१२ बज्यो । अब त निधाइसक्नु पर्ने। कोशिश गर्छु, निद्रा नै लाग्दैन । मन स्थिर छैन। शरीरमा छ्ट्पटाहट बेग्लै।
आजको दिन लामो थियोे। बिहान छतमा बसेर एकोहोरो एउटा परेवालाई नियाल्दै थिए। परेवा एक्कासी त्यो उडिरहेको ठुलो झुन्डमा गएर मिसियो । कुनचाहिं थियोे, औल्याउँनै सकिन।
म डरपोक । मलाई डर लाग्छ। कतै त्यो परेवा हराएजस्तै यि मान्छेहरुको भिडमा म हराउने त होईन?
दिँउसो कक्षामा सरले कक्षाकार्य गर्न दिनु भयो। सबै साथीहरु को उत्तर आइसक्यो। म भने अलमलिरहे।
म डरपोक । मलाई डर लाग्छ। कतै यो प्रतिस्पर्धि भागदौड मा म पछि पर्ने त होइन?
१ बजिसकेछ। निद्राको अत्तोपत्तो छैन। गर्मि बढेको महसुस भयो। पंखा चलाउन मन थियोे । तर बिहानदेखि रुघाखोकीले हैरान त्यो साथी अझ बिरामी पर्ने हो कि भनेर डर लाग्छ। शित्तल ताप्न बाहिर निस्किन्छु, अँध्यारो देखेर डर लाग्छ। बिहान समयमा नउठुला भन्ने डर छुट्टै।
साँझपल्ट सुर्यास्त हेर्दै थिए । प्राय मान्छेहरू सुर्यास्तमा रमाउछ्न, आनन्दित हुन्छन ।
तर म ? म त डरपोक । मलाई डर लाग्यो। कतै आफ्ना भनेर साँचिएका ती प्रियजनहरु म बाट टाडिदा त्यो सुर्यास्त पछीको आकाश जस्तै एक्लो, चिसो , अँध्यारो अनि बेरङ भइने त होइन?
२ बज्यो । सकि नसकि निधाए। सपना पनि डरलाग्दो।
त्यो दिन अनि रात डराएरै बित्यो।
म प्राय डराउछु।
मलाई डर लाग्छ।
शत्रुहरु संग डरलाग्छ।
आफ्ना भन्नेहरु संग डर लाग्छ।
आफैं संग डर लाग्छ।
मलाई भिड देखेर डर लाग्छ ।
एक्लोपन संग डरलाग्छ ।
मलाई वचन दिन डरलाग्छ।
दिएका बिश्वास तोड्ने पो हुनकि? डरलाग्छ।
मलाई आशा मा डरलाग्छ।
मलाई निराशा मा डरलाग्छ।
मलाई टाडिन डरलाग्छ।
मलाई नजिकिन डरलाग्छ।
संगै हुदा डर लाग्छ।
धेरैजसो भविष्यको चिन्ताले डराउन दिन्छ।
कहिलेकाँही अतितको सम्झनाले डराउन दिन्छ।
म सफल हुन्छ हुदिन, डरलाग्छ।
असल छु छैन, डरलाग्छ।
दुखपर्दा आत्तिन्छु कि ? डरलाग्छ।
सुखपर्दा मात्तिन्छु कि ? डरलाग्छ।
मलाई देश देखेर डर लाग्छ ।
राजनिति देखेर डर लाग्छ ।
धनाड्य हरुको हर्सोहुलास देखेर डरलाग्छ ।
गरिब हरुको दुख देखेर डरलाग्छ ।
मलाई सत्य बोल्न डरलाग्छ ।
नसुन्दिने पो हुन कि ? डरलाग्छ ।
मलाई प्रश्न गर्न डरलाग्छ ।
झुटो बोल्दिने पो हुन कि ? डरलाग्छ ।
मलाई परिवर्तनशिलतामा डरलाग्छ ।
स्थिरतामा डरलाग्छ ।
मलाई मौनता देखि देखि डरलाग्छ ।
शब्दहरुको भार देखि डरलाग्छ ।
म प्राय डराउछु ।
मलाई डरलाग्छ ।
– अमृत न्यौपाने