देखेर अझै बेचैन छिन् ।

    अधिकांश मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोबास रहेको जरलहवागाछी विपन्न बस्ती हो । त्यही बस्तीमा बुधबार मध्याह्न मैमुन खातुनको परालको कुन्यूबाट सल्केको आगोले भीषण रूप लिँदै एक सय १० घर पूर्ण रूपमा जलेर खरानी बनायो ।

    आगोको लप्काले बस्तीका ५० जति अन्य घरमा क्षति पुगेको छ । सो घटनामा पाँचवटा पशुचौपाया मर्नुका साथै १५ करोडभन्दा बढीको धनमाल क्षति भएका नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन् । मध्याह्नतिर लागेको आयो हावाको बहाबसँगै तीव्र गतिमा बस्ती पसेको थियो ।

    आगो निभाउन मटिहानी, जलेश्वर, रामगोपालपुर र प्रदेश प्रहरी कार्यालयका दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले छ घण्टासम्म संघर्ष गर्नुपरेको थियो । आगो निभाए लगत्तै मटिहानी नगरपालिकाले तत्कालै पीडित परिवारलाई चिउरा, सख्खरसहितका तयारी खानेकुरा, ओतका लागि त्रिपाल र नेपाल रेडक्रस सोसाइटी महोत्तरीले बाल्टिन र जग उपलब्ध गराएको थियो ।

    यसैगरी प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अग्निपीडितको सहयोगार्थ जुट्न सम्बद्ध सामाजिक संघसंस्था, मनकारी व्यक्तिहरू र विभिन्न निकायसँग अपिल गरिएको बताए । रासस

  • कक्षा १२ को परीक्षा आजदेखि

    कक्षा १२ को परीक्षा आजदेखि

    भक्तपुर । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको  सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा  बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए  ।

    उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् ।

    परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको उनले जानकारी दिए । सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ÷मुस्ताङमा एक÷एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । पहिलो पटक बोर्डले यसवर्ष स्वचालित (स्यान्डम) प्रक्रियाबाट काडमाडौँका परीक्षा केन्द्र निर्धारण गरेको हो ।

    परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन् ।

    परीक्षामा लागि आवश्यक पर्ने उत्तरपुस्तिकालगायतका सामग्री परीक्षा केन्द्रहरुमा पुर्याउने कार्य सम्पन्न गरिसकेको छ भने यसवर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइने भएको छ । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यवस्था गरेको छ ।

  • टोपबहादुर रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

    टोपबहादुर रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीसहितलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

    न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर गरेको हो ।

    रायमाझीसँगै तत्कालीन सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, ईन्द्रजित राई र सागर राई थुनामै रहने आदेश भएको छ ।

    सर्वोच्चले आङटावा शेर्पा र गोविन्दकुमार चौधरीलाई धरौटीमा र शमशेर मियाँलाई साधारण तारेखमा छाड्न आदेश दिएकाे छ ।

    यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पनि उच्चले भने कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भने तारेखमा छाड्न आदेश दिएकाे छ ।

    यही प्रकरणमा पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छाेरा फरार छन् ।

  • कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

    कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् । ४० जना सांसदमध्ये मतदानमा ३५ जना सहभागी थिए ।

    कँडेलको पक्षमा २३ मत परेको छ भने विपक्षमा १२ मत परेको हो भने एक मत तटस्थ रहेको छ ।

    कँडेलले माओवादी र एमाले र एकीकृत समाजवादीका सांसदको मत प्राप्त गरेको हुन् ।

    उनलाई नेकपा एमाले ९ र नेकपा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १ सांसदले शर्माको पक्षमा मत हालेका छन् ।

    उनी चैत २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

  • बलियो वेस्ट इन्डिज टीमसँग भिड्दै नेपाल

    बलियो वेस्ट इन्डिज टीमसँग भिड्दै नेपाल

    काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु मैदानमा ५ खेलको टी–२० सिरिज खेल्दै छ । उक्त सिरिज शनिबारदेखि टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । सिरिजका लागि दुवै टोलीले टीमको घोषणा गरिसकेका छन् ।

    दुई पटकको टी–२० विश्वकप विजेता टोली वेस्ट इन्डिज बलियो राष्ट्रमध्ये एक हो । आइसिसीको पछिल्लो टी–२० वरियतामा ७ औँ स्थानमा छ ।

    वेस्ट इन्डिजले ‘ए’ टीम पठाए पनि अधिकांश सिनियर टोलीबाट खेलिसकेका खेलाडीहरूलाई समावेश गरेको छ । वेस्ट इन्डिज ‘ए’ टीममा ३ खेलाडीबाहेकका सबै खेलाडी सिनियर टोलीबाट खेलिसकेका छन् । ‘ए’ टीम भए पनि वेस्ट इन्डिजले आफ्नो प्रमुख खेलाडीलाई टीममा समावेश गरेको छ ।

    सन् २०१२ र २०१६ मा विश्वकप जित्दा टोलीमा रहेको आन्द्रे फ्लेचर र जोनसन चाल्र्सदेखि सिनियर टीमबाट एक सयभन्दा धेरै खेल खेलिसकेका रोस्टन चेससम्मलाई वेस्ट इन्डिजले टीममा समेटेको छ । यस्तै वेस्ट इन्डिजका उदाउँदा म्याथ्यु फर्ड, एलिक एथानाज र केसी कार्टी पनि टीममा छन् । त्यसैले वेस्ट इन्डिजसँग खेल्दा नेपाललाई सिकाई पनि हुनेछ ।

    नेपालले जेठ २० गतेदेखि अमेरिका र वेस्ट इन्डिजमा हुने हुने टी–२० विश्वकप खेल्दै छ । उक्त तयारीका लागि नेपालले वेष्ट इन्डिजसँग घरेलु मैदानमा सिरिज खेल्न लागेको हो । नेपालका लागि यो तयारी मात्रै हुने छैन, आफ्नो स्तर मापन गर्ने अवसर पनि हुनेछ । किनकि नेपालले टी–२० विश्वकपको समूह चरणमा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्ड र बङ्गलादेशको सामना गर्ने तालिका छ । नेपालले टेस्ट राष्ट्रसँग खेल्ने अवसर कमै पाउँछ ।

    विश्वकपको तयारी स्वरूप नेपालले पछिल्लो समय नियमित सिरिज खेलिराखेको छ । तर, प्रदर्शनमा मन जित्न नसक्दा नेपालले नियमित बलिया राष्ट्रसँग खेल्ने अवसर भने पाउन सकेको छैन । केही दिनअघि ओमन भएको एसीसी प्रिमियर कपमा नेपाल सेमिफाइनलमा युएईसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

    तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग पराजित हुँदा नेपालले विश्वकपअघि क्रिकेट समर्थकलाई निराशा बनाएको थियो । नेपाल प्रिमियर कपमा ब्याटिङ, बलिङ परीक्षण गरे पनि सफल हुन सकेको थिएन । उक्त हारबाट आएको निराशालाई चिर्दै विश्वकपअघि आत्मबल बलियो बनाउने अवसर नेपाललाई छ ।

    एक दिवसीय क्रिकेटमा भारत र पाकिस्तानसँग खेलिसकेको नेपालले टी–२० मा भने खासै खेल्न पाएको छैन । सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपालले ओमनमा भएको एसीसी प्रिमियर कप जित्दै भारत र पाकिस्तानसँग टी–२० एसिया कप खेल्ने अवसर गुमाउन पुग्यो ।

    वेष्ट इन्डिजसँग पनि नेपालले गत वर्ष एक दिवसीय विश्वकप छनोट खेल खेलेको थियो । उक्त खेलमा नेपाल १ सय १ रनले पराजित भएको थियो ।

    यसअघि नामिबिया र नेदरल्यान्डसँग घरेलु मैदानमा सिरिज खेलेको थियो । भारतमा प्रादेशिक टीमसँग टी–२० सिरिज खेलेर एसीसी प्रिमियर कप खेल्न ओमन पुगेको नेपाली टोली शानदार प्रदर्शन गर्न सकेन ।

    अहिले वेस्ट इन्डिजसँग खेल्ने टोलीबाट विश्वकप खेल्ने टोलीमा खासै परिवर्तन हुने सम्भावना छैन । तसर्थ पनि विश्वकप अघि यो सिरिज नेपालका लागि स्तर मापन गर्ने अवसर बन्नेछ ।

    यस्तै बलिया राष्ट्रसँग खेल्ने आत्मविश्वास पनि बढाउने अवसर नेपाललाई हुनेछ । वेस्ट इन्डिजको सिरिजपछि नेपाललाई तयारीका लागि एक महिनाको मात्र समय बाँकी हुनेछ । हालसम्म यो सिरिजपछिका कुनै खेल तय भएको छैन । तसर्थ यो सिरिज विश्वकपअघि स्तर मापन रहनेछ ।

    नेपालले घरेलु मैदानमा वैशाख १५ गतेदेखि घरेलु मैदानमा ५ टी–२० खेल खेल्नेछ । नेपालले पहिलो खेल वैशाख १५ गते, १६ मा दोस्रो, १९ मा, २० मा चौथो र वैशाख २२ मा अन्तिम खेल हुनेछ । नेपालसँग खेल्न पहिलो पटक वेस्ट इन्डिज टोली नेपाल आउन लागेको हो ।

  • उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृत

    उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृत

    राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ ।

    नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।

  • खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

    खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

    खोटाङ ।   खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–१, हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो ।

    खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैँले बालेको आगो अनियन्त्रित भएर स्थानीय हरमटार मैनाचउर सामुदायिक वनमा सल्केपछि निभाउन खोज्दा श्रेष्ठको जलेर मृत्यु भएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिए । खोजी गर्ने क्रममा डढेलोले जलेको अवस्थामा शव भेटिएको उनले बताए ।

    सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । डढेलो नियन्त्रण गर्न स्थानीयवासीसँगै प्रहरीसमेत परिचालन गरिएको छ । दश स्थानीय तह रहेको खोटाङमा अधिकांश सामुदायिक वनमा डढेलो लागेको छ ।

    -पत्रपत्रिका

  • उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने

    उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ ।

    निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि अर्थात् गएराति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ ।

    निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध छ ।

    निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारण जस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले जानकारी गराएको छ ।

    उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न÷गराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई गराउन सम्बन्धित निकायलाई निर्देश गरिएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

  • सेयर बजारमा सामान्य वृद्धि, साढे २ अर्बको कारोबार

    सेयर बजारमा सामान्य वृद्धि, साढे २ अर्बको कारोबार

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । कारोबार खुलेदेखि उतारचढाव भएको नेप्से परिसूचक अन्तिम समयमा बढेर बन्द भएको हो ।

    बुधबार परिसूचक ०.१५ अंकले बढेर बन्द भएको छ । सामान्य अंकको वृद्धिसँगै नेप्से परिसूचक १९६९ अंकमा पुगेर रोकिएको छ । यसक्रममा बुधबार ११३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै १५ वटा कम्पनीको मूल्य स्थिर कायम भएको छ ।

    बुधबार नेप्सेमा २ अर्ब ५३ करोड रुपैयाँ बराबरको ७२ लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचकमा सामान्य वृद्धि आएपनि २ कम्पनीको सेयर मूल्य बढेको छ । पोखरा फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

    दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा माइखोला हाइड्रोपावरको सेयर मूल्य भने ७.८४ प्रतिशतले घटेको छ । यसक्रममा बुधबार कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको सूचक बढेको छ । बाँकी सबै समूहको सूचकमा गिरावट आएको छ ।