आदिकवि भानुभक्तको सालिकमा माल्यार्पण

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा दरबार हाईस्कुलमा रहेको उनको सालिकमा माल्यार्पण गरिएको छ । नेपाल शिक्षा परिषद्को आयोजनामा आज बिहान आयोजित कार्यक्रममा नेपाल प्रज्ञा  प्रतिष्ठानका पूर्वउपकुलपति एवं वरिष्ठ साहित्यकार गङ्गाप्रसाद  उप्रेतीले आचार्यको सालिकमा माल्यार्पण गरे ।

भानुभक्तको सालिकमा माल्यार्पण गर्दै पूर्वउपकुलपति उप्रेतीले नेपाली भाषाको विकास गरी नेपालीलाई एकताबद्ध गर्न आदिकविको ठूलो योगदान रहेको बताए । उनले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारण र कालजयी रहेको उल्लेख गरे ।

नेपाल शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले आदिकवि आचार्यलाई सम्पूर्ण नेपालीले सदैव स्मरण गर्नुपर्ने बताए । वि.सं २०१६ मा नेपाल शिक्षा परिषद्ले दरबार हाईस्कुल अगाडि निर्माण गरेको भानुभक्तको सालिकको प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले अनावरण गरेका थिए ।

विसं २०१६ देखि यहाँ भानु जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरिँदै आएको परिषद्का सदस्य सचिव लक्ष्मण थापाले जानकारी दिए ।

  • प्रकाशित मिति :- शनिबार, असार ३०, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |