काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको बुटवल-नारायणगढ सडकखण्ड शिलान्यास भएको ६ वर्ष भयो । २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सडक खण्डको शिलान्यास गर्नुभएको थियो । सडक विस्तारको काम विसं २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी चीनको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेडले विसं २०७५ माघ २४ मा सम्झौता गरेको थियो । करिब दुई वर्षअघि नै सकिनुपर्ने सडक खण्डको काम अझै आधा पनि पूरा भएको छैन । एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर सम्झौता भएको सडकको भौतिक प्रगति अहिलेसम्म ५० प्रतिशत पनि पुग्न सकेको छैन । पाँच वर्षमा बनाउनेभन्दा बढी भत्काउने काम जारी छ ।
दुई प्याकेजमा गरी काम भइरहेकामा दुवै ठेक्का चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनलाई दिइएको छ । चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग शहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार गर्ने तयारी छ । काम सुरु भएको ६ महिनासम्म पनि नबित्दै कोभिड महामारी आयो । आयोजना ढिलाइ गर्न महामारी राम्रो बहाना बनिदियो । कोभिड महामारीले काम अघि बढ्न सकेन । १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी छ । विसं २०१८ मा गैँडाकोटको शिलान्यास चोकबाट पूर्वराजा महेन्द्रले शिलान्यास गरेको सडक करिब ५८ वर्षपछि एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार भइरहेको छ ।
म्याद थपेको थप्यै, काम उस्तै
४२ महिनाभित्र काम सक्नेगरी जिम्मा पाएको कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा दुईपटक म्याद थपी सडक विस्तारको काम भइरहेको छ । तर, काम भने उस्तै सुस्त छ । नारायणगढ-बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले पहिलोपटक थप गरिएको समय विसं २०८० भदौ १२ मा सकिएपछि दोस्रोपटक समय थप गरेर आयोजना पूरा गर्ने समय २०८१ साउन ८ मा पुर्याइएको बताउनुभयो । दोस्रोपटक म्याद थप गरेपछि निर्माण व्यवसायीले बनाएको योजनाअनुसार अझै काम हुन सकेको छैन ।
निर्माण व्यवसायीलाई दोस्रोपटक म्याद थपिएको समय सकिन अढाई महिना बाँकी छ । तर, काम सकिनु त परको कुरा आधा भएको छैन । निर्माण व्यवसायीले बनाएको कार्य योजनाअनुसार कुनै पनि काम नगरेको स्थानीय बताउँछन् । निर्माण व्यवसायी आफैँले बनाएको योजनाअनुसार काम गर्न सकेको छैन । निर्माण व्यवसायीले आफैँले बनाएको योजनाअनुसार काम नगर्दा सडक विस्तारको कामले गति लिन नसकेको उहाँको भनाइ छ ।
चार लेनमा विस्तार हुने नारायणगढ-बुटवल सडकका दुई-दुई लेनको बीचमा ‘ग्रिनरी’ सहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा विरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात÷सात मिटरको हुनेछ । बजार क्षेत्रमा ६/६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । बजार क्षेत्रको १७ दशमलव ६ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ ।
सडकको ४२ दशमलव सात किलोमिटर खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको करिब पाँच किलोमिटर सडक तीन लेनको हुने सूचना अधिकारी खनालले बताउनुभयो । यस खण्डमा १२ वटा ठूलो पुल (मेजर ब्रिज) र सानो २२ वटा (माइनर ब्रिज) बन्ने क्रममा छन् । सडकका विभिन्न स्थानमा निर्माण हुने दुई सय १५ वटा कल्भर्टमध्ये अधिकांशको काम सकिएको छ ।
ढिलाइ किन ?
नारायणगढ-बुटवल सडक विस्तारका लागि डिपिआर बनेको केही वर्षपछि मात्रै चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भएको हो । त्यसअघि पनि एक कम्पनीसँग सम्झौता भएर रद्द भएको थियो । पछिल्लो सम्झौतापछि पनि तुरुन्तै काम सुरु हुन सकेन । चाइनाको कम्पनीसँग सम्झौता भएपछि पनि राजमार्ग क्षेत्रमा रहेको वनका कारण पूर्णरूपमा काम सुरु गर्नै ११ महिना लागेको थियो । डिपिआर बन्दा सुरुआती चरणमा वातावरणीय प्रभाव मूल्यांकनबाट नौ हजार वटा रूख काट्नुपर्ने देखिएको थियो । तर, सडक निर्माणको सम्झौतापछि सो क्षेत्रमा काट्नुपर्ने रूखको संख्या अत्यधिक बढी देखियो ।
यात्रुलाई सधैँ सास्ती
पश्चिम नेपाल र पूर्वी नेपाल जोडिने मध्य भागको बाटो एवं राजधानी काठमाडौंसँग जोड्ने एउटा प्रमुख सडक मानिसहरूको दैनिक आवतजावत र व्यावसायिक दृष्टिबाट महत्वपूर्ण मानिन्छ । पहिला तीन घण्टा लाग्ने बुटवल–नारायणगढको यात्रा सडक स्तरोन्नतिमा भएको ढिलाइकै कारण खाल्डा खुल्डीले ६ देखि ८ घण्टासम्म लाग्ने गरेको छ । सडक विस्तारको शैलीलाई परिवर्तन गरी सडकको एक किनारतर्फ काम गर्ने र अर्को तर्फबाट सवारी साधनको सहज आवत-जावतको वातावरण सिर्जना गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।
सडक स्तरोन्नतिमा भएको ढिलाइकै कारण आर्थिक गतिविधिमा समेत असर पर्न थालेको स्थानीय बताउँछन् । खराब सडकका कारणले पाँच वर्ष पुग्ने गाडी मेन्टिनेन्स खर्च एक वर्षमै सकिने गरेको यातायात व्यवसायी बताउँछन् ।
ठाउँ-ठाउँमा सडक र आसपासका भाग खनेर छाडिएको छ । ठेक्का लागेको भन्दै सरकारले सडकको नियमित मर्मत गर्नै छाड्यो । ठेकेदारले पनि सम्झौताअनुसार सवारी चलिरहेका लेनहरू मर्मत नगर्दा सवारी, यात्रु र स्थानीयहरू खाल्डो, धुलो र हिलोको मारमा परिरहका छन् । काम यति सुस्त छ कि आयोजनामा बिजुलीको पोल सार्ने कामसमेत अझै सकिएको छैन । यो काममा विद्युत् प्राधिकरणले असहयोग गरेको आरोप लगाउँदै सडक विभागका अधिकारीहरू पन्छिने गरेका छन् । तर, विद्युत् प्राधिकरणले भने ठेकेदार कम्पनीले नै सार्नुपर्ने गरी खरिद सम्झौता भएको बताउँदै आएको छ ।
सधैँको टाउको दुःखाइ
अबको केही समयमा वर्षा सुरु हुनेछ । वर्षासँगै चाडवाडको समय सुरु हुन्छ । चाडवाडमा मुलुकभित्र मानिसको सबैभन्दा बढी आउजाउ हुन्छ । पानी पर्दा हिलो, घाम लाग्दा धुलोले अहिले सर्वसाधारणले हैरानी खेप्नुपरेको छ । अनि यही समयमा सुरक्षित रूपमा गन्तव्यमा नपुगिएला कि भन्ने चिन्ताले सताउने गर्छ । अहिले पनि लामो यात्रा गर्नुपर्ने अवस्थाका मानिस सडकको दुरवस्थाका कारण पिरोलिन थालिसकेका छन् । यो सधैँको समस्या हो ।
पश्चिमतिर जाने यात्रुका लागि नारायणगढ-बुटवल र मुग्लिङ-पोखरा सडक सधैँ टाउको दुःखाइको विषय बन्ने गरेका छन् । सवारी चाप अझ बढ्ने भएकाले यो बेला ती सडकको यातायात सकसपूर्ण हुने देखिन्छ । अघिपछि साढे दुई घण्टा लाग्ने नारायणगढ-बुटवलमा अहिले यात्रुलाई तेब्बर समय लाग्छ । यात्रुले कहिलेसम्म सास्ती पाइरहने ?