Tag: मातातीर्थ कुण्ड

  • आज आमाको मुख हेर्ने दिन, मातातीर्थ कुण्डमा मेला

    आज आमाको मुख हेर्ने दिन, मातातीर्थ कुण्डमा मेला

    काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वका रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदै छ ।

    वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा खुवाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरू भने आमाको श्राद्ध गरी स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ ।

    धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुसी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान  छ । आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ ।

    आमा नहुने नरनारी उक्त कुण्डमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजाअर्चना गरिरहेका स्थानीय नवीन न्यौपानेले बताए । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनश्रुति छ ।