टी–२० विश्वकप

रोमाञ्चक खेलमा भारतसँग पाकिस्तान पराजित

न्युयोर्क । आईसीसी टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरको छ ।

जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो ।

भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार । टी–२० भारतले रक्षा गरेको यो सबैभन्दा कम योगफल पनि थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजावनले सर्वाधिक ३१ रन बनाए । उनले ४४ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

इमाद वसिमले २३ बलमा १५ रन जोडे भने कप्तान बाबर आजम, उसमान खान र फखर जमानले १३–१३ रनको योगदान दिए ।

भारतका लागि जसप्रित बुमराहले ३ तथा हार्दिक पाण्ड्याले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेटको क्षतिमा १ सय १९ रन बनाएको थियोे ।

खेलमा भारतले खराब सुरुवात गरेको थियो । मात्र १२ रन बनाउँदा विराट कोहली आउट भएका थिए भने १९ रनमा भारतले कप्तान रोहित शर्मालाई गुमाएको थियो ।

कोहलीले ४ रन मात्र बनाउन सके भने शर्माले १२ बलमा १३ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे ।

त्यसपछि ऋषभ पन्त र अक्षर पटेलले भारतको इनिङ्स सम्हाले । दुईले मिलेर ३० बलमा ३९ रन जोडे । पन्तले टोलीका लागि सर्वाधिक ४२ रन बनाए । ३१ बलको सामना गर्दै उनले ६ चौका हिर्काए ।

अक्षर पटेलले १८ बलमा २० रन जोडे । उनले २ चौका र १ छक्का प्रहार गरे ।

पन्तले त्यसपछि सूर्यकुमार यादवसँग २२ बलमा ३१ रनको साझेदारी गरे । तर, त्यसपछि भारतले लगातार विकेट गुमाउन पुग्यो ।

पाकिस्तानका लागि नसिम शाह र ह्यारिस राउफले ३–३ विकेट लिए । ४ ओभर बलिङ  गर्दै शाहले २१ रन मात्र खर्चिए । त्यस्तै, राउफले ३ ओभर बलिङ गर्दै २१ रन दिए । मोहम्मद आमिरले २ विकेट हात पारे ।

  • प्रकाशित मिति :- सोमवार, जेष्ठ २८, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |