५०० र १००० का नोट तत्काल प्रतिबन्ध लगाउन सरकारसँग माग

काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले यस्तो माग गरेका हुन् ।

मुलुकमा आर्थिक सुशासन कायम गर्ने हो भने सरकारले ५ सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने उनको जिकिर थियो । उनले भने, ‘आर्थिक सुशासनका लागि मेरो प्रस्ताव हो यो-५ सय र हजारको नोट क्विट गर्न सक्नुपर्दछ । सरकारमा बसेका साथीहरूलाई म यो निवेदन गर्न चाहन्छु सभामुख महोदय । आजको दिनमा यदि आर्थिक सुशासन सुशासन कायम गर्ने हो भने हामीले ५ सय र हजारको नोट अब क्विट गरेर जान आवश्यक छ ।’

उनले ती नोटहरू प्रतिबन्ध गरेमा मुलुकमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने, सोही अनुपातमा गैरकानूनी कारोबार रोकिने र ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुने दाबी समेत गरे । उनले अवैध रूपमा राखिएका धनराशि पनि ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि बाहिर आउने उल्लेख गरे ।

‘यदि यी नोटहरू क्विट गर्‍यौँ भने ८० प्रतिशत गैरकानूनी कारोबार रोकिन्छ । ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुन्छ । र, ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुन्छ । यसरी जाने हो नि त । अनि सिरानी मुनि भएका पैसा, खाटमुनि भएका पैसा, जमिनमुनि भएका पैसा, पानीमुनि भएका सबै पैसा बाहिर आउँछ ।’

उपसभापति गुरुङले सिरानी मुनि, खाटमुनि, जमिनमुनि र पानीमुनि भएका सबै पैसा बाहिर ल्याउनका लागि पनि सरकारले ५ सय र हजारको नोटमा तत्काल प्रतिबन्ध लगाउन आवश्यक रहेको बताइन् ।

 

  • प्रकाशित मिति :- बुधबार, असार ६, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |