अनुभूति

रुमाल हराएको दिन

शिक्षक बिद्यार्थीको सामु कहिले अभिभावक बन्नुपर्छ।कहिले उनीहरुकै साथी जस्तो बन्नुपर्छ भने कहिलेकाही पुलिस र अदालत पनि बन्नुपर्छ। बिद्यार्थीहरुले शिक्षकसंग अरुको सिकायत गर्न निकै तछाडमछाड गर्छन्। कहिले आफु आफु झगडा गर्छन्। कुटाकुट गर्छन् । उनीहरुको झगडाको कारण पत्ता लगाउन बढो कठिन हुन्छ। जसलाइ हेरेपनि निर्दोष देखिन्छन्। र उनीहरुले आफुलाइ कहिल्यै दोषी ठान्दैनन्। कहिले कलम चोर्यो भन्ने सिकायत। कहिले कापी च्यातिदियो भन्ने सिकायत त कहिले नास्ता, क्याल्कुलेटर, किताब ,घडी हराएको वा चोरिएको भन्ने सिकायत दिनहु आउने गर्छ।

एकदिन  भर्खर दोस्रो पिरियड सकिएर तेस्रो पिरियड सुरु भएको थियो। मेरो तेस्रो पिरियड कक्षा सात मा थियो । म शिक्षण सामाग्री बोकेर कक्षा कोठा तर्फ गएँ। कक्षा सातको उक्त सेक्सनमा जम्मा पैँतालीस जना बिद्यार्थी थिए। म कक्षामा नपुग्दै त्यहा बिद्यार्थीहरु झगडा गरेको सुने। कसैको चिच्याएर बोल्ने स्वभाव पनि हुन्छ। झगडा गरेको सुनेपछि म फटाफट कक्षा कोठा तिर लागेँ। कक्षामा केहि छात्राहरु एकअर्कालाइ ” तँ चोर हो  । हिजो  मेरो कलम हराएको थियो।तैले चोरेको हो बुझिस्।” तैले पनि त मेरो गणितको नोट कापी चोरेर लगेकी थिइस् नी, आफुले नजान्ने अर्काको चोर्ने खुप।”  यस्तै यस्तै आरोप प्रत्यारोप चलिरहेको थियो। म कक्षामा पसेर उनीहरुलाइ शान्त बनाउनका लागि उनिहरुको ध्यान मतिर आकर्षण गरेँ

एउटी छात्रा टाउको तल गरेर विब्हल हुदै रोएकी थिइन्। मैले “तिमीलाइ के भयो  प्रगती ( नाम परिवर्तन ) तिमीलाइ ? किन रोएकी भनेर सोधेँ।” धेरैपटक सोधेँ तर केही जवाफ दिइनन्। अरु बिद्यार्थीहरुले भन्दै थिएँ-  ” प्रगतिले सिमाको नयाँ रुमाल चोरेकी छिन् रे, त्यही भएर प्रगतीलाइ सबैले चोर भनेर गाली गरे। अनि रोएकी हुन्। मैले सोधे – प्रगती ! तिमीले रुमाल चोरेकी हो त?  तर उनले केही जवाफ दिइनन्। उनको अनुहार मलीन् थियो। सायद उनको स्वास्थ्यमा पनि केही समस्या थियो।

उक्त समस्या कक्षाकोठामा समाधान होला जस्तो लागेन।  कक्षामा  विद्यार्थीहरुलाइ केहि गणितका अभ्यासहरु गर्न दिएर  म प्रगतिलाइ कक्षाको बाहिर अलि एकान्तमा लगि सोधपुछ गर्न थालेँ। उनी त्यहा पनि बोल्न अन्कनाइन। मैले सोधेँ – तिमीलाइ सन्चो छैन हो?” के दुखेछ?  महिनावारी भएको हो? उनी भुँइतिर फर्केर ,हो भन्ने संकेत गरिन्। बेस्सरी पेट दुखेको , रुदै  आफुलाइ सहन गाह्रो भएको कुरा पनि भनिन्।

अनि मैले सोधेँ – कक्षामा तिम्रा साथीहरुले त तिमीलाइ रुमाल चोरेको आरोप लगाएका छन् नि त? तिमीले लगेको हो? अनि उनले भनिन्-  हो मिस्”

किन चोरेकी त? अर्काको सामान त्यसरी चोर्नु हुन्न नि। यस्तो बानी राम्रो होइन। त्यो रुमाल कहाँ राखेकी छौ? फिर्ता गर है!

उनले मलिन हुदै भनिन्-” मिस म हिजो मिन्स भएको थिएँ। मलाइ यस्तो बेला धेरै गाह्रो हुन्छ। अनि धेरै रक्तश्राव पनि हुन्छ। घरबाट हिड्दा राखेको टालो पुरै भिजेछ। मेरो पोषाक पनि छोएछ। मसंग अरु कपडा थिएन। साथीको रुमाल देखेँ।त्यही लगेर प्रयोग गरेँ।अब कसरी रुमाल फिर्ता गर्न सक्छु र मिस्।” त्यतिबेला बिद्यालयमा सेनेटरी प्याडको व्यवस्था थिएन। गाउँघरमा प्याड किन्नु। फजुल खर्चको रुपमा हेरिन्थ्यो। पुराना कपडाहरु च्यातेर प्रयोग गर्नुपर्ने बाध्यता थियो। उनको कुरा सुनेपछि म नतमस्तक भएँ। अब रुमाल नयाँ किनेर दिनुपर्ला भन्ने सोचेर उनलाइ कक्षा लिएर गएँ।

मैले कक्षा कोठामा पसेपछि महिनावारी केहो भन्ने विषयमा कुरा गर्न थालेँ। सबैजना लजाए। कोही मुसुमुसु हास्न थाले। कसैले आफ्नो मुख छोप्न र खानेखुशी गर्न थाले। तर मैले उनीहरुलाइ खुलेर यसबारे चर्चा गरेँ। प्रगतिको समस्याको कुरा पनि सुनाएँ। सबै सुनिसकेपछि उनीहरु भावुक भए। मैले सिमाको लागि नयाँ रुमाल किनिदिने बाचा गरेँ। मेरो कुरा सुनि सकेपछि सिमाले प्रगतिसंग माफी माग्दै मलाइ भनिन्- ” मलाइ नयाँ रुमाल चाहिन्न मिस्। मलाइ माफ गरिदिनु है। मैले साथीको पिडा बुझ्न सकिन। मलाइ माफ गरिदिनु मिस्। प्रगतीलाइ अंगाल्दै भनिन् -“मलाइ माफ गरिदेउ साथी प्रगती।”

मेरो मनमा एक किसिमको सन्तुष्टि प्राप्त भयो। अनुभवको एउटा सफल बिन्दु आलिङ्गित गर्दै कक्षाबाट निस्केँ।

हिजोआज यो खाले समस्या आउन छाडेको छ।

  • प्रकाशित मिति :- शनिबार, जेष्ठ १९, २०८१
  • अम्बिका कंडेल

    लेखकबाट थप
    © 2024 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |