चौथो खेलमा नेपाल २८ रनले पराजित, वेस्ट इन्डिज एले जित्यो शृंखला

काठमाडौं । वेस्ट इन्डिज एले नेपालविरुद्ध जारी ५ खेलको टी-२० शृंखला जित्ने निश्चित गरेको छ । चौथो खेलमा बिहीबार २८ रनको जित हात पार्दै वेस्ट इन्डिज ए शृंखला जित्न सफल भयो ।

पहिलो खेल हारेको वेस्ट इन्डिज एले त्यसपछि लगातार तीन खेल जितेर अन्तिम खेल बाँकी रहँदै शृंखला जित्ने पक्का गरेको हो । वेस्ट इन्डिज एले चौथो खेलमा २१० रनको विशाल लक्ष्य दिएको थियो। नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १८१ रन जोड्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रन जोडे । दीपेन्द्रसिंह ऐरी १९, सन्दीप जोरा १९, कुशल भुर्तेल १ र कुशल मल्ल ४ रन जोडेर आउट भए ।आसिफ शेखले खाता खोल्न सकेनन् । अविनाश बोहराले १७ र सोमपाल कामीले १० रन बनाए ।

रोहितले चौथो विकेटका लागि सन्दीप जोरासँग ४० र पाचौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५३ रनको साझेदारी गरे। नेपालले १४ औँ ओभरको तेस्रो बलमा कप्तान रोहितलाई पाचौँ विकेटका रुपमा गुमाएपछि लगातार दबाबमा आएको थियो। शृंखलाअन्तर्गत अन्तिम खेल शनिबार हुने छ ।

  • प्रकाशित मिति :- बिहिबार, बैशाख २०, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |