तिम्रै सम्झनामा लेखिएको पत्र

आजको यो शब्द विशेष गरी मेरो उनिलाई:

तिमी नआत्तिनु, पाइलाहरू नडगमगाउनु, हाम्रा पनि दिनहरू आउनेछन्। तिमी निर्धक्क भई विदेशमा सङ्घर्ष गर्नु, म ढुक्क भई घर सम्हाल्नेछु। तिम्रो हातले भरिदिएको यो मेरो सिउँदो अनि जीवन तिम्रै लागि भनेर थामेका यी हातहरू विश्वास गर, माया, गलत काममा लागी तिम्रो शिर कहिल्यै निउरिन दिने छैन।

माया के हो भने मैले तिमी सँग भेट भएको दिन बुझे। अनजानबाट सुरु भएको हाम्रो यो सम्बन्धले दिनदिनै नयाँ पाठ सिक्ने अवसरसँगै नजिक हुँदै गयो। कहिलेकाहीँ मनमुटाव हुनु सामान्य हो, तर मन भने कहिल्यै नदुखाउनु। मेरो पनि को छ र अरु तिमी बाहेक जसको अघि दुख बिसाउनलाई? झगडासँगै माया बढ्दै जान्छ। म रिसाए जस्तो गर्छु, तिमी फकाउने गर है, माया।

तिमीलाई पनि गार्हो त गार्हो भए होला अर्काको देशमा, बिना परिवारको साथ दुख गर्न। तर पिर भने कहिल्यै नलिनु, दुखपछि सुखका दिनहरू हाम्रो पनि आउँछन् होला। समयमा खानु, समयमा सुत्नु। स्वार्थले भरिएका हुन्छन् र आफ्नाको रूपमा पनि बहुरुपी हिँड्छन्, तिमी सबैबाट सतर्क भई आफ्नो गन्तव्यमा ध्यान दिनु।

तिमी सँग जीवन बिताउनु मन छ, तिम्रो हात समाई बुढेसकाल भोग्नु मन छ। तिमी सँगै तिम्रो छायाँ बनी हरेक दुखसुखमा साथी बनी हिँड्नु मन छ। तर के गर्नु, मनले चाहेको भाग्यमा लेख्नुपर्ने रहेछ। बाध्यताले भए पनि, बिना पानीको माछा जस्तै छटपटाई बस्नुपर्ने रहेछ। कसरी सुनाऊँ म तिमीलाई, तिमी कति खास छौ मेरो लागि भनेर। तिमीलाई नसम्झेको दिन हुँदैन, तिम्रो नाम नलिएको पल हुँदैन, सायद यसैलाई नै माया भनिन्छ कि।

तिम्रो नाम मनमा लिएर मुस्कुराई बस्छु, एकान्तमा बसेर तिमी सँग बिताएका पलहरू सम्झिँदै रमाउँछु। सायद हाम्रो जीवन कल्पनामै सकिने भयो। तिमी पनि यस्तै गर्छौ? तिम्रो हरेक सपनामा मलाई देख्छौ कि देख्दैनौ? साथमा कोही जोडी भई हिँडेको देख्दा तिमीलाई नै सम्झिन्छु। यसो केही हुन हुन्न, तिमीलाई सुनाउनै आत्तिन्छु। तिमी सँग कस्तो मोहनी बस्यो कुन्नि, जति बोले पनि मन नभोरीने, तिमीलाई जति हेरे पनि यी आँखाहरू नअघाउने।

तिमी छौ र म निर्धक्क भई हाँसिरहेको छु। तिम्रो साहाराले नै म आफैँलाई बलियो बनाउँदै छु। तिमी सँग बसी गफ गर्न मन छ, मनको पीडा भुलाउन तिम्रो अङ्गालोमा बाधिएर रुन मन छ।
धेरै धेरै माया मेरो प्यारो मान्छेलाई। बाध्यताले हामी दुई फरक ठाउँमा भए पनि मन र मस्तिष्कमा तिमी नै तिमी छौ।

– इरा अर्याल

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *